बालेनराजको अन्धसमर्थन
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन सामाजिक सञ्जालमा सर्वाधिक सुनिने, हेरिने, चर्चा र परिचर्चा गरिने व्यक्तिहरूमा पर्न आउँछन् । किन र के कारणले यस्तो हुनगयो बुझ्नै नसकिने भएको छ । राम्रा या नराम्रा विषयमा, बुझेर या नबुझेर लेखेको वा बोलेको प्रस्ट हुनसकेको देखिँदैन । बालेनको बारेमा केही कुरा उठेमा, पोस्ट आएमा प्रतिक्रिया दिनेहरू यतिधेरै आउने गर्छन् कि कुरै नगरे हुन्छ । एक मिनेट पनि हुन नपाउँदै सयौँको प्रतिक्रिया आइसकेको हुन्छ, सायद प्रतिक्रिया दिनेहरूले के विषयमा लेखिएको हो हेर्न, पढ्न र बुझ्न भ्याएको समेत हुँदैन होला ।
बालेन एक प्रख्यात र्यापर (गायक) हुनाले पनि उनका पहिलेकै हजारौँ श्रोताहरू होलान् र उनीहरूले पनि हेर्ने, साथ दिने त भइहाल्यो । प्रतिक्रियाहरू आउनु स्वाभाविक नै हो । तर, राम्रो काम गर्नुपर्छ भन्ने रहेनछ । कलाकार पल शाह बलात्कारको मुद्दामा जेल पर्दा पनि पल शाहको हाईहाई गर्ने र उनको पक्षमा वकालत गर्नेहरूको कमी थिएन । ‘आई लभ पल’ भनेर अन्तरवार्ता दिनेहरू पनि प्रशस्त देखियो ।
सरसर्ती विश्लेषण गर्दा बालेनसम्बन्धी प्रतिक्रिया दिनेहरूले सम्पूर्णमा नहेरी बाहिरी आवरण हेरेर गरेको जस्तो अनुमान गर्न सकिन्छ । प्रतिक्रिया दिने, अन्तरवार्ता दिनेहरूमा अधिकांश युवायुवती र काठमाडौं महानगर क्षेत्रभन्दा बाहिरका, विदेशमा बसोबास गरेका नेपालीहरू देखिन्छ । आफ्नै आफन्तहरू जो हाल अमेरिकाबासी हुन पनि प्रतिक्रिया दिनेमा पहिलो पङ्क्तिमा पर्न आउँछ जसलाई महानगर अथवा स्थानीय सरकारसँग सायदै केही मतलब छ होला र स्थानीय बासिन्दाहरूले भोगेका समस्या, मागहरूप्रति खासै मतलब नभएकाहरूमा पर्न आउँछ । उहाँहरूको प्रतिक्रिया, बजारमा जे लहर चल्छ त्यतातिर जाने देखिन्छ । नेवाः भाषामा ‘वल वल’ (आयो आयो) भनेको भरमा पछिपछि दगुर्नेझैँ प्रतिक्रिया दिँदा भित्री गहराइको यथार्थ नबुझी गरेको देखिन्छ । यो नेपालीहरूको बनी नै हो चाहे ती विदेशमा बसेका किन नहोस् ।
स्थानीय मतदाता जो करदाता पनि भएको नाताले महानगर पालिकाबाट व्यक्तिगत, पारिवार तथा समुदायले के—के सहुलियत पायो अथवा फाइदा भयो जान्नु आवश्यक हुन्छ । तर, आफूले जानेबुझेअनुसार अधिकांशले फाइदा लिन पाएको देखिँदैन । खुकुरीको चोट अचानोले मात्र थाहा हुन्छ भनेझै स्थानीयहरूको बेथा बाहिरकालाई के थाहा होला र ?
