चुनौतीमा सामाजिक सुरक्षा योजनाको प्रभावकारिता
बाबुकाजी कार्की
कोरोना कहरको चपेटामा परेका श्रमिकको रोजीरोटी संकटमा परेको छ । यस्तै विपत्तिलाई टार्न भनेर स्थापना गरिएको सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको प्रभावकारिता टिठलाग्दो देखियो । सरकारले निकै तामझामसाथ सार्वजनिक गरेको बहुचर्चित सामाजिक सुरक्षा योजना बेवारिसे बन्दै गएको छनक देखिन्छ । कार्यक्रम घोषणामा अग्रपंक्तिमा रहेर सहयोग गर्ने प्रतिबद्धता जनाउने ठूला उद्योगी व्यवसायी नै अहिले कार्यान्वयनमा विभिन्न बहना देखाएर पछि हटेको पाइन्छ ।
सरकारको अनुगमन र कारबाहीको फितलो व्यवस्थापनको कारण सामाजिक सुरक्षा योजना सकसमा परेको छ । मजदुरहरुको आशा र भरोसामा तुसारोपात हुनु सरकारको लोकप्रियताको लागि शुभसंकेत होइन । नेपालको श्रम क्षेत्रको मौजुदा जल्दोबल्दो समस्या भनेको बेरोजगारीका कारण उचित श्रमको खोजीमा विदेश पलायन हुनु हो । नेपालभित्रै श्रममा बाँचेका श्रमिकहरुको भविष्य सुनिश्चित नहुनाका कारणबाट बेलाबखतमा श्रमिक आन्दोलनको सामना सरकार र सरोकार पक्षले व्यहोर्नु सामान्य हुँदै गएको परिवेश थियो । समाजमा रहेका हरेक नागरिकले सहज बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो ।
नेपालजस्तो विकासोन्मुख देशले सबैखाले जनताको न्यूनतम आधारभूत सुविधाहरु पूरा गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । विगत लामो समयदेखि आन्तरिक द्वन्द्व र राजनीतिक संक्रमणकाल व्यहोरेको नेपालमा सरकारको तर्फबाट मात्र सामाजिक सुरक्षाका योजनाहरु ल्याउनु कठिन कार्य हो । सामाजिक सुरक्षाको दिगो व्यवस्थापनका लागि योगदानमा आधारित पेन्सन उपदानलगायतका सुविधा व्यवस्था विकल्पको रुपमा आएको हो ।
यस योजनाबाट रोजगारदाता, श्रमिक र सरकारबीच पारदर्शी कानुनी सम्बन्ध हुने भएकोले उत्पादन वृद्धि, श्रमको दिगो व्यवस्थापन, सामाजिक न्याय, श्रमप्रति सम्मानभाव, श्रमिकको भविष्यको सुनिश्चितताले रोजगार संस्थाप्रति अपनत्वभाव वृद्धिले व्यवसाय फस्टाउने वास्तविकतामा दुईमत हुन सक्दैन ।
नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हक र अधिकारको सुनिश्चितता गरेको छ । मौजुदा संविधानमा उल्लिखित मौलिकहरुमध्ये समानताको हकले समान कामको लागि लैंगिक आधारमा कुनै भेदभाव नगरी पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता गरेको छ । संधिानको धारा ३३ ले रोजगारीको हकको साथसाथै बेरोजगारहरुलाई संघीय कानुनअनुसार निर्वाहभत्ताको व्यवस्थालाई संकेत गरेको छ ।
त्यस्तै धारा ३४को श्रमको हकअन्तर्गत बौद्धिक र शारीरिक श्रमिकहरुको उचित परिभाषा र प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने स्पष्ट प्रावधान राखेको छ । सामाजिक सुरक्षा ऐन २०७४ मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुघर्टना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायतालगायतका लोक कल्याणकारी योजना सञ्चालन गर्ने व्यवस्था छ । घोषित सामाजिक सुरक्षाको कार्यान्वयनको पूर्ण र स्पष्ट खाका सार्वजनिक नभइराखेको अवस्थामा योजनाको सफलतामा चुनौती देख्नेहरुको संख्या पनि कमी छैन ।
नेपाल नयाँ युगमा प्रवेश गरेको मूल नारा बनाएर तामझामसाथ घोषणा गरेको योजनालाई सफल बनाउन रोजगारदाता, श्रमिक र सरकारको त्रिकोणात्मक सहज र सुमधुर सम्बन्धको अपरिहार्यता पहिलो शर्त हो । संगठित तथा औपचारिक अनौपचारिक सबै क्षेत्रका बौद्धिक र शारीरिक क्षेत्रमा कार्यरत करिब ३५ लाख श्रमिकलाई समेटिने भनिएको यस योजनाको सफल कार्यान्वयनका लागि अझ धेरै बुद्धि र विवेक खर्चिनुपर्ने देखिन्छ ।
आगामी पाँच वर्षभित्र सम्भवतः देशकै सबैभन्दा ठूलो कोषको आकार लिने अपेक्षा गरिएको यस योजनाबाट समाजमा रहेका अशक्त, असहाय र अपांगता भएका नागरिकहरुले लोककल्याणकारी राज्यको अनुभूति गर्न पाउने अपेक्षा गरिएको छ । कोषमा जम्मा भएको रकम देशका ठूलाठूला निर्माण योजनामा लगानी गर्न सकिने कारणबाट पनि कोष वृद्धिमा टेवा पुग्ने आंकलन गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नौलो र अहिलेसम्मकै बृहत् भएकोले कार्यान्वयनमा चुनौतीपूर्ण भएता पनि असम्भवचाहिँ होइन ।
सरकारले प्रत्येक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गर्दै जनजीविकासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु समेटी महत्वाकांक्षी सामाजिक सुरक्षा सयोजना सार्वजनिक गरेको थियो । सार्वजनिक भएको सामाजिक सुरक्षा योजनाको पक्ष र विपक्षमा चर्चा चुलिएको अवस्था छ । विगतमा भएका कतिपय योजनाहरु कागजमै सीमित भएको तीतो अनुभव व्यहोरेका नेपालीले यो महत्वाकांक्षी योजनाको कार्यान्वयनमा शंका गर्नुलाई अस्वाभाविक मान्न सकिन्न ।
सामाजिक सुरक्षाको योजना एक्कासि सार्वजनिक भएजस्तो लागे पनि यसको तयारीको पृष्ठमूमिमा संविधान, श्रम ऐन, नियम, चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा समावेश भएका प्रावधानहरुका साथै विभिन्न अध्ययन र अभ्यासको भूमिका रहेको देखिन्छ । यस आर्थिक वर्षको बजेट वक्तव्यमा सामाजिक सुरक्षा भन्ने छुट्टै शीर्षकअन्तर्गत सबै नागरिक राज्यबाट सुरक्षित भएको अनुभूति हुने गरी छरिएर रहेको विद्यमान सामाजिक सुरक्षाका कार्यक्रमहरु एकीकृत तवरले सञ्चालन गर्दै यसको दायरा फराकिलो बनाउन एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख छ । असंगठित क्षेत्रका किसान, श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरुलाई समेत क्रमशः सामाजिक सुरक्षाको दायरामा समाहित गरिने लक्ष्य लिएको देखिन्छ ।
पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकलाई सूचीकृत गरी स्वास्थ्य दुर्घटना, अशक्ततता, परिवार सुरक्षा र निवृत्तिभरणलगायतका सुविधा उपलब्ध हुनेछ । सामाजिक कोषमा छ महिना योगदान गरे औषधि उपचार तथा स्वास्थ्य सुविधा पाउने, मातृत्व सुरक्षाबापत सुविधाको लागि १२ महिना योगदान गरे मात्र पाइने, औषधिको बिलबमोजिम खर्च, नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्म शिशुको उपचार खर्च समेत पाइने, दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले जीवित रहेसम्म निवृत्तिभरण पाउने, योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउने, तर एकभन्दा बढी सन्तान भएमा ६० प्रतिशत रकम दामासाहीले प्रदान गरिने साथै निरन्तर अध्ययनरत रहेमा २१ वर्षको उमेरसम्म सहयोग प्रदान गर्न सकिने, निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना वा १५ वर्ष योगदान गरेको हुनुपर्छ, कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ, यस्तो रकम कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षाको लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षाको लागि ०.२७ प्रतिशत र वृद्ध अवस्था सुरक्षाको लागि २८.३३ प्रतिशत बाँडफाँट गरिएको छ ।
योजनामा सहभागी हुने योगदानकर्ताले २०७४ भदौ १९ गतेभन्दा अगाडिको उपदानबापत श्रम नियमावली २०७५ बमोजिम प्राप्त गर्ने रकम रोजगारदाताबाट भुक्तानी लिई सोभन्दा पछाडिको उपदान रकम मात्र यस योजनाको लागि पठाउनुपर्ने, योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको र रोजगारदाताको तर्फबाट योगदान गरेको र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५वर्ष) ले भाग गर्दा आउने रकम निवृत्तिभरणको रुपमा प्रत्येक महिना निजको जीवनकालभर उपलब्ध गराइने व्यवस्था उल्लेख छ । योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा नियमाजुसार निजको हकवालाले एकमुष्ठ प्राप्त गर्नेछन् ।
कतिपय जेनतेन चलेका साना तथा मझौला कमजोर आर्थिक हैसियत भएका उद्योग र सरकारलाई गुमराहमा राखेर अपारदर्शी रुपबाट अकूत सम्पत्ति जोड्न सफल केही ठूला उद्योगहरुको साथ सहयोग कत्तिको प्राप्त होला भविष्यले बताउने नै छ । विदेशी सस्ता र दक्ष कामदारबाट सञ्चालित उद्योगमा नेपाली अदक्ष कामदारको रोजगारीमा पहुँच हुने कुरामा शंका नै छ । त्यस्तै ट्रेड युनियनको अस्वाभाविक हस्तक्षेपले उद्योगहरुमा मौलाएको बेथिति निरुत्साहित गर्न सरकार र राजनीतिक दलले खेल्ने जवाफदेही भूमिकामा भर पर्दछ ।
सामाजिक सुरक्षा योजनालाई ऐतिहासिक उपलब्धि बनाउन यसको व्यवस्थापनमा पारदर्शिता, प्रविधिमैत्री, उच्च आर्थिक अनुशासन, भविष्यदर्शी एवं कुशल तथा जवाफदेही दृढ इच्छाशक्ति भएको निःस्वार्थी नेतृत्व, सरोकार पक्षसँग समन्वय, सहकार्य र सहभागितामूलक निर्णय प्रक्रियाको संस्कृतिको अवलम्बनले अहम् भूमिका खेल्नेछ । योजनाबारे सरोकार र विज्ञहरुसँग व्यापक छलफल, अन्तर्क्रिया, अन्य देशको अनुभव, देशभित्रका यस्ता प्रकृतिका कोष सञ्चालनका सकारात्मक र नकारात्मक पक्षको विश्लेषणका आधारमा कोष सञ्चालनसम्बन्धी भावी नीति, रणनीति, कार्यक्रम र कार्ययोजना बनाएर अघि बढेमा यो योजना सामाजिक आर्थिक रुपान्तरण गर्दै समृद्ध नेपाल सुखी नेपाली नाराको सफलतामा कोशेढुंगा साबित हुनसक्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया