Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजलस्रोतको बहुउपयोगको आवश्यकता

जलस्रोतको बहुउपयोगको आवश्यकता


काठमाडौं । विकास एक निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुलीको बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ । तर जुन देशमा बिजुलीको खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ ।

नेपाल जलस्रोतको लागि धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत् मात्र नभई बढ्दो सिँचाइ एवं खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।

नेपालमा झन्डै छ हजार नदीनालाहरू छन् । जसको संरक्षण एवं सदुपयोग गर्न सके यहाँको सम्पूर्ण खेतीयोग्य जग्गामा सिँचाइ गरी कृषि उत्पादन बढाउन सकिन्छ । परन्तु, हालसम्म पनि यहाँको अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्याउन नसकिएकाले प्रत्येक वर्ष आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । फलतः यहाँको कृषि उत्पादन बढाउन नसकी आयातमुखी हुनुपरेको छ ।

नेपालमा कुल ३९ लाख ३१ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँ ७५ देखि आठ हजार आठ सय ४८ मिटर उचाइमा विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ । तर राजनीतिक अस्थिरता र सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसक्नाले यहाँ हालसम्म पनि ठोस कृषि विकास हुन सकेको छैन ।

नेपाल एक कृषिप्रधान देश भएकाले कृषि विकासविना यहाँको सर्वाङ्गीण विकास सम्भव छैन । यसै सन्दर्भमा कृषि विकासका लागि विसं २०५२ मा दीर्घकालीन कृषि नीति निर्माण गरियो । पछिल्लो समय २०७२–९२ अर्थात् २० वर्ष कृषि रणनीति अवलम्बन गरिएको छ । जसको मुख्य उद्देश्य खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने र खाद्य तथा पोषण सुरक्षा गर्ने हो । उक्त उद्देश्य परिपूर्तिका लागि ठूला सिँचाइ आयोजनाहरूको आवश्यकता पर्छ । यसै सन्दर्भमा सिक्टा, कुलरिया जमुनिया, बेरी बबई डाइभर्सनजस्ता ठूला सिँचाइ आयोजनाहरू अगाडि सारिएका छन् । तथापि, यिनीहरूको निर्माण कार्य सुरु गरिएको एक शताब्दी बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन ।

वस्तुतः ठूला सिँचाइ आयोजनाहरू सरकारले मात्र निर्माण गर्न सक्ने पुरानो सोच हालसम्म पनि यहाँ विद्यमान छ । परिणामतः उक्त आयोजनाहरू यथोचित समयमा सम्पन्न गर्न सकिएको छैन । भविष्यमा यी आयोजनाहरूमा निजी क्षेत्रको सक्रियता बढाउने हो भने चाँडै नै सम्पन्न गर्न सकिने सम्भावना देखिन्छ ।

हाल सिँचाइ सुविधा पु¥याउन नसकिएका नेपालका खेतीयोग्य जमिनमा लघु सिँचाइ, स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ व्यापक बनाउन जरुरी छ । यसो गर्न सकेमा स्वदेशी कृषि उत्पादन बढेर आयात घट्ने छ र यहाँको कुल गार्हस्थ्य उत्पादनमा केही योगदान बढ्नेछ ।

आज जनसंख्या वृद्धिको कारण विश्वभर खानेपानीको समस्या दिन प्रतिदिन तीव्ररूपले बढिरहेको छ । यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन । उक्त समस्याको न्यूनीकरणका लागि यहाँ विद्यमान जलसम्पदाको अधिकतम परिचालन गर्न आवश्यक छ ।

नेपाल जलसम्पदाको लागि एक सम्पन्न राष्ट्र भए पनि यहाँका केही राजनीतिक दलका केही नेताहरूको यथास्थितिवादी सोच र सङ्गीर्ण राष्ट्रवादको कारण उक्त सम्पदाको सोचेअनुरुप सदुपयोग गर्न सकिएको छैन । तसर्थ, यहाँ बेलाबेलामा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

केही वर्षयता नेपालमा बिजुलीको उत्पादन बढ्नुको साथै खपत पनि दिनहुँ बढिरहेको छ । वास्तवमा विकासको लागि यो शुभ संकेत हो । नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाएको छ । यसलाई व्यवहारमा उतार्न सकेमा भविष्यमा यहाँको विद्युत् व्यापार अभिवृद्धि भई अर्थतन्त्रमा समेत केही योगदान पुग्नेछ ।