पक्कै पनि प्राथमिकता पाएका काठमाडौंका केही मुख्य भागहरूमा सफा भएको छ र फोहोर देख्न कम भएको छ । खासगरी सवि अर्थात् सडक विभागअन्तर्गतका ठूला चौडा सडकहरू जस्तैः दरबारमार्ग, विमानस्थलदेखि माइतीघर, थापाथली, रामशाह पथ महाराजगञ्ज एरिया जहाँ ठूलाबडा, नेताहरूको बस्ती, सवारी ओहोरदोहोर हुनेतिर राम्रो झिलमिल, हरियाली देखिन्छ साथै जथाभावी पार्किङ गरेको पनि देखिँदैन । यो क्षेत्रभित्र २४ घण्टा नेपाल प्रहरी र महनगर प्रहरीको उपस्थिति रहने गर्छ जसले गर्दा फोहोर गर्ने, जथाभावी सवारीसाधन पार्किङ गर्ने, एकतर्फी नियम उल्लंघन गर्ने सम्भावना देखिँदैन । गरिहाले कानुनी कारबाही गरिने डर हुन्छ । यसलाई राम्रो पक्ष मान्नै पर्दछ ।
यी क्षेत्र महानगरभित्र परेको भए पनि सम्पूर्ण सडक, सरसफाइ आदिको व्यवस्थापन गर्ने जिम्मा कानुनतः महानगरको नभई संघीय सरकारको मातहतमा पर्न आउँछ । सर्वसाधारणलगायत विदेशी आगन्तुकका लागि यो राम्रो लाग्नु स्वाभाविक नै हो । महानगरपालिकाको खासै भूमिका नभए पनि बालेनले गर्नै नसक्ने चमत्कार ग¥यो भन्नेगरेको देखिन्छ र जस पनि बालेनले नै लिनेगरेका छन् । संघीय सरकार र स्थानीय सरकारबीच यस विषयमा हानाथाप हुने र दोहोरो काम भएको पनि पाउँछौँ । त्यसको एउटा उदाहारण नयाँसडकको पैदलमार्गसम्बन्धी विवाद देखिएको छ ।
यसको ठीकविपरीत काठमाडौं महानगरभित्रका पुराना बस्तीहरू– कोर एरियाको अवस्था अस्तव्यस्त देखिन्छ । क्षेत्रपाटी, असन, इन्द्रचोक, हनुमानढोका नरदेवी, लगन, खिचापोखरी, नयाँसडक, मरु, भीमसेन स्थान आदि क्षेत्र (महानगरको वडा १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ आदि) को विकासलगायतका सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा महानगरपालिकाभित्र पर्न आउँछ ।
जनघनत्वको हिसाबले यहाँ बसोबास गर्नेहरूको संख्या अत्यधिक रहेको, बाटो पुरानो, साँघुरो (इन्द्रजात्रामा रथ घुमाउने बाटो समेत) र अधिक मात्रमा साँघुरो गल्ली मासंः गल्ली, चोखाछें गल्ली, मखँ गल्लीहरू पर्न आउँछन् । देशको ठूलो सम्पदा, मठ मन्दिरहरू, धार्मिक एवं पुरातात्विक स्थल हनुमानढोका, बसन्तपुर, असं, नरदेवी आदि यही क्षेत्रमा पर्न आउँछन् । पुरानो व्यापारिक केन्द्र समेत भएकाले यो क्षेत्रको चहलपहल बिहानदेखि बेलुकासम्म व्यापक हुनेगर्छ । भुइँपसलदेखि ठूला सापिङ सेन्टर यहीँ छन् । यहीँबाट विष्णुमती, टुकुचा, धोवीखोलालगायत सहायक नदी र खोल्साहरू बग्ने गर्छन् । ठूला–ठूला इनार, हिटी आदि पनि यहीँ छन् ।
ठ्याक्कै तथ्याङ्क नभए पनि काठमाडौंका झण्डै ७० प्रतिशत घरका युवाहरू परिवार छोडी काम र अध्ययनको सिलसिलामा विदेशिएका छन् भने वृद्ध आमाबाबु र साना केटाकेटीको बसोबास छ । कतिपय घरहरू खाली छन् । महानगरबाहिरका विद्यार्थी, कर्मचारी, बसाइँसराइ गरी आएका, कामको खोजीमा आएकाहरू कोठा/घर भाडामा लिएर बसेकाहरूको संख्या अधिक यही क्षेत्रमा रहेको पाइन्छ ।
