Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक सुधारका लागि पर्यटन विकास

आर्थिक सुधारका लागि पर्यटन विकास


काठमाडौं । आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा रहेकोले नेपाल पनि यसबाट अछूतो रहन सकेको छैन । हाल यहाँका बैंकहरूमा पैसा थुप्रिएका भए पनि यहाँका उद्यमी व्यवसायीहरूले चाहेजति ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गरी मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन । फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन । हुन त हाल यहाँको आयात केही घटेको छ । तर आयातभन्दा निर्यात बढी घटेकाले यहाँको अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन ।

यहाँ विगतमा जस्तै चालु खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन । यहाँ विभिन्न विकास कार्यहरू सञ्चालन गर्न आवश्यक वैदेशिक ऋण लिन सरकारले नै ऋण लिनुपरेको छ । यस तथ्यबाट यहाँको अर्थतन्त्र सङ्कटमा रहेको प्रतीत हुन्छ । यस्तो अवस्थामा आर्थिक सुधारको लागि पर्यटन विकासले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आज पर्यटकहरू विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन अनुसन्धानका लागि भ्रमण गर्छन् । यसरी भ्रमण गर्दा उनीहरूलाई आनन्द मात्र प्राप्त हुँदैन ज्ञानोपार्जन पनि हुन्छ । कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर आठ सय अर्ब डलर छ । जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशहरूले एक प्रतिशत मात्र आर्जन गर्छन् । केही वर्षयता छिमेकी राष्ट्र चीनले उक्त उद्योगबाट निकै फाइदा प्राप्त गर्न थालेको छ ।

हाल विश्वमा हवाई यातायातको धेरै विकास भएको छ । यस्तो यातायातका साधन छिटोछरितो एवं आरामदायक भएकाले धेरैजसो पर्यटकहरू वायु सेवा रुचाउँछन् । यही कारणले सन् १९९० को दशकदेखि हवाई सेवा रुचाउने पर्यटकहरूको संख्या प्रचुर मात्रामा बढेको छ । एक आधिकारिक तथ्याङ्कअनुसार विश्वका डेढ अर्ब पर्यटकहरू हवाई मार्गबाट भ्रमण गर्छन् । यसले हवाई यातायात विकासको शुभ संकेत गर्छ ।

वर्तमान समयमा एसिया र प्रशान्त क्षेत्रका हवाई सेवा कम्पनीहरूले आफ्ना पारवहन क्षमता १० प्रतिशत बढाएका छन् । विश्वव्यापी अनुमानअनुसार यी कम्पनीहरूले सम्पूर्ण पर्यटकहरूमध्ये झण्डै ८० प्रतिशतलाई सेवा प्रदान गरी प्रशस्त आम्दानी गर्छन् । यसबाट पर्यटन उद्योगको प्रवर्द्धनमा ठूलो सघाउ पुगेको छ ।

हाल विश्वको विभिन्न देशमा आवतजावत गर्ने पर्यटकहरूको संख्या तीव्र रूपले बढि– रहेको छ । त्यसैले यी देशहरूमा उजागर नभएका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि तथ्यहरू पत्ता लगाई प्रचार–प्रसार गर्ने प्रतिस्पर्धा बढिरहेको छ । भौगोलिक विविधताको सम्बन्धमा नेपाल अन्य देशहरूको तुलनामा कम छैन । यहाँ विश्वकै उच्च हिमशिखर ८ हजार आठ सय ४८ मिटरको उचाइमा अवस्थित सगरमाथालगायत आठ हजार मिटरमाथिका आठ वटा हिमाल छन् । यसबाहेक यहाँ मधेश र समथर मैदान, भित्री मधेश, स–साना मैदान, उपत्यका, टार र खोँचहरू प्रशस्त छन् । यिनीहरूले पर्यटकहरूलाई आकृष्ट गर्छन् ।

भूगोलविद्हरूका अनुसार नेपालले विश्वको कुल भू–भागको शून्य दशमलव शून्य एक प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको शून्य दशमलव तीन प्रतिशत भूभाग ओगटेको छ । जहाँ प्रशस्त मात्रामा प्राकृतिक चीजहरू पाइन्छन् । जसले पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्छन् । नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिको लागि प्रसिद्ध छ । सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययनअनुसार यहाँ पाँच हजार ६७ प्रकारका वनस्पति छन् । जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन । यिनीहरूको संरक्षण गर्न सकेमा भविष्यमा यहाँ आउने पर्यटकहरूको संख्या निकै नै बढ्ने कुरा नकार्न सकिँदैन ।

वस्तुतः नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताको सङ्गमस्थल हो । यहाँको सांस्कृतिक एवं धार्मिक विरासत शताब्दीऔँ पुराना मात्र नभई अनुपम पनि मानिन्छ । यहाँको समाजको संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको महत्वपूर्ण समझदारी एवं सहकार्यमा जीवन्त रहेको छ । यहाँका संस्कार, दिनचर्या र सहिष्णुता अन्य देशहरूको लागि उदाहरणीय मात्र नभई अनुकरणीय पनि हुन सक्छन् ।

यहाँ विद्यमान विभिन्न जातजाति तथा समुदायको पहिचान र रहनसहन उनीहरूको नाचबाट प्रतिविम्बित हुन्छन् । योबाहेक उक्त सम्बन्धमा यहाँको कला, शिल्प, लोकगीत, बाध्यवादन, भाषा, साहित्य, दर्शन, धर्म, उत्सव, खाना र पेयपदार्थहरूबाट पनि मुखरित हुन्छन् ।

विश्वमा एक ठूलो उद्योगको रूपमा अंगीकार गरिएको पर्यटन उद्योग नेपाल सरकारको प्राथमिकतामा हालसम्म पनि पर्न नसक्नु विडम्बना हो । वास्तवमा उक्त उद्योगको विकासका लागि यहाँका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको सम्वद्र्धन तथा प्रवर्द्धन गर्न आवश्यक छ । खर्चको हिसाबले नेपाल एक सस्तो देश मानिन्छ । तर, प्रचार–प्रसारको कमीले यहाँ सोचेअनुरूप पर्यटकहरू आउँदैनन् । वस्तुतः नेपाल अविकृत चीजहरूले भरिएको एक स्वतन्त्र देश हो । जहाँ प्रकृतिलाई नजिकबाट नियालेर हेर्न सकिन्छ । यहाँ पदयात्रा, जलयात्रा, तालतलैया विहार, प्याराग्लाईडिङ, बन्जी जम्पिङ, जङ्गल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकाले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ ।

हाम्रो पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्नसके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ । परन्तु, यसका लागि यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शी सोच एवं दृढ इच्छाशक्तिको आवश्यकता छ । भविष्यमा यहाँको ठोस पर्यटन विकासका लागि एकातिर ऐतिहासिक पर्यटकीयस्थल, गढी, किल्ला, दरबार आदिको सम्बन्धमा व्यापक प्रचार–प्रसार गर्न आवश्यक छ भने अर्कोतिर संरक्षण एवं सहज पहुँचका लागि व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । योबाहेक यहाँ पर्वतीय पयर्टन, ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिको विकास गर्न पनि आवश्यक छ ।

यथार्थतः नेपाल एक कमजोर आर्थिक अवस्था भएका देश हुनाले यही आधुनिक संरचनाको विकास गरी बढी पर्यटकहरू आकृष्ट गर्न सम्भव छैन । वास्तवमा यहाँ उपयुक्त ठाउँमा बाटो, होटल, सुरक्षित वातावरण आदिको सुनिश्चित गर्न सके यहाँको पर्यटन उद्योग विकासमा निकै टेवा पुग्न सक्छ । यति मात्र नभई यहाँको परम्परा, लोपोन्मुख भाषा, कला, संस्कृति आदिको संरक्षण एवं प्रवर्द्धनको लागि एक राष्ट्रियस्तरको र सात प्रदेशमा प्रदेश स्तरीय सांस्कृतिक संग्रहालयहरू स्थापना गर्नसके उक्त उद्योगको विकासमा थप सघाउ पुग्नेछ ।

कोभिड–१९ को महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा यहाँ विदेशी पर्यटकहरूको आगमन दुई प्रतिशतले बढेको थियो भने उनीहरूको औसत बसाइँ अवधि १५ दशमलव एक प्रतिशत पुगेको थियो । यसबाहेक उनीहरूको प्रतिदिन खर्च विगतको तुलनामा केही वृद्धि भई ६५ अमेरिकी डलर पुगेको थियो । तर, कोभिड–१९ को चरणबद्ध महामारीपश्चात् सन् २०२० मा विदेशी पर्यटकहरूको आगमनमा झण्डै ८१ प्रतिशत कम भएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित एक तथ्याङ्कले इङ्गित गरेको छ । उक्त अवधिमा हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या दुई लाख ३० हजारमा सीमित भयो । यसबाट यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो ।

हाल कोरोना कमजोर हुँदै गए पनि नेपाल पर्यटन बोर्डले केही समयअघि सार्वजनिक गरेको एक आकडाअनुसार यहाँको पर्यटन क्षेत्रले प्रतिदिन सरदर १० अर्ब बराबरको क्षति व्यहोर्नुपरेको थियो । यति मात्र नभई उक्त क्षेत्रमा संलग्न लगानीकर्ता तथा कामदारहरूको भविष्य अझसम्म सुनिश्चित बन्न सकेको छैन ।

आगामी दिनहरूमा कोरोनाको महामारी पूर्णरूपले रोकिए पनि यसको प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्न तीनदेखि पाँच वर्षसम्म लाग्न सक्ने कुरा सम्बन्धित विज्ञहरूले बताएका छन् । तसर्थ उक्त क्षेत्रको पुनरुत्थान गर्ने काम कम चुनौतीपूर्ण छैन ।

नेपाल सरकारले वर्षौँदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रहरूको खोजी एवं विस्तार नहुनु र हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले उक्त क्षेत्रको विकासमा समस्याहरू देखापरेका छन् ।

नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीणस्तरसम्म पुर्याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन । योबाहेक पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटकहरू काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् ।

एकातिर यहाँ विदेशी पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्काेतिर यहाँको प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन । बेलाबेलामा गरिने बन्द, हडताल र कमजोर शान्ति सुरक्षाको कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ ।

यहाँ बेलाबेलामा विदेशी पर्यटकहरू लुटिएका, कुटिएका र मारिएका घटनाहरू सञ्चार माध्यमहरूमा प्रकाशमा आउँछन् । जबसम्म उनीहरूको सुरक्षाको प्रत्याभूत हुँदैन, तबसम्म उनीहरूको संख्या एवं बसाइँ अवधि बढ्न सक्दैन र यो देशलाई खासै फाइदा हुँदैन । आगामी दिनहरूमा यस सम्बन्धमा सुधार नभएमा विकराल समस्याको रूपमा देखापर्नेछ । नेपालमा भरपर्दो सूचना प्रवर्द्धन केन्द्रहरूको कमीको कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरूको बारेमा राम्ररी प्रचार–प्रसार गर्न सकिएको छैन । त्यसैले यहाँको पर्यटन उद्योगमा सोचेअनुरूप विकास गर्न सकिएको छैन ।

वस्तुतः यहाँको मौलिक संस्कृतिको प्रचार–प्रसार एवं प्रवद्र्धनको तुलनामा विदेशी छाडापन र खुलापनको नक्कलले यहाँका सामाजिक तथा सांस्कृतिक विकृतिहरू बढिरहेका छन् । सोबाहेक यहाँ पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर कम छ । जसले यहाँको पर्यटन विकासमा समस्याहरू थपेका छन् । प्रत्येक १० लाखको लगानीबाट उद्योग तथा कलकारखानाले १३, कृषिले ४५ र पर्यटन उद्योगले ८९ रोजगारी सिर्जना गर्ने तथ्य प्रकाशमा आएको छ । तसर्थ, पर्यटन उद्योगमा गरिएको लगानीले सर्वसाधारणको जीवनस्तरमा तत्काल सकारात्मक प्रभाव ल्याउन सक्ने कुरामा दुईमत नहोला ।

देश र जनताको लागि महत्वपूर्ण मानिएको पर्यटन उद्योगमा सहज पहुँच (एयर कनेक्टिभिटी) को समस्यालाई समाधान गर्न हामीले आजसम्म पहल गर्न सकेका छैनौँ । यहाँ न त हवाई मार्गको समस्या राम्ररी समाधान गर्न सकिएको छ न त फुल फ्लेज्ड अन्तर्राष्ट्रिय विमानस्थलको पहल अगाडि बढ्न सकेको छ ।

एक तथ्यांकअनुसार नेपालमा पर्यटकहरूको सालाखाला बसाइँ १५ दशमलब ५ दिन छ । सन् २०२० मा यहाँ प्रतिपर्यटकले प्रतिदिन ६५ डलर खर्च गरेका थिए । सन् २०२१ मा उक्त रकम ४८ डलर मात्र थियो ।

वस्तुतः पर्यटकहरूको बसाइ र उनीहरूले गर्ने खर्चले यहाँको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्छ । त्यसैले एकतर्फ यहाँ पर्यटकहरूको संख्या बढाउनुको साथै उनीहरूको बसाइ लम्ब्याउन आवश्यक छ भने अर्कोतर्फ प्रतिपर्यटकले गर्ने दैनिक खर्च बढाउनेतर्फ सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । यसैगरी अरू देशहरूले पाँच रूपैयाँ नपर्ने कामलाई हजारौँ रूपैयाँमा बिक्री गर्न जानेझैँ नेपालले पनि आफ्नो पर्यटकीय प्रस्तुतिलाई सुधार्दै झोले पर्यटकहरूलाई दुरुत्साह गर्न आवश्यक छ भने उच्च स्तरका पर्यटकहरूलाई प्रोत्साहन दिन जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x