Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबजेटलाई गरिबको आँसुमा घोलेर हेर्दा

बजेटलाई गरिबको आँसुमा घोलेर हेर्दा


अच्युतप्रसाद पौडेल ‘चिन्तन’
जता हे-यो उतै समस्या : असार महिनालाई बजेट महिना पनि भनिन्छ । पुरानो बजेटलाई जसोतसो सक्ने महिना र नयाँ बजेटलाई स्वागत गर्ने पनि हो । देशमा सर्वप्रथम बजेट पेस हुँदा विसं २००८ मा जम्माजम्मी आठ करोडको थियो । अहिले केन्द्रको १४ खर्ब ७४ अर्ब ६४ करोड र ७ प्रदेशको दुई खर्ब ६४ अर्ब गरी झण्डै साँढे १७ खर्बको आकार पुगेछ । सरकारले कोरोनाबाट बच्न क्वारेन्टाइन र आइसोलेसन पनि तयार गरेको छ । यसमा ठूलो खर्च पनि भएको छ । र पनि सबैतिर कोरोनाको त्रास छ । अहिले देश भोक र रोगको छट्पटीमा नै छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केही समयअघि क्वारेन्टाइनमा एक युवतीले झुण्डिएर आत्महत्या गरिन् । मृत्यु अघि नेगेटिभ मृत्युपछि पोजेटिभ भनियो उनलाई पनि । हाल सिंहदरबार गाउँ–गाउँ पुगेको भनिन्छ तर दरबार यतैै छ । सिंह मात्र आफू पटुकीको ठूलो फाँचो फिँजाएर, बडेमानको ठूलो पेट लिएर गएको आभास भइरहेको छ । देशमा सबैतिर समस्या छ तर कर्णालीको अवस्था पृथक छ । धेरै आयोगहरू त्यस क्षेत्रका लागि बने । ठूलो रकम खन्याइयो । कर्णालीको जीवनस्तर खासै उठेको देखिन्न र कर्णालीको माटो र मनसँग मितेरी नलाएसम्म नेपाल चिनिन्न पनि ।

सिंहदरबार हेरेर नेपाल पटक्कै चिनिन्न । हो पहिले नुन र चामल खच्चर, घोडा, भेडाले ढुवानी गर्थे अहिले सवारी साधन वा जहाजले बोेक्छन् । बाँँदर लड्ने भीरमा बाटो थिएन पहिले । ३ दशकअघि मात्रैको कुरा हो, खुट्टा बलिया हुँदा मैले त्यस क्षेत्रकोे भीर र पहरासँग मितेरी लाउँदा फाटेका पैताला अहिलेसम्म उस्तै छन् । जुम्लामै घोडा चढ्दै हिँडेका एक मित्रले चढेकोे घोडा भीरबाट खसेको थियो । धन्न मित्र भने बाँचे तर घोडा म-यो ।

हाल यो लेख तयार गर्दागर्दै एउटा ट्र्याक्टर भीरबाट खस्यो, एक व्यक्ति ठहरै भए । त्यसोे त अहिले त्यता गाडी पुगेको छ तर थोत्रा सवारी साधन र कच्ची गिलो बाटोले गर्दा त्यता ज्यान गुमाउनेको संंख्या पहिले भन्दा कैयन गुणाले बढी छ । खाना खाँदा आधा माटो आधा भात नाम मात्रको खाना त मैले नै खाएको हो । चाउचाउको भरमा कति दिन बित्यो पर्वाह नै भएन । हाल त्यही कर्णाली क्षेत्रका मुख्यमन्त्रीले पौने दुई करोडको गाडी किने रे । विकासको चुली चुलियो होेला सायद राजनीतिको । भर्खरै असार १ गते पेस भएको यस क्षेत्रको बजेटको आकार ३३ अर्ब ७४ करोडको देखियो । हालको आँकडामा कर्णाली प्रदेशमा ९३ हजार ९६ परिवार अझैगरिबीमा रहेकै छ । पूर्वको ताप्लेजुङ ओलाङ्गचुङगोला नपुगी त्यहाँको अवस्था अवगत हुन्न ।

पाँचथरभन्दा विकट ताप्लेजुङको नेतृत्व अहिले युवा पुस्ताले पर्यटनको समेत नेतृत्व लिएका छन् । बाटामा देखे मुसुक्क हाँस्छन्, विचराको पर्यटन क्षेत्र तहसनहस छ अहिले जसले गर्दा देशकै गरिबीको संख्या उर्लिएर आउने बाढीजस्तै छ । तराईतिर झर्दा पूर्वी सिमाना बाहुनडाँगी र मेचीको छेउ महेशपुर हो । मैले नियालेरै हेरेको छु त्यता । अन्नबालीको अब्बल दर्जा बोकेको त्यही क्षेत्र झापाले अहिले देशकोे ढुकुटी अर्थको मात्रै होइन गरिबी निवारण गर्न आतुर देशकै प्रमको प्रतिनिधित्व गरेको छ । तर आम गरिब जनता भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्दैछन् ।

झापा समेत बोेकेको प्रदेश १ ले भर्खरै ४० अर्ब ८९ करोडको बजेट पेश ग-यो । त्यहीँको गरिबीको घरपरिवार संख्या तीन लाख २७ हजार सात सय ६६ अझै छ । नेपाली श्रम विदेशिएर यहाँकोे बजेटको आकार बढिरहँदा ४५ अर्ब हाल विप्रेषण घटेको अवस्था छ भने कृषि उब्जनीमा ठाडै चुनौती आइरहेकोे अवस्थामा लकडाउन समय २ महिनामै तीन लाख टन खाद्यान्न अर्बौंको दाल, गेडागुडी, ६ अर्बकोे औषधि, अर्बौंको तरकारी र फलपूmल आयात भयो । यसैबेला लकडाउनअघि यताको पाम आयलमा अवरोध खडा गरेजस्तो लकडाउनमा चिया र पछि अलैँची निकासीमा भारतले अवरोध ग-यो ।

वेदेशिक व्यापारमा मात्रै यसवर्ष झण्डै १० खर्बको खाडल देखिएको छ । विपन्नताको घेरा बढिरहँदा कोरोेनाले पनि आफ्नो उपस्थिति आकार देशको ७४ जिल्लामा बढाइसकेको छ । लेख तयार गर्दासम्म प्रदेश १ ले कोरोेना नियन्त्रणमा आएको भनिरहेको छ भने सुदूरपश्चिम क्षेत्र डडेलधुरा, बैतडी, अछाममा एकैपटक सबैभन्दा बढी कोरोना संक्रमित संख्या बढेको बताइरहेको छ । डडेल्धुरामैै क्वारेन्टाइनमा लामोे समय थन्क्याएर परीक्षण नै नगरी मानिसलाई घर पठाइयो भन्दै स्थानीय वडा कार्यालय घेराउ, प्रदर्शनीसम्मको अवस्था देखियो भने कर्णाली प्रदेशको दैलेखमा त संक्रमितहरू सडकमै उत्रिएर नाराबाजी गर्दा सुरक्षाकर्मीले बल नै प्रयोग गरेको देखियो ।

झट्ट हेर्दा पूर्वतिर हाँसो पश्चिमतिर आँसु बढेको प्रतीत हुन्छ । पूर्वको हाम्रो इलामले सधैँ इलम अर्थात् उद्यम गर भन्छ । तर हाम्रा युवाहरू श्रम बेच्न विदेश जान्छन् । गरिबलाई धनी बनाउने इलामको लहलहाउँदो चियाबगान हेर्दै पशुपतिनगरबाट दार्जिलिँग पुग्दा ठाडो भीरालोेमा ढल्केका घरका ढोका ढोकामा रेल गुडेका दृश्यहरू मैले क्यामरामा कैद गरेको छु । पश्चिम गुल्मी रेसुङ्गाको ताजबाट गोरखपुर सहर र रेल गाडी गुडेकोे दृश्य खिचेको छ । पश्चिमकै सहिद दशरथ चन्दको गृहक्षेत्र बैतडीको डाँडोेबाट महाकालीपारि पिथौरागढको झिलिमिलि मनमोहक सहरको दृश्य उतारेको छ । तर के गर्ने उहिले बुढापाकाहरू भन्थे ‘ल्हासामा सुन त छ, कान बुच्चै ।’ पौरखै नगरी गरिबी कसरी हट्छ ?

योजना बनाएर पैसा हालेर मात्रै हुने भए २००७ सालयता कति पैसा खन्याइयो यहाँ ? हामी राजनीतिक क्रान्ति गर्न सधैँ खप्पिस तर आर्थिक क्रान्ति गर्न अहिलेसम्मकोे तम्सियो त सधैँ देशलाई ऋणको भारी बोकाएर थला पार्ने मात्रै होइन र ? सबैले मेरो क्षेत्रमा बजेट कति हालिन्छ भन्ने मात्र भएको होइन र ? गफ मात्रै धेरै गरेर होइन र ?

तराईतिर हेर्दा : अब तराईको केन्द्रतिर लागौँ । कुरा अलिक अघिकै हो, कर्णालीको जस्तो पैतालामा ठेला उठाएर होइन । मैले वायु सेवा निगमको विद्यार्थी कन्सेसनबाट ठ्याक्कै एक सय ५० को हवाइ टिकटमा कलैया पुग्दा अतिथि सेवामा आतुर एउटा घरमा २ दिन बिताएँ । तर पेटभरि खाएर होइन आधा पेट मात्र । अहिलेसम्म पंक्तिकारको मनमा गरिबीको त्यताको नेतृत्व कलैया भनौँ बारा जिल्लाले नै लिएको भान छ । पोहोरको हावाहुरीले उजाड गरेको बस्तीको दृश्यले पनि त्यही देखाएको हो । नजिकको वीरगन्ज काठमाडौँको बजेट आयको मुहान नै हो ।

बत्तीमुनिको अँध्यारो भनेजस्तै नेपालमा ७ प्रदेशमध्ये धेरै गरिबीको संख्या त्यही क्षेत्र प्रदेश २ मा दुई लाख पाँच हजार ६९ परिवार छ । हालैको यहाँको बजेट ३३ अर्ब ५६ करोडको पेश भएको छ । यसै क्षेत्रमा झण्डै १० लाख मानिस रोजगारीका लागि विदेश गएका छन् रे । हालको समस्याले ती समेत फर्कँदा त्यहाँको आर्थिक संकट कस्तो होला ? पङ्क्तिकारले गण्डकीको उपल्लोे तट मुस्ताङको शिर मात्र होइन त्रिशुलीको शिर भाग उपल्लो रसुवासम्मको पैदल यात्रामा देखे भोगेका गरिबी र विपन्नको चित्रण छोटा शब्दमा गर्न कठीन छ ।

तराईका सबैजसो अध्ययन अवलोकन गर्दा सप्तरीलगायत सबै क्षेत्रमा पुगेको छ । तर सप्तरीको कथा व्यथा चित्रण भएको एउटा चर्चित दैनिक पत्रिकाको रिपोर्टरको डायरी पढ्दा आँखाभरि आँसु आएकोले यहाँ पनि सो व्यहोरा प्रसङ्गवश समावेश गर्ने प्रयास गरेको छ । यसै जेठ महिनामा कोरोना लकडाउनमा सप्तरीका एक व्यक्ति भलर सदा भोकले मरेछन् । काजकिरिया गर्ने पैसाको अभावमा मृतककी श्रीमती नगरपालिकामा सहयोग माग्न गइछन् । नगरपालिकाले भोकले होइन रोगले मरेको भनी लेख्न लगाउँदा उनलाई ढाँट्न नआएर छिमेकीहरूकै सहयोगमा चन्दा छ सय रुपैयाँ उठाएर काजकिरिया सकिछन् ।

लकडाउनमा काम काज गर्न नपाएर भोकै रहन परी मृत्यु भएको कारुणिक खबरले स्तब्ध बनाउँदा आम जनतामा गरिबी छ तर राज्यमा भने दरिद्रता भन्ने निष्कर्ष निकाल्न गहारो पर्दैन । नेपालीहरूमा रोगप्रतिरोधी क्षमता छ भनिन्छ, अझ भोकप्रतिरोधी क्षमता पनि भइदिए कति सजिलो हुने थियो होला नीति निर्माता हरूलाई । घरबाहिर हिँड्दा पो अरुले देख्छन् त घरभित्रै बस्दा यस्तो दृश्य कसले देख्छ र ?

अब जाऊँ, सुदूर पश्चिमतिरै, त्यता झन् ठूला–ठूला नेता छन् पहिलेकै शासन व्यवस्थादेखि हालसम्मै । सिमाना महाकालीले त धेरै पहिले नै नाम कमाएको हो अहिले त झन् अन्तर्राष्ट्रियरूपमै चर्चामा आएको छ उत्तरी सिमाना लिम्पियाधुरा, कालापानी, लिपुलेकका कारणले पनि त्योे क्षेत्रले । दक्षिणतिरको क्षेत्र भने चाँदनी दोधारा हो । महाकाली नदीमाथि रहेको केही वर्षअघि मात्रै बनेको लोभै लाग्दो झोलँङ्गे पुल निकै लामो छ, वार पार दृश्य देखिन्न, जसले गर्दा महिलाहरू कतिपटक पीडित पनि भएका छन्, तिनका लागि असुरक्षित नै छ ।

प्रसिद्ध शुक्लाफाँटापछि, त्यो पुल पार गरेपछि चाँदनी दोधारा पुगिन्छ । त्यहाँको गरिबीको अवस्थासँग पङ्क्तिकारले केही अनुभव सेयर गरेको छ । केही पर महाकालीजस्तो उर्लिएर आउने बाढीमा कहिले त वनबासा टनकपुरको बाँध र पुलमुनि कमिला हिँडेको देखिन्छ कारण राजनीतिक सम्झौता महाकाली सन्धिपछि पानी सबै उता जान्छ । विजुली भारतले बेस्सरी दिन्छ अनि हाम्रो गरिबी स्वात्तै घट्छ भनेर महाकालीलाई उतातिर दाइजो दिइँदा अहिलेका कार्यकारी प्रमुखको कम हात थिएन त्यतिबेला ।

पहिले त त्यताको प्रदेशको नाममै पङ्क्तिकारको असहमति छ सुदूरपश्चिम किन भनेको ? त्यहीँ बस्ने बासिन्दाका लागि त त्यो सुदूरपश्चिम होइन नि । काठमाडौँको आँखाले पो त्यस्तो भएको त । र पनि अहिलेको बजेटको आकार यहाँको ३३ अर्ब ३८ करोडको देखियो । यहाँको गरिबी घर परिवार संख्या भने एक लाख २७ हजार तीन सय ३८ देखिएको छ । महाकालीको सदरमुकाम कन्चनपुर महेन्द्रनगरको कुरा हो यो । कोरोनाको सन्त्रास त्यतै धेरै छ । परीक्षण कीटहरू त्यहीँ धेरै अभाव मात्रै होइन, स्वाव कलेक्सन कार्य नै लामो समय पटक–पटक रोकियो । त्यहीँका नेताजीहरूको सेवा सुविधा वृद्धि भएको छ अहिले ।

पङ्क्ति तयार गर्दा युवाहरू सरकारलाई आफ्नो जिम्मेवारी बोध गराउन सडकमा विरोधमा त्यहीँ उत्रिएका छन् । महेन्द्रनगरमा सदरमुकाम हुनुअघि सदरमुकाम बेलौरी थियो । हाल त्यसक्षेत्रलाई पुनर्बास नगरपालिका भनिन्छ । दक्षिणतिरको सिमानामा व्यापक गरिबी छ तराईका अन्य क्षेत्रझैं त्यहाँ पनि वारिपारि घर–माइती जस्तै छ । एकातिर बाली लाउने अर्कोतिर भकारी हाल्ने अबस्था छ । बेलौरी क्षेत्रको पूर्वतिर कैलालीको व्यापारिक नाका पर्छ । कैलालीको धनगढी, अत्तरिया भने डडेलधुरा, वैतडी, दार्चुला, अछाम डोटी, बाजुरा सबैको प्रवेश र व्यापारिक बिन्दु हो ।

यसक्षेत्रमा गरिबी कस्तो रहेछ, कति मानिसको रोजीरोटी भारत नै रहेछ, कोेरोना प्रभाव कस्तो भयो, ६ महिना यता ६ महिना उता बस्ने गरेको अवस्था यस क्षेत्रमै भएको त हाल पनि देखियो । यसपालिको कोरोनामा सरकारलाई हम्मे पारेको अवस्था कति त महाकाली पौडेर आउँदा पानीभित्रैबाट अर्कै लोक पुगेका दृश्यहरूबाट कोही टाढा परेनौँ हामी सबै । बाटो यति दुरुह छ कि भोग्नेलाई थाहा हुन्छ । मुख्य प्रवेश बाटैमा भासुभीर छ त्यहाँ दिउसै अँधेरी कुहिरो लाग्छ । साँगुरो बाटो खसेका गाडीहरू धेरै चिर निद्रामा पुगि सकेका छन् कारण भासुभीरबाट खसेपछि कोही कसैको दाल गल्दैन, झिक्ने उतार्ने ठाउँ छैन पूरै पातालबासी हुनुपर्छ, त्यहाँबाट झरेपछि ।

