भ्रष्टाचारको चास्नीमा डुबुल्की मार्ने कर्मचारीहरूको नाममा
काठमाडौं । कर्मचारीहरूमा महत्वाकांक्षा बढ्दै जान थाल्यो भने उनीहरूले नियुक्तिपूर्व खाएको सपथ निकम्मा हुन जान्छ । त्यसैले सादा जीवन उच्च विचारको उक्तिलाई आत्मसात गर्नु कुनै पनि राष्ट्रसेवकको कर्तब्य हुन आउँछ र बुद्धिमानी पनि ठहर्छ । कुनै पनि कर्मचारीले ‘लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नका लागि कति मेहनत गरेँ, कति दुःख पाएँ, कति संघर्ष गरेँ भन्ने कुरालाई हृदयंगम गर्दै त्यसका खातिर प्राप्त जागिरलाई दिगो राख्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ । सरकारी सेवा गर्ने क्रममा दायाँबायाँ गर्नुहुँदैन भनेर चिन्तन मनन गर्नु पनि उत्तिकै सान्दर्भिक छ । यहाँ सरकारको सेवाभन्दा पनि जनताको सेवा भन्नु उपयुक्त हुन आउँछ । कर्मचारीले नियुक्तिपूर्व ग्रहण गर्नुपर्ने सपथ यस्तो छ–
‘म …….. ईश्वरको नाममा सपथ लिन्छु कि निजामती कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान धर्म तथा कर्तव्य सम्झी देश र सरकारप्रति बफादार रही भय पक्षपात वा द्वेष नराखी लोभ लालच मोलाहिजा नगरी अनुशासनमा रही आफ्नो कर्तव्यको पालना गर्नेछु । मलाई ज्ञात हुन आएको कुनै सरकारी गोप्य कुरा अधिकृत व्यक्तिबाहेक अरू कसैलाई म सेवामा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपले भन्ने वा संकेत गर्ने छैन ।’
यसरी सपथ खाएको कुनै पनि कर्मचारी प्रलोभनमा पर्नुहुन्नँ, पक्षपात गर्नुहुन्नँ, इमान र धर्मप्रति कर्तव्यबोधबाट ओतप्रोत हुनुपर्छ । देश, जनता र सरकारप्रति बफादार रहनुपर्छ, अनुशासनलाई तोड्नुहुँदैन । बिर्सिएर ऐन तथा नियमको परिधि नाघियो भने त्यो सरासर राष्ट्रघात मात्र होइन खुरुखुरु कर तिर्ने तमाम जनतामाथि नै बेइमानी हुन जाने हुन्छ । किनकि तीनै जनताले तिरेको कर रकम हो कर्मचारीले प्राप्त गर्ने अनि कर्मचारीका परिवारको दैनिकी गुजारिने आधार वा तलब । तसर्थ निम्नानुसारका बुँदागत कुरालाई राष्ट्रसेवकहरूले बुझ्नुपर्दछ र ती कुराहरू कहिल्यै पनि बिर्सनुहुँदैन ।
१. जनताले तिरेको करबाट नै कर्मचारीले तलब खाने हो, त्यसमै सन्तुष्ट हुनुपर्छ ।
२. नियुक्तिका बखत ग्रहण गरेको कसम अर्थात् सपथलाई आत्मसात गर्नुपर्छ ।
३. इमान्दारी र नैतिकताको दायराभित्र रहने प्रणसहित सेवामा समर्पित हुनुपर्छ ।
४. मनमा ठूलो महत्वाकांक्षा पालेर राख्नुहुँदैन, सेवाभावलाई नै जोड दिनुपर्छ ।
५. बेरोजगार हुँदा कस्तो थिएँ र जागिर पाएपछि कस्तो भएँ भनेर तुलना गर्ने तर बेइमानी बाटो नअँगाल्नेतर्फ ध्यान दिनुपर्छ ।
६. फलानोले यति कमायो र उति कमायो भनेर ऊसँग प्रतिस्पर्धा गर्न खोज्दा भ्रष्टाचारको मार्ग अंगाल्न पुगिन्छ र अख्तियारको फन्दामा परिन्छ साथै पुस्तौँ दाग लागिरहन्छ भनेर पनि विचार गर्नुपर्छ ।
७. धन सम्पत्ति थुपार्नु मात्र जिन्दगी होइन, नैतिकता र इमानदारितालाई जोगाइराख्नुपर्छ भन्ने सिद्धान्तलाई लागू गर्नुपर्छ ।
