Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढी व्याज र व्यवस्थापनको मारमा सहकारी

बढी व्याज र व्यवस्थापनको मारमा सहकारी


काठमाडौं । नेपाली शब्दकोशले सहकारीको अर्थ यसरी उल्लेख गरेको छ– साथसाथै काम गर्ने, मिलेर कामकाज गर्ने, सहायक वा सहयोगी व्यक्ति, साथी । व्यक्ति–व्यक्ति मिलेर काम गर्नका लागि अनेक प्रकारका संस्थाहरू खडा हुन्छन् संसारमा । नेपालमा सहकारी संस्था भन्नाले नजिकका केही व्यक्तिहरू मिलेर सेयर लगानी गरेर खडा गरिएको संस्थालाई बुझाउँछ । जुन संस्थामा सेयर लगानी गरिएको रकम सेयरधनीले आफूलाई आवश्यक परेको बखत तोकिएको व्याजदरमा लिनसक्छन् र आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । यसरी सञ्चालन गरिएको व्यवसायबाट हासिल गरिएको मुनाफाबाट सहकारीमा कर्जाको किस्ता र व्याज तिर्दैजान ऋणीको कर्तव्य हुन आउँछ । त्यस्तै, यस्ता सहकारीमा सर्वसाधारणहरूले खाता पनि खोल्न पाउँछन् । बहुउद्देश्यीय सहकारी संस्थाहरू पनि सञ्चालनमा आएका छन्, यस्ता संस्थाहरूले करोड मात्र होइन अर्बसम्मको कारोबार समेत गर्दै आएको पाइन्छ ।

नेपालमा सहकारीले आफ्नै अस्पतालहरू समेत सञ्चालनमा ल्याएका छन् । सानो आकारको सहकारी संस्थाले करोडौंको कारोबार गरिरहँदा त्यहाँ शंका गर्नुपर्ने हुन्छ । व्यवस्थापक तथा सञ्चालकहरूले सहकारी कोषको रकम व्यापक दुरुपयोग गरेर जथाभावी जमिन खरिद गर्ने र महँगाखालका गाडी खरिद गरेर ऐयासी जीवनयापन गर्ने । सहकारीको रकम अपचलन र भ्रष्टाचार गर्ने प्रवृत्तिले गर्दा सहकारी संस्थाहरू बदनाम हुँदै आएका छन् । नेताहरूको टाउको खाने काम गरेका छन् हाम्रा सहकारीहरूले उनीहरूको छवि नै ध्वस्त बनाउने सम्भावना बढ्दै गएको छ । सहकारीमा ज्यादा बेथिति राजधानी काठमाडौंमा देखिएको छ । विराटनगर, पोखरा र बुटवलबाट पनि सहकारीका यस्ता बेथितिका फाट्टफुट्ट समाचारहरू पनि नआएका होइनन् ।

केही संगीतकर्मी र कलाकारहरूलाई पनि सहकारीकै कारुण रातमा निद्रा छैन । बढी व्याज आउने लोभमा पर्दा उनीहरूको अनुहारको रङ नै फुस्रो हुँदैगएको छ । ओँठ र तालु सुक्दैगएर एन्जाइटी र डिप्रेसनको शिकार बन्नुपरेको छ । विश्वासिला बैंकहरू हुँदाहुँदै के खान राख्नु लाखौँ र करोडौँ पैसा सहकारीमा ? अझ मिटरव्याजीलाई दिएको भए के हुन्थ्यो होला ? व्याज त निकै दिने भन्छन् क्या रे ! यो लेखक पनि एकजना विभागीय निर्देशकले समेत पैसा हजम पारिदिएका छन् । बैंक व्याजदरकै सर्तमा सापटी लिने ती निर्देशकको नाम यहाँ किन खुलाउनु र ? अझै भीआईपीको कुरा त यहाँ उल्लेख नगरौँ । उहाँले झन् मेरो एक महिनाको तलब नै पचाउनुभएको छ ।

नेपालमा के हुँदैन ? नेताहरू ठग्ने, समाजसेवीहरू ठग्ने, धर्मगुरुहरू ठग्ने, सबै ठगैठग भएको देशको हालत साह्रै खराब छ । दूतावासहरूमा युवायुवतीहरूको पङ्क्ति हरेक दिन देख्नसकिन्छ । गाउँमा मलामी र जन्तीको संख्या घट्दो छ । बाह्र कक्षा पास गर्दाबित्तिकै विदेश हुत्तिने विद्यार्थीहरू सपनामा बर्बराइरहन्छन् । यो देश कहिले छोडुँ कहिले छोडुँ भन्दै कोही भन्छन् हाम्रो देश विदेशी शक्तिले चलाएको छ । फलानो देशको इसारामा चलेको छ । नेताहरूले गुण्डा पालेर बसेका छन् । इमानदार र सोझाहरूको जमाना छैन । अनेक नाटकीय ढंगबाट अपराधीलाई चोख्याइन्छ । जनताले सुशासनको अनुभूति गर्नपाएका छैनन् । देश चौपट छ, जनता असन्तुष्ट छन् भनेर सोच्ने फुर्सुद छैन नेताहरूमा । अर्को शब्दमा भन्नुपर्दा उनीहरूमा अलिकति पनि लाज छैन र हिनताबोध समेत छैन । मिसन ८४ का लागि अहिलेदेखि नै आफ्ना मान्छेहरूलाई कमाउ अड्डामा पठाउने काम गर्दैछन् । देशमा खेतबारी बाँझो पल्टिएको उनीहरूलाई हेक्का नै छैन । यस्तै, बेथितिहरूमध्येको अहिलेको मुख्य समस्या बन्न पुगेको छ– सहकारीमा भद्रगोल र भाँडभैलो ।

