Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा बौद्ध पर्यटनको सम्भावना

नेपालमा बौद्ध पर्यटनको सम्भावना


काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार विश्वको कुल जनसङ्ख्याको छ दशमलव छ प्रतिशत मानिसहरू बौद्ध धर्म मान्छन् । यस हिसाबले बौद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या करिब ५१ करोड हुन आउँछ । यो त बौद्ध धर्म मान्नेहरूको सङ्ख्या हो । सन् २०१९ मा अमेरिकामा रहेको पेव रिसर्च सेन्टरले गरेको एक अध्ययनमा एसियाली क्षेत्रमा बौद्ध धर्म नमाने पनि बुद्धका शिक्षा र संस्कार आदि अगाल्नेहरू प्रशस्त छन् । पछिल्ला दिनमा युरोप र अमेरिकाजस्ता मुलुकहरूमा समेत बौद्ध शिक्षाको प्रभाव फैलिँदै गएको छ । शिक्षा र चेतनामा भएको विकासका कारणले गर्दा अधिकांश मानिसले परम्परागत अन्धविश्वासलाई स्वीकार गर्न छोडिसकेका छन् । यस सन्दर्भमा बुद्ध शिक्षाले ईश्वरलाई नमान्ने र अनित्य, अनात्म र दुःखजस्ता विषयलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने भएकाले आधुनिक मानिसका बीच पनि बौद्ध धर्मको लोकप्रियता बढ्दै गएको छ ।

कर्ममा विश्वांस गर्ने र प्रतीत्यसमुत्पाद सिद्धान्तलाई अगाल्ने भएकाले पनि बौद्ध धर्म अन्धविश्वासभन्दा पर छ । त्यसैले पनि पछिल्लो पुस्ता यस धर्मप्रति आकर्षित छ । यति मात्र नभएर बौद्ध ध्यान विपश्यनाको लोकप्रियताका कारण पनि बौद्ध धर्म र यस दर्शनका विषयमा जान्न खोज्ने जिज्ञासुहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । यही सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी हुनुले नेपालमा बौद्ध पर्यटनको प्रशस्त सम्भावना रहेको देखिन्छ । यसका साथै गौतम बुद्धभन्दा पहिलेका बुद्धहरू कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा र क्रकुछन्द बुद्धको जन्मस्थल निग्लिहवा पनि नेपालमा रहेको पवित्र बौद्ध तीर्थस्थलहरू हुन् । यति मात्र नभएर बज्रयान बौद्ध धर्म परम्पराअनुसार आदि बुद्ध मानिएको स्वयम्भूका कारण पनि नेपालमा बौद्ध पर्यटनको प्रशस्त सम्भावना देखिएको हो ।

लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अतिमहत्वपूर्ण चार तीर्थस्थलमध्ये एक हो भनी मान्नुभएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ । यस सन्दर्भमा लुम्बिनी धार्मिक एवम् ऐतिहांसिक स्थलको रूपमा पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । लुम्बिनी पुरातात्विक वस्तुहरू मात्र नभएर ध्यान, ज्ञान र शान्तिको त्रिवेणी पनि हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनासँगै यो क्षेत्र बौद्ध इतिहास, संस्कृति, साहित्य र दर्शन अध्ययनको केन्द्र पनि बनेको छ । लुम्बिनीलाई तिलौराकोट, देवदह र रामग्रामसँगै जोडेर बौद्ध तीर्थस्थल एवम् बृहत्तर लुम्बिनीको रूपमा प्रचारप्रसार गर्नु आवश्यक छ । बौद्ध पर्यटनका लागि यी क्षेत्रलाई उच्च प्राथमिकता दिई पर्यटकको आगमनका साथै बसाइ अवधि लम्ब्याउने प्रयास गर्नु बौद्ध पर्यटन विकासका निम्ति नगरी नहुने काम हुन् ।

नेपाल प्राचीन कालदेखि नै बौद्धधर्मको महत्वपूर्ण स्थलका रूपमा चिनिँदै आएको छ । गौतम बुद्धअघिको कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थल हुनु, आदि बुद्धको अवधारणा बोकेको स्वयम्भु चैत्य, तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण आस्था बोकेको बौद्धस्तूप नेपालको बौद्ध पर्यटनका लागि अतिमहत्वपूर्ण विषय हुन् । पञ्चबुद्धको अवधारणा बोकेको नेवारी बज्रयान बौद्ध धर्मले विश्वका महायान, बज्रयान एवम् तिब्बती बौद्ध धर्मको समेत ध्यान केन्द्रित गरेको छ । यस अवधारणाबारे बुझ्न, ध्यान र अध्ययन अनुसन्धान गर्न पनि नेपाल महत्वपूर्ण बौद्ध पर्यटकीय क्षेत्र बन्न सक्छ ।

रामग्राम बुद्धको अस्तिधातु रहेको स्तुप रहेको पवित्र स्थान हो । सम्राट अशोकको पालामा बुद्धका अस्ति धातु रहेका स्तुपहरूबाट अस्तुधातु झिकी ८४ सय स्तुपहरू निर्माण गरिएको भए पनि रामग्राममा रहेको स्तुप भने सुरक्षित रहको भन्ने कुरा बौद्ध साहित्यहरूमा पाइन्छ । अर्काेतिर देवदह शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापति र पत्नी यशोधराको माइती गाउँ हो । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय यहाँ रहेको उनको मामाघरमा बिताएको मान्यता छ । बुद्धले आफ्नो ज्ञान प्राप्तिको सातौंँ वर्षमा आफ्ना सहयोगीका साथ देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा उल्लेख गरेको पाइन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षसमेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

सातौँ–आठौँ शताब्दीका शान्तरक्षित, पद्मसम्भव गुरुहरूको नेपाल आगमन र एघारौँ शताब्दीमा अतिश दीपंकर ज्ञानश्रीलगायतको ध्यान, अध्यापन र ग्रन्थ लेखनको पवित्र भूमिको रूपमा नेपाल मण्डला चिनिन्छ । यस दृष्टिले पनि बौद्ध मार्गीहरूका लागि नेपाल महत्वपूर्ण रहेको छ । सातौँ÷आठौँ शताब्दीका त्रिपिटकका विनयग्रन्थका केही पानाहरू पनि नेपालमै भेटिएका छन् । त्यति मात्र होइन, स्वर्ण अक्षरले लेखिएका प्राचीन समयका प्रज्ञा पारमिताका ग्रन्थहरू पनि रहेका छन्, जुन बौद्ध पर्यटनका लागि अत्यन्त्यै महत्वपूर्ण छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी, बौद्ध चैत्य एवम् स्वयम्भु चैत्यले नेपालमा बौद्ध धर्मको धरोहरहरू रहेको प्रष्ट पार्छ । यसका साथै नेपालको हिमाली क्षेत्रमा प्राचीन स्मारक, पुरातात्विक महत्व बोकेका हजारौँ गुम्बा र चैत्यहरू छन्, जुन निर्माणको सन्दर्भमा ऐतिहांसिक एवम् पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन् । आठौँ शताब्दीमै निर्माण गरिएको गण्डकी प्रदेशको दामोदरकुण्ड गाउँपालिकामा अवस्थित लो–गेकर गुम्बा निकै महत्वको मानिन्छ । यो गुम्बालाई तिब्बतको पहिलो गुम्बा साम्ये गुम्बाभन्दा पनि पुरानो मानिएको छ । दुष्ट आत्मालाई पराजित गरी त्यसको मुटु राखेर लो–गेकर गुम्बा बनाइएको जनविश्वांस छ । यसलाई नेपालको पहिलो बौद्ध निधि तीर्थस्थलको रूपमा पनि मान्ने गरिन्छ ।

तेस्रो शताब्दीमा सम्राट अशोककी पुत्री चारुमतिद्वारा निर्मित चारुमति विहार र सोही समयमा निर्माण गराएका चार धम्म स्तुप क्रमशः तेतथुर, लगनथुर, शिलापुरथुर र इवहि थुर नेपाल मण्डलाको बौद्ध धर्मका अति महत्वका पूरातात्विक सम्पदाहरू हुन् । निर्माण कला हेर्दा सम्राट अशोकले नै यी स्तुपहरू निर्माण गर्न लगाएको भन्ने अनुमान पनि गरिन्छ । त्यसैगरी नेपालमा रहेका स्वयम्भु र बौद्धजस्ता स्तुपहरू विशिष्ट शैलीका छन् । स्तुपको हार्मिकामा रहेका दुई आँखा र त्यसको ठीकबीचमा रहेको एकजस्तो अक्षर विशिष्ठ छन्, जुन अन्यत्र कहीँ पाइँदैनन् । त्यसैले यस्ता स्तुपहरू बौद्ध पर्यटकहरूका लागि आकर्षणका केन्द्र बन्न सक्छन् ।

जातक कथाअनुसार बुद्धले आफ्नो पूर्वजन्ममा राजकुमार महासत्वका रूपमा जन्मिँदा बघिनीलाई आफ्ना पाँच डमरु बचाउन शरीर दान गरेका थिए । यसरी बोधिसत्वका रूपमा बुद्धले दान पारमिता पूरा गरेको स्थल नै हालको नमोबुद्ध हो भनी बौद्धहरू विश्वास गर्दछन् । यो काभ्रे जिल्लाको धुलिखेलमा पर्दछ । विभिन्न स्तुप, बौद्ध मन्दिरको निर्माणले आकर्षक पनि बनेको छ । बौद्ध आस्थाका साथै रमणीय स्थल पनि हो नमोबुद्ध, जहाँबाट अग्ला सेता हिमालको सुन्दर दृश्य पनि देखिन्छ । बौद्ध जातक कथासँग जोडिएको हुँदा यसको सन्दर्भलाई समेत जोड्दै प्रचार प्रसार गर्ने हो भने बौद्धहरूको पवित्र तीर्थस्थलको रूपमा आम बौद्ध माझ यसको ख्याती समेत विस्तार गर्न सकिन्छ । जसले गर्दा नमोबुद्धले नेपालको बौद्ध पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

लिच्छविकालमै चिनियाँ यात्रीहरू नेपालकै बाटो भएर आदिबुद्ध मानिने स्वयम्भु र बुद्धको जन्मस्थल लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित विभिन्न ठाउँमा भ्रमण गर्थे । चौथो शताब्दीमा फा सियान, सातौँ शताब्दीमा इचिङजस्ता बौद्ध भिक्षुहरूले नेपालकै बाटो गरी यस्तो तीर्थयात्रा गरेका थिए । फा–सियानभन्दा दुई सय वर्षअघि नै लि ताओ युङ र त्यसपछि सेङ–साई र वाई–यु–चिनले लुम्बिनीको भ्रमण गरेका थिए । यसरी नेपाल प्राचीन समयदेखि नै बौद्ध पर्यटनका लागि प्रसिद्ध स्थल हो । खासमा बुद्धको जन्मस्थल लुम्बिनी रहेको र हाल सरकारले बजेटमार्फत् लुम्बिनीमा बर्थसेन्टर बनाउने योजनाले पनि यस क्षेत्रको पर्यटनलाई थप टेवा दिन सक्छ ।

खासगरी बौद्ध धर्म, दर्शन, इतिहास, पुरातत्व र बौद्ध धर्मका विभिन्न यानबारे जानकारी लिएर सोही यानसँग सम्बन्धित श्रद्धालुहरूलाई सम्बन्धित मुलुकबाट पर्यटकको रूपमा आकर्षित गर्न विविधखाले कार्यक्रमहरू ल्याइनु आवश्यक छ । यसका निम्ति नीतिगतरूपमा सरकारी पहल जरुरी देखिन्छ । यस प्रकार ५१ करोड बौद्ध धर्मावलम्बीहरूका साथै बौद्ध आस्था जागृत भएका एवम् यससँग अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि नेपाल बौद्ध पर्यटनका निम्ति उर्वर भूमि हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x