‘लोभले लाभ लाभले विलाप’ भन्ने उखान नेपालको प्रशासनिक क्षेत्रमा पनि लागू भएको पाइन्छ । लोकसेवा परीक्षा उत्तीर्ण गरेर आयोगकै सिफारिससहित माग भएको तालुक निकाय वा मन्त्रालयमा आयोगको परीक्षा उत्तीर्ण उम्मेदवारलाई पठाइने र रिक्त रहेको विभाग कार्यालयलगायतका निकायहरूमा नियुक्ति पत्र दिएर पठाउने गरिन्छ । सुरुसुरुमा कर्मचारी नियुक्त भएर काम सुरु गर्दा उसले गौरवका साथ सेवा दिन थाल्छ । जब पुराना तर भ्रष्ट सहकर्मीको संगतमा पर्न थाल्यो भने उसले पनि मालदार अड्डा वा कमाउ अड्डामा सरुवा भएर जाने चाहना राख्न सक्छ । यो सबै कर्मचारीमा भने लागू हुँदैन, कर्मचारीको व्यक्तिगत स्वभावअनुसार हुन्छ । कसैकसैले सम्पत्तिलाई मात्र महत्व दिने हुनाले त्यस्ता कर्मचारीहरू मालदार अड्डा रोज्दै हिँड्ने, चहार्ने अनि नेता र हाकिमहरूको चाकडी गर्ने, शक्ति प्रयोग गर्ने त्यस्तै परे आर्थिक चलखेल पनि गर्ने गर्छन् ।
आकर्षक निकाय वा मालदार अड्डा भन्नाले जहाँ सेवाग्राहीको बढी भीडभाड हुन्छ र छिटोछरितो कामका लागि मध्यस्थकर्तामार्फत् चिया वा खाजा खर्च भनेर गोजीमा राखिदिने गरेको पाइन्छ । कोहीकोही कर्मचारी धेरै रकमको माग गर्न थाले भने सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्न पुग्छन् । फलतः घुसमा लिप्त कर्मचारी अख्तियारको फन्दामा पर्छन् र कारबाहीको भागिदार हुने गर्छन् । कारबाहीको भागिदार भएर मात्र के हुन्थ्यो ? त्यसैका कारण कसुरदार कर्मचारीको परिवारमा विखण्डन पनि आउने हुन्छ । भ्रष्टाचारको दाग कसुरदार कर्मचारीका शाखा सन्तान अर्थात् पुस्तौँसम्म लाग्ने गर्छ र थाहा पाएसम्म त्यस्ता भ्रष्ट कर्मचारीका छोराछोरीको बिहेबारी पनि नहुन सक्छ । उनी अन्तै बसाइँ सरेर नयाँ बस्तीमा बसोबास गरेपछिचाहिँ उनी भ्रष्ट भएको जानकारी छिमेकी वा टोलबासीमा नहुन सक्छ । घुस्याहा कर्मचारीले त्यसपछि थाहा पाउनेछन् कि ‘मैले गलत सोँच राखेको रहेछु, गलत काम गरेको रहेछु अर्थात् कुकर्म गरेको रहेछु, मैले सपथ लिएको कुनै अर्थ नै भएन, म बर्बाद भएँ’ भनेर सोँच्छ र ऊ डिप्रेसनमा समेत जान सक्छ, अस्वस्थ बन्न सक्छ, परिवारमा खटपट हुन सक्छ । अर्को अर्थमा भन्नुपर्दा जीवन नै बर्बाद भइसकेको महसुस हुन थाल्छ ।
कुनै बखत यो लेखक कार्यरत एक विभागमा पनि एकजना अधिकृतले घुस लिँदालिँदै अख्तियारको सेतो रङको गाडी आएर उनको कार्यकक्षमा आयोगका कर्मचारीहरूले ढोकाबन्दी गरेर हजार हजारका नोट बरामद गरेर नोटमा रहेको नम्बरहरू टिपेर घुस लिने ती अधिकृतलाई गाडीमा राखेर लगेका थिए । कागजमा सहीछाप के कसरी भयो त्यो भने थाहा भएन । घुससहित रंगेहात पक्राउ परेका एकजना साथीले त पाइन्टमै पिसाब समेत फेरेका थिए । त्यसरी भ्रष्टाचार गरी वा घुस खाई अख्तियारको फन्दामा परेर कारबाही भोगिरहेका र मुद्दा खेपिरहेका यो लेखकका साथीहरूको संख्या दर्जन पुगिसकेको छ । नबिराउनु र नडराउनु भन्ने उक्ति मनन् गरेर सेवा गरेको भए किन पो फन्दामा पर्नुपथ्र्यो र ? किन पो दोषी ठहरिनुपर्थ्यो र ?
