सामाजिक भ्रष्टीकरण
काठमाडौं । हामी भ्रष्टाचारको विरोध गर्दछौँ । नेताहरूको ठूला–ठूला भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेका छन् । यो थाहा पाएर हामी उनीहरूसँग आक्रोशित पनि हुन्छौँ । सबैतिर भ्रष्टाचारको विरोध भइरहेको छ । सामाजिक सञ्जालको भित्तो यही भ्रष्टाचारका कुराले रंंगिएको पाउँछौँ । तैपनि भ्रष्टाचार एक रत्ति घटेको छैन । किन होला ? तपाईं हामी ठूला आलिशान महलमा बस्ने र प्रशस्त धन सम्पत्ति भएकालाई विशेष सम्मान गर्दछौँ । परिश्रम गर्ने तर झुपडीमा बस्नेलाई कसले गन्छ ? सबैले सम्पत्ति भएकालाई नै गन्ने हुन् । यसले गर्दा मानिसहरू जसरी हुन्छ धन कमाउन लालायित हुन्छन् । धन भएपछि मान पाइन्छ, सान पाइन्छ, इज्जत पाइन्छ, सुख सुविधा पाइन्छ भने त्यस्तो धन कमाउन मानिस किन पछि पर्छ ? तर अवसर पाउनुपर्यो कुरो त्यति हो । जब मानिस सत्ता र शक्तिमा पुग्छ त्यो अवसर पनि त्यतिखेर जुर्छ । हामीले देखेका छौँ हिजोका गरिब नेताहरू पनि आजकल महलमा बस्न सक्ने भएका छन् । उनीहरूको हैसियत मात्र बढेन बरु सम्पत्ति पनि बढ्यो । राजनीतिमा गरिबका कुरा देश हितका कुरा नगरी सत्ताको भर्याङ उक्लिन सक्किन्न भन्ने कुरा ती चतुर मानिसहरूलाई थाहा नहुने कुरा भएन । तिनकै कुराहरू सुनेर हामी माथि उक्लिने लिस्नु भएको कुरा तपाईं हामीलाई थाहा हुँदैन । हामी पनि कहाँ गतिलो छौँ त ? चुनाउमा कुनै नेताको पछि लागिसकेपछि मासु भात, बियरका सिसी त कति लडाउछौँ, लडाउछौँ । यस्तै, मोटरसाइकलमा पेट्रोल भर्ने खर्च पनि नेताले नै भराउनुपर्छ । यसो गर्नु भनेको नै आगामी पाँच वर्षका लागि तिमी जसरी कमाए पनि कमाउ भनी नेतालाई भ्रष्टाचार गर्न उत्साहित बनाउनु हो । हाम्रो अर्को स्वार्थ पनि छ । कुनै नेतालाई जिताइसकेपछि ठेक्का पाइएला, जागिर पाइएला वा यस्तै कुनै अर्थोपार्जनको अवसर मिल्ला भनेर नै सहयोग पुर्याएका हुन्छौँ । चाहे त्यो कमाउने स्रोत जायज नाजायज वा वैध अवैध जेसुकै होस् आफूले कमाउने भएपछि त्यसको हामीले मतलब पनि गरेका हुँदैनौँ । यसैले नेतादेखि जनतासम्म सबैमा भ्रष्ट संस्कार हाम्रो सामाजिक परम्परामा स्थापित छ । यसबाट राजनीतिक क्षेत्रमा मात्र हैन कि देशका सम्पूर्ण क्षेत्रमा व्यापक असर परेको छ । यसका केही दृष्टान्त यहाँ दिने कोसिस गरिएको छ ।
शिक्षा: देशको शिक्षा नीति घोकन्ते खालको छ । पढेर कण्ठ पारी परीक्षामा आएको प्रश्नको जवाफ हुबहु गुरुले लेखाइदिएको नोटमा मिल्ने गरी लेखेपछि पास भइन्छ । पढेका कुरा व्यवहारमा आओस् नआओस् यसको मतलब हुँदैन । प्रयोगात्मक शिक्षा वा व्यावसायिक शिक्षालाई महत्व दिइँदैन । यसले गर्दा विद्यार्थी र अभिभावकमा पढेपछि काम गर्नुहुँदैन भन्ने मानसिकताले घर गरेको छ । पढेनौँ भने हलो जोत्नुपर्छ भनी सानैदेखि केटाकेटीहरूलाई हलो नजोत्न उत्प्रेरित गरिन्छ । पढेपछि काम नगर्ने जनशक्ति हाम्रो देशको शिक्षाले नै उत्पादन गरिरहेको छ । यसबाट देशको उन्नति प्रगति कसरी होस् ? व्यक्तिको भविष्य पनि कसरी बनोस् त ? हामीले काम गर्न होइन भष्टाचार गर्न, उत्प्रेरित गरेर पठाएका नेता भ्रष्टाचार गरी धन बटुल्न व्यस्त छन् । हाम्रो देशको शिक्षा नीतिमा सुधार ल्याउन, शिक्षा नीति बदल्न कसरी नेताको ध्यान पुगोस् ? यसकारण परम्परागतरूपमा चलिआएको चलन जस्तो छ, त्यस्तै रूपमा हाम्रो शिक्षा पनि गुज्रिरहेको छ ।
कृषि: हाम्रो देश कृषि प्रधान देश हो भनिन्छ । कृषि परम्परागत पाराको छ । मल बिऊ र कृषि औजारमा कुनै सुधार छैन । कृषक आफैँले आजकल विदेशबाट आएका धान, मकैका बिऊ लगाउन थालेका छन् । जसबाट पुराना स्थानीय जातका बिऊहरू मासिएको छ । विदेशबाट आएका यस्ता बिऊहरू पनि राम्रोसँग फलेको देखिँदैन । किसानलाई खेती गर्न सिकाउने जेटिएहरू कतातिर सुतेर बसेका छन्, नाक मुख देखिँदैन । किनकि उनीहरूलाई पनि पढेपछि काम गर्नुहुँदैन भन्ने प्रशिक्षण भएकाले नै होला बसेरै तलब पकाउन उनीहरू पनि खप्पिस छन् । यसमा सम्बन्धित निकायको ध्यान कहिल्यै पुग्नेछैन भन्ने कुरा पक्का छ । खेतीको समयमा मल पाइँदैन । मलमा हुने कमिसनको चक्करले समय गुज्रेपछि मल आउने गरेको धेरैपटक सार्वजनिक भइसकेको तथ्य हो । पशुपालनको अवस्था पनि उस्तै देखिन्छ ।
मालपोत: मालपोतमा जनताको काम कसरी छिटोछरितो गरुँ भन्ने मनोभाव छैन । कसरी ढिला गर्ने र घुस रकम झार्ने मनस्थितिमा कर्मचारीहरू रहेको बुझिन्छ । सेवा भाव, होइन कमाउ भाव उनीहरूमा देखिन्छ । प्रायःजसो सर्वसाधारण घुस दिएर नै आफ्नो काम सल्टाएर जान्छन, भने यथेष्ट पैसा नहुनेहरूले पाउनु दुःख पाउदछन । गाउँ गाउँमा चार पुस्ता अघिदेखिको आफ्नो पुर्खाको नाममा भएको जग्गाको लालपुर्जा नामसारी नभएको उदाहरणहरू पनि छन् । यही मालपोतमा हुने झन्झट र गरिबी नै यसको मुख्य कारण हो । यस्तै, गणतन्त्र आएपछि जनताका गाउँगाउँमा भएका पाखोबारीको पनि जग्गाको कर बढेर तिर्न नसक्ने हालतमा पुगेको छ । उत्पादन केही नहुने यस्ता जग्गाहरू बिक्री गर्दा पनि जग्गाको कर तिर्न नपुग्ने अवस्था बनेको छ । यस्ता जनताका समस्याहरूमा कसले ध्यान दिने ? किनकि हामीले चुनेका नेताहरू पनि कमाउनका लागि नै सत्तामा पठाएका हौँ । उनीहरू उतै व्यस्त छन् ।
भू–संरक्षण विभाग: नेपालमा भू–संरक्षण विभाग पनि छ । तर वर्षेनि हाम्रो देशको माटो बगेर बंगालको खाडीमा ठूला–ठूला टापुहरू बनिरहेको छ । हाम्रा खेतबारीका मलिलो माटो कसरी जोगाउने ? यसका लागि कुनै छलफल गोष्ठी र कार्यक्रमहरू हँुदैन । भए पनि बिरलै हुन्छ । नाङ्गो जमिनमा वर्षामा पर्ने पानीको कारण बाढी पहिरोजस्तो विपत्ति आइलाग्छन । यसैले नाङ्गो जमिन कतै नदेख्ने गरी बिरुवा लगाउनुपर्छ भन्ने जानकारी जनमानसमा छैन । यस्तो प्रशिक्षणको अभावमा हाम्रा स्थानीय जनप्रतिनिधिहरूले पनि यसमा ध्यान पुर्याउँदैनन् । यसैले वर्षा लागेपछि डोजर लगाई जथाभावी मोटर बाटो खनेर बाढी र पहिरोको कारण आफैँ बन्ने गरेका छन् । सडक कुन समयमा खन्दा उपयुक्त हुन्छ भन्ने कुरा हाम्रा जनप्रतिनिधिलाई जानकारी छैन ।
खानेपानी संंस्थान: ‘सित्तैमा ल्याएको पानी बेच्छ, तैपनि खानेपानी संस्थान घाटामा छ भन्छ ।’ यो भनाइ मेरो होइन काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको हो । खानेपानीजस्तो मानव जीवनको जिउने सवालमा जोडिएको संस्थामा पनि भ्रष्टाचार हुुन्छ भन्नुपर्दा दुःख लाग्ने कुरा स्वाभाविक हो । तर यहाँ पनि सेवा भावले काम भएको देखिँदैन । मेलम्चीजस्ता ठूला–ठूला आयोजनामा सरकारका मन्त्री, प्रधानमन्त्री जोडिनु सामान्य कुरा हो । जिल्ला खानेपानी संस्थाहरूले सञ्चालन गरेको खानेपानी आयोजनाहरूमा समेत खानेपानीका डी र अरू प्राविधिकहरू तथा उपभोक्ता समिति समेत मिलाई औकातअनुसार रकम बाँडीचुडी गरी खाने गरेको देखिन्छ । यो उनीहरूको नियमित गरिने धन्दा र परम्परा हो । आयोजनाको ५० देखि ७५ प्रतिशतसम्म रकम भ्रष्टाचारमै सकिन्छ ।
माथिका उदाहरणहरू थोरै मात्र यहाँ प्रस्तुत गरिएका हुन् । सिँंगो देशको हालत यस्तै छ । अझ नेपालका भन्सार निकायहरूमा नियाल्ने हो भने भ्रष्टाचारका अनेकरूप देख्न सकिन्छ । नेपाल वायुसेवा निगम यसै कारण टाट पल्टेको हो । हाम्रा मन्त्रीहरू सकेसम्म मालदार मन्त्रालय नै रोज्ने गर्छन् । कर्मचारीहरू भन्सारतिर सरुवा हुन खोज्छन् । यसमा उनीहरूको भष्टाचार गर्ने सोच प्रष्ट देखिन्छ । जो पद र पावरमा छन्, अवसरको रसास्वादन उनीहरूले नै गर्न सक्छन् । जो तल्लो धरातलमा रहेका छन्, उनीहरूसँग कुनै अवसर हुँदैन तापनि उनीहरूको सोचमा पनि भ्रष्टाचार छ । यसबाट के देखिन्छ भने पाए कोही पनि बाँकी राख्नेवाला छैन । किनकि हाम्रो सामाजिक वाताबरण नै यस्तो छ । हाम्रो सोच र संस्कारमा गम्भीर त्रुटि छ । यसैले त गरिबको पक्षमा र देश हितको पक्षमा बोल्ने हिजोका नेताहरू आज भ्रष्टाचारको आहालमा पौडी खेलिरहेका भेटिन्छन् । देशमा परिवर्तन गर्न भनी क्रान्ति छेडेर आएका नेताहरू पनि चोखो त देखिएनन् नि ? यसैबाट प्रष्टिन्छ कि हाम्रो सामाजिक वातावरणमा संस्कारगत त्रुटि अवश्य छ ।
दलका नेताहरू सत्ताबाट बाहिरिएपछि भ्रष्टाचारको विरोध चर्कोरूपले गरेको देखिन्छ । तिनै नेताहरू विरोध गरिसकेर सत्तामा पुग्दा पुनः भ्रष्टाचार गर्न थाल्छन् । भ्रष्टाचारको विरोध गरेकोमा ताली बजाउने पनि त्यतिकै भेटिन्छन् । किन ताली बजाउनु र ? जब कि आउने जाने र खाने पालोफेरो हो भन्ने बुझ्दाबुज्दै ।
के यस्तो सामाजिक संस्कारलाई सच्याउन सकिँदैन अब ? अवस्य सकिन्छ । यसको लागि भ्रष्टाचारको मुहान पत्ता लगाउनुपर्छ । यसमा पनि पानीको नियम लागू हुन्छ । सधैँ पानीको मुहान माथितिर हुन्छ र पानीको सप्लाई तल तलसम्म हुन्छ । यस्तै, भ्रष्टाचारको मुहान पनि तल हैन माथितिर हुन्छ । मुहानलाई बन्द गर्न कारबाहीको निसानामाथि बनाइनुपर्छ । माथिबाट कारबाही गर्न सुरु गर्ने हो भने तलतिरका तह लाग्दै जाने छन् । नभए अरू सम्पन्न देशको सिको गरेर निकै कडा र निर्मम बन्नुपर्छ । यसो भयो भने केही मेहनतपछि यस्ता समस्याहरूको पनि समाधान पक्कै हुने नै छ । तर यसको लागि कोही न कोही त निस्कनु नै पर्यो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया