Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो

स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो


काठमाडौं । मानिस जन्मिँदै स्वार्थी हुन्छ । जन्मिँदै बाँच्नको लागि संघर्ष गर्ने सिप प्रकृतिबाटै प्राप्त गरेको हुन्छ । यसैले ऊ आमाले दूध नदिएसम्म रुन्छ । बाँच्नका लागि जीविकोपार्जनका लागि पनि मानिससँग स्वार्थ त हुन्छ नै । यही जीविकोपार्जनका लागि मानिस ठूलो हुँदै जाँदा अनेक दुःख र मेहनत पनि गर्छ । जीविकोपार्जनका लागि र बाँच्नका लागि गरिने यस्तो किसिमको स्वार्थ स्वाभाविक र सकारात्मक छ । यस्तो स्वार्थलाई हामी सकारात्मक स्वार्थको रूपमा नामकरण गर्न सक्छौँ ।

मानिसले अरूलाई दुःख दिएर अरूको मेहनतको कमाइ खोसेर पनि आफ्नो जीविकोपार्जन गरिरहेको पाइन्छ । जीविकोपार्जन मात्र होइन मष्तिस्कको जीवन जिउन र धन थुपार्ने उद्देश्यका साथ जसले अरूलाई प्रयोग गरिरहेको हुन्छ, त्योचाहिँ स्वार्थको नकारात्मक रूप हो । वास्तवमा स्वार्थी भनेर यस्तो चरित्रलाई इङ्गित गरिएको हो ।

मानिसहरू स्वार्थ भन्नेबित्तिकै नकारात्मक स्वार्थ मात्र बुझ्छन् । किनकि प्रत्येकका स्वार्थले अरूको स्वार्थमा अतिक्रमण गर्न खोज्ने जुन प्रवृत्ति छ, त्यसले मानिसलाई झस्काइरहन्छ । अरूले आफ्नो स्वार्थमा बाधा पार्छ कि भन्ने त्रास सबैलाई हुन्छ । आफ्नो स्वार्थले अरूलाई बाधा पर्छ कि भन्नेचाहिँ वास्तवमा प्रत्येक मानिसले होसियारी हुनुपर्ने हो । त्यो कमै मानिसलाई मात्र हुने गर्छ । यसैले दुःखको कारण नै यही बन्दै आएको छ ।

जो अरूको स्वार्थको लागि दुःखी गरिब र बोल्न नसक्नेहरूको आवाज बन्दै आफू दिन रात लागिरहेका हुन्छन्, तिनीहरू नै संसारमा महापुरुष कहलिन्छन् । महात्मा बुद्ध एउटा उदाहरण हुन् । मार्क्स पनि यस्तै एउटा महापुरुष हुन् । आजकल तलदेखिमाथिसम्म स्वार्थका छासमिसे रूप जताततै देख्न सकिन्छ । स्वार्थका नकारात्मक रूप पाइलैपिच्छे भेटिन्छन् । यसले हामीलाई निकै जटिल अवस्था सिर्जना गरेको छ । कुनचाहिँ सकारात्मक हो कुनचाहिँ नकारात्मक ? छुट्याउन गार्हो छ । नकारात्मक स्वार्थहरूको बाहुल्यता बढेकाले स्वार्थहरूको बीचमा निस्वार्थताको अंश खोज्दै हिँड्नुपरेको छ । सबैले भन्ने गर्छन्, निःस्वार्थ हुनुपर्छ तर जताततै स्वार्थैस्वार्थ छ । तैपनि मानिसहरू सबैले निस्वार्थता खोजिरहेकै हुन्छन् । यसैले स्वार्थहरूको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो ।

स्वार्थ अनेकरूपले अभिव्यक्त हुन्छन् । यसमा जबरजस्ती हुन्छ । लूटनीति हुन्छ । कूटनीति हुन्छ । कडापन हुन्छ । नरमपना हुन्छ । सामिप्यता हुन्छ । चिप्लोपना हुन्छ । खस्रोपना हुन्छ । आँसु पनि झर्छ । हाँसो पनि देखिन्छ । स्वार्थहरू आपसमा टक्राउँछन् र युद्ध गर्छन्, मेलमिलाप पनि गर्छन् । शान्ति चाहेकोजस्तो पनि गर्छन् । स्वार्थकै कारण कहिले मानिसको उद्धार र कल्याणकारी काम पनि हुन्छ । स्वार्थकै कारण मानव बेचबिखन पनि हुन्छ । कहिले हत्याजस्ता जघन्य घटना पनि हुन जान्छ । स्वार्थभित्र अनेकौँ चिज हुन्छन् । यति धेरै क्रियाप्रतिक्रिया हुन्छन् कि यो गनिसाध्य छैन ।

यसैले मानविय भावना मात्र भएका सर्बसाधारण सधै अलमलिन्छन र ठगिन्छन मात्र । नकारात्मक स्वार्थका अरू पनि अनेकरूप छन् । यसको मुख्य उद्देश्य धनसम्पत्ति प्राप्त गर्नु र मोजमस्ती लुट्नु हो । चोर डाकु आदिमध्ये कसैले अरूको घरमा प्रवेश गरी सुटुक्क थाहा नपाउने गरी धन सम्पत्ति लिएर जान्छन् भने कसैले जबरजस्ती गर्छन् र हाकाहाकी लिएर जान्छन् । मोजमस्तीका लागि स्वार्थपूर्ति गर्नेहरू पनि हाम्रो समाजमा आजकल बाक्लै भेटिन थाल्यो । यसमध्ये निर्मला पन्तको बलात्कार एक जघन्य अपराध थियो । जसमा बालिकाको हत्या समेत गरियो ।

यसैले मानिसका नकारात्मक स्वार्थहरूलाई नियन्त्रण गर्न विश्वमा महापुरुषहरूको पनि जन्म हुँदै आएको छ । यसमध्ये बुद्ध दरबारमा जन्मेका ऐसआराममा हुर्केका एक राजाका छोरा राजकुमार थिए । उनले आफू ठूलो हुँदै जाँदा जीवनका अनेकरूप देखे । उनले दुःखी गरिब, वृद्ध र मृत्युको नजिक पुगेका मानिसहरू देखे । मृत्युलाई पनि देखे । त्यस समयमा उनका मावलीका हजुरबुबा ठूला भूमिपति थिए । हजार हल गोरुले उनको खेत जोत्ने काम हुन्थ्यो । उनका बुबा राजा शुद्धोधनको ससुरालीसँग केही कुरामा द्वोयस थियो । राजकुमार सिद्धार्थ गौतमलाई जीन्दगीसँग यस्तै अनेक कुराले बिरक्त लागेर आयो । यसैले उनले भर्खर जन्मेको छोरा र श्रीमती छोडेर दरबार त्यागी ज्ञानको खोजीमा हिँडे । दरबारको सुखसयल सदाका लागि त्यागीदिए । ज्ञानको खोजी मार्ग जारी राखे । संसारमा मानव मात्रको दुःखको कारण पत्ता लगाउनु उनको मुख्य उद्देश्य थियो । आखिर यो ज्ञानको मार्ग उनले पत्ता लगाइछोडे । सारांशमा उनले दिएका ज्ञानलाई हामीले यसरी बुझ्नुपर्छः–
‘संसारमा दुःख छ । दुःखको कारण छ । दुःख निवारण गर्न सकिन्छ । दुःखलाई निवारण गर्ने उपाय भनेको इच्छा र आशक्तिलाई मार्नु हो ।’

यस्ता महाज्ञानी बुद्धले जीवनमा ज्यादा दुःख पाए । ज्ञानको खोजीको क्रममा पनि उनले हन्डर खाए । ज्ञान प्रचारको समयमा पनि उनले असाध्यै धेरै दुःख पाए । त्यस समयमा आजजस्तो बुद्धका अनुयायीहरू संसारभर थिएनन् । यो ज्ञान सीमित मानिसमा पुर्याउन पनि हम्मेहम्मे परेको थियो । यसैले हामीले के बुझ्नुपर्छ भने सत्य आखिर सत्य नै हो । सुरुमा यसलाई मान्ने मानिस कमै हुन्छन् । सत्य स्थापित हुन समय लाग्छ । अन्तिममा यो सबैको मन मनमा पुजिने खजाना बन्छ ।

यस्तै, कार्लमार्क्स पनि जर्मनीमा जन्मेका र हुर्केका मध्यम वर्गीय परिवारको एक विद्वान थिए । दर्शनमा उनको विशेष रुचि थियो । हेगेलको द्वन्दवाद र फायरबखको भौतिकावादले उनलाई निकै प्रभाव पारेको थियो । यसैलाई विकसित गर्दै उनले पुँजीपति र मजदुर वर्गबीचको द्वन्दको विश्लेषण गरे । यसबाट उनले अतिरिक्त मूल्यको सिद्धान्त लेखे । मजदुरहरूले दुःख पाउनुको मुख्य कारण नै यही अतिरिक्त पुँजी हो भन्ने पत्ता लगाए । जुन मजदुरको मेहनत पसिनाको कमाइ पुँजीपतिले अतिरिक्त पुँजीको रूपमा शोषण गरिरहेको हुन्छ ।

उनले मजदुरहरूलाई सचेत र संगठित गराउने प्रयास गरे । समयक्रममा द्वन्दात्मक र ऐतिहासिक भौतिकवादी दर्शन संसारलाई दिए । आज संसार नै पुँजीवादी र समाजवादी आन्दोलनका दुई ध्रुवमा बाँडिएको छ । संसार हल्लाउन सक्ने यस्ता मानिसको घरको आर्थिक अवस्था भने नाजुक थियो । सन् १८५० को नोभेम्बरमा उनको एक छोराको मृत्यु भयो । छोराको मृत्युको पिडा सहन गर्ने तागत जुटाउँदै गएका मार्क्सको एक वर्षकी छोरी फ्रान्सिस्काको पनि १८५२ मा मृत्यु भयो । मृत्युमा कात्रो किन्नेसम्म पैसा थिएन । उनका छिमेकीले यसको व्यवस्था गरेका थिए । दुःखी गरिबहरूको दुःखको कारण पत्ता लगाउने क्रममा नै उनले जीवनको सारा समय खर्चेकाले उनको आर्थिक अवस्था नाजुक हालतमा पुगेको थियो । सत्य स्थापित हुन्छ तर स्थापित हुन समय लाग्छ । यो ध्रुवसत्य नियम हो । यसका लागि दुःख र मेहनत गर्न कोही न कोही त तयार हुनैपर्छ । ऐले पनि संसारमा कार्लमाक्र्सले भनेका कुरा उनका अनुयायीहरूले ठीकसँग बुझेका छैनन् । उनको सिद्धान्तको सारतत्व भनेकै ‘श्रम सम्पत्ति र सत्ताको सन्तुलन’ हो । यही सार तत्व नबुझ्दा हिजोका क्रान्तिकारी नेता सत्तामा पुगेर जनताका स्वार्थ, दुःखी गरिबका स्वार्थ त्यागेर आफ्नो निजी स्वार्थमा चल्न थालिसक्दा पनि उनका कार्यकर्ताले थाहा पाउँदैनन् र त्यसैलाई पुजिरहन्छन् । भनाइमा कम्युनिस्ट शव्द र मार्क्सको नाम लिन भने छोडेका हुँदैनन् । वास्तवमा श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएमा कुनै पनि सत्ताको दीर्घायु हुन्छ । यो एउटा विज्ञान सम्वत् चल्ने कुरा हो ।

बुद्ध र मार्क्सका सिद्धान्तको तादम्यता भनेको मानिसहरूको दुःखको अन्त्य गर्नु नै हो । बुद्धले दुःख निवारणको उपायको रूपमा इच्छालाई मार्नु भनेका छन् । यसको आशय पनि आवश्यकताभन्दा बढी र असीमित धन कमाउने इच्छालाई ईंगित गरिएको हो । काम, क्रोध, मोह सबैलाई त्याग्नु भनिएको छ । यसको आशय यही नै हो । मार्क्सले काम गरी खाने मानिसहरूको भलाइका लागि आफ्नो सारा जीवन खर्चे ।

सिद्धान्तहरू लेखे । मानिसहरूको दुःखका कारण काम गरी खाने र अरूको शोषण गरी खाने दुई वर्गमा मानिस बाँडिनु नै हो । शोषण प्रधान व्यवस्थाको अन्त्य गरेपछि संसारमा सबै मानिसहरू सुखी हुन्छन् भन्ने नै हो । माक्र्सको सिद्धान्तको सार यो हो कि काम गर्ने श्रमिकको श्रम, उनीहरूको जीविकाको लागि चाहिने सम्पत्ति र यी दुवैको संरक्षण गर्ने सत्तामा सन्तुलन हुनुपर्छ भन्ने हो । श्रम सम्पत्ति र सत्ताको सन्तुलन यसको सार हो । यस्तो भयो भने कोही दुःखी हुनुपर्दैन भन्ने हो । यसैले माक्र्स र बुद्धका सार कुरामा आपसमा एकाम्यता छ । यी दुई व्यक्ति संसारमा मानिस मात्रको नकारात्मक स्वार्थको खिलाफमा जन्मिएका ठूला महापुरुषहरू हुन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x