Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकांग्रेस–एमालेको विकल्प

कांग्रेस–एमालेको विकल्प


नेपालमा अहिले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार छ । तेस्रो दलमा रहेको नेकपा (माओवादी केन्द्र)ले दुई दललाई बिरालोले मुसा खेलाएझैँ खेलाएपछि वाध्य भई यी ठूला दल मिलेर सरकार बनाएका हुन् । एमाले अध्यक्ष केपी शर्माको नेतृत्वमा बनेको अहिलेको सरकारबाट केही हुन्छ कि भन्ने झिनो आशा छ तर विगतलाई हेर्दा केही होलाजस्तो लाग्दैन । ओली काम भन्दा भाषण गर्न सिपालु छन् । भाषणकै भरमा अहिलेसम्म उच्च तहमा पुगेका उनले अब जनताको पक्षमा काम गर्नुपर्ने बेला आएको छ ।

यो सरकारले केही गर्न सकेन भने विकल्प खोज्नुपर्ने अवस्था आउँछ तर विडम्बना के भइदियो भने विकल्प कसले दिने ? राजावादी राप्रपाजस्ता दलको जनाधार बलियो छैन ।

विकल्प दिने भनेका शक्ति र तिनका नेताहरु असल देखिएनन् । अहिले वैकल्पिक शक्तिका रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी छोटो अवधिमै नांगियो । यसका नेता रवि लामेछानेलगायत विवादमा परे जसले गर्दा जनताको आशा निराशामा परिणत भएको छ ।

पछिल्लो पटक आशा गरिएका नेताहरुमा उज्वल थापा, रवीन्द्र मिश्र, बालेन्द्र साह र रवि लामिछानेप्रति विश्वास कम हुँदै गएको छ । डा. बाबुराम भट्टराईले पनि नयाँ शक्तिको प्रयास गरेका हुन् तर उनको प्रयास वैकल्पिक राजनीतिको श्रेणीमा आएन । उनको प्रयास केवल अर्को नरम माओवादी दल खोलेर त्यसको नेतृत्व गर्नु थियो ।

। उज्वल थापा व्यक्तिगतरूपमा पनि शालीन र राजनीतिक रूपमा पनि उदार व्यक्ति थिए । राजनीतिमा व्यक्तिगत आचरण राम्रो भएर मात्र पनि हुँदैन, राजनीतिक चरित्र पनि चाहिन्छ । सायद त्यही भएर संगठनमा लडेर विवेकशीललाई अघि बढाउनभन्दा पार्टीबाट रिटायर हुने बाटो उनले रोजे । अन्त्यमा कोभिडबाट उनको निधन भएसँगै एउटा अध्याय नै समाप्त भयो ।

त्यसपछि आएका रवीन्द्र मिश्र व्यक्तिगत आचरणमा असल मान्छे भए पनि राजनीतिक रूपमा उनी अस्थिर रहे । सायद त्यही अस्थिरपन र बुवाको विरासतमा राजाका सचिवहरूले खेल्ने मौका पाए । उनी पहिले नै राजाको पक्षमा माहोल बनाउने सोचका साथ राजनीतिमा आएका हुन् कि होइनन्, यसै भन्न सकिने कुरा भने होइन । तर उनी राजनीतिक रूपमा अस्थिर हुन् भन्ने विषयमा दुई राय भने रहेन ।

बालेन र रवि लामिछानेको राजनीतिक उदय करिब एकै समयमा भएको हो । रवि लामिछानेमाथि उठेका नागरिकता, पासपोर्ट र सहकारीसँग सम्बन्धित र अरु प्रश्नहरूबाट उनको व्यक्तिगत आचरणमा प्रश्न गर्ने ठाउँ रहन्छ । राजनीतिकरूपमा पनि उनी अस्थिर मात्रै होइन, एकदमै महत्वाकांक्षी पनि साबित भए । आफै मन्त्री हुनुपर्ने, त्यो पनि स्वार्थको बझान हुने गृहमा नै । राजनीतिक चरित्र र स्थिरता हुने नेतृत्व हुन्थे भने त उनी अहिले सत्ताको खेलभन्दा पनि पार्टीको महाधिवेशन र पार्टीको दस्ताबेज लेख्न केन्द्रित हुन्थे ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको व्यक्तिगत आचरणमा तथ्यगत पुष्टि गर्ने आधार छैन तर उनको राजनीतिक चरित्र भने अराजनीति छ । टिममा काम नगर्ने चरित्र मात्र होइन कि स्थानीय स्तरको मेयर भएर पनि स्थानीयसँग नभेट्ने, छलफल र जवाफदेहिताबाट पर बस्ने किसिमका उनका अराजनीतिक आचरण विभिन्न कालखण्डमा पुष्टि भइसकेको छ । रास्वपाले अधोगति लिएसँगै कतिपयलाई बालेन अबको वैकल्पिक राजनीतिको नेतृत्वकर्ता हो भन्ने लागेको छ । तर एउटा राजनीतिक दल भनेको त अनेकतामा एकता हो र लोकतन्त्रको अभ्यास हो। मुकुल ढकालको ‘म’ भन्ने चरित्रले जुन अवस्था सिर्जना भयो बालेनले पार्टी खोल्दा त्योभन्दा बढी नराम्रो अवस्था सिर्जना गर्न सक्छ ।

नेपालमा वैकल्पिक राजनीति गर्न चाहनेहरू संगठन निर्माणप्रति सधैँ उदासीन रहे । यसको पछाडिको कारण के हो भने उनीहरूलाई न विचारले निर्देशित ग¥यो, न त अभावले । संगठन कि त निश्चित विचारको वरिपरि निर्माण हुन्छ कि त अभावपूर्तिका लागि संगठित भइन्छ । जसरी मुख्य पार्टीहरू विशेषतः कांग्रेस र एमालेले जनस्तर तहसम्म गएर आफ्नो विचार प्रतिपादन गरे, त्यसले एक किसिमको भावनात्मक सम्बन्ध विस्तार भएको छ ।

राजनीतिमा नीति, सिद्धान्त र विचारको विशेष महत्व हुन्छ । बलियो राजनीतिक शक्ति भएर स्थापित हुन संगठनको शक्ति अत्यावश्यक हो भने संगठन विचारकै जगमा बन्ने हो । राजनीतिक दलहरू वर्गीय हुन्छन् र उनीहरूले निश्चित वर्गको प्रतिनिधित्व गर्छन् । सबैको गर्छन् भन्ने हुँदैन । त्यसकारण दलहरू फरकफरक हुन्छन् र आफूले प्रतिनिधित्व गर्ने वर्गको विषय उठाउँछन् । मूलरूपमा उदार पुँजीवाद र समाजवादले समग्र राजनीतिक विचारलाई समेट्छ । दुवैको प्रतिनिधित्व गर्ने बलिया दल कांग्रेस र एमाले नेपाली राजनीतिमा स्थापित छन् । त्यसभित्र समुदाय र भूगोल विशेषका मुद्दा बोकेका ससाना दलहरूको सम्भावना हुने त भयो तर उनीहरू मुख्य शक्ति हुने सम्भावना न्यून रहेको छ ।

नेपालमा वैकल्पिक भनेर आउन चाहने शक्तिहरूले आफू स्थापित हुने हो भने कांग्रेस–एमालेमध्ये कुनै एकको राजनीतिक स्पेस खोस्नुपर्ने हुन्छ । तर चाँडो स्थापित हुने रहरले यस्ता शक्तिहरूले आफ्नो विचार स्पष्ट गर्न सक्दैनन् र एजेन्डामा आधारित पो राजनीति गर्ने हो भनेर वितृष्णाको जनमत बटुल्छन् । विचारको अभावमा केही समयमै यो कुन वर्गको पार्टी भन्नेमा अन्योल छाउन थाल्छ । पार्टीका नेता कार्यकर्तामा पनि दुई फरक ध्रुवको वैचारिक लडाइँ हुन थाल्छ, जसको कुनै निकासै हुन्न । अन्तमा पार्टीको अवसान हुन्छ । विवेकशील साझामा भएकै यही हो ।

राजनीति सबैको वशको कुरा होइन । यसका लागि राजनीतिक चरित्र चाहिन्छ । मैले सबथोक जानेको छु, तसर्थ मैले भने अनुसार भए ठिक नभए म सामाजिक सञ्जालदेखि आम सञ्चारमा तथानाम बोल्ने लेख्ने गर्छु भन्ने सोचले राजनीतिक दलजस्तो सार्वजनिक संस्था चल्न सक्दैन । राजनीतिमा लागिरहँदा आफूले भनेजस्तो नहुन सक्छ, आज आफ्नो विचारलाई साथ दिनेहरू भोलि फरक प्रसंगमा साथ नदिन सक्छन्, षडयन्त्र हुन्छ । यस्ता अनेकन प्रतिकूलतालाई चिरेर खुट्टा दरिलो तवरले टिकाउन सक्नेले मात्र लामो समयसम्म राजनीति गर्न सक्छन् ।

वैकल्पिक राजनीतिमा जोडिन खोज्नेहरूको संगम दुई किसिमले अप्राकृतिक देखिन्छ । पार्टी निर्माण गर्ने चरणमा विचारको ख्याल नगरी सबै किसिमका मानिसहरू जोड्ने गल्ती वैकल्पिक राजनीतिले बारम्बार गरिरहन्छ ।

संख्या धेरै देखाउने लहडमा वामपन्थी, पुँजीवादी, राजावादी, सम्वद्र्धनवादी लगायत सबै एकै ठाउँमा आउँछन् । तर जब पार्टीले आफ्नो विचार प्रष्ट गर्ने बेला आउँछ, तब यी सबै एकै ठाउँमा आउने सम्भावनै रहँदैन । यसले राजनीतिक दस्ताबेजहरू थाती राख्नुपर्ने अवस्था सिर्जना मात्र गर्दैन असन्तुष्टि विकास हुँदै त्यसले पार्टी निर्माणमा पनि रोक लगाउँछ ।

लोकतन्त्र नभएका बेला लोकतन्त्र प्राप्तिका लागि विकल्पका रूपमा स–साना धेरै समूह हुनु सामान्य विषय हो । तर लोकतन्त्र प्राप्तिपश्चात् राज्य शत्रु होइन । राज्यलाई बलियो बनाउँदै जानुपर्छ र जनतामा राज्य शत्रु होइन भन्ने विचार प्रबल बनाउँदै लग्नुपर्छ । परिवर्तनको चाहना हरेक समाजमा हुन्छ । तसर्थ लोकतन्त्रमा विकल्प खोज्नु यसको अन्तर्निहित विषय हो । तर लोकप्रियताको आडमा वैकल्पिक राजनीति भनेर समाजमा अराजकता फैलाएर राजनीतिक फड्को मार्ने रणनीति अन्तर्गत वैकल्पिक राजनीति नेपालमा सम्भव छैन ।


क्याटेगोरी : बिबिध, बिशेष, विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x