Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयौनको सामाजिकीकरण र आजको युवा

यौनको सामाजिकीकरण र आजको युवा


लक्ष्मण सिटौला
तपाईंलार्ई के लाग्छ, के प्रेम पाप हो ? अनि यौनचाहिँ श्राप ? के यौन पापकर्म हो ? यदि यौन पाप र पापकर्म थियो भने समस्त विश्व जगत पापकै परिणाम हो । हामी सबै पापीका सन्तान हौँ । यौनलाई यदि सिर्जनासँग दाँज्ने हो भने फेरि हामी पुन्यका प्रतिफल हौँ । यौन र प्रेम वर्जित समाज हो हाम्रो समाज । जोगीलार्ई र योगीलार्ई पुज्ने गर्छौँ हामी तर भोगीलाई, प्रेम गर्नेलार्ई देखिसहँदैनौँ । हामीले सुरुदेखि नै प्रेम र यौनलार्ई घृणा गर्दै आयौँ । रामायणमा यदि सीताले रावणसँग सहवास गरेकी भए सम्भवत आज सीता हिन्दु धर्मग्रन्थमा सबैभन्दा घृणित पात्र बन्ने थिइन् । धन्न बाल्मिकीको ध्यान पुगेछ रामायण लेख्नेबेलामा । पुरुषको यौनलार्ई पचाउने यो समाज स्त्रीका यौन भने पचाउन सक्तैन ।

फरक यहीँबाट नै सुरु हुन्छ स्त्री र पुरुषबीचको विभेद । महाभारतमा एउटा दुर्दान्त कथा छ, जब जुवाडे पाण्डवहरूले आफ्नी पत्नी द्रौपदीलाई जुवामा हारे तब दुशासनले द्रौपदीलाई खालमा घिसारेर लगे । आफ्नो पत्नीलाई जुवामा हार्ने पाण्डवलाई अझैसम्म पनि सम्मानको आँखाले हेर्दै आयो समाजले । दुर्योधन र दुशासन त कलंकित भैहाले तर पत्नीलार्ई जुवामा हार्नेलाई पनि किन सम्मानको आँखाले हेर्दै आयो समाजले ? यो कुरो बुझिनसक्नु छ र यो कुरामा आजसम्म कुनै नारीवादीहरूले बहस चलाएनन् न त नारीहरू नै यो कुराको विरोध गर्न सक्छन् । पाँच पतिकी पत्नी भएकी हिसाबले द्रौपदीलाई दुर्योधनले वेश्या भने । बहुपति प्रथा पौराणिक कालदेखि अहिलेसम्म धेरै कम सुनिन्छ । किनभने नारी आफूले कहिले चयन गर्दिन बहुपति । पुरुष मात्रै हो बहुपत्नी भोग्ने मनुवा ।

महात्मा गान्धीले भनेका छन् कि कायर भएर अन्याय सही बाँच्नुभन्दा हिंस्रक हुनु राम्रो । दिनदिनै बलात्कारका घटना पत्रपत्रिकामा पढिरहेका छौँ हामीले र एउटा पुरुष मनले अर्को पुरुष शरीरलार्ई धिक्कारिरहनु पर्दा बलात्कार गर्ने पशु पुरुषलार्ई किन जन्माइन् होला आमाले जस्तो लाग्छ । बलात्कार गर्ने पागल पुरुषलार्ई तत्काल किन प्रतिकार गर्न सक्तिनन् नारी ? थाहा छ तिनीहरू कोमलताका प्रतीक हुन् । यौन घृणित काम हो, त्यसैले यो लुकिचोरीमा गरिन्छ । यौनलार्ई पापको विषय बनाइएकाले नै होला यसको लागि दिन होइन रात नै उपयोग गरिन्छ । जुन काम अँध्यारोमा हुन्छ त्यो काम नै खराब काम हो भन्ने कुरा बुझ्यो समाजले ।

आजसम्म प्रेम र यौनलाई सामाजिकीकरण गर्न सकेन समाजले र बलात्कारजस्तो जघन्य अपराधलार्ई मलजल गर्ने काम भैरह्यो । प्रेम गर्नेलाई समाजले पाता फर्काउँछ । गाउँले सिंगै लागेर हत्या गर्छ जो भर्खरै रुकुममा घट्यो । प्रेम वर्जित छ हाम्रो समाजमा । प्रेमको त वर्जित छ भने त्यहाँ यौन कसरी मान्य हुन्छ । यौन मान्यता छैन । बिहेपछि मात्रै यौनलाई मान्यो समाजले । विचार गर्नुस् बिहे नगरेका कति करोड जनसंख्या होला यो दुनियाँमा अनि तिनीहरू सबै नपुंसक होलान् त ?