पछिल्लो समय भने इञ्जिनियरहरू घुससहित पक्राउ परेका समाचार आइरहेका छन् । प्रायः गरेर मालपोत र नापीका कर्मचारीहरू पक्राउ पर्ने र कारबाही भोग्ने गरेको पाइन्छ । वडाध्यक्षहरू पनि घुससहित पक्राउ पर्दैआएका समाचारहरू पनि नसुनिएको भने होइन । घुसखोरी चल्नु पनि देशको लागि बेइज्जतीको कुरा हो । ट्रान्सपरेन्सी इन्टरनेसनलको सात वर्षअघिको आँकडाअनुसार कम भ्रष्टाचार हुने विश्वका दश देशहरूमध्ये डेनमार्क, न्युजील्यान्ड, फिनल्यान्ड, स्विडेन, स्विट्जरल्यान्ड, नर्वे, सिंगापुर, नेदरल्यान्ड, क्यानाडा र लक्जमवर्ग परेका थिए । यद्यपि यो आँकडा हाल फेरबदल भएको हुन सक्छ । सन् २०२३ को आँकडा हेर्ने हो भने बढी भ्रष्टाचार हुने मुलुकहरूमा नेपाल २०१२ मा एक सय ३९ औँ स्थानमा थियो भने २०२३ मा आएर एक सय आठौँ स्थानमा झरेको छ । जुन खुसीकै कुरा मान्नुपर्छ र अझै सुधार हुनु जरुरी देखिन्छ । यो क्रम कहिले उक्लिने र कहिले ओर्लने भइरहन्छ अर्थात् चक्र चलिरहन्छ । तर नेपालमा भ्रष्टाचार कम हुने छाँटकाँट भने देखिँदैन, यो अवस्था विकराल हुँदै गइरहेको छ । कर्मचारीहरूमा मात्र होइन राजनीतिक दलका नेताहरू जो सरकारमा बस्ने गर्छन्, उनीहरूले आफू अनुकूलका मान्छेहरूलाई संघसंस्थामा नियुक्त गर्छन्, जसले गर्दा भ्रष्टाचार गर्न सजिलो हुन्छ ।
घुसलाई कर्मचारीको अनैतिकताको प्रतीक हो भन्दा पनि केही फरक पर्दैन । भ्रष्टाचार भन्नाले घुसलाई मात्र जनाउँदैन । कर्मचारीको नैतिक पतन हुने जुनसुकै क्रियाकलापलाई पनि भ्रष्टाचार भन्न सकिन्छ । बृहत् नेपाली शब्दकोशअनुसार भ्रष्टाचारको परिभाषा यसरी गरिएको छ– पतित आचरण; दूषित मर्यादा; नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम । त्यस्तै, भ्रष्टाचारीको परिभाषा यसरी गरिएको छ– भ्रष्टाचार गर्ने आचरण भएको; नैतिक र भौतिक दुवैरूपमा आचरणको पतन भएको । भ्रष्ट+आचार मिलेर बनेको हो भ्रष्टाचार शब्द । आचरण शब्दले व्यवहार वा चरित्र भन्ने जनाउँछ ।
पैसा आउँछ, जीवनस्तर सुदृढ हुन्छ, छोराछोरीले राम्रो शिक्षा दीक्षा पाउँछन् भनेर आचरण नै धमिलिने गरी घुस खान वा भ्रष्टाचार गर्न थालियो र अझै नानाथरीका महत्वाकांक्षा पालेर सोहीअनुसार गर्न थालिएमा त्यस्ता कर्मचारीको भविष्य अनिश्चित पनि हुन सक्छ । त्यसैले भ्रष्टाचाररूपी चास्नीमा चुर्लुम्म डुब्नाले कुनै दिन अख्तियारको फन्दामा पर्न नसकिएला भन्न सकिन्नँ । जनमानसमा एक त सबै कर्मचारी भ्रष्ट छन् भन्ने भ्रम छ जसले गर्दा इमानदार र नैतिकवान कर्मचारीलाई अप्ठेरो महसुस हुनु स्वाभाविक हो । त्यसैले यस्ता अनैतिक क्रियाकलापलाई निरुसाहित पार्नु सम्बन्धित निकायको कर्तव्य हुन आउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसमा चनाखो भई सक्रियताका साथ अगाडि बढ्नुपर्ने टड्कारो देखिन्छ ।
यी माथि उल्लिखित सन्देशहरूलाई मनन् गरेर व्यवहारमा अर्थात् प्रशासनिक कार्यमा लागू गरेमा सच्चा देशभक्ति र राष्ट्र सेवा झल्किने छ । जसले गर्दा जनताले देशमा सरकार छ, प्रशासन छ भन्ने अनुभूति गर्नेछन् भन्ने कुरामा दुईमत छैन । हरेक निकायमा पर्ने सेवा प्रवाहसम्बन्धी काममा कमीकमजोरीहरू औँल्याएर सेवाग्राहीले गरेका गुनासाका सम्बन्धमा गुनासो सुन्ने अधिकारीले पनि यस्ता विषयमा विशेष चासो राख्नु जरुरी छ । ढिलासुस्ती र अनेक बहाना गरेर सेवाग्राहीलाई दुःख दिनु तथा घुस लिनु अमानवीय काम हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया