Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदशैँ लाग्यो, बजारमा चहलपहल बढेन

दशैँ लाग्यो, बजारमा चहलपहल बढेन


काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमी सुरु भएको छ । केही वर्षअघिसम्म दशैँ आउन महिनौँ दिनअघि बजारमा चहलपहल बढ्थ्यो । आफ्नो गाउँघर फर्किने मानिसहरूको चाप पनि उत्तिकै देखिन्थ्यो । तर यो वर्षको दशैँ लाग्दा समेत बजारमा चहलपहल बढेको छैन । बरु मठमन्दिरमा पूजापाठ गर्नेहरूको भीड देखिन्छ ।

अहिले सर्वसाधारणसँग पैसा नै छैन । आम नागरिक भन्छन्, ‘महँगी यस्तो छोइनसक्नु छ । त्यसमा पनि बेरोजगारी अनि कसरी किनमेल गर्नु ।’ सरकारी कर्मचारी, व्यापारी र राजनीतिक दलका नेताबाहेक अरू कोहीसँग पनि पैसा नरहेको बताइन्छ । पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । सुन तोलाकै डेढ लाखमाथि पुगेको छ । सुनको मूल्य बढेसँगै अहिले सुन पसलमा मानिसहरूको लाम देखिन्छ । तर, सुन किन्न नभई बेच्न । सुन व्यापारीहरू महँगोमा चाहिँ सुन बेच्छन् तर किन्दैनन् । सर्वसाधारण आफ्नो सुन बेच्न जाँदा उनीहरू त्यो सुन किन्दैनन् । बरु एक तोला सुन धितो राखेर ५० हजार ऋण दिइन्छ ।

त्यसको मासिक व्याज ३६ प्रतिशतसम्म उठाइन्छ । ऋणीलाई तीन महिनाभित्र सावाँव्याज तिर्न समय दिइन्छ । अनि सो अवधिमा ऋण तिर्न नसकेमा ५० हजारमा डेढ लाखको सुन पचाउँछन् व्यापारीहरू । पैसा नभएपछि अहिले अधिकांश सर्वसाधारण यसरी नै आफूसँग भएको सुन धितो राखेर गाउँघर फर्किन लागेका छन् ।

कतिपयले सुन धितो राखेरै दशैँ मनाउन खर्च जुटाएका छन् । यता, कतिपयले भने एक लाखको दश हजारदेखि ३० हजार मासिक व्याजमा कर्जा लिएको पाइन्छ । यसमा पनि ऋण तिर्न तीन महिनाको समय दिइन्छ । यद्यपि, व्याज सुरुमै ऋण लिँदै काटिन्छ । ऋणीले तीन महिनापछि रकम फिर्ता नगरेमा गुण्डा लगाएर कुटपिट गर्नेदेखि चेक काउन्सको मुद्दा लगाएर जेलै हालिन्छ ।

पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी छ । घरजग्गा किनबेच ठप्प भएको छ । अहिले घरजग्गा बेच्न चाहने थुप्रै भेटिन्छन् तर किन्ने शून्य । जसको फाइदा दलालीहरूले उठाइरहेका छन् । मानिसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर बनाए । अहिले आम्दानी नभएपछि बैंकको सावाँव्याज तिर्न नसकेर घरजग्गा लिलाम हुन लागेको छ ।

बैंकले घरजग्गा लिलाम गर्ने भएपछि मानिसहरू दलालीकहाँ पुगिरहेका छन् । उनीहरू आफ्नो घडेरी किन्ने कोही खोजीदिन आग्रह गर्छन् । तीन करोडमा बनेको घडेरी उनीहरू बैंकको ऋण एक करोड तिर्न बाँकी रहेमा डेढ करोडमा दिन तयार हुन्छन् ।

दलालीलाई डेढ करोडमा आफ्नो घडेरी किनिदिने मिलाइदिन आग्रह गर्छन् । अनि त्यो घडेरी राम्रो भएमा दलाली आफैँ किन्न तयार हुन्छ । दलालीले सुरुमा बैंकको एक करोड सावाँव्याज तिरिदिने र पछि आधा करोड दिने बताउँछ । त्यसको विश्वासमा परेर सम्बन्धित व्यक्तिले दलालीले भनेअनुरूप आफ्नो घरजग्गा दलालीको नाममा पास गरिदिन्छन् ।

दलालीले बैंकको सावाँव्याज तिरिदिन्छ । तर आफ्नो नाममा घरजग्गा पास भएपछि सम्बन्धित व्यक्तिलाई दिनुपर्ने रकम दिँदैनन् । यसरी अरूको बाध्यता वा मजबुरीको फाइदा उठाएर दलालीहरूले तीन करोडको घर एक करोडमै आफ्नो नाममा पास गरिरहेका छन् । अहिले मिटरव्याज पैसा लिनेहरू पनि बढ्दो छ ।

घरजग्गा, गाडी, सेयर, व्यापार व्यवसायलगायतमा लगानी गर्दा डुबेपश्चात् एक लाखको मासिक दश हजारदेखि तीस हजार व्याजमा पैसा लिइरहेका छन्, मानिसहरू । उता, बैंक भन्छ, ‘पैसा थुप्रियो, कर्जा लिने कोही आएन ।’ यो बैंकको नौटंकी मात्र हो । बैंकमा तरलता अभाव कायमै छ । बस सर्वसाधारणलाई भ्रममा राख्न तरलता थुप्रियो भनियो ।

