Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमाल आरोहणको नालीबेली र १४ अग्ला हिमाल

हिमाल आरोहणको नालीबेली र १४ अग्ला हिमाल


काठमाडौं । नेपालमा निकट भविष्यमै शरद ऋतु सुरु हुँदैछ । शरद ऋतु सुरु भएसँगै नेपालमा रहेका विभिन्न हिमाल आरोहण सुरु हुन्छ । स्मरण रहोस्, नेपालमा मुख्य गरेर वसन्त ऋतु र शरद ऋतु पर्वतारोहण हुने गरेको छ । कताकति शिशिर ऋतुमा पनि पर्वतारोहण हुन्छ, नेपालमा । तर, वर्षा ऋतुमा चाहिँ नेपाली हिमाल आरोहण भएको छैन होला । किनभने यस सम्बन्धमा पङ्तिकार जानकार भएन ।

अब लागौँ, विश्वमा रहेका १४ वटा अग्ला हिमचुचुराहरू क–कसले र कहिले–कहिले चढे भन्ने सम्बन्धमा जानकारी लिनेतर्पm ? साथै ती पर्वतारोहीहरू कुन–कुन देशका थिए ? अनि ती १४ अग्ला हिमाल कहाँ–कहाँ छन् ? भन्ने सन्दर्भलाई छोटोमा चर्चा गर्ने प्रयास गरिएको छ । हो, विश्वका अग्ला १४ वटै हिम चुचुरा एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एकतिहाइ भू–भाग नेपाल भएर जान्छ भने आठ वटा त (६० प्रतिशत) नेपालमै रहेका छन् । स्मरणीय छ, हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि हालसम्मको आठ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मिटर भएको) सम्म रहेका छन् ।

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८८ सय ४८ दशमलव ८६ मिटर) हो भने हो भने, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चोमोलुङमा चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाइ आठ हजार छ सय ११ मिटर रहेको छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङसेन्छेलुङ) हो । यो हिमाल नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम राज्य तथा पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सीमामा रहेको छ भने यो हिमालको उचाइ आठ हजार पाँच सय ८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीद्वय जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए ।

साथै, विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से÷चे हो । यसको उचाइ आठ हजार पाँच सय १६ मिटर रहेको छ । यो हिमाललाई सर्वप्रथम आरोहण गर्ने काम सन् १९५६, मे १८ मा भएको थियो भने स्वीट्जरल्यान्डका पर्वतारोहीद्वय फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले गरेका थिए । त्यस्तै, विश्वको पाँचौँ अग्लो हिमाल मकालु हो । यसको उचाइ आठ हजार चार सय ६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले आरोहण गरेका थिए । त्यस्तै, विश्वको छैठौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ आठ हजार दुई सय एक मिटर रहेको छ । यो हिमाललाई सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर एवम् नेपाली आरोही पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै, विश्वको सातौँ अग्लो हिमाल हो–‘धवलागिरी’ । यसको उचाइ आठ हजार एक सय ६७ मिटर रहेको छ भने सन् १९६० को १३ मेमा यो हिमाल आरोहण गरिएको थियो । स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै, विश्वको आठौँ अग्लो हिमालचाहिँ मनास्लु हो भने यो हिमालको उचाइ आठ हजार एक सय ६३ मिटर रहेको छ । मनास्लु हिमालको प्रथम आरोहणचाहिँ सन् १९५६ मे ९ मा जापानिज पर्वतारोहीहरू तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको नवौँ अग्लो हिमाल नांंगा पर्वत हो । आठ हजार एक सय २६ मिटर उचाइ रहेको यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक यो हिमाल चढेका थिए ।

साथै, विश्वको १०औँ अग्लो हिमाल ‘अन्नपूर्ण–१÷प्रथम’ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाइ आठ हजार ९१ मिटर रहेको छ । स्मरणीय छ, आठ हजार ९१ मिटर अग्लो हिमाल मानव इतिहासमै सर्वप्रथम चढिएको हिमाल पनि हिमाल ‘अन्नपूर्ण–१÷प्रथम’ नै हो । यो हिमाल फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवम् प्रकारले विश्वको ११औँ अग्लो हिमालचाहिँ ‘गासेरब्रुम–१’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यो हिमालको उचाई ८,०८१ मिटर रहेको छ । यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्र्यु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । त्यस्तै, विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक हो यो हिमाल पनि पाकिस्तानमै रहेको छ । यो हिमालको उचाइ आठ हजार ५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औँ अग्लो हिमाल ‘गासेरब्रुम–२’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको १४औँ आठ हजार मिटर अग्लो अन्तिम हिमाल ‘सिसापाङमा’ हो । यो हिमालको उचाइ आठ हजार २७ मिटर रहेको छ भने यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीको जम्बो टोलीले आरोहण गरेका थिए ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x