काठमाडौंको आधा हिस्सा ढाकेको यस कोर एरियाको आफ्नोपन छ, नेपाललाई चिनाएको छ, तर समस्याहरू धेरै मात्र नभई विकराल देखिन्छ । नेपालको राजधानी र मुटु मानिने काठमाडौं सहर भएर पनि काठमाडौं ओझेलमा परेको छ । सामाजिक सञ्जाल हेर्ने हो भने बालेनले गर्न खोजेको छ भन्नसम्म सकिन्छ होला तर ढङ्ग पुर्याएर, योजनाबद्ध तरिकाले गर्न सकेकै देखिँदैन ।
काठमाडौंबासीले महानगरको विकास योजना के हो बुझ्न सकेको छैन र बुझ्ने अधिकार भएर पनि वञ्चित हुनुपरेको छ । के बालेनको वाहवाही गर्ने, अन्धभक्तले यो क्षेत्रको विकराल समस्याको समीक्षा गरेको छ, बुझेको छ ? के बालेनको आँखा यतातिर पुगेको छ ? हुन त उनी नरदेवीमै पढेको हुर्केको भन्ने सुनेको छु । काठमाडौंको मूल समस्या र समाधानको प्राथमिकता एकातिर छ भने कामकुरो अर्को भइरहेको देखिन्छ । प्राथमिकताको सही पहिचान समेत गर्न सकेको देखिँदैन । उदाहरणको लागि सबैलाई अवगत भएको, वर्षौँदेखि भोगेको समस्या भनेको खानेपानी हो । जनताले ट्यांकरको पानी, विनापरीक्षण खान बाध्य छ । ढल मिलेको पानी धारामा आउने गुनासो प्रायजसो सुनिने गरिन्छ । निजी क्षेत्रले खानेपानीमा अरबौँको व्यापार गरिराखेको सुनिन्छ । खानयोग्य छ/छैन अनुगमन गरेको सायदै होला । काठमाडौंको लागि मेलम्ची खानेपानी भन्ने गरेको ३० वर्षभन्दा बढी भइसकेको छ तर हालसम्म पनि व्यवस्थापन गर्न सकेको छैन । जनसंख्याको चापले गर्दा मेलम्ची पानी पनि अब अपुग हुने देखिसकेको छ । जनताको स्वास्थ्यमा खेलबाड भइरहेको छ । के बालेनको योजनामा काठमाडौंको लागि पानीको वैकल्पिक योजना हुनु पर्दैन ? बालेन विनायोजना, विनाअध्ययन एकाएक टुकुचा खोला हान्न पुग्यो, फुटपाथ बढाउन पुग्यो, के त्यो जनताको प्राथमिकतामा पर्न आउँछ ? यसलाई स्टन्टबाजीभन्दा अरु के भन्न सकिन्छ र ? त्यस्तै धेरै जनताका माग तथा प्राथमिकतामा नपरेका योजनामा हात हालेको देखिन्छ र त्यसैमा रमाएको देखिन्छ ।
यहाँका स्थानीयबासीले भोग्नुपरेका अरु धेरै कठिनाइहरूमा राम्रो ढल निकास, विष्णुमतीलगायतका खोलाको व्यवस्थापन, सडकमा आवतजावतको समस्या, सवारीसाधनको जथाभावी पार्किङ, पार्किङ गर्ने स्थानको अभाव, घन्टौँको ट्राफिक जाम, अव्यवस्थित भुइँपसल सामान्य भइसकेको छ । यहाँ न नेपाल प्रहरीको उपस्थिति छ न आफ्नै मतहतको नगर प्रहरी । सुनिन्छ हाल पाँच सय महानगर प्रहरी महानगरको अधीनमा कार्यरत रहे पनि वडामा बसेको देखिँदैन ।
महँगीले आकाश छुनलागेको छ । सर्वसाधारण जनताले एक छाक टार्न धौधौ परेको सुनिन्छ । महानगरको उपस्थिति खै ? कोर एरियाका अधिकांश घर सानो १/२ आना क्षेत्रफलमा बनेको पाइन्छ । कोठा/घर भाडामा बस्नेहरूको गुनासा बेग्लै छन् । यी पुराना घरहरू बस्न योग्य छ र ? भन्ने प्रश्न उठेको छ । महानगरपालिकाले विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ र बस्नलायक घर बनाउन समुदायको सहभागितामा योजना बनाउनुपर्ने देखिन्छ । आजको जमानामा अँध्यारो सानो कोठामा देशको राजधानीबासी बसेको देख्दा के भन्ने होला ? यस्ता घरहरू महानगरको मापदण्डभित्र कस्तो हुनुपर्ने थाहा हुन जरूरी देखिन्छ ।
त्यस्तै स्थानीयको लागि रोजगार/स्वरोजगारका लागि, उद्यामीका योजना आउनु हतार भएको छ । हालै महानगरपालिकाले धुमधामसँग टुँडिखेलमा ‘सीप मेला’ आयोजना गरेको र १० हजार युवायुवतीलाई तालिम दिएको समाचार सुन्नमा आएको छ । यो तालिम महानगरपालिकाभित्रका भन्दा देशभरिकालाई दिएको देखिन्छ । तालिमको सफलता तालिम दिएर मात्र हुने होइन, यसबाट कतिले लाभ हाँसिल गरे त्यसमा पनि खासगरी काठमाडौंबासी कतिले लाभ हाँसिल गरे, तालिमको लागि तालिमको कुनै महत्व हुनै सक्दैन । त्यसमा रोजगारी पाउने अथवा उद्यमी हुनसकेकामा निर्भर रहन्छ । के महानगरले अनुगमन गरेको छ ? त्यस्तै ‘केएमआईआई २०८०– काठमाडौं आइडिया एन्ड इनोभेसन’को नाममा बालेनले विभिन्न सञ्चारमाध्यमबाट परियोजना आह्वान गरे । झण्डै छ सय जनाले आवेदन दिएको बुझिन्छ, जसमध्ये सय जनालाई समावेश गरियो । विज्ञहरूबाट तालिम पनि दिइयो । सहभागीहरूले परियोजनासम्बन्धी प्रस्तुति पनि गरियो, १५ समूहलाई छनौट पनि गरियो । तामझामका साथ गरिएको यो कार्यक्रम उद्देश्यअनुरूप अगाडि बढ्न सकेन र बीचैमा स्थगन भएको सुनियो । यसरी कतिपय योजना विनातयारी लहडको भरमा सञ्चार माध्यममा आएको तर पूर्णता पाउन सकेको देखिएन । यसको जिम्मा कसले लिने ?
महानगरपालिकाको बजेट २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सरल हिसाब गर्ने हो भने दिनको सात करोड खर्च गर्ने क्षमता र परियोजना हुनुपर्छ । गत सालको खर्च हेर्ने हो भने काठमाडौंबासी निराश हुनुपरेको थियो । हालै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको रिपोर्ट समीक्षा गर्ने हो भने स्थानीय सरकारमा सबैभन्दा धेरै भ्रष्टाचार गर्नेमा पोखरा महानगरपालिकापछि काठमाडौं महानगरको नाम उल्लेख छ । यो कुरा काठमाडौं महानगरको बैठकमा नउठेको होइन तर नगरप्रमुख बालेनले यसको कुनै चासो समेत नलिएको देखियो । के महानगर समयमै सचेत हुने र सचेत गर्नु पर्दैन ? कालो खानेले कालै निकाल्छ भनिन्छ, यो काण्डमा को–को पर्ने हो हेर्न पाइन्छ होला नै ।
बालेन एक र्यापर गायक सेलेब्रेटी हुन् तर जनप्रतिनिधिको रूपमा आउन नचाहेको देखिन्छ । जनसम्पर्कबाट टाढा हुने, सहभागी नहुने, पीडितसँग आमनेसामने संवाद नगर्ने, बहिष्कार गर्ने, सामाजिक सञ्जालमा रमाउने, आफूलाई अनुकूल नभए जे पनि बोल्ने, आफ्नो लहडमा काम गर्ने स्थानीय जनताको बुझाइ र गुनासो रहिआएको छ । महानगरपालिकाकै केही वडाअध्यक्षबाहेकले समेत आफूखुसी संवाद गर्न नसक्ने आरोप छ । महानगरले विभिन्न विषयका विशेषज्ञ नियुक्ति गरेको पाइन्छ । एक जना झण्डै एक वर्ष काम गरिसक्दा पनि बालेनसँग कुरा त के भेटघाटसम्म नभएको ठट्टाको रूपमा गुनासो गरेको सुनियो । यसले महानगरभित्र कस्तो सञ्चार व्यवस्थापन हुँदोरहेछ बुझ्न गाह्रो नपर्ला । ‘बालेनको डोजर’ थेगो बनेको छ । हुन त डोजरले केही हदसम्म काम गरेको देखिन्छ, खास गरेर अवैधरूपमा जग्गा हडपेकाहरूका विरुद्ध । तर, जुन किसिमले महानगर प्रहरीले जबरजस्ती गरेको, आतङ्क सिर्जना भएको जस्तै देखियो जुन जनताले पटक्कै रुचाउन सकेको देखिएन ।
बालेनले काठमाडौंका विभिन्न क्षेत्रमा संगठित सुकुमबासी बस्ती हटाउन नसकेको नै हो जसले गर्दा सहर कुरूप हुनपुगेको छ । कुनै पनि हालतमा जतिसक्यो चाँडो खास सुकुम्बासीहरूलाई स्थानान्तरण गरी समस्या समाधान गर्नैपर्छ । सुकुमबासीसम्बन्धी भूमि आयोग र स्थानीय सरकारको प्रस्ट भूमिका, नियम, कानुन भएकोले महानगरले विलम्ब नगरी आफ्नो भूमिका खेल्नै पर्छ । के बालेनका समर्थकहरूले यी माथि उठाएका मुद्दाहरूको समीक्षा गरेको छ ? राम्रो फेसन गरी पहिरन लगाएको मानिसको भित्री पहिरन कस्तो थाहा नपाई तारिफ गरेको जस्तै हुन जान्छ । चुरो कुरा त यही नै हो ।
महानगरमा जनहित र स्थानीय विकासका लागि थुप्रै काम गरेका राम्रा वडाअध्यक्षहरू नभएको पक्कै होइन तर उनीहरूको कुनै चर्चासम्म भएको देखिँदैन । किन बालेनले मात्र सामाजिक सञ्जालमा सर्वाधिक समर्थन पाएको त ?
एआईजस्ता विकसित प्रविधिले गर्दा रातोलाई कालो बनाउन सक्ने क्षमता विकास भइसकेको छ । सञ्चार क्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्रिन्ट मिडिया पढ्ने, टीभी हेर्ने श्रोतामा ह्रास आइसकेको छ । लाइब्रेरी छिर्नेको संख्या घटेको छ । युट्युबरहरूको संख्या दिनानुदिन बढेको बढ्यै छ । साँच्चै अनुसन्धान, अध्ययनविना समाचार सम्प्रेषण गरी पत्रकारिताको धर्म नै बिर्सेको छ । हात हातमा मोबाइल फोनले गर्दा सञ्चार क्षेत्रले नयाँ मोड लिइसकेको छ । पत्रकारितामा पैसाले ठूलो भूमिका खेल्ने भएर पैसाको दुरूपयोग गरी आफ्नो पक्षमा लेखाउने, बोल्न लगाउने प्रवित्ति देखा परिसकेको छ । सामाजिक सञ्जाल, युट्युबर परिचालन गर्नेमा बालेनले ठूलो सफलता हासिल गरेको मान्नुपर्दछ । तर, गलत सूचनाले समाजलाई कतातिर लाने हो चिन्ताको विषय बनेको छ । भोलि बालेन आफैँ फन्दामा पर्न सक्छन् । साँचो कुरा ढिलै भए पनि साँचो नै हुन्छ । हुन त बालेनको आगमनले राजनीतिक क्षेत्रमा तहल्काचाहिँ मच्चिएको छ । जसले गर्दा ठूला नेता र राजनीतिक दललाई सोचनीय बनाएको हुनुपर्छ । असजिलो बनाएको हुनुपर्छ । स्वतन्त्र व्यक्तिले यसरी चुनौती दिनु पुराना दललगायत शीर्ष नेताहरू जसले लोकतन्त्र स्थापनाको लागि त्याग गरेकाले कसरी बुझ्ने ? दलीय व्यवस्थालाई नै चुनौती दिएको होइन र ?
हालै एक समारोहमा साथीभाइहरूसँग रमाइला कुरा गर्ने प्रसङ्गमा नेपालको समसामयिक विषयमा पनि चर्चा हुनु स्वाभाविक थियो । वर्तमान प्रधानमन्त्रीको चर्चा हुने नै भयो । जुन किसिमले प्रधानमन्त्रीले ‘कान्तिपुर कन्क्लेभ २०२४’मा प्रस्तुत गर्नुभयो धेरैले पचाउन नसकेको बुझियो । देशका ठूला मुद्दाहरू, संवेदनशील कुराहरू खासगरी हालै घटेको प्राकृतिक प्रकोकको व्यवस्थापन, छिमेकी देशसँगको सम्बन्धमा बोल्दा हुनुपर्ने गम्भीरता र कूटनीतिकतामा असफल भएको ठम्याइ रह्यो ।
रवि लामिछाने र बालेनको कुरा पनि सतहमा निस्कियो । उनीहरूको बुझाइमा पुराना राजनीतिक दल र नेताहरूले पटक–पटक मौका दिँदा पनि देशलाई अगाडि बनाउन नसकेको, नातावाद कृपावाद फस्टाएको, आपराधिक पृष्ठभूमिका एवं ठेकेदार राजनीतिमा हावी भएको र सुशासनको नाममा कुशासन मौलाएको, अधिकांश भ्रष्टाचारमा डुबेकोले अब मौका दिन नहुने व्याख्या गरे । कुराकै सिलसिलामा यी उल्लिखित व्यक्तिहरूमा बालेनले खासै काम गर्न नसकेको, स्टन्टबजी गरेको भए पनि र रविले सहकारीको दुरूपयोग गरे पनि यदि जेलबाट मुक्त हुनसके एक मौका दिनुपर्ने विचार व्यक्त गरे । कमजोर, गल्ती गरेको थाहा हुँदाहुँदै यसरी आफ्नो धारणा राख्नुको मतलव देशमा देखेका अस्तव्यस्त अवस्थाले निम्त्याएका निराशापन नै मान्नुपर्दछ । पुराना दल र नेताहरूले नबुझेका त पक्कै होइनन् होला तर सत्ता र शक्तिको अगाडि मानिस अन्धो हुन सक्छ । जनआवाज परिवर्तन चाहन्छ अब सम्बन्धितहरूले ढिलो नगरौँ ।
केही बालेनका युवा अनुयायी, अन्धभक्तहरूसँग पनि छलफल गर्ने मौका पाएको थिएँ । बालेनलाई नेपालको प्रधानमन्त्री बनाउनुपर्ने कुरा निस्कियो । लौ त बालेनलाई नै प्रधानमन्त्री बनाइदिऔँ अनि देशमा के गर्छ भने प्रश्न गर्दा यस्तो रोचक जवाफ आयो– ‘बालेनले कसैले गर्न नसकेको काम गर्छन्, यस्तो मानिस जन्मेकै छैन । उनको अफिसमा राखेको चुचे नक्सा त्यसै राखेको हो र ? त्यो अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउँछन् । केपी बासँग त नडराउने छिमेकको त्यो प्रधानमन्त्रीसँग किन डराउँथे ? टक्कर दिइहाल्छन् नि त्यसले उनलाई नै प्रधानमन्त्री बनाउनुपर्छ ।’ के टुकुचाको उत्खनन काठमाडौंबासीको प्राथमिकता हो ?, नयाँसडकको पेटी बढाउने काठमाडौंबासीको प्राथमिकता हो ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 1
ताजा अपडेट
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया