Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगौरा पर्वको सांस्कृतिक र व्यावहारिक पक्ष

गौरा पर्वको सांस्कृतिक र व्यावहारिक पक्ष


काठमाडौँ । नेपाल विविध जातजाति, भाषा, साहित्य, संस्कृति रीतिरिवाजयुक्त अनेकतामा एकता बोकेको देश हो । यो देशमा पाइने छ वटा ऋतु, सात वटा प्रदेशहरू र तिनको धार्मिक, सांस्कृतिक, प्रदेशमा प्रचलित संस्कृति रीतिरिवाजलाई एक अर्काेसँग गाँस्दा त बगैँचाको सौन्दर्य विभिन्न थरीथरीका फलफूलहरूमा निभाएर भएझै देशको शोभा, सौन्दर्य, त्यस देशको भाषा, संस्कृति, कला, कौशल, रीतिरिवाज परम्परा र प्रादेशिक सौन्दर्य त्यस क्षेत्र, ऋतुमा प्रवेश गर्ने स्थानीय चाडवाडले सम्बन्धित स्थानवासीको रोमरोम उमंगित, हर्सित हुन निर्विवाद छ । त्यसै सौन्दर्यमा निकट समयमै आइराखेको गौरा पर्वलाई स्मरण गराउन चाहन्छु ।

हाम्रो देशको सुदूरपश्चिमका नौ वटा जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा सबै ठाउँहरू एकै समयमा कुनै न कुनै रूपमा आंशिक अनेकता भए पनि पूर्णरूपमा एकरूपताका साथ गौरा पूजन पनि मनाइने गर्छ । जतिजति यो पर्वको लोकप्रियता, विश्वसनीयता बढ्दै छ त्यसैत्यसै यसले व्यापकता पनि पाउँदैछ । जस्तो क्रिश्चियन, बौद्ध र मुस्लिम धर्मावलम्बीहरू जहाँ गए पनि आफ्नो धर्मको पालना गर्छन् । त्यस्तै हाम्रो यो गौरा पर्वको विकास पनि देशको हरेक जिल्लामा छँदै छ, तर अहिले त विदेशमा पनि जहाँजहाँ नेपाली पुग्छन्, त्यहाँत्यहाँ नेपाली संस्कृति झल्काउने चाडवार्ड मनाउने गरेको हामी पाउँछौँ । यसरी नै गौराको अध्ययन, गायनबाट समाजलाई, टोल र आउने पुस्तालाई नैतिकता, आदर्श, सहनशीलता, कर्तव्यपराणता, सहृदयी, उदार बनाउने छ ।

गौरापूजन विधिको जुन महेश्वर एवं गौरादेवीको बीचमा वैवाहिक सम्बन्ध गाँस्ने प्रक्रियाको बारेको कथानक प्रक्रिया । यस कथानक प्रक्रियामा पाँचवटा बोट, धान, तील, बल, सामा, हँसेलु बिरुवा (बोट) बारे जान्न आवश्यक छ । त्यस्तै, पाँचवटा अन्न, केराउ, मास, गहुँ, गहत, गुराँसबारे जान्न आवश्यक छ । तिनको प्रयोग, कहाँ, कसरी र किन गरिन्छ र साथै केका प्रतीक हुन् । यी सबै जमरा लोली गौराका प्रतिक मानिन्छन् । यिनको प्रयोग निम्न प्रकारको भएको पाइन्छ ।

पुरुषहरूले जनैपूर्णिमाका दिन जनै धारण गरेर चाड मनाएझैँ महिलाहरूका लागि पनि दु्वै धागो भन्ने जनैजस्तै पहिरन लाउँछन् र पुरुषले झैँ सन्ध्या पूजा गर्ने गर्र्छन् । यो अविवाहित तथा गौरा व्रत नलिएका महिलाहरूले यो सन्ध्या पूजा गर्न पाउँदैनन् । यो व्रत सुरु गर्नका लागि शुक्ल पक्षको गौरा राम्रो मानिन्छ र एक पटक शुक्ल पक्षको गौरा उपवास गरेपछि त्यसपछिका वर्षमा शुक्ल तथा कृष्ण जेसुकै परे पनि उपवास लिनुपर्दछ । यसको उपवास लिने प्रक्रिया यस प्रकार छ ।

यो पर्व वैद्धिक शास्त्रअनुसार एक वर्षको एकदिन तोकिएको हुन्छ । त्यो दिन भाद्र महिनाको शुक्ल पक्ष, अष्टमी तिथिको दिन पर्छ । त्यसैले यसलाई अठेवाली पनि भनिन्छ । तर स्मरण रहोस् कि, कहिले कृष्ण पक्ष पनि पर्न सक्छ । यसपालि कृष्ण पक्ष परेको छ । गौरा पूजनको सुरुवात भाद्र कृष्ण पक्ष पञ्चमीका दिनदेखि गमरा पर्व सुरु हुन्छ । यो पहिलो दिन हो । यो दिनलाई विरुडा (पञ्च अनाज) भिजाइने हुँदा विरुडा पञ्चमी भनिन्छ । विरुडा भनेको जनैपूर्णमामा क्वाँटी भिजाएजस्तै यसमा (विरुडा) पनि पाँचवटा अन्न सानो केराउ, मास, गहत, गहुँ, गुराँस (मस्याङ) यी पाँच अन्न राम्रोसँग केलाएर निर्किट बनाएर भिजाइन्छ । र पूर्ण शुद्ध बनाएर वेदध्वनि, फाग सगुन, छरछिमेक, दिदिबहिनी, छोराछोरी सबै रमाउँदै दियो बत्ती बाल्दै भिजाइन्छ । पञ्चमीको भोलिपल्ट अष्टमीका दिन पञ्चमीका दिन भिजाएको विरुडालाई गंगा, नदी, खोला, इनार, धारा, पँधेरोमा सबै ओल्लोपल्लो घरका दिदीबहिनी, जेठानी सबै मिली आ–आफ्नो विरुडा शिरोधार्य गरी सगुन फागसहित लस्करै ल्याएर जहाँबाट लगेको हो, त्यही पूजा कोठामा अखण्ड बत्तीसहित राख्नुपर्छ । रातभर जागरण खेल भजन, फाग गाइनु राम्रो हुन्छ । छरछिमेक ओल्लोघर पल्लो घरका एकत्रित भई गीत, गायन, खेल लगाउँदा झन् सामाजिकमैत्री भाव बढ्छ । स्मरण रहोस् कि गौरा धोएको ठाउँमा एउटा गौरा स्थापना गरिन्छ । तिनको नाम गंगा हुन्छ ।

गौराको स्थापना कसरी गर्ने ?
सर्वप्रथम धानको बोट, समाको बोट, तीलको बोट, बलको बोट, असेलुको बोटलाई खेतबारीबाट खोजेर ल्याउने र यिनीहरू लोली गमराको प्रतीक मानेर रातो बस्त्रलाई ओडाएर विरुडा धोएको ठाउँमा स्थापना गरी धोएको विरुडा मंगल गान, मंगल फाग, मंगल सगुनसहित घर ल्याउनुपर्छ ।

भोलिपल्ट सप्तमी तिथिका दिन गौराको व्रत लिने व्रतालु महिलाहरू मात्र व्रत लिन्छन् र त्यसपछि अष्टमीका दिन बिहान गौरा फेरि आउँछिन् जसको नाम संजा हो । अष्टमीका दिन पूरै दिनभर महेश्वर र लोली गौराको पूजा गरी बेलुका गौरा महेश्वर एक्लो बालो (शिव, पार्वती र बच्चा) ती सबैलाई कुनै मठमन्दिरमा लगेर विसर्जन गरिन्छ ।

अब अर्काे महत्वपूर्ण कुरा भाद्र कृष्ण पक्ष अष्टमीका दिन सुसज्जित गौरालाई सबै श्रद्धालु उपासक महिलाहरूले मंगलगान गाएर प्रदक्षिणा गरेर पूजा गरिन्छ । यसरी जुन मंगल गान गाइन्छ, त्यो शिव पार्वतीको कथानक हुन्छ । यो कथा यसप्रकार हुन्छ:
कथाअनुसार शिवजीलाई कतिपय नामले उच्चारण गरिन्छ । यिनलाई गौरी महेश्वर, उमा महेश्वर र उमापति भनेर पनि कहलाइन्छ । गौरामा गाइने गीत अथवा मंगल फागमा लोली महेश्वरको नाममा गाइन्छ । कथाअनुसार महेश्वरका तीनवटा विवाह हुन्छ । जेठी पत्नी लोली गमरा, त्यसपछि गंगा, र गंगापछिकी संजा हुन् । लोलीदेवीसँग ठट्टा गरेर महेश्वरजी भन्छन्, ‘लोली मलाई शंख, घण्टा बाहिर ल्याइदेउ, म नदीमा स्नान गर्न जान्छु’ भनेर ढाँट्नुहुन्छ अनि प्रतिउत्तरमा लोली भन्नुहुन्छ, ‘हजुर घरमा नै स्नान गर्नुहोस् ।’ ‘तिम्रो घरमा भरेको पानीले त मेरो औँठा पनि भिज्दैन’ भनेर जिद्दी गरी नुहाउने निहुँ गरी संजा देवीसँग विवाह गरेर घरमा ल्याउँछन् । त्यसपछि महेश्वर लोली गौराको कथा सुरु हुन्छ ।

स्मरण रहोस् कि शिव पार्वती भन्ने कथा लोली गौराको अष्टमीमा भनिने कथा एउटै हो । पार्वती भनेकी राजा हिमालय पर्वतकी छोरी हुन् । यिनको आमाको नाम मैनावती हो । मैनावती रानी रजश्वला भएको एक दुई दिन भएको हुन्छ । तीन÷चार दिनमै मैनावती गंगा नदीमा गएर नुहाइधोई गरी घर आउँछिन् । चौथो दिनको स्नानपछि मैनावती दुवोचौर गएर दुवो टोकेर आउँछिन् । पाँचौँ दिनका दिन पनि मैनावती गंगास्थानपश्चात फूलको बगैंचामा गएर राम्राराम्रा फूल टिपी सूर्य भगवानलाई चढाउँछिन् र भन्छिन् ‘भगवानले मलाई के बरदान देलान् भनेर । सूर्य भगवान्ले भन्नुहुन्छ, ‘तिमीले मलाई फूल चढायौ, म तिमीलाई कन्या बरदान दिन्छु ।’ पाँच दिनमा मैनावती रानी गर्वसुति हुन्छिन् । पाँच दिन, छ दिन गर्दागर्दै, मैनावतीको गर्वधारण गरेको नौ महिना बिती दशौँ महिना लाग्यो । दश महिना हुनेबित्तिकै मैनावतीको गर्वबाट छोरी जन्मिन्छिन् । ती हुन् पार्वती ।

बल्ल पार्वतीको जन्म भयो, अब तिनी हुर्की, बढी, ठूली हुन्छिन् । तिनको जन्म, छठ कर्म, न्वारान, अन्न प्रासन क्रमशः सबै हुँदै जान्छन् । महेश्वरसँग पार्वतीको विवाह गर्नुअगावै मैनावतीको बाचा भएको हुन्छ । मैनावती रानी गर्भवती भएको तीन महिनामा अमिलो खान मन लाग्छ । त्यो अमिलोको रुख महेश्वरजीको बारीमा हुन्छ । अमिलो खाना माग्दा मैनावती रानीले महेश्वरजीसँग मलाई एक दाना अमिलो खाने मन लागेको छ । मलाई टिपेर दिनु भनी मैनावतीले भन्दा तिमीलाई अमिलो खान मन लागे मलाई के मतलब भने । अनि मैनावती रानीले भन्नुहुन्छ, ‘मबाट कन्या जन्मे भने तपाईँसँग विवाह गरिदिउँला, छोरा जन्मे मितेरी लाउँला ।’ त्यही अमिलोको रुखनेर मैनावती रानीले बाचा गरेको हुन्छ । बाचा आलटाल गर्नेको पितृ नरकमा जाऊन् भन्ने बाचा हुन्छ । नौ महिनापछि लगत्तै मैनावतीबाट छोरी जन्मिन्छ । जसको नाम पार्वती रहन गयो । र त्यसपछि शिव पार्वतीको गौरा पर्वको रूपमा कथा सुरु हुन्छ । यो गौरा पर्व नै शिव पार्वतीको पर्व हो । यिनलाई लोली महेश्वर पनि भनिन्छ र गमरा पर्व पनि । पार्वती जन्मेपछि हुर्किने, न्वारन हुने, अन्नप्रासन हुने र जीवनउपयोगी कर्मका खुट्किलाहरू प्रारम्भ हुन्छन् । गौराको विवाह पनि हुन्छ । यसरी सर्वसाधारणको जीवन उपयोगी वैद्धिक खुट्किलाहरू भएजस्तै शिवपार्वतीको पनि जीवनउपयोगी वैद्धिक, व्यावहारिक, भौतिक खुट्किलाहरूको वर्णन नै गौरादेवीको वैद्धिक गायनमा समावेश भएको हुन्छ ।

उपरोक्त कथाहरू वैद्धिक मन्त्र फाग सगुनको आधारमा समाजमा स्थापित भएका छन् । मानव–मानवप्रतिको आधारभाव असमर्थहरूको सेवा, हितोपदेशहरूको पालना, त्याग, तपस्या र समर्पणको कदर र अरू व्यक्तिहरूमा भएको योग्यताको, सीपको सम्मान, रीतिरिवाज, परम्पराजस्ता कुरा हराउँदै गएको परिवेशमा यो लेखले पाठकवर्गमा सभ्यता, संस्कृति, रीतिरिवाजप्रति रुचि जगाई पुस्तान्तरण गरी फाग सगुनको परम्पराले समाजमा शान्ति, एकता, सहयोग, मनोरञ्जन, विश्राम, मेलमिलाप, समझदारी, पारस्परिक विश्वासजस्ता कुराको विकास हुन्छ भन्नुमा अत्युक्ति नहोला ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x