त्यसो त ती सबैक्षेत्रको ढोका बनेको कैलाली लम्कीचुहाले यसपालिको लकडाउनमा क्वारेन्टाइनमा एक युवतीलाई सामूहिक बलात्कारको नाम पनि कमायो । लम्की चुहा अस्पताल सेवामा सिल भयो । अकस्मात आउने बिरामीको हालत के भयो होला । त्यतै जाँदा दिल्ली जाँदाको हवाइ टिकट जति नै तिरेको छ पङ्क्तिकारले कुनै बेला । त्यतैबाट उत्तरतिरको अछाम, बैतडी, बझाङ यात्रामा पैताला खिएको सम्झना पनि अझै ताजा छ । तर कैलाली भने गरिबीको मार नजिकैको बर्दियाजस्तो अलि छैन । बर्दियाको नसा–नसाको पानी यो पङ्क्तिकारले पिएको छ र ऊ भन्छ यहाँ व्यापक गरिबी छ यहाँ धनी पनि नभएका होइनन् । पश्चिमी पहाडी क्षेत्रबाट मानिसहरू ओइरिएर यहाँ बसेका छन् । ठाकरद्वारा पर्यटन क्षेत्रले केही उकासेको थियो । अहिले त त्यो पनि सुनसान छ ।

बर्दियाको सदरमुकाम गुलरियाबाट पहिले त डुङ्गा पार गरी राजापुर पुगिन्थ्यो । बर्दियाको व्यापारिक नाका हो राजापुर । राजापुर नपुगी बर्दियालाई चिनिन्न । त्यताको भ्रमणमा घुम्दै जाँदा मित्रहरू भन्थे ऊ त्यो जग्गा सबै हाम्रा नेताजीको हो । को होलान् तिनी जसले यसपालि लकडाउनका सुरु सरुतिर बालुवाटार मात्रै होइन देशै तताए । ती कार्यकारी प्रमुखमा आउने रे संविधान संशोधन गरेर भन्दै । पूर्वतिरको कार्यकारी साँचो पश्चिमतिर हाललाई जाने काममा केही मत्थर देखिएको छ । जे भए पनि नेपाली उखान ‘काले काले त्यही भाले’ त होला नि जनता सडकमै ओर्लिनु परेको छ भोक र रोगका विरुद्ध । जो आए पनि कानै चिरिएका भन्छन् दुःखीयाहरू ।

त्योभन्दा ओल्लो, बाँकेको गर्मी पनि पूरै व्यहोरेको छ पङ्क्तिकारले । पेट पाल्नैका लागि देहव्यापार गर्न पाउनुपर्छ भनी त्यहाँ कति पटक त नग्न जुलुस पनि निकालिएको थियो पहिले । व्यापारिक केन्द्र नेपालगञ्ज नाका व्यवसायिक क्षेत्र धनी र गरिब दुवै छन् त्यहाँ । अहिलेको संविधान निर्माणको नेतृत्व त्यतैकाले लिएका थिए । बाँके, बर्दिया, कैलाली, कन्चनपुरलाई त अहिले पनि नयाँ मुलुक नै भन्छन्, बृटिश इन्डियालाई खुशी पारेर लिएको भनेर । पङ्क्ति तयार गर्दा कर्णालीका राजधानी सुर्खेत अस्पतालको इमर्जेन्सी सेवालाई सिल गरिएको थियो । आपत्कालमा आउने त्यस क्षेत्रका बिरामीहरूको अवस्था यतिबेला कस्तो भयो होला सहजै आँकलन गर्न सकिन्छ ।

प्रदेशैपिच्छेको चिन्ता : कर्णाली प्रदेशभन्दा ओल्लो प्रदेश पर्छ ५ नं प्रदेश जहाँ एक लाख ८३ हजार नौ सय ६९ परिवार गरिबीमा छन् । हालको बजेटको आकार त्यहाँको ३६ अर्ब ३५ करोडको छ । बुटवल भैरहवा लकडाउनका बखत स्वदेश आएका नेपाली धेरै छिटै ती भारतीय सैनिकहरू भैरहवा बेलहिया सुनौली नाका हुँदै उतै फर्किए । भनेको अर्थ त्यताको पनि रोजगारी र गरिबी बिसौनी उतै भारत हो । भारतबाटै फर्केर आएका एक व्यक्तिले पङ्क्ति तयार गर्दा नजिकैको अर्घाखाँची क्वारेन्टाइनमा आरडीटी पोजिटिभ देख्नासाथ क्वारेन्टाइनबाहिर आएर झुण्डिएर आत्महत्या गरे ।

त्यसभन्दा ओल्लो पहाडी क्षेत्र हो गण्डकी प्रदेश जहाँको हालको बजेट ३४ अर्ब ८४ करोडको छ यहाँ पनि धनी र गरिब दुवै छन् । कोरोना क्वारेन्टाइनमा पोखरा हुँदै बाग्लुङगतिर लग्दा लग्दै एक जनाले गाडीबाट भागेर हाम फालेर ज्यान गुमाए ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x