अनि तिनीहरूले के प्रेम गर्न नपाउने । नैतिकता र अनैतिकताको प्रश्न उभ्याए समाजका धर्म गुरुहरूले जो आफू चैँ भने भागवत भन्दै नारीहरू आफ्नो काखमा नाचुन् भन्छन् अनि आफ्नो लागि भने यौन प्रसाद मान्छन् । गुरुले छुँदा तरिने अनि मन नपरेको केटाले छोयो भने बलात्कार ग-यो भन्दिने आजको कतिपय युवा नारीहरू यो चरित्र बोकेर पनि हुर्किरहेका छन् ? आजको युवा छिटो हुर्किन्छ । हलक्कै बढ्छ । छिटो प्रेम गर्न खोज्छ । छिटो सहवासको नजिक पुग्छ । छिटो धनी हुन खोज्छ । भ्रष्टाचार गरेरै भए पनि सामाजिक प्रतिष्ठा राख्न खोज्छ । स्त्री, धन, प्रेम र यौन आजको सबैभन्दा छिटो चाहिने आवश्यकताको रूपमा विकास भयो । फलस्वरूप युवायुवतीमा विकृति पैदा हुँदै गयो ।

आज सञ्चारको व्यापक विस्तार भएको छ । अनेकौं सामाजिक सञ्जालहरूले आकाश नै धमिलिने अवस्था छ । सबै वर्गका हातमा मोबाइलको पहुँच छ । यसले गर्दा पनि समाजमा अनेकौं विकृति फैलिएको पनि छ । १२ वर्षमा बिहे १३ वर्षमा बच्चा अनि १४ वर्षमा डिभोर्सको अवस्थामा पुगिसकेको छ आजको युवा ।

प्रेम र यौनमा परिपक्वताबिनै आजका धेरै युवायुवतीहरूले समाजलार्ई अन्धतातिर धकेलिरहेका छन् । युवाहरूबाट घटित सबै क्रियाकलापलार्ई आर्थिक, सामाजिक नैतिकता दृष्टिकोणबाट हेरिनु आवश्यक भैसकेको छ । प्रेमलाई यौनसँग जोड्न थालेका छन् आजका युवाले । वास्तवमा स्कुल लेबलमा सामाजिक शिक्षाको अध्ययन नहुनु र आधुनिक शिक्षाका नाउँमा शिक्षालार्ई पश्चिमीकरण गरियो । सामाजिक र नैतिक शिक्षालार्ई अनिवार्य बनाउनु जरुरी भैसकेको छ अब । देशको जनसंख्यामा युवा वर्गको नै बाहुल्यता छ । त्यो वर्गले सम्यमता अपनाएन भने यौन हिंसा बढिरहन्छ ।

इतिहासमा बलात्कार नभएका होइनन्, भएका छन् । तर एउटी अबला नारीलार्ई इच्छाविपरीत बलात्कार गर्नु र फेरि उनैको हत्या पनि गर्नु एउटा दर्दनाक परिवेशको उठान हो यो । यसको बैठान कहिले हुने र कसरी हुने हो समाजमा । अहिले हाम्रो कानुन, न्यायलय, न्यायाधीश, स्वतन्त्र न्यायपालिका, संविधान र पार्लियामेन्ट पनि अलमलमा छन् । बलात्कारीलाई मृत्युदण्डको माग भएको छ । सडक, सदन दुवै तातिने गर्छन् । मृत्युदण्ड नै यसको निराकरणको उपाय हो पनि भन्छन् । भनेर ठोकुवा गर्नसक्ने अवस्थामा पनि हामी छैनौँ । हरेक बलात्कारको पछाडि कारण खोजिँदैन । यसको निदान खोजिँदैन । यसको स्थायी सामाजिक चिन्तन बारेमा बहस गरिँदैन ।

तत्कालका लागि दण्ड र सजायको व्यवस्थापन भए खेल खत्तम । तर कुरो त्यही नै घुमिरहेको हुन्छ । बारम्बार बलात्कार हुन्छ । बारम्बार यौन हिंसा हुन्छ । बारम्बार सामाजिक हिंसा हुन्छ । बारम्बार प्रेमको पनि हत्या हुन्छ । जबसम्म प्रेम र यौनलाई पाप मानिन्छ, तबसम्म यो चक्र चलि नै रहन्छ ।

