Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौद्धिक वर्ग नै देश विकासका बाधक !

बौद्धिक वर्ग नै देश विकासका बाधक !


काठमाडौं । हिजो आज सामाजिक सञ्जाल तातेको छ, पोखरामय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष, नेपाल सरकारका भूतपूर्व उपप्रधान एवं दुईपटक गृहमन्त्री, सर्वाधिक बहुमतबाट दुईपटक चितवन जिल्लाबाट निर्वाचित हुन सफल सांसद माननीय रवि लामिछाने कास्की जिल्ला प्रहरीको हिरासतमा छन् र उनीविरुद्ध ठगी काण्डमा मुद्दा चलाउन प्रहरी प्रशासनले कारबाही अघि बढाइसकेको छ । रविलाई आफू र आफू संलग्न व्यापारिक कम्पनीबाट सहकारी संस्थाहरू दुरुपयोग गरी गैरकानुनी हिसाबले करोडौँको पैसा आफ्नो कम्पनीको खातामा जम्मा गरी अपचलन गरेको, संगठित अपराधसम्बन्धी आरोप लागेको छ । आरोप पुष्टि हुने खालका कतिपय कागजातहरू आफ्नै हस्ताक्षरसहितका पनि सार्वजनिक भइसकेको छ ।

बालहठ भनेझै रवि लामिछाने निर्दोष हुन्, षड्यन्त्र भयो, राजनीतिक प्रतिशोधका कारण सरकारले अख्तियार र शक्तिको दुरुपयोग गरेको, गैरकानुनी हिसाबले थुनामा राखेको र अरू दलका नेताहरूलाई नसमाएको भन्दै रास्वपाका सबै ठूला–साना नेताहरू अहिले पोखरामा डेरा जमाएर बसेका छन् र दिनहुँ सरकारविरोधी आन्दोलनमा जुटेका छन् । यस्तै, विभिन्न काण्डमा दलका नेताहरू पक्राउ परेका उदाहरण नभएको होइनन् । तर सम्बन्धित राजनीतिक दलहरूले सरकारी संयन्त्रलाई चुनौती दिएको सायद यो पहिलो हुन सक्छ । अझ आन्दोलमा सामेल हुन आफ्ना देशभरका नेता, कार्यकर्ताहरूलाई पोखरामा हाजिर हुन उर्दी आह्वान गरेकाले सयौँको संख्यामा पोखरामा देख्न र भेट्न पाउँछौँ । पोखरेलीहरूका लागि बिहान, दिउँसो र राति आँखादेखा रमिता हेर्न पाएका होलान् । एक किसिमले पर्यटकीय नगरी पोखरा विदेशीभन्दा स्वदेशी पर्यटनको उपस्थितिले होटल, लज भरिभराउ भएको समाचार सुन्न पाइने र पर्यटन व्यवसायीहरू खुसी हुने स्वाभाविक भइहाल्यो ।

संसदीय समिति, जसमा आफ्नै रास्वपाका प्रतिनिधिले समेत सहमति जनाएका प्रतिवेदन र रवि लामिछानेलगायत अन्यलाई कानुनबमोजिम आवश्यक कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन संसद्मा प्रस्तुत भएपछि ढिलो चाँडो रवि लामिछाने पक्राउ पर्ने पक्का भन्ने ठहर भएको थियो ।

स्टन्ट गर्न, भाषण गर्न खप्पिस र सामाजिक सञ्जालमा आफ्नो समर्थन लिन सञ्चार प्रस्तुति गर्न महसुर रास्वपाले प्रस्तुत प्रतिवेदनले रविलाई ‘क्लिन चिट’ दियो भन्ने व्यापक प्रचार गर्न थाले, भाषण गर्न थाले, सामाजिक सञ्जालमा अनेक किसिमका रवि लामिछाने निर्दोष भएका बयानबाजी आउन थाले । रवि लामिछाने स्वयंले प्रसन्न मुद्रामा आफूलाई ‘क्लिन चिट’ दिएको भन्दै दमदार भाषण गर्दै हिँडे, संसदीय समितिलाई आभार व्यक्त गर्न पुगेको मात्र नभई ‘खोइ त प्रमाण’ भन्दै आरोपितहरूलाई चुनौती दिन पुगे ।

के ठग र चोरले प्रमाण छोडेर काम गर्छ, उनीहरूको धर्म र कला भनेको विनाप्रमाण आफ्नो काम फत्ते गर्ने नै हो । सुनिन्छ, रवि लामिछानेले बयान दिने क्रममा आफूलाई केही थाहा नभएको, आफूले हस्ताक्षर नगरेको भन्दै आफ्नो बचाऊ गर्दै थियो रे । यही नै हो उनको कला । धुरन्धर विद्वान विदेशमा काम छोडी नेपाल फर्केका शिक्षित भनाउँदा रास्वपाका युवा नेताहरू सबै यसरी प्रस्तुत हुँदा सोझा सिधा जनताहरू अलमलमा परे, अचम्म माने र कोही त रवि दाइ जिन्दाबाद भन्दै झोले हुन पुगे ।

जे होस् सरकारले मुद्दा अघि बढाएको छ । अदालतले के निर्णय गर्ने हो हेर्न केही दिन या हप्ता कुर्नुपर्ने नै छ । अदालतको निर्णय सर्वस्वीकार्य हुन्छ नै । रवि लामिछाने निर्दोष सावित होस् भन्ने कामना छ ।

पुराना राजनीतिक दल र शीर्ष नेताहरूबाट नेपाली जनता खुसी हुन नसकेको सन्दर्भमा रास्वपाको जन्म हुनु जनताले देशको लागि वैकल्पित दलको रूपमा स्वागत गरेको नै हो भन्नु उपयुक्त होला । छोटो समयमा नै संसद्मा चौथो दल हुनु रास्वपाको लागि जनताको प्रतिनिधित्व गर्ने ठूलो मौका थियो ।

के जनतालाई रास्वपाका प्रमुख रवि लामिछानेले गरेका कुकर्महरू चाहे त्यो अमेरिकामा रहेकी श्रीमती काण्डलगायत अरू काण्ड किन नहोस्, नेपालमा पासपोर्ट काण्ड किन नहोस्, नागरिकता काण्ड किन नहोस् थाहा नपाएका हुन् र ? तत्कालीन सरकारले मुद्दा नचलाउने निर्णय गरेर रवि लामिछाने जेल जानबाट उम्केको होइन र ? मुद्दाको जानकारी हुँदाहुँदै पनि दुई–दुईपल्ट चितवनका मतदाताहरूले रवि लामिछानेलाई नै निर्वाचित गराए । किनभने उनी पत्रकारको हिसाबले जनताको कुरा सरकार समक्ष प्रस्तुत गर्न सक्ने एक सफल पत्रकारको रूपमा चिनिएको व्यक्तित्व हुन र जनताले रास्वपा विपक्षी बेच्नमा बस्न मत दिएका थिए ।

राजनीतिमा पद, शक्तिको अगाडि केही लाग्दैन रहेछ । रास्वपाले आफूले गरेका बाचा, जनताले दिएको अभिभारालाई चटक्कै छोडेर, बिर्सेर, ‘नो नट अगेन’ अभियानमा भनेका बाचा समेत भुलेर पुरानै दलका नेतृत्वको शरणमा पुगे र सरकारमा जान तैयार भए । राजनीतिमा सौदागर भनी चिनिने पुराना दलका नेताहरूले आफ्नो सरकार बनाउन र टिकाउन रवि लामिछानेलाई यस्तरी जालमा पारेकी आफूले रोजेको गृह मन्त्रालयलगायत उपप्रधानमन्त्री पद दिन राजी भए । रास्वपाको खास पतन हुने प्रक्रिया यहाँबाट सुरु भएको जनताको बुझाइ छ ।

रवि लामिछानेले पत्रकार हुँदा बोलेका, नेताहरूलाई दिएका ज्ञान गुण खासगरी भ्रष्टाचार नै उनलाई ठूलो चुनौती हुन पुगे । आफैँ पदमा हुँदा माखोसम्म पनि मार्ने काम हुन सकेन । बोल्न र भाषण गर्न खपिस रवि लामिछाने बोल्नेबाहेक गर्नैपर्ने काम गर्न सकेको देखिएन । गृह मन्त्रालयमा किन रोजे आज आएर उजागर भएको छ । आफ्नै सहकारी ठगी काण्डलाई मिलाउन उपयुक्त मन्त्रालय भएबाट गृह रवि लामिछानेको रोजाइमा परेको छर्लङ्ग भएको छ । गृहमन्त्री हुँदा आफ्नो अधिकारको दुरुपयोग गरी मातहतका प्रहरी प्रमुख आईजीपी र सरकारी वकिल कार्यालय प्रमुखलाई आफ्नो पक्ष बोल्न लगाए । तत्कालीन प्रधानमन्त्रीले समेत रवि लामिछानेको समर्थनमा संसद्मा बोल्न भ्याए । एमाले अध्यक्ष, रवि लामिछानेको ‘केपी बा’ हुन पुगे र उनी रविको समर्थनमा चट्टान जसरी उभिन पुगे । कसले छोला हेरमसम्म भन भ्याए ।

राजनीति र पत्रकारिता फरक विषय रवि लामिछाने बुझ्न सकेनन् र कच्चा खेलाडी हुन पुगे । आज स्थिति उल्टेको छ । राजनीतिमा बाघ बुढो र स्याल तन्नेरी बराबर हुन सक्दैन रैछ । तन्नेरी रवि लामिछानेको भविष्य बुढो बाघको बल्छीमा अड्केको छ । नेपाली राजनीतिमा प्रयोग गर्ने र फ्याँक्ने परम्परागत चलन रहिआएको छ र रवि लामिछाने त्यो श्रेणीमा पुगेको छ । आफूलाई नेपालको भयंकरको वैदिक वर्ग सम्झिने रवि लामिछानेपछिका तीन वरिष्ठ नेताहरू (स्वर्णीम वाग्ले, शिशिर खनाल, मानिस झा)ले पनि आफ्नै नेपाली कांग्रेसलाई लात मारेर रास्वपा छिरेका होइनन् र ? आज नेपाली कांग्रेस नै उनीहरूको शत्रुको रूपमा ठूलो स्वरमा गाली गलोचमा उत्रेका छन् । नेपाली कांग्रेसले समयमा आफ्नो तासको तुरुप देखाई छाडे र रवि लामिछाने यो स्थितिमा पुग्न बाध्य हुनुपुग्यो ।

आज यी पढेका बुद्धिजीवी भनेका रास्वपाका नेताहरू किन सडक आन्दोलनमा उत्रेका छन् ? किन जनतालाई मूर्ख बनाउने कोसिस गर्दै छन् । जनता त्यति चनाखो छैनन् र ? खासगरी दुईवटा अवस्थाको अनुमान गरेका छन् । यदि रवि लामिछाने ठगी काण्डमा प्रमाणित भए आफूले नेतृत्व लिने र त्यसको लागि कोभन्दा को कम देखाउने हो र टिम बनाउने नै हो । दोस्रो ‘रवि भनेको रास्वपा र रास्वपा भनेका रवि’ जनताको बुझाइ छ । यदि रवि लामिछाने नहुने हो त रास्वपाको अस्तित्व नै सखाप हुने पक्कै छ त्यसैले आन्दोलनको नाममा सकेसम्म न्यायालयलाई प्रभावमा पार्ने र सकभर लिने दिने, सम्झौता गर्ने । हुन त नेपालमा यस्तो चलन नभएको होइन । नभए ‘घरको न घाटको’ स्थिति आउन सक्ने अवस्था यी रास्वपा नेताहरूले नबुझेका त होइनन् होला ।

सडक आन्दोलनलाई अर्कै दिशामा मोड्ने प्रयास भएको छ अहिले । सहकारीपीडितको समर्थनमा र भ्रष्टाचारी विरोधमा आन्दोलन र सहकारीपीडितलाई न्याय दे भन्दै भाषण दिन थालेका छन् । सुनिन्छ, मुद्दाको सिलसिलामा रवि लामिछाने पोखरापछि बुटवल, चितवन, काठमाडौं लाने तयारीमा छन् । पोखरा निकाम नेताहरूले के गर्दा रहेछन् हेर्न बाँकी नै छ ।

के हजारौं पीडितहरूले कसले पीडित बनाएर नबुझेका हुन र ? यिनीहरूकै उजुरीको आधारमा पीडक रवि लामिछाने पक्राउ परेको होइन र ? पोखराकै एक पीडित महिलाले राम्ररी व्याख्या गरेका छन् रास्वपामा ‘घर ढलाने समुह’को उपस्थिति मात्रै हो जो रवि लामिछानेका पिछुवा मात्र हुन् र काठमाडौंको माइती घर मण्डलामा धेरै देखिने पात्रहरू हुन् । यदि शान्ति सुरक्षा कायम गर्न नसके र आन्दोलन अरू केही दिन लम्बिए रास्वपा र साँच्चैको पीडित समूहबीच मुठभेड भई ठूलो धनजनको क्षति हुने सम्भावना छ ।

भ्रष्टाचारीको लामो लिस्ट सरकारको फाइलमा सुरक्षित छ नै होला । नेपाली जनताले सायदै नचिनेको कोही भ्रष्टाचारी बाँकी छैन होला । सबै भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने जनताको माग रही आएको छ । रवि लामिछानेजस्तो चतुरले यस्तो थाहा नहुने त कुरै भएन । तर आफू गृहमन्त्रीजस्तो महत्वपूर्ण पद र सत्तामा रहँदा किन केही नगरेको आज जनताले प्रश्न गरिरहेका छन् । त्यति बेला दिगज रास्वपाका भ्रष्टाचार विरोधी प्रखर भाषण दिने नेताहरू कता थिए र आज मात्र किन आँखा खुल्यो । जनता रास्वपाले भ्रष्टाचारीविरुद्ध आन्दोलन गरेको भन्ने विश्वास गर्नेवाला छैनन् ।

नेपाली कांग्रेस र एमालेको नयाँ समीकरणको सरकार बनेको सय दिन काटेको छ । तीनपल्ट प्रधानमन्त्री बन्न सफल केपी ओलीले खासै उपलब्धि गर्न नसकेको जनगुनासो रहेको छ । हालै, प्राकृतिक प्रकोप, अतिवर्षाले गर्दा अकल्पनीय आपतकालीन अवस्था सिर्जना हुनुपुग्यो र ठूलो धनजनको क्षति भएकोमा समेत सरकारले काम गर्न नसकेको जनबुझाइ छ । सो आपतकालीन समयमा कार्यवाहक प्रधानमन्त्रीलाई काम गर्न नदिएको कुरा दलका नेताहरूले चर्चा गरेका थिए ।

प्रधानमन्त्रीले पीडित पक्षको लागि आर्थिक सहयोग गर्नुभन्दा विवादित व्यवसायी भाटभटेनीका मालिकसँग सम्झौता गरी आफ्नै एमालेको पार्टी कार्यालय बनाउन अरबौँको दान (जग्गा र घर बनाइदिने) लिन सफल भए र दुवै जनाबाट कार्यालय भवनको सिलान्यास गरेर आफ्नो प्राथमिकता जनतासामु प्रदर्शन गर्न पुगे । यसरी एक विवादास्पद व्यवसायीलाई प्रधानमन्त्रीले धाप दिएको देखियो । हाल यसको चौतर्फी विरोधका आवाज उठ्न थालेका छन् । यसै सन्दर्भमा आफ्नै एमालेका तीन जना नेतालाई विरोध गरेको बहानामा स्पष्टीकरण सोधेको छ ।
नयाँ दुई ठूला दलका झण्डै दुईतिहाइ बहुमत सरकारले सुशासन र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएर आएको सरकारले आफ्नो कामको द्रूत गतिमा नागरिकका प्रमुख चाहना देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही, आदिमा राम्रो काम प्रदर्शन गर्न नसके देशको हालत के हुने होला ? नागरिक चिन्तित देखिन्छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न बहानामा अन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेकै छ र अभियानको घोषणा गरिसकेको छ । विभिन्न नाममा बेग्लाबेग्लै साना–ठूला आन्दोलन भई नै रहेको थापाथली माइती घर मण्डेलामा जाने जुनसुकैले सजिलै अन्दाज लगाउन सकिन्छ । तर विभिन्न समयमा सरकारमा गएका नेताहरूले विभिन्न बहाना बनाई स्थायीरूपमा समस्या समाधान गर्नेभन्दा आलटाल गर्ने गरेको र समस्याको चाङ बढेको बढ्यै देखिन्छ चाहे त्यो मिटरव्याजी समस्या हुन्, या उखु किसानका पैसाको कुरा किन नहोस् । जसले गर्दा कुनै पनि बेला देशमा विस्फोट हुन सक्ने, देशमा शान्ति सुव्यवस्थामा समेत खलल् पुग्ने र अर्को अराजकरूप लिने सम्भावना प्रबल देखिन्छ । आज देश अगाडि बढ्न नसकेको सर्वसाधारण जनताले नभई नेता र पढेलेखेकाहरूकै कारणले हो भन्ने पुष्टि हुन थालेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x