Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबालबालिकाको स्थिति सुधारका उपाय

बालबालिकाको स्थिति सुधारका उपाय


विश्वका अन्य विकासोन्मुख देशहरूमा जस्तै नेपालमा पनि बालश्रम एउटा गम्भीर समस्याको रूपमा रहेको छ । गरीबी, अशिक्षा, आर्थिक विपन्नता, जनचेतनाको कमी, सामाजिक सुरक्षाको अपर्याप्तता, सामाजिक तथा साँस्कृतिक कारणहरूले गर्दा आयआर्जनको लागि घरभित्र तथा घरबाहिर काम गरी रहेका बालबालिकाहरूको संख्या नेपालमा करिब २० लाख भएको अनुमान छ । बालबालिकाहरूको शोषण, दासताबाट मुक्त भई बाँच्न पाउने अधिकार, सुरक्षा, स्वास्थ्य, संरक्षण, विकास, माया, हेरचाह पाउने अधिकारको प्रत्याभूति गर्नु राज्य तथा नागरिक समाज सबैको कर्तव्य हो । बालबालिका जो बालश्रमिकको रूपमा कार्य गरिरहेका हुन्छन् । तिनीहरू बालअधिकारबाट बञ्चित हुनुको साथै विभिन्न किसिमका शोषणहरूको शिकार भइरहेका छन् । बालश्रमिकहरू धेरैजसो जोखिमपूर्ण परिस्थितिहरूमा काम गरिरहेका हुन्छन् जुन उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि हानिकारक हुन्छ । त्यति मात्र नभई सबै बालश्रमिकहरू शिक्षा तथा सीप विकासको अवसरबाट बञ्चित हुने हुँदा समग्र मुलुकको भावी जनशक्ति नै कमजोर र अनुत्पादक हुने डर हुन्छ ।

बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र महासभाद्वारा पारित प्रस्तावमा बालकको परिभाषा यसरी दिइएको छ– कानुनद्वारा वयस्कताको उमेरको अन्यथा व्यवस्था गरेकोबाहेक १८ वर्षलाई वयस्कताको उमेर मानिएको छ । नेपालमा बालबालिकाको हकहितको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०४९ मा बालकको परिभाषा यस प्रकार दिइएको छ ः बालक भन्नाले सोह्र वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनुपर्छ । यस ऐनमा चौध वर्ष वा सोभन्दामाथिको उमेरका बालकलाई बेलुका छ बजेदेखि बिहान नौ बजेसम्मको अवधिमा श्रमिकको रूपमा काममा लगाउनुह“ुदैन । श्रमिकको रूपमा काममा लगाइएको बालकलाई धर्म, वर्ण, जातजातिको आधारमा कुनै भेदभाव नगरी समान कामको लागि समान पारिश्रमिक दिनुपर्छ भन्ने व्यवस्था गरिएको पाइन्छ । नेपाल अधिराज्यको संविधान २०४७ मा राज्यका नीति निर्देशक सिद्धान्तमा राज्यले बालबालिकाको शोषण हुन नदिई उनीहरूको हक र हितको रक्षा गर्न आवश्यक व्यवस्था गर्नेछ र निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था क्रमशः गर्दै जानेछ भन्ने कुरा उल्लेख गरिएको छ । नेपालको बालबालिकासम्बन्धी कानुनअनुसार १६ वर्षमुनिका बालबालिकाहरू जो आफ्नो तथा परिवारको जीविकाको निम्ति श्रम बेच्न बाध्य हुन्छन् यिनीहरूले बाध्यतावश गर्नुपर्ने मजदुरीलाई बाल मजदुरी भनिन्छ । बाल मजदुरी गरिबी, अशिक्षा, जनचेतना तथा सामाजिक अन्यायको परिणति हो, जुन कुरा हाम्रो देशको विद्यमान आर्थिक सामाजिक संरचनामा गा“सिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागबाट सम्पादन गरिएको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण, २०७१ अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका ३७ दशमलव चार प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका छन् । नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७५ अनुसार नेपालमा लगभग १३ लाख किशोरीहरू बालविवाहको जोखिममा रहेका छन् । विश्व परिवेशमा जस्तै नेपालमा पनि बढीजसो बालिका एवं किशोरीहरू नै बालविवाहबाट प्रभावित भएका छन् । पपुलेसन मनोग्राफ २०१४, माग दुईअनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिकामध्ये २६ दशमलव तीन प्रतिशत बालबालिकाको विवाह भएको पाइन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०११ ले गरेको सर्वेक्षणअनुसार नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाहरूको विवाह १८ वर्ष पुग्नु अगावै भएको उल्लेख छ भने यही उमेर समूहका ११ प्रतिशत मात्र पुरूषहरूको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने गरेको पाइन्छ । राष्ट्र संघीय जनसंख्या कोषका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्ये ४३ प्रतिशत र सहरमा बस्नेमध्ये २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बिहे गरेको त्यसमाथि पनि अशिक्षा र कम आयस्रोत भएका परिवारका बालिकाहरू बालविवाहको बढी जोखिममा रहेको पाइएको छ ।

भारतीय यौनबजारमा नेपाल, बंगलादेश तथा भारतभित्रकै महिला र बालबालिकाहरूको संख्या अत्याधिक रहेको, त्यसमध्ये २६ प्रतिशत पीडितहरू १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरू रहेका छन् । साथै, हरेक वर्ष करिब एक हजार महिला तथा बालिकाको भारतबाट उद्धार गरी फर्काउने गरिएको मानव अधिकार आयोगको मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०७६ मा उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा उल्लेख गरिएअनुसार बालबालिका खोजतलास केन्द्र १०४ को तथ्याङ्कअनुसार आव २०७५÷२०७६ को चैत्र मसान्तसम्ममा २४८१ जना बालबालिका हराएको भनी निवेदन परेकोमा १२२४ जना बालबालिका फेला परेको र बाँकी १२५७ जना बालबालिकाको खोजी कार्य जारी रहेको बताइएको छ । नेपाल प्रहरीले मानव अधिकार आयोगलाई उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्ने हो भने आव २०७५÷७६ को चैत्र मसान्तसम्ममा हराएका करिब ३८ प्रतिशत मानिसहरू फेला पर्दैनन् । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । नेपाल प्रहरीका ११ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार गत आवमा मात्र ३३ सय ३२ जनालाई भारतको सीमा नाकाबाट फर्काइएको छ । जसमध्ये ४६ प्रतिशत महिलाको संख्या रहेको छ भने १४ प्रतिशत बालबालिका रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदन २०७५ अनुसार आव २०७४÷७५ मा २३ सय ३० बालबालिकाहरू हराएको र त्यसमध्ये ४४ प्रतिशत अर्थात् १०१७ जना मात्र फेला परेको अभिलेख बालबालिका खोजतलास केन्द्रको तथ्याङ्कले देखाउँछ । हराएकामध्ये पनि ६० प्रतिशत बालिका हुनु र फेलापर्ने दर पनि बालकको ४४ प्रतिशत तुलनामा बालिकाको ४३ प्रतिशत मात्र हुनुले पनि हराएका र फेला नपरेका बालबालिका बेचबिखनको शिकार भएको अनुमान गर्न सकिने भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार एक सय ८० जना बालबालिका बेचबिखनको घटनाबाट पीडित भएको तथ्याङ्क नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७५ मा केन्द्रीय बाल कल्याण समितिले उल्लेख गरेको छ । द फ्रिडम फन्डले २०१८ मा गरेको अध्ययन प्रतिवेदन अनुसार काठमाडौंमा मात्र करिब १७ सय बालबालिकाहरू मनोरञ्जन व्यवसायमा कार्यरत रहेका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन २०७६ अनुसार जबरजस्ती करणीमा परेका पीडित र पीडकको उमेर विश्लेषण गर्दा बढी पीडित १८ वर्षभन्दा कम उमेर समूहको रहेको देखाएको छ । त्यसैगरी पीडकको उमेर समूहमा सबैभन्दा बढी १९ देखि ३५ वर्ष उमेर समूहको वयस्क पीडकहरू रहेको उल्लेख छ । पीडकहरूमध्ये ३० प्रतिशत जनजाति रहेको आयोगको प्रतिवेदनले देखाएको छ । २०७८ सालको जनगणनामा उल्लेख गरिएअनुसार २०५८ सालको जनगणनाअनुसार मुलुकमा कुल जनसंख्याको ४५ दशमलव सात प्रतिशत बालबालिका थिए । २०६८ मा बालबालिको संख्या घटेर ४९ दशमलव आठ प्रतिशतमा झ¥यो । ०७८ मा आइपुग्दा बालबालिकाको संख्या झनै घटेको छ । कुल जनसंख्याको ३३ दशमलव आठ प्रतिशत मात्रै बालबालिका छन् । त्यसमा पनि बालिकाको संख्या ह्वात्तै घटेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाअन्तर्गत बालबालिकाको तथ्याङ्क सार्वजनिक गरेअनुसार पछिल्ला १० वर्षमा बालबालिकाको वृद्धिदर घटेको (ऋणात्मक) देखाएको छ । ०६८ देखि ०७८ सालको १० वर्षमा बालबालिकाको संख्या ऋणात्मक रहेको तथ्याङ्कमा छ । हाल बालबालिकाको वृद्धिदर ऋणात्मक (माइनस १.१ प्रतिशत) छ । जबकि ०५८ देखि ०६८ सालसम्म बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ४६ प्रतिशत थियो । जबकि १० वर्षमा समग्र जनसंख्या १० दशमलव एक प्रतिशतले बढेको छ । तर बालबालिकाको जनसंख्या १० दशमलव नौ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । बालकको तुलनामा बालिकाको जनसंख्या करिब चार प्रतिशत बढीले घटेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x