Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहानगर प्रमुख बालेन ‘लगाम नभएको घोडा !’

महानगर प्रमुख बालेन ‘लगाम नभएको घोडा !’


काठमाडौं । हालै सर्वोच्च अदालतले उपत्यकामा बग्ने वाग्मती, विष्णुमतीलगायत सहायक नदी र खोलाको दुवै किनारको चालीस–चालीस मिटर छोड्नुपर्ने र कुनै किसिमको संरचना निर्माण गर्न निषेध गरेको फैसला सतहमा आएको छ । दुई न्यायाधीशको बेच्नले कोठाभित्र बसेर गरेको यो फैसला कतिको न्यायोचित छ ? यो व्यावहारिक छ र जनताले कसरी प्रतिक्रिया जनाउने हो र सरकारको सोचाइ के हुने हो आउने दिनहरूमा हेर्न पाउँछ नै ।

आश्चर्य लाग्दो र सोच्दै नसोचेको त काठमाडौं महानगरका प्रमुख बालेनको भूमिका छ । अदालतको आदेश आएको केही घण्टामै पूर्णपाठ प्रकाशित नहुँदै नगरवासीको नाममा महानगरपालिकाले एक वक्तव्य जारी गरी सर्वोच्चको आदेशपालन गर्न र चालीस मिटरभित्र कुनै किसिमको संरचना निर्माण कार्य नगर्न र नगराउन सूचना प्रवाह गरेको छ ।

यो चालीस मिटरको आदेशले उपत्यकाका सबै पालिकाहरू, विभिन्न सरकारी निकायहरूलाई समेत असर पर्ने देखिन्छ र कार्यान्वयनको जिम्मेवारीभित्र पर्ने र चासोको विषय हुने भइहाल्यो । तर जानेर होस् या नजानेर सूचना जारी गर्नेमा पहिलो हुन पुगेका छन्, प्रमुख बालेन । मानौँ लगाम नभएको एक्लो घोडाजस्तै ।

के बालेनले सो निर्णयबाट कति परिवार र बस्तीमा असर पार्छ सोचेको होलान् त उनले ? कति मठमन्दिरलगायतका संरचना प्रभावित हुने हो त्यसको तथ्याङ्क छ ? यो लागू गर्दा कति जटिल समस्या हुन्छ उनले बुझेका छन् ? के यो बुझ्नु पर्दैन ? बालेनले को–कोसँग परामर्श गरेर हतारहतार किन वक्तव्य जारी गर्नुप¥यो ? जबकि महानगरका उपप्रमुखलगायत अधिकांश वडाध्यक्षहरू आदेशको विरोधमा उत्रेका छन् । महानगरका प्रवक्ता समेतले लिखितरूपमा असहमति जनाइसकेको छ ।

एक समय थियो जब सुकुम्बासी, टुकुचा प्रकरणमा अदालतको आदेश मान्दिन महानगरपालिकाको कार्यमा हस्तक्षेप ग¥यो भन्दै अदालतको घोर विरोध गरेका बालेन आज युटर्न किन हुन पुगे ? यसबाट बालेनको दोहोरो चरित्र छर्लङ्ग भएको छ । एक लाखभन्दा बढी जनता यो आदेशबाट प्रभावित हुने तथ्याङ्क आएको छ । उनीहरू आफ्नो भविष्यबारे चिन्तित र आतङ्कित मात्र नभई आन्दोलनमा समेत उत्रेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र नै बुझाएका सकेका छन् ।

बुझ्नै नसक्ने त प्रभावित र आन्दोलित समूह बालेन भेट्न र आफ्ना समस्या अवगत गर्न जाँदा नगर प्रहरी लगाएर ढोका बन्द गरी अपमान गरेको, भेट्न अस्वीकार गरेको र महानगरपालिकाका नगर प्रहरीहरूले ज्यादती गरेको चर्चा छ । यी प्रहरी बालेनका लागि मात्र हुन् कि महानगरका जनताका लागि पनि हुन् भन्ने प्रश्न उठेको छ । यी प्रहरीको भूमिका र कार्यशैलीबारे राम्ररी पुनरावलोकन गर्नुपर्ने जनताको माग रहेको छ ।

हाल भएको महानगरसभामा बालेनको एकलौटी व्यवस्थापन नै प्रमुख मुद्दा बनेको छ । बालेनविरुद्ध बुलन्द आवाज समेत उठेको छ । दुई वर्षसम्म चुइक्क नबोली समर्थन गर्दै आएका उपप्रमुख स्वयंले पहिलोपल्ट बालेनको कामप्रति कडा असन्तुष्टि जनाएको र सच्चिन चेतावनी समेत दिएकी छन् । बालेनका अन्धभक्तहरूले बालेनलाई काम गर्न दिएन भन्दै सामाजिक सञ्जालमा विष वमन गर्दै आएका छन् ।

स्थानीयले भोग्नुपरेको समस्या जनप्रतिनिधि र नगरप्रमुखको हैसियतले आफूले नै अपनत्व लिनुपर्ने होइन र ? अनि समस्या समाधान गर्ने जिम्मा र सोको लागि नेतृत्व लिनुपर्ने होइन र ? बालेन आफ्ना मतदाताहरूप्रति पटक्कै उत्तरदायी नदेखिएको, जनताका समस्याप्रति मतलब नराख्ने जनगुनासो रहिआएकोमा यो घटनाबाट सोको पुष्टि समेत भएको देखिन्छ ।

महानगरभित्रका स्थानीय जनतालाई गर्नैपर्ने कामहरूभन्दा आफ्नै लहडका काम विनासल्लाह, विनायोजना गर्ने गरेको जनगुनासो बढ्दै गएको छ । स्थानीयबाट उठाइएका कर समेत दुरुपयोग गरेको मतदाताको बुझाइ छ । हालै, नेपाली राष्ट्रिय खेलाडीलाई ठूलै नगद पुरस्कार वितरण गरिएको थियो । खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्नैपर्छ । तर त्यो कुन आधारमा गर्ने र गरियो ? के ती सम्पूर्ण खेलाडीहरू काठमाडौं महानगरवासी हुन् ? देशभरका खेलाडीलाई यसरी स्थानीयले कर तिरेको पैसा बाँड्नुको केही औचित्य छ र ? आफ्नो लहडबाहेक के भन्न सकिन्छ र ? महानगरभित्रका खेलाडीलाई राष्ट्रियस्तरको खेलाडी बनाउन वडामा खेलाडीलाई परिचालन गरी लगानी गर्नुपर्ने होइन र ? स्थानीय सरकार भएकाले आफ्नो क्षेत्रभित्रका जनसमुदायको हक, हित, कल्याण र प्रोत्साहनका लागि गर्ने हो । राष्ट्रियस्तरको संघीय सरकारको जिम्मेवारी होइन र ?

बालेन जनताको सम्पर्कमा आउन नचाहने, संवाद गर्न नचाहने स्वभावका छन् । आफ्ना केही सहकर्मीबाहेक धेरैसँग सरसल्लाह गर्न नचाहने आरोप पनि रही आएको बुझिन्छ भने पारदर्शिता त परको कुरा भयो । जुन हालैको नगरसभामा छर्लङ्ग भएको छ ।

यस्तै हो भने बालेन एक्लिँदै जाने पक्का छ र आगामी दिनमा कसरी महानगरपालिका चल्ने हो भन्नेमा जनता चिन्तित छन् । सामाजिक सञ्जालमा भिडन्त गर्ने, पदअनुसारको व्यवहार नगर्ने । भाइरल बन्ने, गर्ने र अन्धभक्तको वाहवाही बटुल्ने, र्यापर र कलाकारलाई जस्तै हुटिङ गराउने बालेनको सौख रहेको जनताले अहिले बुझिसकेका छन् ।

एक वडाध्यक्षले बालेनले छिमेकी मुलुकमा जस्तै आफ्नै सञ्चार (मिडिया) चलाएको आरोप बालेनकै मुख अगाडि लगाएको हेर्नलायकको थियो । आपसी संवाद र सहमतिबाटै सहज ढंगले काम पूर्ण गर्न सकिनेलाई सगरमाथाजत्रो मुद्दा बनाउने बालेनको मनोवृत्ति हो भन्ने जनताको बुझाइ रहेको छ अब । स्थानीय सरकारको अवधारणा जनसम्पर्क, सहभागिता, पारदर्शिता, आवधिक योजना तर्जुमा गरी सञ्चालन गर्ने हो जुन भएको देखिँदैन ।

आफ्नो आङमा भैँसी नदेख्ने अर्काको आङमा जुम्रा देख्ने र काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्न थालेका छन् काठमाडौंका मतदाताहरू । काठमाडौंवासीले भोगेका समस्याहरू र अतिआवश्यक मागहरूजस्तै खानेपानी, ढल निकास, नदी नियन्त्रण, महँगी, बेरोजगार, युवाका मुद्दा ओझेलमा परेका छन् । २५ अर्ब बजेट पूर्णरूपमा खर्च गर्न सकेको अवस्था देखिँदैन । बालेनको लागि केही फरक नपर्ला तर महानगरको ३२ वडाका जनतालाई अन्याय हुनेछ । र्याप गायक बालेनले चुनाव त जितेकै हो तर यस्तै हुँदो हो त के बालेन साँच्चै जनप्रतिनिधि हुन सक्छ ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x