सेयरबजार किन यसरी उपेक्षित भइरहन्छ ?
काठमाडौं । नेपालको सेयरबजारको इतिहास त्यति लामो देखिँदैन । सुरुआतदेखि नै यसलाई उपेक्षा गरिएको हुनाले यस क्षेत्रका धेरै कमीकमजोरीलाई अँगाल्दै आएको अहिलेको अवस्था हो । आवश्यक पूर्वाधार निर्माणविना नै सेयरबजारसम्बन्धी कार्यक्रम ल्याइएको हुनाले यसले जुन गति लिनुपर्ने थियो त्यो अहिलेसम्म पनि लिन सकिरहेको देखिँदैन । सुरुको अवस्था यस्तो देखिन्थ्यो कि बिक्रीकर्ता र खरिदकर्ताको समझदारीमा ब्रोकर कहाँ गएर आफूखुसी मूल्य निर्धारण गरेर कारोबार गर्न सकिन्थ्यो । सेयरबजारले वैधानिकता पाए पनि आर्थिक कारोबारलाई भने व्यवस्थित गर्न नसकिएको अवस्था थियो । बजारमा कुनै सामान किन्दा कुनै न कुनैरूपमा केही प्रतिस्पर्धा हुन सक्थ्यो । तर सेयरबजार जस्तो संवेदनशील क्षेत्रमा भने कुनै कम्पनीको सेयर कारोबार गर्नुपर्दा मन मिलेका दुई व्यक्तिको उपस्थितिमा सजिलैसँग काम सम्पन्न हुन्थ्यो । कति सहज थियो अहिलेको तुलनामा त्यो अवस्थाको सेयर कारोबार ।
सेयरबजारको पूर्वइतिहास कोट्याउनुको मुख्य आशय भनेको सुरुआती अवस्थादेखि नै उपेक्षित गरिएको थियो भन्नु नै हो । पहिलेदेखि नै राम्रो व्यवस्थापन गरी सञ्चालनमा ल्याइएकोे भए अहिले सेयरबजार निकै परिपक्व भइसक्ने थियो । नगरेको हुनाले नै अहिले पनि उपेक्षित गरिएको अवस्था छ ।
सेयरबजारलाई प्रभावकारी बनाउने कार्य मूलतः सरकारको हो । अस्थिर र कमजोर सरकार भएपछि सेयरबजारको भूमिका पनि गौण हुने गर्छ । अस्थिर सरकारको दीर्घकालीन सोच हुँदैन । आर्थिक नीतिमा केही परिवर्तन ल्याए पनि जनताको विश्वास हुँदो रहेनछ । नीति ल्याइहाले पनि त्यसको यदि प्रभावकारीरूपले कार्यान्वयन गरिँदैन भने नीतिको के अर्थ हुन्छ र ? नीतिमा सर्वश्रेष्ठ राजनीति भए पनि राजनीति नै अस्थिर भएपछि अन्य नीतिहरू पनि धराशायी हुने भई नै हाले । अहिले सेयरबजारसम्बन्धी नीतिको अवस्था यही नै भएको देखिन्छ ।
जनताको संरक्षक भनेको सरकार हो । सरकारभित्र रहेका जिम्मेवार पात्रहरूको अभिव्यक्ति तथा उनीहरूले ल्याउने नीति उत्तिकै संवेदनशील हुन्छन् । सेयरबजार संवेदनशील क्षेत्र भएको कारणले गर्दा उनीहरूले दिएका अभिव्यक्तिहरूको आधारमा लगानीकर्ताहरूले आफ्ना धारणा निर्माण गरेका हुन्छन् र तदनुरूप लगानी समेत गरेका हुन्छन् । जहिले पनि नयाँ–नयाँ सरकार आउने र सेयरबजारसम्बन्धी सुधारका प्रयाससम्म नगरिँदा सेयरबजारले गतिलिन नसकिरहेको अहिलेको अवस्था हो ।
सेयरबजारबारे जिम्मेवार व्यक्तिबाटै समयसमयमा गलत अभिव्यक्ति दिएको कारणबाट बजार प्रभावित हुने गरेको छ । सेयरबजार सुधार गर्नुपर्ने जिम्मेवार व्यक्तिबाटै गलत विचार प्रवाह गरिँदा सेयरबजार नराम्रोसँग तलमाथि हुने गरेको देखिन्छ । अधिकांश जनता सेयरबजारसँग जानकार नभएको अवस्थामा जिम्मेवार व्यक्तिको अभिव्यक्तिले सेयरबजारमा हलचल ल्याउनु स्वाभाविक नै हुन्छ । विश्व सेयरबजारको अध्ययन गर्दा पनि जिम्मेवार सरकारी पदाधिकारीको अभिव्यक्तिबाट बजार उथलपुथल भएका उदाहरण देखिएका छन् ।
सरकारले सेयरबजारलाई तल्लो कोटीमा राखेको हुनाले नै धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति लामो समयसम्म हुन सकेन र आज मात्र नियुक्ति भएको छ । नियुक्ति नभएको कारणले गर्दा यससम्बन्धी धेरै कामहरू सम्पन्न हुन सकेनन् र थाँती भए । परिणामस्वरूप कतिपय कम्पनीहरूले आईपीओ, एफपीओ, राइट सेयर निस्काशन गर्न सकेनन् । यसरी विभिन्न कारणले गर्दा सेयरबजार प्रभावकारी हुन नसकेको अहिलेको अवस्था हो ।
बारम्बार विभिन्न पक्षहरूबाट सेयरसम्बन्धी क्रियाकलापलाई उपेक्षा गरिए पनि त्यस्ता अभिव्यक्ति तथा व्यवहार क्षणिक हुन् र स्थायी हुँदैनन् । त्यसकारण कुनै पनि विवेकशील लगानीकर्ताले यस्ता अभिव्यक्तिमा विश्वास गर्नुभन्दा कम्पनीको यथार्थ अवस्था, देशको अर्थतन्त्र र सेयरबजारसम्बन्धी भइरहेको वातावरणको आधारमा लगानी गर्नु उपयुक्त हुनेछ । त्यसकारण जसलेजस्तो अभिव्यक्ति दिए पनि बुद्धि र विवेक पुर्याउने भनेको व्यक्ति आफैँले हो । कतिपय अवस्थामा लगानीकर्ताको मनोविज्ञान र व्यवहार तथा अनुभवले पनि काम गरेको हुन्छ ।
अहिले सेयरबजारको दायरा एकदम विस्तार भएको देखिन्छ । डिम्याट खाता नै ६२ लाखको हाराहरीमा पुगेको छ । कुनै पनि व्यक्ति देशको कुनै पनि भागमा गएर सेयरसम्बन्धी कारोबार गर्न सक्छ । भुइँमा बसेर मकै पोलेर जीविका चलाउने र जुत्तामा पोलिस लगाएर बिहान बेलुकीको समस्या समाधान गर्नेहरूले पनि पेट काटेर बचत गरेको रकम सेयरमा लगानी गरेका छन् । उनीहरूले अनियमित काम त गरेका होइनन् । सरकारबाट स्वीकृत प्राप्त निकायहरूले सञ्चालन गरेका क्रियाकलापमा सहभागिता भएका मात्र हुन् । अनि सेयरबजारमा कुनै अभिष्ट घटना आएमा वा सम्भावना भएमा नियामक निकायहरूले अग्रसरता लिएर जनतालाई सूसुचित गराउने र सुधारका कार्यक्रम ल्याउनुपर्ने होइन र ? निश्चय नै हो । सरकार सुधारका कार्यक्रम ल्याउनुको सट्टा मूकदर्शक भइदिँदा सेयरबजार बढी उपेक्षित हुन गएको देखिन्छ । अहिलेको अवस्थामा सेयरबजारप्रति सरकार र नियामक निकायहरूको ध्यान पुग्न सकेको छैन । संक्षेपमा भन्नुपर्दा सेयरबजार उपेक्षित भएकै अवस्था देखिन्छ ।
अहिले भने सेयरबजार अलिक भिन्न अवस्थामा देखिन्छ । सेयरबजारमा हलचल आउने गरी अभिव्यक्ति आएका छैनन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूले नियमन गरेको अवस्था छ । नयाँ अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिको कारणबाट अहिले बजारले गतिलिएको हुनाले भविष्यमा सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
सेयरबजारलाई केवल नाङ्गो आँखाले मात्र हेर्नुहुँदैन । यो निकै संवेदनशील क्षेत्र भएको हुनाले यसका आधारभूत कुरामा पनि ध्यान दिनुपर्छ । झट्ट हेर्दा सेयरबजार केही होइनजस्तो लाग्छ तर गहिरिएर अध्ययन गर्ने हो भने सेयरबजारमा धेरै मानिस, धेरै पुँजी, विस्तारित सञ्जाल, देशको अर्थतन्त्रको ऐना, मौद्रिक निकायको प्रमुख संगठन, अर्थतन्त्रको केन्द्रीय संगठनजस्ता महत्वपूर्ण निकाय र अन्य सरोकार संगठनहरूको कुनै न कुनैरूपमा संलग्नता भएको हुँदा सेयरबजारको भूमिका महत्वपूर्ण रहेको छ । त्यसकारण नेपालको अबको सेयरबजार उपेक्षित हुने अवस्था देखिँदैन ।
सेयरबजार निकै सेन्सिटिभ हुने गर्छ । अन्तर्राष्ट्रिय बजारको कुनै एक ठाउँमा केही परिवर्तन हुना साथ त्यसको असर र तरंग अन्य ठाउँमा पनि पर्ने हुन्छ । अहिले नेपालमा पनि यस्तै हुने गरेको छ । सानातिना घटनाहरूले पनि सेयरबजारमा प्रभावित हुने गरेको छ । यो स्वाभाविक पनि हो । किनभने अर्थतन्त्रमा केही परिवर्तन वा बजारमा आएको सुधारले पनि सेयरबजारलाई सकारात्मक दिशातर्फ लगेको हुन्छ । मूल्य तलमाथि हुनु भनेको सेयरबजारको स्वभाव हो । यसरी चलायमान हुँदै गर्दा यसले स्थिरता प्राप्त गरेको हुन्छ ।
सरकारले जहिले पनि सेयरबजारलाई राष्ट्रिय हित अनुकूल हुनेगरी सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । यो बजार यस्तो संवेदनशील बजार हो जहाँ उद्योगी, व्यवसायी, व्यापारी, पुँजीपति र सर्वसाधारणको ठूलो लगानी भएको हुन्छ । कल्पना गरौँ कुनै दिन यो बजारमा संकट आयो भने यसमा सहभागिता हुनेहरूको आर्थिक अवस्था कस्तो होला ? अर्को विचारणीय कुरा के छ भने नेपालजस्ता अल्पविकसित देशहरूमा सेयरबजारमा आएको विचलनले अन्तर्राष्ट्रिय जगतले पनि ऋण तथा अनुदान उपलब्ध गराउन हिच्किचावट गर्ने अवस्था आउन सक्छ । उनीहरूले सहयोग उपलब्ध गराउने माध्यममध्ये त्यो देशको सेयरबजारको स्थितिलाई आधार लिएका हुन्छन् । किनभने सेयरबजारले त्यस देशको आर्थिक अवस्थाको चित्रण गरेको हुन्छ ।
वैदेशिक लगानीलाई पनि सेयरबजारले सहयोग गरेको हुन्छ । लगानीको लागि उपयुक्त वातावरण छ÷छैन भन्ने कुरा निर्धारण गर्न पनि सेयरबजारलाई आधार मान्न सकिन्छ । यसलाई अर्थतन्त्रको एउटा बलियो उपकरणको रूपमा लिइएको हुन्छ । कुनै पनि कम्पनीको आर्थिक अवस्थामा सुधार ल्याउन, पुँजी संकलन गर्न र बृहत्रूपमा व्यवसाय तथा संंगठन विस्तार गर्न पनि सेयरबजारकै सहयोग लिनुपर्ने हुन आउँछ ।
अहिलेको मुख्य विषय भनेको जिम्मेवार पदाधिकारीले सेयरबजारबारे जथाभावी अभिव्यक्ति दिनुभन्दा सेयरबजारमा देखिएका कमीकमजोरी बारेमा सकारात्मक अभिव्यक्ति दिएर सुधारको मार्ग अवलम्बन गर्नु आवश्यक छ । त्यसकारण बजारलाई प्रभावकारी बनाउन वित्त नीति तथा मौद्रिक नीतिको माध्यमद्वारा सरकारले आवश्यक नीतिगत कार्यक्रम ल्याउनुपर्छ । सेयरबजारको महत्व देख्दादेख्दै पनि यसलाई उपेक्षा गर्ने हो भने देशको अर्थतन्त्रमा नै धक्का लाग्न सक्नेछ । अतः यसतर्फ सम्बन्धित निकाय तथा सरोकारहरूले सुधारको लागि पहल गर्नुपर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया