Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनक्कल गर्ने बानीले संकटमा स्वदेशी संंस्कृति

नक्कल गर्ने बानीले संकटमा स्वदेशी संंस्कृति


काठमाडौं । मानिसको नक्कल गर्ने बानी बालखकालदेखि नै सुरु हुन्छ । यसलाई अंग्रेजीमा कपी गर्ने भन्ने गरिन्छ । सानो बालख जब हिडेर ताते गर्न सक्ने हुन्छ । उसले नक्कल गर्न पनि सुरु गरिसकेको हुन्छ । बालख किन ठूलो मानिसको भाषा, ठूलो मानिसले गर्ने हरेक क्रियाकलापको नक्कल गर्छ त ? यसको कारण हो उसले अब यस संसारमा जिउनका लागि धेरै कुरा जान्नुपर्नेछ । ऊ यो संसारमा आएको सबैभन्दा नौलो मानिस हो । उसलाई यहाँको बारेमा केही पनि थाहा छैन । उसले अथाहा कुरा सिक्नु छ । यसैले उ ठूलो मानिसको नक्कल गरेर नै धेरै कुरा सिक्दछ । पहिले त ऊ आमा, बा, दिदी, दाजुजस्ता आफ्ना वरिपरि भएका परिवारका सदस्यहरूको नाम भन्ने गर्छ । ऊ यी शब्दहरू दोहोेर्याइतेहर्याइ धेरैपटक भन्छ । जतिपटक दोहोर्याउँदा पनि यी शब्दहरू उसलाई रमाइलो लागिरहेको हुन्छ । यस्तै, शारीरिक क्रियाकलापमा पनि ऊ एकदमै क्रियाशील हुन्छ । उनीहरूको जस्तो क्रियाशीलता ठूलो मानिसले एक छेउ पनि गर्न सक्दैनन् । सानो कोक्रामा खेल्ने बच्चाले यति हातखुट्टा चलाउँछ कि ठूलो मानिसलाई सुतेर त्यतिकै हातखुट्टा चलाउन लगायो भने ऊ दुई मिनेट यो काम गर्न सक्दैन । बालकको शारीरिक क्रियाकलाप अत्यधिक हुन्छ । यसबाट उसको शारीरिक विकासमा मद्दत पुग्छ । खाने बस्ने हिँड्ने र भाषा सिक्ने कुरामा ठूलो मानिसको नक्कल बच्चाले अत्यन्त धेरै गर्न मन पराउँछ । यसबाट उसलाई सामाजिक जीवनमा अन्तरक्रिया गर्ने र सामाजीकरण हुन मद्दत पुगिरहेको हुन्छ । अलिक ठूलो भए पछि उसले विद्यालय र त्यसपछि साथीभाइबाट पनि सामाजिक जीवनका अनेक पक्ष सिक्न बुझ्न र अनुशरण गर्न नै उसको दिनचर्या बितिरहेको हुन्छ । अझै ठूलो हुँदै जाँदा विद्यालय कलेज जीवन सकेर कुनै पेसा गर्ने सिलसिलामा पनि नजानेका कुरा जान्नेबाट सिक्ने र नक्कल गर्ने काम निरन्तर गरी नै रहन्छ । नक्कल गर्ने कामले उसको काम बिस्तारै परिष्कृत भइरहेको हुन्छ । सुरुसुरुमा गाह्रो लागेको काम पनि अब उसलाई सजिलो लाग्न थाल्छ । यसरी सजिलो लाग्नुको अर्थ कामको प्रकृति सजिलो भएर होइन बरु उसको आफ्नै क्षमता वृद्धि भएर हो । यसरी नै एउटा मानिसले आफ्ना अभिभावक, गुरु र साथीभाइसँग समेत सिकेर अनुशरण गरेर जीवनका अथाह ज्ञान सिक्दै ऊ एउटा देशको सच्चा र सक्षम नागरिक बन्छ ।

मानिस ठूलो भएर व्यवहारमा पाकोपन आइसकेपछि अरूबाट कुनै पनि कुरा नक्कल गर्ने होइन कि राम्रा कुराको अनुशरण गर्ने र नराम्रा कुराको बेवास्ता गर्नुपर्ने हो । अनुशरण गर्ने र नक्कल गर्ने भन्ने फरक कुरा हो । नक्कल गर्ने भनेको जस्ताको तस्तै हुबहु अरूले जे गर्छ उस्तै गर्ने हो । जसरी फोटोकपी गर्दा जस्तो सक्कल त्यस्तै नक्कल आउँछ, त्यस्तै गर्ने हो । अनुशरण गर्ने भनेको अरूबाट सिकेको कुरा आफ्नो जीवन र व्यवहारमा मिल्ने गरी त्यसलाई लागू गर्ने हो । नराम्रा कुरा बेवास्ता गर्न सक्नु पनि एउटा महत्वपूर्ण गुण हो ।

हाम्रा स्कुल कलेजले नक्कल गर्न सिकाउँछन् तर अनुशरण गर्न सिकाउँदैनन् । विदेशी चालचलन संंस्कार संस्कृति सिकाउने धेरैजसो त हाम्रा विद्यालयहरू हुन् । त्यसमा पनि निजी विद्यालयहरू । जन्म दिनमा ह्यापी बर्थ डे भन्दै केक काट्ने कुरा र क्रिसमस मनाउने कुरा उनीहरूले नै सिकाएका हुन् भन्दा फरक पर्दैन । जन्म दिनमा बलेको बत्ती निभाएर अन्धकार बनाउने परम्परा पश्चिमाहरूको हो हाम्रो होइन । यसले हाम्रो संस्कृतिमा शुभ संकेत गर्दैन । बालकहरू त बालक भई गए, हाम्रा अभिभावकहरूले विदेशी चालचालन र विदेशी संस्कार संस्कृतिभन्दा स्वदेशी संस्कार र संस्कृति सबैभन्दा प्यारो हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हो । त्यो विषयमा कुन ठीक र कुन बेठीक भन्ने कुरा छुट्याउन हामी सबै चुकेको देखिन्छ । नेपालकै नक्साको बडा केक बनाई कुनै दिन हाम्रा प्रधानमन्त्री स्वयंले कर्मचारी प्रहरी आर्मी र कार्यकर्ताहरू सबै राखी हजम गरेको कुरा पनि आएको थियो । त्यो पनि हेलिकोप्टरमा केक ओसारेर भएको यस्ता क्रियाकलापले हामी विदेशी संस्कारको सिको गर्न र आफ्नो संस्कृतिलाई हेला गर्न कति खप्पिस छौँ भन्ने कुरा यस उदाहरणबाट बुझ्न सक्छौँ । हामीले अरूको नक्कल गर्न सिक्यौँ । अरूको संस्कार संस्कृतिको खुब नक्कल गर्यौं तर आफ्नो संस्कार संस्कृतिको माया गर्न बिर्स्यौं ।

अरूको लिनु र आफ्नो छोड्नुको अर्थ नेपाल भनेको केही होइन । यो देशमा अब आफ्नो र आफ्नो बालबालिकाको भविष्य छैन । सबैभन्दा राम्रो संंस्कार संस्कृति भएको देश त युरोप, अमेरिका हो भन्ने मनस्थिति तयार गर्नु हो । यही मनस्थितिका कारण हाम्रा नेताहरूले पनि उतैबाट आएको उदार अर्थनीतिको नक्कल गरी देशमा भएका राष्ट्रिय उद्योगहरू पनि बेचिदिए । हामी यो देशलाई बेदखली गरी खाली बनाउन बालबालिकाको मनस्थिति तयार गरिरहेका छौँ । हाम्रो देशको शिक्षा नीति पनि स्वदेशमा केही गरेर खाने खालको छैन । विदेश पलायन गराउने खालको नै छ । नेता कर्मचारी शिक्षक र अभिभावक सबैले उस्तै शिक्षा दिएपछि बालबालिकाले सिक्छन् के ?

के हामी परापूर्व कालदेखि नै पिछडिएका क्षेत्र पिछडिएको संस्कृतिमा बसोबास गर्ने जातजातिहरू हौँ त ? त्यो कुरा बुझ्न पूर्वीय सभ्यताको केही कुरा बुझ्नु अति जरुरी हुन आउँछ । खगोलशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद र योगा शिक्षाको आविष्कार र विकास हाम्रैमा भएको थियो । प्राचीन ऋषिमुनिहरू आजको पश्चिमा वैज्ञानिकहरूका पनि परमपिता थिए । ग्रिसका वैज्ञानिक पाइथागोरस स्वयं ज्यामिति सिक्नको लागि हामी कहाँ नै आएका थिए । यस बारेमा म केही विश्वविख्यात विद्वानहरूको भनाइ यहाँ राख्न चाहन्छु ।

फ्राँस्वा भोल्तेअर (फ्रान्सका प्रशिद्ध लेखक र दार्शनिक)
म विश्वस्त छु हाम्रामा सबै कुरा गंगाजीको तटबाटै प्राप्त भएका छन् । खगोलशास्त्र, ज्योतिषशास्त्र, अध्यात्म विद्या सबैसबै । यो विशेष उल्लेख्य कुरा छ । पच्चीस सय वर्षअघि ग्रिसको समोस टापुका पाइथागोरस ज्यामिति सिक्न गंगाजीको तटसम्म पुगेका थिए । आर्य ब्राह्मणहरूको यश धेरैअघि युरोपमा स्थापित भइ नसकेको भए उनले कदापी त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला । वेद यस्तो सर्वाधिक मूल्यवान उपहार हो, जसका निमित्त पाश्चात्य जगत सधैँ पूर्वप्रति ऋणी रहेको छ ।

जा–सिल्भाइन बेली (महान फ्रान्सेली खगोलविद् र राजनीतिज्ञ)
हिन्दुहरूको खगोलशास्त्र संसारमा प्राचीनतम विद्या हो । हिन्दुहरूबाटै इजिप्सिअन, ग्रिसेली र यहाँसम्म कि यहुदीहरूले समेत त्यसको ज्ञान प्राप्त गरेका थिए । चार हजार पाँच सय वर्ष पूर्व हिन्दुहरूले गणना गरी निकालेको तारा गणहरूको गति आजसम्म क्यासिनो र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एक पल पनि फरक परेको छैन ।

पियरे साइमन डी ल्यापलेस (महान फ्रान्सेली गणितज्ञ, दार्शनिक र खगोलविद्)
सारा पश्चिमा जगतलाई शून्य (जिरो)को ज्ञान दिने पूर्वीयाहरू नै हुन्् । शून्य (०) को आविष्कार उनीहरूले नै गरेको हो । जसको ज्ञान नभएको भए अंकगणितको समस्या समाधान हुने थिएन ।

विश्वविख्यात विद्वानहरूको भनाइहरूको यो एउटा सानो अंश मात्र हो । हामीलाई उपरोक्त पूर्वीया दर्शनबारे पश्चिमा विद्वानहरूको भनाइ उपलब्ध गराउने महत्वपूर्ण स्रोत सलिल ज्ञवाली हुन् । पूरा एसिया भरका भाषाभाषीमा उल्था गरी यस्ता पुस्तक पढाउन सकिएमा सारा एसिया पनि जुरुक्क उठ्नेछ अनि भन्ने छ हामीले आफैँले आफैँलाई चिनेका रहनेछौँ । प्राचीनतम हाम्रा ग्रन्थहरूलाई हामीले राम्रोसँग अध्ययन अनुसन्धान गर्न सकेनौँ । बरु पाश्चात्य विद्वानहरूले यसको अध्ययन अनुसन्धान गरिरहेका छन् ।

यदि हाम्रोमा शून्यको आविष्कार नभएको भए गणित विषय अधुरो नै रहन्थ्यो । ठूला वैज्ञानिक आविष्कार पनि अलमलमा पथ्र्यो । गौतम ऋषीको न्याय दर्शनमा वर्णन गरेको गुरुत्वापतनम् शब्दले गुरुत्व बलको कुरा हाम्रा पुर्खालाई थाहा भइसकेको रहेछ भन्ने ज्ञात हुन्छ । पतनमको अर्थ माथि भएको वस्तु तल झर्ने भन्ने कुरा हो । योग शिक्षाको आविष्कार समेत अझ हाम्रो नेपालमै भएको थियो । प्राचीनतम योगका आविष्कारक हामीले मान्दै आएका महादेव स्वयं हुन् । हामी किन पछि पर्यौँ भन्ने सवालमा धेरै छलफल हुँदा एक जना विद्वानले भन्दै हुनुहुन्थ्यो हाम्रा महत्वपूर्ण ज्ञाता, आविष्कारक र प्राविधिक पक्ष महाभारत युद्धकालमा सबै मारिए र पूर्वीया सभ्यताको महत्वपूर्ण क्रमिकता यहीँनिर टुङ्गियो । यसको व्याख्या गर्ने एउटा मानिस पनि बाँकी रहेनन् । जेजति छन् प्राचीनतम ग्रन्थहरूमा सुरक्षित छन् । त्यो जो कोहीले बुझ्न सक्तैनन् । ती ग्रन्थहरू पनि धेरै युरोप अमेरिका पुगिसकेका छन् । यसैले हामी महत्वपूर्ण ज्ञान विज्ञानको खानी अरूलाई देखिरहेछौँ । हामी आफैंले आफैँलाई पत्याउँदैनौँ । यदि हामीले हामी र हाम्रो भूमिको माया गर्ने हो भने एकपटक फेरि ठण्डा दिमागले हामी सबैले घोत्लिनु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x