यदि बैंकमा साँच्चिकै तरलता थुप्रिएको भए किन आमनागरिक पैसाले फिटफिटी पर्दा समेत बैंकमा कर्जा लिन गएनन् । किन उनीहरू मिटरव्याजी कहाँ पुग्नुपर्यो ? किन करोडौँको धितो जोखिममा राखेर एक लाख ऋणको मासिक तिसौँ हजार रूपैयाँ व्याज तिर्नुप¥यो ? यो सर्वसाधारणको रहर होइन बाध्यता हो ।

आम नागरिक बैंकमा कर्जा माग्न जाँदा बैंक छैन भनेर फिर्ता पठाउँछ । अनि बाहिर सञ्चारमाध्यममा भने कर्जा लिने कोही आएन भनेर भ्रम फैलाइन्छ । अब राष्ट्र बैंकले यसको पनि अनुगमन गरोस् । बैंकले कर्जा नदिँदा सर्वसाधारण मिटरव्याजमा ऋण लिन बाध्य भएका छन् । अहिले काठमाडौं उपत्यकामै मिटरव्याजमा रकम लगानी गरेको पाइन्छ ।

त्यसमा सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेता, व्यापारीहरू पर्छन् । यद्यपि, सरकार यो देख्दैन । सरकार मिटरव्याजीहरूलाई कारबाही गर्दैन । हुन त सहकारी, लघुवित्त, फाइनान्सले पनि कर्जा लिने बेला व्याज १२ प्रतिशतदेखि १८ प्रतिशतसम्म भनेर ७५ प्रतिशतसम्म असुल्थे । बैंकमा पनि यस्तै छ ।

एक करोडको धितो राखेर २५ लाख ऋण दिने, त्यसमा पाँच लाख घुस, दुई÷तीन प्रतिशत सेवाशुल्क असुल्थे । ऋणीले तीन किस्ता नगर्नेबित्तिकै करोडको धितो २० लाखमै पचाउँथे । तर, बैंक, वित्तीय संस्थाभन्दा पनि खतरनाक खेलाडी अहिले बजारमा देखियो । जसले सर्वसाधारणको उठीबास लगाइरहेका छन् ।

धितो आफ्नो नाममा पास गराउन लगाउने अनि पैसा नदिने गर्ने गरिएको पाइएको छ । जसका कारण ऋणीहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण पनि तिरिन्छ र थोरै रकम आफूलाई पनि बच्छ भनेर दलालीको विश्वासमा परेर दलालीलाई नै सस्तोमा घडेरी दिएकाहरू अहिले सुकुम्बासी अवस्थामा पुगेका छन् ।

अहिले बजारमा एकथरी मानिस भन्छन्, ‘हामीले सय रूपैयाँमा सेयर किनेका हौँ । सय रूपैयाँमै बेचेमा अहिले पनि त्यो सेयर बिक्री हुन्छ । यसैले, हामी त डुब्दैनौँ ।’ अर्कोथरी भने आफूहरूले ३२ सय कित्तामा सेयर किनेको बताउँछन् । उनीहरूको सेयरको ओरोलो यात्राप्रति आतिएका छन् । भन्छन्, ‘नराम्ररी डुबिने भइयो ।’

यस्तै, घरजग्गामा पनि फरक मत देखिएको छ । एकातिर मानिसहरू महँगोमा घरजग्गा किनेर डुबिरहेको बताउँदा अर्कोतिर भने घरजग्गा पहिलाकै मूल्यमा आएको बताइन्छ । अहिले उपत्यकामै रैथानेबासीहरू भन्छन्, ‘यो जग्गा पहिलाकै मूल्यमा आएको हो । किनकि दलालीहरूले कृत्रिमरूपमा मूल्य बढाएका थिए ।’

बजारमा व्यापारीहरू भन्छन्, ‘ग्राहक आएनन् । व्यापार नै भएन ।’ तर, जनसंख्याभन्दा धेरै पसल भएपछि कसरी व्यापार व्यवसाय हुन्छ ? अहिले घरैपिच्छे सटर भेटिन्छ । एउटै घरमा दुई वटा वटासम्म पसल देखिन्छ । मुलुकको आधा जनसंख्या विदेशमा छन् । अनि कसले सामान किनोस् ?

सर्वसाधारण ठग्नका निम्ति जोकोहीले पनि घरजग्गामा लगानी गरे । घर बनाए अनि महँगो भाडामा लगाएर नागरिक ठगियो । यता, एउटा व्यापारीले ठगेर मनग्य कमाएको देखेर अर्कोले पनि व्यवसाय सञ्चालन गर्यो । यसरी ठग्ने बाटो देखेर लगानी गर्दा आज उनीहरू आफैं डुबेका हुन् । हुन त नेपालमा जसले जसलाई ठग्न वा लुट्न पनि छुट छ । किनकि यहाँ सरकार छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x