सहकारी संस्थाका बेथितिसम्बन्धी समाचारका सिलसिला:
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोटाला प्रकरणमा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार राति उक्त सहकारी घोटाला प्रकरणमा संलग्न भएको अभियोगमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी विशालनगरबाट पक्राउ गरेको हो । अन्य तीन जनालाई पनि सोही दिन फरक–फरक स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैँसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीमा कोषाध्यक्ष पदमा रहेका काठमाडौं लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदम बाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो (२०८१ असार १७ गते आर्थिक दैनिक) ।

रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरी २८ जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये आठ जना मात्रै पक्राउ परेका छन् । सहकारीका आठ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा प्रतिवादी बनाइएका छन्, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन । पुन उक्त सहकारीका तत्कालीन सचिव समेत रहेको अनुसन्धानबाट खुलेको छ । सचिव रहँदा उनले तीन लाख रूपैयाँ पेस्की लिएको भन्ने सरकारी वकिलको अभियोगपत्रमा उल्लेख छ (२०८१ वैशाख ४ सेतोपाटी) ।

पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरू पक्राउ परेका हुन् । उनीहरूले सहकारीको करिब सात करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ (२०८० फागुन २१ अनलाइनखबर) ।

पोखराका छ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित बचतकर्ताले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्कीअगाडि प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र पनि बुझाएका छन् । पीडितहरूले प्रदर्शनका क्रममा बचतकर्ताको बचत रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाही गर्न पनि माग गरे। (२०८१ वैशाख १० नागरिक) ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । संस्था स्थापना भएको वर्ष ०६५ यताको सफ्टवेयर भेटिएपछि २०७२ सालअघिका सहकारीका पूर्वसञ्चालक समितिका २५ जना पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि २०७२ पछिका १९ जना पदाधिकारीलाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यसमध्ये पाँच जना मात्रै पक्राउ परेका थिए । हाल प्रतिवादीको संख्या ४४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले २०७२ अघिका सञ्चालक समितिका पदाधिकारीविरुद्ध एक साताअघि पक्राउ पुर्जी जारी भएको बताए (२०८१।४।४ कान्तिपुर) ।

सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रहेको निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा सचिवसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ३ सामाखुसीमा प्रधान कार्यालय भई न्यूरोड तथा चाबहिलमा शाखा कार्यालय खडा गरी सञ्चालनमा रहेको सहकारीका सचिवसहित तीन जना पक्राउ परेका हुन् । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार, पक्राउ पर्नेमा गोबिन्द पुरी, महेश श्रेष्ठ र ध्रुवराज कार्की छन् । पुरी सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की चाबहिल शाखाका व्यवस्थापक हुन् । सहकारीका सञ्चालकहरूले निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक, वार्षिकरूपमा व्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, व्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेका थिए (२०८१।४।२२ गोरखापत्र) ।

प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौँ रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो । सहकारीको निक्षेप दुई अर्ब ८० करोड रहेको खुलेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका हुन् । हालसम्म पाँच सय ६६ जनाले प्रहरीमा उजुरी दिएका छन् (२०८१ असार २ बाह्रखरी) ।

लगानी गरेर राम्रै मुनाफा आउला भनेर सेयरधनीहरूले जम्मा गरेको रकम टाठाबाठाले मात्र चलाउने र सामान्य प्रवृत्तिका लगानीकर्ता चुप लागेर बस्ने गर्नाले सहकारीमा भाँडभैलो हुनेगरेको पाइन्छ । त्यस्तै, सर्वसाधारणले बैंकको भन्दा धेरै व्याज आउने भनिएपछि सहकारीतर्फ बचत गर्न आकर्षित हुने गरेको पाइन्छ । जब सहकारी संस्थाका सञ्चालक फरार, सहकारीको रकम अपचलन, व्यवस्थापक र सञ्चालक पक्राउजस्ता समाचारहरू आउँदा विशेषगरी बचतकर्ताहरूमा नैराश्यता छाएको पाइन्छ । उनीहरू पुर्पुरोमा हात लगाएर बसेका छन् । हालका दिनहरूमा सहकारी संस्थाप्रति विश्वसनियतामा शंका गर्न थालिएको छ । सरकारले यसतर्फ सक्रियता देखाएको पाइँदैन । सहकारीमा नेता र उनका परिवार पनि जोडिँदैआएका छन् । ‘धन भनेपछि महादेवको पनि तीन नेत्र खुल्छन्’ भन्ने उखान हाम्रो मुलुकमा चरितार्थ भएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x