Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंस्कार र संस्कृति राष्ट्रियताको बिउ हो ।

संस्कार र संस्कृति राष्ट्रियताको बिउ हो ।


राष्ट्रियताको कुरा गर्दा हामी अलिक फराकिलो हुनुपर्छ भन्ने लाग्छ । हाम्रो देश विविध जातजाति भाषाभाषीको सुन्दर बगैँचा हो । यहाँ ती सबै जातजाति भाषाभाषीका आफ्ना छुट्टाछुट्टै राष्ट्रियता पनि छ । ती सबैलाई समेटेर बनेको नेपालीपन हाम्रो गौरवपूर्ण इतिहास भएको नेपाली राष्ट्रियता हो । हामी नेपाली हौँ भन्नेमा संसारका जुनसुकै कुनामा भएका नेपालीहरूले पनि आफूमा गर्व गर्छन् । तिनीहरू जुनसुकै मुलुकमा पुगेको भए पनि उनीहरूमा नेपाली राष्ट्रियता छचल्किरहेको हुन्छ ।

गत वर्ष थाइल्यान्डका नेपालीहरूको एउटा टोली एउटा सांगीतिक कार्यक्रममा भाग लिन नेपाल आएका थिए । उनीहरूले एयरपोर्टमा प्लेनबाट ओर्लनेबित्तिकै नेपालको माटोलाई शिर निहु¥याएर ढोकेको तपाईंहामी धेरैले देखेका छौँ । यसबाट नेपालीहरू जुनसुकै देशको नागरिक भए पनि आफ्नो पितृ देशप्रति अगाध माया गर्दारहेछन् भन्ने देखिन्छ । समयक्रममा जीवन निर्वाहको खोजीमा विदेशिनु नेपालीहरूको बाध्यता थियो । विगतमा नेपालका स्व राजा वीरेन्द्रले थाइल्यान्ड पुगेर नेपालीहरूको उचित बसोबास र व्यवस्थापनका लागि थाइल्यान्डको राजालाई भेटी समस्या समाधान गरेको र अभिभावकीय भूमिका निर्वाह गरेको इतिहास छ । थाइल्यान्ड मात्र एउटा उदाहरण होइन नेपालीहरू त संसारको जुनै कुनामा पनि पुगेका छन् । भारत, बर्मा, मलेसियामा पनि नेपालीहरूको बाक्लो उपस्थिति छ ।

संसारको कुन देश होला नेपाली नपुगेको ? जहाँ पुगे पनि उनीहरूले नेपालीपन जोगाउन चाहन्छन् । चाडपर्व र गीतसंगीत सबै विदेशमा बस्ने नेपालीहरूले पनि नेपालमा जसरी मनाउँदै आएको हो, त्यसैलाई नियमितता दिएको देखिँदै आएको छ ।

दशैँ, तिहार, साउने संक्रान्ति, माघे संक्रान्ति नेपालीहरूका चाडपर्वहरू हुन् । तराईमा बस्ने नेपालीहरूले विशेष गरेर छठ पर्व धुमधामले मनाउने गर्छन् । पूर्वी नेपालमा किरात समुदायका जातजातिहरू राई, लिम्बु आदिले मनाउने उधौली र उभौली पर्व निकै रोचक र रमाइलो हुन्छ । नेपालको पूर्वी भाग खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा किराँत समुदाय बसोबास गर्छन् । उनीहरूले यो पर्व विभिन्न कार्यक्रमको आयोजना गरी एक सातासम्म धुमधामले मनाउँछन् । नेवारी संस्कृतमा इन्द्रजात्रा, गाईजात्रा, रोपाईजात्रा आदि र नाचहरूमा भैरव नाच, लाखे नाच आदि प्रख्यात छन् । यस्ता अनेकौँ पर्वहरू नेपालीका पहिचान हुन् । जन्म, मृत्यु र विवाहका अनेक संस्कार तथा संस्कृति नै नेपाल र नेपालीको आफ्नोपन हो ।

नेपालभित्र तामाङ दाइले बजाउने डम्फु बाजा होस् वा तराईवासीले बजाउने ढोलकी वा पहाडतिर बजाउने पञ्चैबाजा अनि हिमाली क्षेत्रमा शेर्पा दाजुले बजाउने बछेइ बाजा सबैमा नेपालीपन छ । मादले र मारुनी नाच पनि हाम्रो संस्कृतिभित्रै पर्छ । पूर्वी नेपालको मुर्चुङ्गा र बिनायो बाजा अहिले लोप हुने क्रममा छ । यसमा हामीलाई चिन्ता लागेको छ । पश्चिम नेपालको देउडा भाका र पूर्वी नेपालको लोकभाका, मध्य नेपालको झ्याउरे भाका सबै त नेपाली संस्कृतिको संयुक्त नाम हो भनी गर्भ गर्व गर्नुपर्छ । नेपालको मेचीपारि र महाकालीपारि पनि नेपालीको यो परम्परा र संस्कृति हामी देख्न सक्छौँ ।

वास्तवमा उनीहरू पनि नेपाली नै हुन् र जमिन पनि हाम्रो नेपालकै थियो । हामीलाई नक्कली सुगौली सन्धिले भारतीय भूमिमा अंग्रेजको शासनकालमा अंग्रेजले धोकाधडीमा पारेका थिए । पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरेका थिए । उनीहरूले ब्रिटिसले जहाँजहाँ भन्यो त्यहीँ सही गरी भारततिरै पलाएन भएका थिए । यसबापत कुस्त जमिन र पैसा उनीहरूलाई प्राप्त भएको थियो । यसैले उनीहरू पुनः फर्केर नेपाल आएनन् । उक्त सन्धिमा नेपाली राजाले कुनै लालमोहर लगाएको छैन ।

शक्तिको आडमा ब्रिटिस उपनिवेशवादीले यस सन्धिलाई जबरजस्ती मान्य बनाएको थियो । यस दृष्टिकोणबाट हेर्दा ग्रेटर नेपालको मुद्दा ज–जसले उठाउनु भएको छ, त्यो न्यायसंगत छ भन्ने लाग्छ । ब्रिटिस शासकले आफू भारत छोडी बेलायत जाने बेलामा आफ्नो जमिन फिर्ता लिन आऊ भनी नबोलाएका भने होइनन् तर तत्कालीन राणा शासकहरू स्वयं नगएका हुन् ।
अर्को कोणबाट हेर्दा नेपालको अहिलेको अवस्था अलिक फरक छ । नेपालमा अहिले गरिबी उन्मूलनको कुरा कुनै प्राथमिकतामा परेको देखिँदैन । वर्गीयताको मुद्दा कुनै मुख्य मुद्दा रहेको देखिँदैन । तर जातीयता र धर्मको मुद्दा प्राथमिकतामा पर्दै आएका छन् । हामीलाई थाहा छ नेपालमा एक सय ४२ जातजाति बसोबास गर्छन् ।

तीमध्ये ११ जातिको जनसंख्या त एक हजारभन्दा कम रहेको तथ्याङ्कमा उल्लेख छ । जसअनुसार नुराङ्ग जातिको जनसंख्या देशभर जम्मा ३६ जना मात्र छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्याङ्कअनुसार ११ जातिहरू नुराङ्ग, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ्ग, राउटे, तोप्केगोला, फ्रि र कलार जातिहरू हुन् । यी समेत प्रत्येक जातजाति भाषाभाषीको आ–आफ्नै इतिहास छ । यसको खोजी गर्नुपर्छ जगेर्ना गर्नुपर्छ । यी सबै नेपाली राष्ट्रियताका लागि खजाना र सम्पत्ति हुन् । तर जातीयताको नाममा आफूआफू नै भिड्नुचाहिँ आफैँ सिध्यिनुबाहेक केही पनि हुन सक्तैन । जसरी मानिस बन्नको लागि हात, खुट्टा, नाक, मुख, आँखा र शरीरका भित्री अंग आन्द्रा भुँडी सबैको आवश्यकता छ । यी सबै अंगले म ठूलो भनी झगडा गरी हरेक अंगअंग अलग हुने हो भने मानिसको अस्तित्व रहला र ? त्यसैगरी राष्ट्रियता बचाउने हो भने सबैले आपसमा हातेमालो गरी सहकार्य गर्नु आवश्यक छ । जातीयताको मुद्दालाई बढावा दिँदा हामी आफैँ छियाछिया हुनुबाहेक अरू केही हुने छैन ।

हामी हामीबीच अनेक अन्तरविरोधहरू छन् । जातिजातिबीचमा को बाहिरिया र को भित्रिया ? भन्ने झगडा एकातिर छ । हो इतिहासको कुनै कालखण्डमा हामी मध्य कोही बाहिर देशबाट आएका हौंला कोही यहिको रैथाने हौंला । यस्तै कुरामा वादविवाद गर्दै बस्ने हो भने देश कहिले उँभो लाग्छ ? हामीले प्रगति कहिले गर्ने ? मानिसको उत्पत्तिसँगै जीवन निर्वाहको खोजीमा मानिस संसारभर फैलिँदै गएको कुरा मानवको उत्पत्ति र यसको इतिहासले हामीलाई ज्ञान दिएको छ । यसैले यस्ता कुरामा धेरै गलफत्ति गरी बस्यो भने हामी काहीँ पुग्नेछैनौँ । को मंगोल, को आर्य ? कसको नाक थेप्चे, कसको चुच्चे ? यी कुराको विवादले देशको उन्नतिप्रगतिमा कुनै परिवर्तन ल्याउला र ? यस्तो होलाजस्तो लाग्दैन ।

तैपनि यस्तै विषय प्राथमिकतामा पर्न लागेको भान हुन थालेको छ । पूर्वको लिम्बुवान खुम्बुवान वा किराँतको इतिहास र पश्चिम खस भूगोलको इतिहास यस्तै तराईको थरुवान र मध्य नेपालको पश्चिम भागमा रहेको मध्यकालीन नेपालको मगरातको इतिहास तथा नेपालमा भएका सबै जातजातिका इतिहासलाई जोड्दा मात्र नेपाली राष्ट्रियताको इतिहास बल्ल पूर्ण बन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । पृथ्वी नारायण शाहले देशको एकीकरण गरेका हुन् । जो उहिलेउहिले राजाका भाइभाइमा राज्य भाग लगाएर टुक्राटुक्रा बनाई कमजोर राज्यमा परिणत गरेका थिए । अंग्रेज उपनिवेशवादीले जस्तो पुँजीवादले उत्पादन गरेको आफ्नो माल बेच्न संसारभर साम्राज्य फैलाएजस्तो यो होइन ।

बरु नेपाली राज्यहरू पहिलेजस्तै टुक्रे राज्यहरूमै रहेको भए एक–एक गरेर अंग्रेज साम्राज्यमा उहिल्यै हामी विलय हुने थियौँ । यसैले पृथ्वी नारायण शाह साम्राज्यवाद विरोधी थिए । जसरी माओले साम्राज्यवादको खिलाफ लडेर चीनलाई मुक्त बनाए, यो त्यस्तै हो । यही एकीकृत देश नेपाल नै हाम्रो पुर्खाको विरासत हो र यसलाई हामीले माया गर्नुपर्छ । हाम्रो राष्ट्रियता यहीँको जातजाति, परम्परा, चाडपर्व संस्कार संस्कृतिभित्र खोज्नुपर्छ । यसैमा रमाउनुपर्छ र गर्भ गर्नुपर्छ । सबैले सबैलाई सम्मान पनि गर्नुपर्छ ।

धर्मको बारेमा कुरा गर्दा नेपालमा प्रचलित धर्महरू हिन्दु, बुद्ध, किराँत, मुस्लिम आदि विविध धर्म मान्ने नेपालीहरू हाम्रो देशमा बसोबास गर्छन् । यसैले जसले जुनसुकै धर्म माने पनि एक अर्कालाई हामीले सम्मान गर्नुपर्छ । अधिकांश नेपालीहरू यस्ता छन् कि जो बौद्धनाथमा गएर दर्शन गर्छन् । माने घुमाएर आउँछन् ।

पशुपतीनाथमा आइसकेपछि त्यहाँको पनि दर्शन गर्छन् । किराँतका देवी देवतालाई पनि उनीहरू शिर झुकाएर नमस्कार गर्छन् । नेपालीहरूको यो परम्परा धार्मिक सहिष्णुताको अनुपम नमुना हो । नेपालीपन र नेपालको राष्ट्रियताको यही आफ्नोपनलाई हामीले संरक्षण गर्नुपर्छ । बाँकी कुरा तपसिलमा राख्दै देश विकास उन्नति, प्रगति र रोजगारीको अवसरहरूको व्यापक सिर्जना गर्नतिर लागे मात्र हामी उँभो लाग्छौँ । अन्यथा सानातिना वादविवादमा अल्मलिएमा हामी यस्तै हरिकंगाल भइरहनेछौँ । रोजगारीको खोजीमा देशका सक्षम जनशक्ति विदेश पलायन भइरहनेछन् । जनता नभएका देशमा नेता र नेतृत्वको पनि कुनै अर्थ रहने छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x