भारतकी फूलनदेवीको बारेमा हामी सबैलार्ई थाहा छ । उन्को बारेमा प्रसिद्ध निर्देशक शेखर कपुरले चलचित्र समेत बनाए । ‘द बेन्डेड क्वीइन’ जीवन के हो भनेर बुझ्नै नसक्ने अवस्थामा तिनको बिहे भएको थियो । लोग्नेबाट प्रताडित तिनी पछि धेरै कुपुरुषबाट यौन हिंसाको सिकार भइन् । जसका कारण उनलाई डाकु बनेर बदला लिन बाध्य बनायो । आफ्नो विगत जीवनका कारण फूलन ११ वर्ष जेल परिन् । जेल पर्नुभन्दा अगाडि उनले धेरै कुपात्रहरूको जीवन सफाया पारिन् । उनको साहासको सम्मान गर्दै दुई–दुई पटक भारतीय समाजवादी पार्टीबाट सभासद समेत बनिन् ।

नेपालमा पनि किन जन्मिदैनन् फूलनदेवीहरू ! म त भन्छु अब महिला रक्षाका लागि पनि फूलनहरूको आवश्यकता भैसकेको छ । जसरी फूलनले आफूमाथि अत्याचार गर्ने पुरुषलार्ई मृत्युदण्ड दिइन् त्यसरी नै अत्याचारीलाई सिध्याउने अधिकार नेपालका नारीहरूलाई दिनुपर्ने अवस्था आइसकेको छ । समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गर्दा बहुपुरुषसँग यौन सम्बन्ध राख्ने महिलालार्ई वेश्या शब्द प्रयोग हुँदै आयो । तर बहुपत्नी भोग गर्ने पुरुषलार्ई भने वेश्या पुरुष भनेन त्यो समाजले किनकी समाजमा पुरुषवादी चिन्तन हाबी भएको थियो र अझैसम्म भैरहेकै छ निरन्तर ।

मातृसतात्मक युगमा पनि स्त्रीले आफूअनुकुलको युग परिवर्तन गर्न सकेनन् । फलतः युग परिवर्तन भए पनि पितृसत्तात्मक सोच हाबी भयो । पत्नीलार्ई जब जुवामा घिसारेर ल्याइयो, पाण्डवका आँखाबाट रगतको आँसु बगेको थियो । भारी सभामा द्रौपदीलाई घिसार्नु नारीमाथिको जघन्य अपराध थियो । यसमा दुर्योधन र दुशासन मात्रै होइन पाण्डव पनि त्यतिकै बेइमान छन् । दुशासनको छातीको रगतले कपाल नधोएसम्म द्रौपदीले आफ्नो कपाल आजीवन खुलै राख्ने प्रतिज्ञा गरिन् । इन्द्रप्रस्थ छोडेर वनाबास जानुपर्दाको पीडाका दोष द्रौपदीलाई होइन पाण्डव पुरुषहरूलाई जान्छ र दिनुपर्छ । खै यो बारेमा व्यापक व्याख्यान भएको ?

हाम्रोमा प्रेम वर्जित छ । प्रेम गर्नु पाप हो भन्ने मानसिकताबाट नेपाल र नेपाली समाज गुज्रिरहेकै छ । नेपाली समाजमा प्रेम कसैलार्ई पनि पाच्य हुँदैन । जहाँ प्रेमलाई विष बोटको रूपमा लिइन्छ त्यहाँ सद्भावनाको फल होइन द्वन्द्व नै चर्किरहन्छ । हामी बच्चालार्ई सेक्स इजुकेसन दिन हुँदैन भन्छौँ र यसबाट झनै बच्चाहरू बिग्रने सम्भावना हुन्छ भन्छौँ । तर युरोपेली समाजमा वा पश्चिमी संस्कृतिमा सेक्स एजुकेसन अनिवार्य भैसकेको छ । जहाँ जुन कुराको अभाव छ वा जहाँ जुन कुरा दबाइन्छ त्यहाँ त्यही कुराको व्यापक खोजी हुन्छ । र त्यही कुरो ज्यादा चर्चामा आउँछ ।

धन सम्पत्ति सजिलोसँग प्राप्त हुँदैन त्यही भएर हो मनुष्य जो पनि धनी हुन चाहन्छन् । धनप्रति ऊ यति आशक्त हुन्छ कि धनैका लागि मान्छे अहोरात्र तड्पिन्छ दुःख गर्छ, छल्छ, ढाँट्छ, चोर्छ जसरी नि धन थुपार्ने सपना देखेकै कारण समाजमा मनुष्यले नै हिंसा निम्त्याउँछ । सेक्स पनि यही हो । सेक्सलार्ई अपराध नसम्झिनुस्, सेक्सलाई वर्जित नगर्नुस, सेक्सलाई पाप नसम्झिनुस्, केटा र केटीबीचको आकर्षण प्राकृतिक हो भन्ने सामाजिक अवधारणाको विकास बनाउनुस् अनि सेक्सप्रतिको जिज्ञासा कम हुन्छ ।

जीवन सामान्य हुन्छ । पशुहरू सेक्सप्रति कहिले हिंस्रक छैनन् किनकी उनीहरूमा सेक्स खुला छ । त्यहाँ सेक्स नपाएर कुनै बाघले बघिनीको हत्या गरेन । सेक्स नपाएर कुनै घोडाले घोडिनीलाई टोकेर मारेन । तर सेक्स नपाएर एउटा पुरुषले स्त्री मारिरहेछ किन ? मनुष्य पशुभन्दा पनि किन गिरिरहेको छ ? कारण सबै खुला हुनुपर्ने भनेको होइन । दबाउन छोड्नुस विद्रोह हुँदैन तर जति दबाउँदै जानुस् यो त्यति नै खुला हुन खोज्छ । वर्षाको भेललाई डाँडो नै काटेर थुने पनि अन्ततः खोला जसरी नि बग्छ । किनकी खोलाले बग्न पाउनुपर्ने हुन्छ ।

समाजको सर्वमान्य सिद्धान्त पनि यही हो कि कुनै धनी ठाकुरले वा जमीनदारले आफ्ना आसमीहरूलाई जति ठग्छ त्यति नै त्यहाँ भित्र–भित्र सामाजिक विद्रोह सुरु भैरहेको हुन्छ । अणुलाई खुम्च्याउँदा बम निर्माण हुन्छ । लुकाउनु, दबाउनु, दबाब दिनु, खुम्च्याउनु भनेको त्यसको एकदिन बिस्फोट देख्नुलाई नै हो । यही कुरा सामाजिक जीवनको एउटा महत्वपूर्ण अंगको रूपमा रहेको मनुष्य जातिको जैविक चाहना सेक्समाथि पनि लागू हुन्छ । सम्यमता अपनाउने कुरो समाजले सिकाएजस्तै आवश्यक मात्रामा खुला हुन पनि यही समाजले सिकाउनु पर्छ र यसैलार्ई भनिन्छ यौनको सामाजिकीकरण । अर्को शब्दमा भन्ने हो भने यौन व्यवस्थापन ।

अझ नेपाली समाजमा सेक्सलार्ई त पापको रूपमा लिइन्छ । सेक्स अंग्रेजीमा भन्न सक्छौँ तर नेपालीमा उच्चारण गर्न कसैलार्ई छुट छैन । सेक्सको नेपाली उच्चारण गर्ने पुरुष कि त बहुला हो, कि त नकचरो हो, कि पातर हो वा कि छाडा पुरुष भनेर समाजबाट वर्जित हुन्छ । मैले नेपालीमा कसैले सेक्सलाई नेपालीमा उल्था गरेर बोलेको सुनेको छैन । अझ महिलाले यो शब्द उच्चारण गर्न त परै जाओस् सोच्न पनि सक्तिनन् होला । सेक्स अपराध हो भन्ने कुरा हामीलार्ई सानै उमेरदेखि सिकाइन्छ बाहुनहरूको भान्सामा बच्चालार्ई छुन हुँदैन भनेर सिकाइन्छ । केही गरी बच्चा भान्सामा उसको आमालाई छुन जान लाग्यो भने छुइछुइ आउन हुन्न यहाँ पाप लाग्छ भनेर तर्साउने परम्परा थियो । त्यो भनेपछि झनै त्यो बच्चालार्ई भान्सा छुने जिज्ञासा बढ्थ्यो र जसरी पनि उसले भान्सा छोएर छाड्थ्यो ।

वास्तवमा यो सेक्सप्रतिको अवधारणा पनि यही हो । कसैले राम्रो भन्दैनन् । कसैले पनि सेक्स र प्रेमप्रति राम्रो धारणा बनाउँदैनन् । अनि झन् कौतुहलताको विषय बनिदिन्छ सेक्स र सबैलार्ई उत्सुकता पैदा गरिदिन्छ । जसरी साना केटाकेटीले भान्सा जसरी नि छुन खोज्छन् । पश्चिमा देशहरूमा जब एउटी नारी बालिग हुन्छिन् उनीसँग आफ्नो एउटा बोइफ्रेन्ड अनिवार्य हुनैपर्छ ।

बोइफ्रेन्ड नहुनु भनेको सामाजिक आपत्ति हो । बाबुआमालाई चिन्ता हुन्छ कि मेरी छोरीमा कुनै शारीरिक कमजोरी पो छ कि भनेर । बालिग हुँदासम्म केटासँग हिँड्ने, सेक्सुयल सम्बन्ध राख्न पाउने, घुम्न पाउने, बाहिर रात बिताउन पाउने, कुनै होटलमा गएर सँगै बस्न पाउने अधिकार हुन्छ त्यहाँ । हाम्रोमा कुनै प्रेमी र प्रेमिका होटलमा गएर रात बिताए भने पुलिसले हत्कडी लगाउँछ । सामाजिक निन्दा हुन्छ । जीउ मास्ने बेच्ने सार्वजनिक अपराध ऐन लाग्छ ।

कुनै रेस्टुरेन्टमा वा होटलमा प्रहरीले छापा हान्छन् र प्रेमील जोडीलार्ई थुनिन्छ । अभिवावक बोलाएर बेज्जत गरी कागजपत्र गरेर अबदेखि यस्तो अपराध कर्म गर्नेछैनँ भनेर पाँचपुस्ते उतार्न लगाइन्छ । अपराध यही थियो कि ती दुई प्रेमील जोडी रिसोर्टमा गएर बसे । प्रेम गरे । माया साटासाट गरे । दुःखसुख बिसाए । तर तिनले नै रुनुपर्छ । तिनकै हुन्छ निन्दा र घृणा । प्रहरीदेखि प्रशासनसम्म तिनकै पछि हुन्छन् । यहाँ स्त्री र पुरुष घुम्न मनाही छ । यहाँ स्त्रीले पुरुषसँग बोल्दा नि अपराध र पुरुषले स्त्री अनुहार हेर्दा नि अपराध । जहाँ प्रेम वर्जित छ त्यहाँ कुनै न कुनै आँखीझ्यालबाट अपराधले चिहाइरहेको हुन्छ । लुकेकै चिजको खोजी गर्ने मनुष्यको आदिम परम्परा त हो ।

पोखराको एउटा होटलमा नवविवाहित जोडी हनिमुन मनाउन गएको बेलामा बिहे गरेको प्रमाणपत्र नहुँदा दुई रात थुनिएको खबर धेरै वर्ष अगाडि पत्रिकामार्फत आएको थियोे । यहाँ विवाहित जोडीलाई त सहज छैन भने नवप्रेमीहरूलाई त झन् सम्भावना कम छ । लुकीलुकी डर प्रहरी र समाजको आतंकमा प्रेम गरिरहेछन् प्रेमी प्रेमिकाहरू अनि आउँछन् हत्या र बलात्कारका घटनाहरू । प्रेममा निगरानी होइन अपराधमा निगरानी राख्नु राम्रो हो । रिसोर्टमा घुम्न गएका जोडीहरूलाई रिसोर्टमा नआउनु भनेर जब प्रहरी नै छापा हान्छन् भने दोष कसको हो ? बग्ने पानी, प्रेम र सेक्स उस्तै हो । जब थुनिन्छ वा जमाइन्छ यसले बाटो मोड्न थाल्छ अपराधको रूप धारण गरेर ।

नेपालमा यदि यही गतिमा महिलामाथि यौन हिंसा हुँदै जाने हो भने कुनै पनि आमाबाबुले छोरी जन्माउने छैनन् । यसमा समाजशास्त्रीय अध्ययन हुनु जरुरी भैसकेको छ । यौनलाई कसैले दबाउन सक्तैनन् । चाहे पुरुष हुन् वा स्त्री । समाजमा सबैभन्दा बढी चासो चियो र चर्चाको विषय बनेको छ यौन । यौन त्यतिबेला मात्रै चासोको विषय बन्छ जब यसमा सामाजिक बन्धन हुन्छ ।

खुला समाजमा अपराध कम हुन्छ । जति पुरातनवादी सोचाइबाट मान्छे ग्रसित हुन्छ त्यो देशको कानुन पनि त्यति नै पुरातनवादी हुन्छ र मानिसले आफूले आफैंलाई दण्ड दिइरहेको हुन्छ । हामी पश्चिमी संस्कृति खत्तम छ भन्छौँ तर खत्तम त हामी रहेछौँ किनकी दैनिक स्त्री बलात्कारको खबर आइरहेको छ । अपहरण र हत्याको मुद्दाहरू बिनाफैसला थन्किरहेका छन् । यदि यौन अपराध नियन्त्रणभन्दा बाहिर गयो भने त्योभन्दा घातक स्थिति केही हुँदैन र यसले सामाजिक विचलन ल्याउने निश्चित छ । जसरी युद्धमा होमिएको बेलामा सत्रु परास्तको मात्रै उद्देश्य हुन्छ युद्धकर्मीलाई । त्यस्तै यौवनको भोकले जलिरहेको पुरुष पनि त्यो बेलामा सेक्सभन्दा अरु केही देख्दैन ।

यस्तो हुनु अपराधी हुनु हो ? स्त्रीमा पनि सेक्स उन्मादको जलन भयंकर हुन्छ तर उनी सहन्छिन् । यही फरक छ स्त्री र पुरुषमा । सहिदिनुमा प्रकृति पुज्य हुन्छिन् । जाइलाग्नुमा पुरुष पुरुषार्थी सम्झन्छ । नेपालमा यदि यौन हिंसा घटाउनु छ भने खुला वेश्यालय हुनुपर्छ भन्ने कुराहरू कतिपय सांसदज्यूहरूले समेत उठान गरिसकेका छन् ।खास गरेर दोस्रो विश्वयुद्धपछि खुला वेश्यालयको अवधारणा जन्मिएको हो युरोपेली देशहरूमा । हिटलर आफैँ पनि एउटी वेश्यासँग प्रभावित भएको कुरा उल्लेखित छ । आलय भनेको घर । वेश्या भनेको पैसाको लेनदेन गरेर यौन आनन्द लिने दिने क्रिया । वेश्या पहिला स्त्रीसँग मात्रै सम्बन्धित थियो तर अहिले वेश्या पुरुषसँग पनि सम्बन्धित छ ।

संसारमा नेपालबाहेक प्रायः सबै देशमा वेश्यालय छन् । धेरै देशहरूले वेश्यालयलाई कानुनी मान्यता दिएर राज्यले करसमेत उठाइरहेको छ । आजको यो २१औं सदीको भौतिक विश्वमा सेक्सलार्ई पापको रूपमा जसरी लिइएको छ, जसरी सेक्सलाई समाजबाट दबाइएको छ, जसरी सेक्सलाई तल्लो दर्जा दिइएको छ त्यसैको परिणाम भोग्दैछौँ हामी बलात्कारजस्तो जघन्य अपराधको वृद्धिबाट । सेक्स छ र त हामी छौँ । सेक्स छ र त पृथ्वी छ । सेक्स छ र त यो भौतिक उन्नति उन्नयन छ । सेक्स छ र त माया छ । नत्र रुख, बिरुवा, ढुंगामुढाभन्दा के फरक हुन्छ होला र मनुष्य जीवन पनि । सेक्स जति वर्जित कुरो अरु केही छैन समाजमा । सेक्स गर्न पाइँदैन भनिरहेछौँ हामी । फेरि जनसंख्या थपिएकै छ, सेक्स र प्रेम वर्जित भएको कारण ले यौन हिंसा दिनानुदिन बढिरहेको छ ।

बलात्कार भयो भनेर कानुनी उपचारतिर मात्रै सरकारको र समाजको ध्यान गएको छ । तर बलात्कार हुनुको पछाडिको मूल रहस्य वा कारण के हो भनेर त्यसको निराकरण गर्नतिर कहिले गएन समाज । यौनलाई सहजीकरण, व्यावस्थापन अनि सामाजिकीकरण गर्न सकिएन भने फेरि पशुत्वाग्नीमा जल्न विवश हुन्छन् निर्दोष नारीहरू । सेक्सलाई पापको रूपमा यदि नलिइदिने हो भने, सेक्सलाई यस्तो कडा रूपमा नदबाउने हो भने र सेक्सलाई सामाजिकीकरण गरिदिने हो भने नेपाली समाजमा यौन हिंसामा अवश्य कमी आउनेछ । प्रेमको दण्ड पाउनु नै छ भने प्रेममै होमिएर मरेका प्रेमीहरूको कथा पनि प्रशस्त छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x