राष्ट्रियताको मुद्दा र नेपालको राजतन्त्र
काठमाडौं । राष्ट्रियता भन्नाले मैले कुनै जातजातिको भाषा संस्कार संस्कृति र परम्पराको बारेमा लेख्न लागेको होइन । नेपालमा धेरै जातजाति र भाषाभाषिका जनताहरू बस्छन् । उनीहरूका छुट्टाछुट्टै पहिचानलाई हामीले सम्मान गर्नुपर्छ । तथापि सबैमा एउटै पहिचान नेपालीपनमा झल्किन्छ । नाक, आँखा, मुख, टाउको, पेट, हात खुट्टा आदि विभिन्न अंगप्रत्यंगको संयुक्त नाम नै मानिस हो । यी सबैलाई अलग गर्नेबित्तिकै मानिसको कल्पना गर्नै सकिँदैन । यस्तै विभिन्न जातजातिको सुन्दर देश हो नेपाल । जातीय द्वन्दको बिऊ रोपेर यसलाई मलजल गरेर हामी आफैँ छियाछिया हुनुबाहेक उपलब्धि शून्य छ ।
चारैतिर हुस्सु लागेको अवस्थामा टाढाको त के कुरा नजिकको वस्तु समेत राम्रोसँग देख्न सकिँदैन । हुस्सुलाई चिर्नका लागि सूर्यको किरणको आवश्यकता छ । राजसंस्था र राष्ट्रियता सधैँ सँगसँगै जोडिएर आउने गर्छन् । नेपालमा राजसंस्था राष्ट्रियताको प्रतीकको रूपमा अहिले पनि व्याख्या विश्लेषण गर्ने गरिन्छ । यो कटु सत्य पनि हो । तर यसका लागि हामी पुनः पुरानैरूपमा फर्कनुपर्ने हुन्छ ।
यो कुरा सम्भव छ वा छैन अलिकति छलफल गरौँ । राष्ट्रियताको सवालमा राजालाई मान्नेहरूको विरोध गरेर वा मौन बसेर पनि समस्याको सामाधान हुने अवस्था देखिँदैन । वास्तवमा राष्ट्रियताको संवर्द्धन हाम्रो आश्यकताको कुरा पनि हो । जबजब बाह्य शक्तिले नेपालको राष्ट्रियतामाथि धावा बोल्ने गर्छ । तब राष्ट्रियता हाम्रो मुख्य समस्या र मुद्दा बन्दै आएको छ ।
नेपाली कांग्रेसको पुरानो पुस्ताले सक्रिय राजतन्त्रको पूरै समय मात्र होइन, राणा शासनको समयमा समेत भारतमा निर्वासित जीवन बिताए । उनीहरूले उतैबाट राजनीति, सिके सिकाए । कांग्रेसको संगठन गरे । यसलाई मलजल पनि गरे । भारतीय नेताहरूसँगै उनीहरूको बढी उठबस पनि भयो । त्यो समय यो स्वाभाविक पनि थियो । किनकि देशभित्र टिक्न नसकेपछि के गर्ने त ? यता राजा महेन्द्रलाई पनि नेपाली कांग्रेस घाँडो भएको थियो । इन्डियाको हेपाइ र चेपाइ उनलाई पनि मनपरेको थिएन ।
नेपाली कांग्रेसले राजनीति उतैबाट सिकेका कारण कतिपय सवालमा सबै कुरा उतैबाट सोधेर शासन सञ्चालन गर्नुपर्ने अवस्थामा पुगे । स्वतन्त्रतापूर्वक आफ्नो शासन आफैँ सञ्चालन गर्ने खुबी काँग्रेससँग थिएन । यसले गर्दा इन्डियन पक्षको इन्ट्रेस्टअनुसार नेपालमा शासन सञ्चालन हुन थाल्यो । नेपालको उत्तरी सिमानामा भारतीय चेकपोस्टहरू रहन थाले । नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतीय प्रतिनिधिको उपस्थिति अनिवार्य हुन थाल्यो । नेपालको सेनालाई प्रशिक्षण दिन आएको भारतीय सैनिकको टोली पुनः भारत फर्कन मानेन ।
यसरी २०१७ सालअघि नेपालमा नेपाली कांग्रेसले शासन सञ्चालन गरिरहेको बेलामा नेपालमा राष्ट्रियताको नामोनिशान थिएन । यसैगरी नेपाली कम्युनिस्ट आन्दोलनका नेता क. पुष्पलाल पनि भारतमै निर्वासित जीवन बिताउँथे । नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि २००६ सालमा भारतकै भूमिमा भएको हो । भारतीय कम्युनिस्ट नेताहरूसँग उनीहरूको पनि उठबस नहुने कुरा भएन । यो स्वाभाविक पनि हो कि मानिसले ज्ञानको प्राप्ति आफ्नो साथीभाइ, इष्टमित्र, छिमेकी र यो विश्व ब्रह्माण्डबाटै लिने हो । भारतीय नक्सलवादी आन्दोलनको प्रभावस्वरूप क चारुमजुमदारको लाइनअनुसार नेपालमा २०२८ सालमा झापा विद्रोह भएको थियो ।
यो आन्दोलनका नेता कार्यकर्ताहरूको भारतलाई आधारभूमि नबनाई नेपालमा जसरी पनि टिकेर युद्ध नीति अगाडि बढाउनुपर्छ भन्ने थियो । नेपालको पूर्वदेखि पातलो रूपमा पश्चिमसम्म पनि यो आन्दोलनले जनतालाई जगाउने र वर्गीयरूपमा सचेत पार्ने काम भने गरेको थियो । तर, कति नेता कार्यकर्ता जेल परे, कोही मारिए । चारुमजुमदारको लाइनअनुुसारको क्रान्ति नेपालमा सफल हुन सकेन । तत्कालीन कोके (को–अर्डिनेसन केन्द्र)ले नीति फेर्न बाध्य भयो । यसपछि यो २०३५ मा माले बन्दै २०४७ शालमा एमालेमा परिणत भयो । चारुमजुमदारको लाइनअनुुसार तयार भएका कार्यकर्ता नेतामा निकै ऊर्जा थियो
यसैबखत जेल परेका नेता कार्यकर्तामध्ये सीपी मैनालीहरू समेतले निकै लामो सुरुङ खनी नख्खु जेलबाट भाग्न सफल भएका थिए । कतिलाई पुन पक्रेर ल्याई थुनियो । २०४१ शालमा पिस्करकाण्डमा जेल पर्दा नख्खु जेलमा मेरो उहाँहरूसँग भेट पनि भएको थियो । यसमध्ये तत्कालीन भारतीय कम्युनिस्ट पार्टी मालेले नेपाली कम्युनिस्ट आन्दोलनलाई सघाउन पठाएको क.छविलाल राजवंशी (छवि दादा)लाई पनि मैले नख्खु जेलमा भेटेको थिएँ । २०४६ माघमा गणेशमान निवास चाक्सी बारीमा नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलनको सुरुवात गर्न नेपाली कांग्रेस र बाममोर्चाको आयोजनामा एउटा कार्यक्रमको आयोजना भएको थियो । यसमा भारतका नेता चन्द्रशेखरको पनि उपस्थिति थियो ।
यसैगरी २०५२ साल फागुन २ गतेबाट नेपालमा नेकपा माओवादी पार्टीको नेतृत्वले दीर्घकालीन ‘जनयुद्ध’को संखघोष गर्यो । यसका धेरै सकारात्मक र नकारात्मक पक्षहरू पनि त्यतिकै देखिए । राजतन्त्रलाई ठूलै धक्का दिने पार्टी यो नै हो । यस्तै, उच निच इतिहासको लामो कालखण्डदेखिको छुवाछिटो जस्तो परम्परालाई यसले करिब–करिब नामेट नै पारिदियो । यस्तै–यस्तै धेरै सकारात्मक पक्ष पनि यस आन्दोलनले छोडेका छापहरू हुन् ।
यस आन्दोलनका सकारात्मक मात्र होइन नकारात्मक पक्ष पनि त्यतिकै छन् । यसका सबैभन्दा नकारात्मक पक्ष सिद्धान्त र नीतिभन्दा बन्दुक बलशाली देखियो । झण्डै–झण्डै बिहारी शैलीका जबरजस्तीका घटना पनि हुन थालेकै थियो । शत्रु र मित्र छुट्याउने मामिलामा यो ज्यादा चुकेको देखियो । यस्तै, जातीय र धार्मिक सहिष्णुतामा रहेको देशमा जातीय झगडालाई यसले निम्तो दियो । यो आन्दोलन शास्त्रीयरूपमा माओकालीन माओका सिद्धान्तको नक्कलमा आधारित भएकाले दीर्घकालीनरूपमा यो अगाडि जान सकेन ।
अर्को कुरा यो आन्दोलनका मुल नेतृत्व सुरुदेखि नै भारतीय भूमिमा बस्थे । भारतीय जासुसी संस्था ‘रअ’का मानिसहरूसँग यसका कतिपय नेताको उठबस र सरसहयोग समेत थियो । यो कुरा सुधीर शर्माको प्रयोगशालाले प्रस्टसँग लेखेको छ । यसको खण्डन आजसम्म नआएकाले यसलाई प्रष्ट प्रमाण मान्न सकिन्छ । यस पुस्तकमा प्रमाणसहित तिथिमिति समेत दिएकाले खण्डन गर्न समेत गारो छ । यी आदि विविध कारणले प्रचण्डजस्तो नेतृत्व कौशल भएका नेता भएर पनि यो पार्टी उँभो लाग्न सकेन र छिन्नभिन्न भयो । त्यत्रो दुःख गरेर बनाएको पार्टी तहसनहस भयो । सबैभन्दा ठूलो कुरो त सिद्धान्तमै यसको खोट देखियो ।
यसरी माथिका यी उदाहरणहरूबाट हाम्रा पार्टीहरूका राजनीतिक प्रभावका उठानहरू र राजनीतिक आधारभूमि भारत नै रहेछ भन्ने प्रष्ट हुन्छ । सबैले मान्नैपर्ने र स्वीकार्नैपर्ने कुरा यो हो कि जब हामी आफ्नो घरमा स्वतन्त्रतापूर्वक बाँच्न सक्ने र सुरक्षित महसुस गर्दैनौँ भने छिमेकीको शरणमा अवश्य जान्छौँ । यही मौकामा छिमेकीले पनि आफ्नो स्वार्थपूर्ति गर्न अग्रसर हुन्छ र हस्तक्षेपकारी भूमिका खेल्छ भने हाम्रो भाग्य यस्तै रहेछ भनेर बस्ने हो र ? बरू सचेत भएर अगाडि बढ्नुपर्छ । यो नवीन विश्वमा उपायहरू असीमित छन् । खोज्न मात्र सक्नुपर्छ ।
नेपालका राजाहरू राष्ट्रियताको मेरुदण्डको रूपमा सधैँ उभिए । विशेष गरेर राजा महेन्द्र जसलाई हामी निरंकुशताको प्रतीकका रूपमा मान्दछौँ । किनकि यिनले नै बीपी, केपीलगायतलाई जेल हाले । निरंकुश पञ्चायती व्यवस्था लादेर पार्टीहरूलाई प्रतिबन्द लगाएर । पार्टीका नेताहरूलाई निर्वासित जीवन बिताउन बाध्य पारे । कम्युनिस्टहरूलाई पनि यिनले दिनुनदिनु दुःख दिए । तर यिनै राजाले स्वाधीन राष्ट्रको रूपमा नेपाललाई उभ्याउन ठूलो भूमिका खेलेको कुरा घामजतिकै प्रष्ट छ । हामी यसलाई नकार्न सक्तैनौँ । यसरी हेर्दा हामीमध्ये कसैलाई राजतन्त्र पुनः फर्काउन पर्छ भन्ने पनि लाग्छ ।
राजा पृथ्वीनारायण शाह, नायब बहादुर शाह र राजेन्द्रलक्ष्मीले एकीकरण गरेर देशको आकार ठूलो बनाएका थिए । पूर्वमा टिस्टा र पश्चिममा काँकडासम्म मात्र होइन दक्षिणमा गंगासम्म हाम्रो सिमाना पुगेको थियो । हामीलाई कहिलेकाँही ती नायबहरू र पृथ्वीनारायण शाह जीवितै भइदिएको भए हुन्थ्यो जस्तो पनि लाग्न सक्छ । तर हामी पृथ्वीनारायण शाहको युगमा छौँ त ? नत हामी राजा महेन्द्रको युगमा छौँ न भद्र राजा वीरेन्द्रको समयमा छौँ । हामीले चाहेर पनि नत हामी त्यो जमानामा फर्किन सक्छौँ न उनीहरू फर्केर आउन सक्छन् । बागमतीमा धेरै पानी बगेर गइसक्यो ।
अहिले हामी ज्ञानेन्द्र पूर्व राजाको रूपमा नागार्जुनमा बसिरहेको समयमा छौँ । पूर्वराजा ज्ञानेन्द्र कस्ता प्रकृतिका राजा थिए, कसैले कसैलाई सम्झाइरहन पर्दैन । धेरैलाई थाहा भएकै कुरा हो कि उनी राजकुमार छँदा उपत्यकाका प्रतिष्ठित र ऐतिहासिक मन्दिरहरूबाट देवताका मूर्तिहरू हराउँथे र रातारात विदेशी भूमिमा पुग्थे । यसमा उनैको नाम जोडिन्थ्यो । जनप्रिय र देशभक्त राजा वीरेन्द्रको वंशनाश हँुदा उनको परिवार नारायणहिटी दरबारभित्रैका रैथाने थिए । त्यत्रा सुरक्षाकर्मी र भाइ भारदार दरबारभित्रै हुँदा पनि कसरी उनको वंशको मात्र नामोनिशाना नहुने गरी नासियो ? प्रश्न गम्भीर छ ।
यसमा देशी र विदेशी शक्तिको हात थियो भन्ने कुरा अरूले नबुझे पनि सामान्य नेपाली जनताले बुझ्ने कुरा यही हो । यस्ता मुकदर्शक राजा राष्ट्रियताको प्रतीकको रूपमा उभ्याउन खोजेको हो भने यो हुनसक्तैन । उनी यसको लागि सक्षम छन् भन्ने लाग्दैन । जनता पनि मान्न तयार छैनन् । कसैलाई राजाको रूपमा त्यतिकै उभ्याउन खोजेको हो भने यसको पनि अर्थ रहँदैन । वास्तविकता चाहिँ के हो भने संसारबाट राजतन्त्र लोप भइसक्यो र लोप हुने क्रममा छ । यो कसैले थेगेर थेगिँदैन । यो विश्वको एउटा वास्तविक इतिहास पनि हो । कुनैबेला संसारभर शक्तिशाली राजतन्त्र नै थिए । तर अब त्यो अवस्था छैन ।
जबजब निरंकुशता देशमा हाबी हुन्छ, तबतब लोकतन्त्र वा प्रजातन्त्रको आवश्यकता महसुस हुन्छ । जबजब लोकतन्त्रको आन्दोलन हुन्छ । अन्तर्राष्ट्रिय शक्ति समूहको पनि समर्थन रहन्छ । जबजब लोकतन्त्रको अभ्यास गरिन्छ, तबतब छिमेकीको हस्ताक्षर पनि सँगै निम्तिन्छ । यसो नहुनका लागि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर शासन सञ्चालन गर्ने नेता चाहियो । भनिन्छ, आफ्नो थैलीको मुख बन्द गर्नु, साथीलाई चोर नलागाउनु । कुरा ठीकै पनि हो । हस्तक्षेप नै हुन्छ भने त यसलाई निस्तेज पार्न त सम्पूर्ण देशलाई माया गर्नेजति एक जुट हुनुपर्ने आवश्यकता रहन्छ । यसमा बाम र कांग भन्ने पनि हुँदैन । के हाम्रो देशका जनता आफ्नो देशको माया गर्दैनन् र ? अवश्य गर्छन् । के यही जनताले बनाएका नेताहरूले देशलाई माया गर्दैनन् ? अवश्य गर्छन् । मात्र राज्यसत्तामा र शक्तिमा जहिले पनि उनीहरू नै हाबी भए जो देशको माया गर्दैनन् । माथिका सम्पूर्णकमी कमजोरीका बाबजुद पनि हामीले राष्ट्रलाई माया गर्ने नेता स्वर्गमा खोज्न जाने होइन, जनताले नै जन्माउनुपर्ने हुन्छ । भएकामध्ये नै खोज्नुपर्ने हुन्छ । राजतन्त्रको मुद्दा उठाउनेले अमूर्त कुरा गरेर मात्रै समस्याको समाधान हुँदैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया