Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशैक्षिक सुधारको आवश्यकता

शैक्षिक सुधारको आवश्यकता


काठमाडौं । कुनै पनि व्यक्तिको बौद्धिक विकास एवम् चरित्र निर्माणका लागि शिक्षा अत्यावश्यक छ । जसरी सूर्य नभए संसार अध्यारो हुन्छ, त्यसरी नै अशिक्षित व्यक्तिको जीवन अन्धकारमय हुन्छ । यही कुरालाई चिन्तन तथा मनन् गरी आज विश्वभर शिक्षाको विकासमा विशेष जोड दिँदै आएको छ । फलतः शिक्षित व्यक्तिहरूको संख्या पनि दिन प्रतिदिन तीव्ररूपले बढिरहेको छ ।

प्रत्येक देशको शैक्षिक विकासमा त्यस देशको राजनीतिक नेतृत्वमा भरपर्छ, किनभने सत्तामा आसिन राजनीतिक दलको शिक्षा नीतिले यसमा धेरै प्रभाव पर्छ । नेपालमा राजनीतिक अस्थिरता हुनाको कारण यहाँको शैक्षिक विकासमा नकारात्मक प्रभाव परेको छ ।

मनुस्मृतिमा लेखिएअनुसार शिक्षा एक आनन्दित जीवन कला हो । यसले प्रत्येक व्यक्तिलाई गर्न हुने र नहुने काम सिकाई समाजलाई सभ्य एवम् शान्त बनाउँछ ।

केही दशकअघिको तुलनामा नेपालको साक्षरता प्रतिशत निकै नै वृद्धि भएको छ । तर, हालसम्म पनि यहाँ शास्त्रीय शैलीको शिक्षा प्रदान गरिनाले प्रेरक व्यक्तिहरूको जीवनबाट प्रेरणा लिएर नयाँ रचनात्मक काम गर्ने जोश तथा जाँगर प्राप्त हुँदैन । यस्तो शिक्षाले विभिन्न किसिमका ज्ञान तथा सीप प्रदान गरे तापनि शिक्षित व्यक्तिहरूलाई लगनशील एवं सिर्जनशील बनाउन सक्दैन ।

आजसम्म पनि यहाँका सरकारी तथा निजी विद्यालयका शैक्षिक गुणस्तर किताबी ज्ञानको आधारमा मूल्याङ्कन गरिन्छ । यी विद्यालयहरूले व्यावहारिक ज्ञान प्रदान गर्न नसकेकाले यहाँ आवश्यक रोजगारी सिर्जना गरिएको छैन । फलतः प्रत्येक वर्ष यहाँका युवाहरू रोजगारीको खोजीमा विदेशिने क्रम बढिरहेको छ ।

कुनै पनि देशको सर्वाङ्गीण विकासको लागि नैतिक चरित्रवान् व्यक्तिहरूको आवश्यकता हुन्छ । विशेषतः आध्यामिक शिक्षाले यस्ता व्यक्तिहरूको उत्पादन गर्न सघाउ पु¥याउँछ । परन्तु, यहाँका विद्यालयहरूमा उक्त शिक्षा प्रदान गर्ने परम्परा नभएकाले नैतिक चरित्रवान् व्यक्तिहरूको खाँचो छ । कुनै पनि देशको शैक्षिक विकासको लागि त्यस देशको विकासलाई दृष्टिगत गरी पाठ्यक्रम निर्माण गर्नुपर्छ । उदाहरणका लागि यहाँ प्रदान गरिने शिक्षा यहाँका घर, चुलाचौका, खेतीपाती, पशुपालन, व्यापारजस्ता विषयसँग आबद्ध हुनुपर्ने देखिएकाले सोहीअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने देखिन्छ । तर, यहाँ विद्यमान पाठ्यक्रममा उक्त कुराहरू समावेश नभएकोले देश सुहाउँदो देखिँदैन ।

कुनै पनि देशको शैक्षिक विकासको लागि त्यस देशका राजनीतिज्ञहरूले महत्वपूर्ण भूमिका खेल्छन् । तर, नेपालमा कमजोर शैक्षिक ज्ञान भएका व्यक्तिहरू राजनीतिमा संलग्न भएकाले यहाँको शैक्षिक विकास उपयुक्त किसिमबाट गर्न सकिएको छैन । संस्कृति कुनै पनि देशको समाजको अमूल्य सम्पत्ति हो । जुन आदिम कालदेखि चलनचल्तीमा आएको विश्वास, चालचलन, संस्कार, रीतिरिवाज, रहनसहन, विचार र मान्यताबाट परिचालित मूल्य र मान्यताहरूको समग्ररूप हो । परन्तु, यहाँ विद्यमान शिक्षा प्रणालीले उक्त कुराहरूलाई यहाँका शिक्षित व्यक्तिहरूलाई प्रदान गर्न सकेको छैन । फलतः केही वर्षयता यहाँका नयाँ पुस्तामा पाश्चात्य संस्कृतिको गहिरो प्रभाव परेको छ र विदेशी संस्कृतिमा नकारात्मक प्रभाव परेको छ ।

वस्तुतः शिक्षाले कुनै पनि देशका नागरिकमा देश प्रेमको भावना जागृत गर्न सक्नुपर्छ । तर, यहाँ यस्तो हुन नसक्नाले प्रत्येक वर्ष युवाहरू विदेशिने क्रम तीव्ररूपले बढिरहेको छ । कुनै पनि व्यक्तिको बौद्धिक विकास एवं चरित्र निर्माणका लागि शिक्षा अत्यावश्यक छ । जसरी सूर्य नभए संसार अन्धकार हुन्छ, त्यसरी नै अशिक्षित व्यक्तिको जीवन अन्धकारमय हुन्छ । यथार्थतः कुनै पनि देशको शैक्षिक विकासका लागि सक्षम, नैतिकवान र इमान्दार शिक्षकहरूको आवश्यकता पर्छ । तर, नेपालमा हालसम्म पनि यो कुरालाई व्यवहारमा उतार्न सकिएको छैन ।

शैक्षिक विकासको लागि शिक्षकहरूलाई आदर गर्नुपर्छ । तर, हालसम्म पनि यहाँ उनीहरूलाई आदर गर्ने परम्परा बसेको छैन । बरु उनीहरूलाई हेलाको दृष्टिले हेरिन्छ किनभने यहाँका धेरैजसो व्यक्तिहरू कहीँ काम नपाएपछि शैक्षिक क्षेत्रमा आबद्ध हुन्छन् । मनुस्मृतिमा लेखिएअनुसार शिक्षा भनेको आनन्दित जिउने कला हो । यसले प्रत्येक व्यक्तिलाई समाजमा गर्नुहुने र नहुने काम सिकाई सभ्य एवं शान्त बनाउँछ । तर, आजकाल जताततै विकृतिहरू व्याप्त छन् ।

प्रत्येक देशको शैक्षिक विकास त्यस देशको राजनीतिक नेतृत्वमा भर पर्छ । किनभने सत्तामा आसीन राजनीतिक दलको शिक्षा नीतिले धेरै प्रभाव पर्छ । विगतमा नेपालमा राजनीतिक अस्थिरताको कारण यहाँको शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । कुनै पनि देशको शैक्षिक विकासका लागि प्रत्येक वर्ष सम्पूर्ण बजेटको कम्तीमा पनि बीस प्रतिशत छुट्याउन आवश्यक छ । परन्तु, यहाँ हालसम्म उक्त रकम छुट्याउन नसकिएकाले उक्त क्षेत्रमा आशा गरेअनुरूप प्रगति गर्न सकिएको छैन ।

त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षाका लागि अगुवा संस्था मानिन्छ । यद्यपि, केही वर्षयता यसलाई कुराजनीतिमार्फत निरीह बनाइएको छ । यहाँ योग्यता र क्षमताभन्दा पनि पहुँचको आधारमा अंक थपेर नियुक्ति दिने प्रणाली अपनाइएको छ । यति मात्र नभई उपयुक्त समयमा परीक्षा सञ्चालन नगर्ने, विद्यार्थीहरूका उत्तरपुस्तिका हराउने, विभिन्न परीक्षाको नतिजा अविलम्ब प्रकाशित नगर्नेजस्ता विकृतिहरू उक्त विश्वविद्यालयमा विद्यमान छन् ।

पछिल्लो एक आधिकारिक तथ्याङ्कअनुसार नेपालमा झन्डै ९७ लाख माध्यमिक (१० सम्म) र २० लाख उच्च तहमा अध्ययनरत छन् । परन्तु, यहाँका शैक्षिक गुणस्तर माध्यमिक तहदेखि नै खस्केको छ । हालसम्म पनि यसतर्फ सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन सकेको छैन ।

शिक्षा प्रदान गर्ने सामाजिक एवम् परोपकारी दायित्व लिएका शिक्षण संस्थाले आफ्ना साधनस्रोत र शैक्षिक उपलब्धिबारे पारदर्शी एवम् इमान्दारीपूर्वक सर्वसाधारणलाई अवगत गराउनुपर्छ । किनभने शैक्षिक विकास गर्ने जिम्मा लिएका संस्थाले आफ्नो जिम्मेवारी बहन नगरेमा व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । अतः यस्तो दूरगामी असर पार्ने संस्थाले क्षणिक लाभको लागि दुष्कर्म गरेमा आफ्नै लागि पनि हानिकारक हुन्छ ।

वस्तुतः प्रचलित नीतिनियमहरूलाई इमान्दारीपूर्वक पालना गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले मात्र भविष्यमा सफलता प्राप्त गर्न सक्छ । तसर्थ दूरदर्शी सोच लिएर अनुशासित वातावरणमा काम गर्ने शिक्षण संस्थाहरूले शैक्षिक सुधार गर्न सक्छन् ।

भनिन्छ, बाली लगाउन कम्तीमा छ महिनाको, फलफूल रोप्न दश वर्षको र कुनै पनि व्यक्तिलाई शिक्षित बनाई जीविकोपार्जन गर्न सफल बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ । कुनै पनि शिक्षण संस्थाले यस्तो योजना कार्यान्वयन गर्न सकेमा उपयुक्त शैक्षिक विकास गर्न सकिन्छ । कुनै पनि शिक्षण संस्था विद्यार्थी, शिक्षक र अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा स्थापित हुनुपर्छ । उक्त संस्था सदैव विद्यार्थीहरूको उज्जवल भविष्यको लागि समर्पित हुनुपर्छ । यस्तो गर्नमा यहाँ शैक्षिक सुधार गर्न सकिन्छ ।

वास्तवमा सरकारले आवश्यक व्यवस्थापन र नियन्त्रण गर्न नसक्नाले यस्तो परिस्थितिको सिर्जना भएको हो । यसबाहेक संस्कृत शिक्षालाई कम महत्व दिनु, भाषिक शब्दमा प्रहार हुनु, ग्रामीण कृषिमुखी पाठ्यक्रम बनाउन ध्यान नदिनु, प्राविधिक शिक्षाको कमी हुनु, ग्रामीण क्षेत्रका विद्यार्थीहरूको सामाजिक कार्यहरूको उपयुक्त मूल्याङ्कन नहुनु, देशको माटो सुहाउँदो शिक्षा प्रणाली अपनाउन नसक्नु आदि कारणहरूले यहाँको शिक्षामा विकृतिहरू देखिएका छन् । जसको यथाशीघ्र निर्मूल गरी सुधारतर्फ उन्मुख हुनुपरेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x