Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या

नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या


काठमाडौं । अहिले सन् २०२४ को नोभेम्बर महिनाको अन्तिम महिनाको पनि अन्तिम हप्ता चलिरहेको छ । नेपालको पर्यटकीय गन्तव्यहरूमा भई रहेको चिनियाँ पर्यटकको गतिविधि हेर्दा नोभेम्बर महिनामा पनि चिनियाँ पर्यटकको संख्या खासै उल्लेख्यरूपमा आउलान् जस्तो छैन । जबकि छोटो समय अर्थात् सन् २००६–००७ देखि नै नेपालमा चिनियाँ पर्यटक उल्लेख्य संख्यामा आउन थालिसकेका थिए भने छिट्टै नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको धेरै संख्यामा भारतीय पर्यटकपछि सधैँ चिनियाँ पर्यटक हुने गरेको थियो । यो क्रम सन् २०१९ सम्म नै जारी रहेको थियो । सो क्रममा सबैभन्दा धेरै चिनियाँ पर्यटकहरू सन् २०१९ मा आएका थिए । स्मरण रहोस्, सो वर्ष एक लाख ६९ हजार पाँच सय ४३ जना चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरे । तर सन् २०१९ को डिसेम्बर अन्तिमतिर विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ पछिको जुन चार वर्षको समय बित्यो, त्यसयताचाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात तेस्रो, चौथो, पाँचौँ, छैठौं स्थानमा झर्यो, झरिरहेको छ । जबकि सन् २०२४ (चालु वर्ष)मा एक सय २८ मिलियन चिनियाँ पर्यटकहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लने प्रक्षेपण गत वर्ष चाइनिज आउट बाउन्ड टुरिज्म (कोटरी) ले गरेको छ । त्यसरी सन् २०२४ (चालु वर्ष)मा विश्वका विभिन्न देश घुम्न निक्लिने ती एक सय २८ मिलियन चिनियाँ पर्यटकको दुई प्रतिशत मात्रै नेपालतर्फ आकर्षित गर्न सकेको भए…?

जे होस्, अबको एक वर्षसम्मपछि (सन् २०२५) चाहिँ हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको धेरै संख्यामा भारतीय पर्यटकपछि चिनियाँ पर्यटकहरू होलान्, पुग्लान् कि ? भनी आशा गर्न सकिन्छ । हुन पनि कोरोना महामारी सुरु भएपछि नेपालको पर्यटन क्षेत्रमा मात्रै नभएर विश्व पर्यटन बजारमै एक किसिमको सन्नाटा छाएको थियो । तापनि सन् २०२३ मा चाहिँ बल्ल सन् २०१९ को नजिक पुग्यो, विश्व पर्यटनको अवस्था । जे भए पनि चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि चिनियाँ पर्यटकहरू विश्वकै धेरै (संख्याका साथै धेरै खर्च गर्ने) पर्यटकका रूपमा दरिएका छन् । त्यही भएर पनि विश्वका विभिन्न देशले आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए, थालेका छन् । जस्तो कि यहाँ एक उदाहरण दिनु पर्दाखेरि पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नो देश घुम्न दिने गरेको छ । त्यसैगरी सन् २०२२ को अन्तिम ताका ट्रिप डटकमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बरमसम्म (जुन बेला कोरोना महामारी साम्य भएको भनी औपचारिकरूपमा घोषणा भएको थियो) दुई सय ५४ प्रतिशत चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि ‘एयर टिकट’ काटेको तथ्याङ्क रहेको थियो ।

त्यसैले यो पङ्क्तिकारको विचारमा चाहिँ हामीले आगामी दिनमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोबास गर्ने सहरहरू चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङ्झाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिनलगायत सरहमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै, अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, शाङघाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा हप्ताको दुई–तीन उडान गराउनका पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै कम्तिमा पनि २०–२२ देखि ३२–३४ उडान गर्नसके झनै राम्रो हुन्छ । तर त्यसअघि हामीले प्रचारप्रसारमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

त्यसो त सन् २००३ को सुरुदेखि मात्रै चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल आउन थालेका हुन् । त्यसो भए पनि सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । त्यस यता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो, गएको चार वर्ष (सन् २०२०, २०२१, २०२२ र २०२३ मा) बाहेक । त्यसैले गर्दा अबको केही वर्षपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको धेरै संख्या उत्तरको छिमेकी देशका नागरिकहरूलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ । जे होस्, सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अर्थात् तथ्याङ्क तल उल्लेख गरिएको छ ।

जनवरी महिनामाः एक हजार चार सय ३६ जना । फेब्रुअरी महिनामाः दुई हजार दुई सय ६६ जना । मार्च महिनामाः दुई हजार छ सय ३५ जना । अप्रिल महिनामाः चार हजार सात सय ७० जना । मे महिनामाः चार हजार छ सय ६७ जना । जुन महिनामाः चार तीन सय ४२ जना । जुलाई महिनामाः पाँच हजार पाँच सय ९३ जना । अगस्ट महिनामाः पाँच हजार २७ जना । सेप्टेम्बर महिनामाः आठ हजार एक सय ७४ जना । अक्टोबर महिनामाः छ हजार आठ सय ८० जना, नोभेम्बर महिनामा सात हजार छ सय एक जना । डिसेम्बरमा सात हजार तीन सय ७० जना । यसरी हेर्दा सन् २०२३ मा ६० हजार आठ सय ७८ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । हुन त पछिल्लो पटक आएको समाचारअनुसार जतिसक्दो धेरै चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गराउनका लागि सन् २०२५ मा चीनमा नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न भनेर ‘नेपाल पर्यटन वर्ष–२०२५’ मनाउने घोषणा गरिएको छ । निश्चय नै यस्तो कार्यले नेपालमा चिनियाँ पर्यटकहरूको आगमन दरमा बढोत्तरी हुने आशा गर्न सकिन्छ । तथापि पनि हामीले तत्कालै सोच्नुपर्ने एवम् कदम चालिहाल्नुपर्ने विषयचाहिँ नेपालको काठमाडौं, पोखरा र भैरहवाबाट माथि नै उल्लेख गरिएका चीनका ठूला–ठूला र घना जनसंख्या भएका विभिन्न सहरहरूमा हवाई उडान जतिसक्दो छिटो गर्ने कुरोलाई नै ‘फोकस’ गर्नु देखिन्छ, प्राथमिकता दिनुपर्ने देखिन्छ । त्यसो गर्न सकेदेखि नेपाल भ्रमणमा आउने उत्तरी छिमेकी देशका नागरिकहरू अर्थात् चिनियाँ पर्यटकको संख्या ठूलो पैमानामा बढ्न सक्ने आशा गर्न सकिन्छ । भलै यो बीचको समयमा अनेक कारणहरूले गर्दाखेरि हामीले सोचे जसरी र भने जसरी चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएनन्, आउन सकेनन् । तर पनि हामीले चीनका आगामी दिनमा अहिलेको भन्दा चार, पाँच गुण बढीले चिनियाँ पर्यटकको नेपाल आगमन हुने आशा गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x