Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदुर्घटनाले पर्यटनमा पर्ने असर

दुर्घटनाले पर्यटनमा पर्ने असर


काठमाडौं । अहिलेको समय भनेको नेपालमा वर्षायाम सकिनै आँटेको समय हो । तथापि पनि वर्षा रोकिइसकेको अवस्था छैन । फलतः नेपालका विभिन्न ठाउँमा पानी परिरहेकै छ । पानी परेसँगै बाढी–पहिरो पनि आइरहेकै छ । फलतः ठाउँठाउँमा दुर्घटनाहरू भइरहेको छ । यस्तै, गएको भदौ ७ गते पृथ्वी राजमार्गको मुग्लिङ–दमौली सडकखण्डमा पर्ने तनहुँ जिल्लाको आँबुखैरेनीको ऐना पहरा भन्ने ठाउँमा पर्ने मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेर (भारतीय गाडी) आएको बस खसेर २७ जना भारतीय पर्यटकको निधन भएको थियो भने १६ जना घाइते भएका थिए । स्मरणीय छ, दुर्घटना भएको सो बस भारतबाट पोखरा हुँदै काठमाडौं आउने क्रममा रहेको थियो ।

त्यसअघि पनि असार २८ गते दुई वटा गुडिरहेको यात्रु बसलाई अचानक पहिरोले बगाएको थियो । सो पहिरोमा परेको दुईवटा यात्रु बसमा यात्रारत यात्रुहरूमध्ये ६२ जना यात्रुहरू धेरै दिनसम्म बेपत्ता भएका थिए । कति यात्रुहरूको लास धेरै दिनपछि भारतको सीमा नजिक भेटियो भने कति यात्रुहरूको लास अझै पनि भेट्न सकिएको छैन । यसरी नेपालमा भएको दुई ठूलो बस दुर्घटना सेलाउन नपाउँदै साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको हवाईजहाज उड्नेबित्तिकै दुर्घटनामा पर्यो । सौर्य एयरलाइन्सको सो हवाईजहाज पोखरा जाने क्रममा परेको थियो । सो हवाईजहाज दुर्घटनामा यात्रारत २० जना यात्रुमध्ये १९ जनाको मृत्यु भएको थियो भने हवाईजहाजका मुख्य पाइलट (क्याप्टेन)चाहिँ संयोगले बाँच्न सफल भएका थिए । भनिन्छ, त्यसरी हवाई दुर्घटनामा परेर विश्वमा विरलै पाइलटहरू मात्रै बाँच्छन्, बाँच्ने गरेका छन् । त्यसरी नेपालमा भएको दुई ठूलो बस दुर्घटना सेलाउन नपाउँदै एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको हवाईजहाज उड्नेबित्तिकै भएको दुर्घटना दुई हप्तामै फेरि एयर डाइनेस्टी नामक हेलिकोप्टर कम्पनीको हेलिकोप्टर एक हेलिकोप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर–७ सूर्यचौरमा पर्ने शिवपुरीको जंगलमा दुर्घटना पर्यो । सो हेलिकोप्टरमा सवार चार जना चिनियाँ यात्रु र हेलिकोप्टरका पाइलटको दुर्घटनास्थलमै मृत्यु भयो ।

पछिल्लो समाचारअनुसार यसरी नेपालमा भएको सडक तथा हवाई दुर्घटनामा परेर लगभग डेढ महिनाको अवधिमा एक सय ११ जनाले आफ्नो अमूल्य जीवन गुमाएका छन् । हुन त त हाम्रो देश नेपालजस्तो पहाडी एवम् हिमाली भू–भाग धेरै रहेको देशमा सडक तथा हवाई दुर्घटना हुनलाई त्यति अनौठो अथवा हुनै नसक्ने घटना मान्नुहुँदैन । तर पनि पछिल्लो पटक नेपालमा विगतमा भन्दा अलिक बढी नै सडक तथा हवाई दुर्घटना हुने गरेको छ । खास गरिकन नेपालमा पछिल्लो पटक सडक दुर्घटना त अचाक्ली नै भइरहेको हो कि ? प्रतीत हुन्छ । यसरी सडक दुर्घटना बढ्नु र यात्रुहरूले अकालमा आफ्नो अमूल्य जीवन गुमाउनुलाई के भन्ने, कसलाई दोष दिने ? सडकलाई, पुराना र थोत्रा बसलाई, त्यस्तो पुराना र थोत्रा बसलाई डेन्टिङ, पेन्टिङ गरेर चलाउने बसका मालिकहरूलाई वा बसका चालकलाई वा मौसमलाई, अथवा नेपाल सरकार ? जे होस्, यो प्रश्नलाई एकतर्फी ढंगले हल गर्न नसकिने देखिन्छ । हुन त यसो भन्दैमा विगतमा चाहिँ पटक्कै नेपालमा सडक तथा हवाई दुर्घटना हुँदैन थियो भन्ने होइन । तापनि पछिल्लो पटक नेपालमा ठूलाखाले सडक दुर्घटनाहरू अलिक बढी नै भइरहेको देखिन्छ ।

साथै, यस्ता सडक दुर्घटनाका प्रकृति पनि फरकखालका रहेको देखिन्छ । किनभने, तुलनात्मकरूपमा व्यस्त र विदेशी पर्यटकहरू बढी हिँडडुल गर्ने सडकहरूमा बसलगायत ठूलाखाले गाडीहरू दुर्घटनामा परेको देखिन्छ । नेपाल सरकारले विदेशी पर्यटकहरू बढी हिँडडुल गर्ने र ठूला व्यस्त सडकहरू मर्मत सम्भार गर्ने र चौडाइ बढाउनेतिर पनि ध्यान दिन सके सायद सडक दुर्घटनालाई धेरै कम गर्न सकिन्थ्यो कि ? तर, नेपाल सरकारले यतातिर सायदै ध्यान दिन्छ । फेरि कुनचाहिँ सरकारले पूर्वाधार निर्माणमा ध्यान दिने ? केन्द्रीय सरकारले कि, प्रदेश सरकारले कि, स्थानीय सरकारले ? तर सेवाग्राहीहरूसँग कर उठाउनका लागि चाहिँ केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै पनि सरकार एक निमेष ढिला गर्दैनन् । त्यसैले जसरी तीन तहका सरकार (केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार) ले सेवाग्राहीहरूसँग कर उठाउनका लागि एक निमेष ढिला गर्दैनन्, त्यसरी नै सडकलगायत पूर्वाधार निर्माण र मर्मत सम्भारमा पनि ढिला नगरी काममा खटियोस् भन्ने आशा एवम् कामना गरौँ ।

खास गरिकन केन्द्रीय सरकार मातहत रहेको सडक विभागले जसरी काठमाडौंलगायत ठूला सडकको दायाँबायाँ रहेको पोल र भित्ताहरूमा आफ्नो हक भएको, हकदाबी लाग्ने भन्दै जताततै रातो अक्षरले ‘सवि (सडक विभाग !), सवि, सवि, सवि, …’ लेखेको छ, देशको सम्पूर्ण ठूला र चौडा सडकहरू मेरो हो भनेर केन्द्र सरकारले दाबी गरेको छ, त्यसरी नै देशभरिका सम्पूर्ण ठूला सडकहरू चाँडोभन्दा चाँडो सडक पूर्वाधार, निर्माण र मर्मत सम्भारमा तदारुकता देखाओस् । नत्र भने, हाम्रा दुई ठूला छिमेकी देशका नागरिकहरू, जो पर्यटक भई नेपाल घुम्न आउँछन्, उनीहरू र उनीहरूका नातागोता तथा आफन्तजनहरूमा ‘नेपालको आकाश पनि असुरक्षित, सडक पनि असुरक्षित ! त्यस्तो देशमा पनि के घुम्न जानु ?’ भन्ने हौवा त नभनौँ निराशा नआओस् भन्ने कामना गरौँ । किनभने, जोसुकै मानिसका लागि पनि पहिलो कुरो त आफ्नो जीवनको सुरक्षा नै प्रमुख हुन्छ ।

त्यसैले वर्षेनि खर्च नभई सधैँ फ्रिज हुने विकास बजेटलाई ठूलो पैमानामा सडक पूर्वाधार र सडक सुधार तथा मर्मत सम्भारमा डाइभर्ट गरेर खर्च गर्नसके धेरै राम्रै हुन्छ । त्यसो गर्न सकेदेखि पूर्व–दक्षिण–पश्चिम तीनतिरबाट घेरिएको छिमेकी भारतका लाखौँ पर्यटकहरू सडक यातायातबाटै भित्र्याउन सक्छौँ । त्यस्तै, गरेर उत्तरमा अवस्थित छिमेकी देश चीनबाट पनि पूर्वको ओलाङ्चुङ गोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, ल्होमन्थाङ्, माथिल्लो डोल्पा, हुम्ला, दार्चुला आदि नाका हुँदै चिनियाँ लाखौँ पर्यटकहरू नेपाल भित्र्याउन सक्छौँ । तर, अहिलेको हाम्रो सडक यातायात व्यवस्था प्रणाली हेर्दा त कतै हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै पो असफल छ कि ? भन्ने सन्देश छिमेकी देशका नागरिकहरूमा जाने देखिन्छ । त्यसैले हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै असफल छ भन्ने सन्देश प्रवाह नहोस् भन्नेतर्फ बेला छँदै सचेत बनौँ । किनभने, हाम्रा देशको सडक र हवाई यातायात व्यवस्था र प्रणालीमै खराबी छ भन्ने सन्देश विदेशीमाझ गएमा यसले नेपाली पर्यटनलाई दूरगामी र दीर्घकालीन असर पर्न सक्छ । त्यसैले बेला छँदै हामी सबै सचेत बन्न जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x