बढ्दो वायु प्रदुषणको दुष्प्रभाव न्यूनीकरणको लागि केही वर्षयता विद्युतीय सवारी साधनको प्रयोगमा ध्यानाकृष्ट भएको छ । यद्यपि, हाल यहाँको बढ्दो तापक्रम घटाउन खनिज ऊर्जाको विकल्पमा हरित ऊर्जाको खोजी भइरहेको छ । वास्तवमा जलविद्युत् पनि हरित ऊर्जा हो । जसको प्रयोग गरेर हाइड्रोजन ऊर्जा आवश्यकतानुसार उत्पादन गर्न सकिन्छ । स्वच्छ पानीको उपलब्धता एवं धेरै जलविद्युत् उत्पादनको सम्भावनाको कारण हाइड्रोजन ऊर्जा उत्पादन नेपालको लागि उपयुक्त मानिन्छ ।

यथार्थतः इलेक्ट्रोलिसिस प्रविधि प्रयोग गरी पानीबाट हाइड्रोजन ऊर्जा उत्पादन गरिन्छ । यसको लागि धेरै ऊर्जा आवश्यक पर्छ जुन नेपालमा उपलब्ध छ । नेपाल आयल निगमको आर्थिक सहयोगमा काठमाडौं विश्वविद्यालयले परीक्षणको रूपमा हाइड्रोजन ऊर्जा उत्पादन गरेपछि नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनको नयाँ सम्भावना देखिएको हो । हाल यहाँको केही जलविद्युत् आयोजनाहरूले वर्षा याममा पानीको सदुपयोग गरी हाइड्रोजन ऊर्जा उत्पादन गर्ने चासो देखाएका छन् । यसरी हाइड्रोजन उत्पादन निरन्तररूपले बढाउन सकेमा वातावरण प्रदूषण न्यून मात्र नभई आयआर्जन पनि हुनेछ ।

साधारणतया एक केजी हाइड्रोजन ऊर्जा उत्पादन गर्न दश लिटर स्वच्छ पानी र इलेक्ट्रोलिसिसको लागि ४० देखि ४५ युनिट खपट हुन्छ । यो ऊर्जा भण्डारण एवं सवारी साधनहरूमा रिफिलिङ र ट्याङ्करमा ढुवानी गर्न सजिलो भएकाले सबैको लागि उपयोगी हुनेछ ।

आज विश्वमा पेट्रोलियम पदार्थको खपत निरन्तररूपले बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ ।

प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थको खरिदमा बाहिरिन्छ । यहाँ आयात गरिने वस्तुहरूमा उक्त पदार्थ सबैभन्दा बढी भएकाले यसको आयातलाई विस्थापन गर्न हाइड्रोजन ऊर्जाको उत्पादनले ठूलो सघाउ पुर्याउँछ ।

वस्तुतः पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मेहम्मे पर्छ । यदि भविष्यमा यहाँ पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्न सकेमा उक्त पदार्थको मूल्यका उतारचढावले खासै फरक पर्दैन ।

स्वच्छ पानीको पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफैँ बिजुली खपत गरेर आवश्यक हाइड्रोजन ऊर्जा उत्पादन गर्न सक्छ । परन्तु, यसको लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ ।

केही वर्षयता नेपालमा ब्याट्रीबाट चल्ने सवारी साधनहरू धेरै नै प्रचलनमा छन् । यद्यपि, भविष्यमा यी साधनहरूलाई हाइड्रोजन ऊर्जाको माध्यमबाट चलाउन सकेमा देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा हुनेछ । हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । जुन नेपालजस्तो कृषिप्रधान देशको लागि नित्तान्त आवश्यक छ ।

नेपालमा वर्षेनि झन्डै २१ अर्ब बराबरको रासायनिक मल आयात गरिन्छ । यदि भविष्यमा यहाँ हाइड्रोजन ऊर्जा उत्पादन गर्न सके रासायनिक मल पनि उत्पादन गर्न सकिने भएकोले एकतर्फ विदेशी मुद्रा जोगिने छ भने अर्कोतर्फ परनिर्भरता घट्नेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x