Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिका लागि जडीबुटी खेतीको प्रवर्द्धन

आर्थिक समृद्धिका लागि जडीबुटी खेतीको प्रवर्द्धन


के.बी. बस्नेत
नेपालको आर्थिक विकासका लागि जडीबुटीलाई सदैब पाँचौँ स्थानमा राखिन्छ । तर यसको विकासका लागि आजसम्म पनि उपयुक्त योजना तथा कार्यक्रमहरू बनाइएका छैनन् । हालसम्म पनि नेपालमा विद्यमान औषधिजन्य जडीबुटीको संख्या विवादस्पद नै छ । वनस्पति विभागका अनुसार यहाँ करिब दुई सय प्रजातिका जडीबुटीहरू व्यावसायिक रूपमा औषधिका लागि प्रयोग गर्न सकिने कुरा अवगत भए पनि उक्त संख्याभन्दा धेरै गुणाबढी जडीबुटी यहाँ पाइने कुरामा आयुर्वेदिकका ज्ञाताहरू विश्वस्त छन् । उनीहरूका अनुसार विभिन्न पारिस्थितिक प्रणालीबाट जैविक विविधताको कारण विश्वमै नपाइने जाडीबुटीहरू यहाँ प्रचुर मात्रामा पाइन्छन् ।

हालसालै भारतको पताञ्जली योगपीठ देहरादुनमा विश्वकै विशाल जडीबुटी नर्सरी बनाइएको छ जसमा रोपिएका जडीबुटीहरूमध्ये धरैजसो नेपालबाट लगिएका छन् । परन्तु यहाँ रहेका जडीबुटीहरूको सदुपयोग गर्न सकिएको छैन । वस्तुतः जडीबुटीको उत्पादन, उपभोग, प्रशोधन र निर्यातसम्वन्धी प्रस्ट नीति नभएका कारण हालसम्म पनि यहाँका जडीबुटी थरै मूल्यमा निर्यात गरिन्छ । वर्तमान समयमा पनि यहाँको जडीबुटीको मुख्य बजार भारत हो जसले बारम्बार लगाउने गैरभन्सारजन्य अवरोधको कारण समस्या झेल्नुपरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्र यहाँबाट अन्य देशमा एक अर्ब ४३ करोड ४८ लाख रुपैयाँको जडीबुटी रु. ४० करोण ८० लाख रुपैयाँको सुगन्धित तेलको निर्यात गरिएको थियो । उक्त केन्द्रले यहाँको जडीबुटी निर्यात २७ प्रतिशतले बढाएको देखाए पनि यो सम्भाव्यता निर्यातको ५० प्रतिशत पनि छैन । गत वर्ष भारतले लगाएको एकीकृत कर प्रणालीको कारण नेपालबाट जडीबुटीको निर्यात गरिएको थियो । दुःखको कुरा त के छ भने हालसम्म पनि यहाँको जडीबुटीहरू कौडीको मूल्यमा भारत लगायत अन्य देशहरूमा निर्यात गरिन्छ भने उक्त जडीबुटीहरूबाट बनेका औषधि बढी मूल्यमा खरिद गर्नुपरेको छ ।

यथार्थतः यहाँ आयुर्वेदिक औषधिको ठूलो बजार छ । परन्तु विडम्बना त के छ भने यहाँ स्थापित आयुर्वेदिक औषधि उत्पादन गर्ने र प्रशोधन गर्ने स्वदेशी उध्योगहरू धमाधम बन्द भइरहेका छन् । सिंहदरवार वैध्यखाना र जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडजस्ता सरकारी संस्थाहरू मात्र होइन निजी क्षेत्रका जडीबुटीजन्य उद्योगहरू पनि संकटमा छन् । यस्ता स्वदेशी कच्चा पदार्थमा आधारित र मुलुकका हितमा उपयोग गर्न सकिने उद्योगहरू सञ्चालनका लागि स्वस्थ वातावरण बनाउन वर्तमान सरकारले यथाशीघ्र उपयुक्त नीतिगत, कानुनी र वित्तीय व्यवस्था बनाउन जरुरी छ ।

जडीबुटी उत्पादक तथा व्यवसायी संघका अनुसार ७ वर्षअघि जडीबुटीजन्य उद्योगहरूमा निजी क्षेत्रको ७ अर्ब लगानी थियो । हाल सोही क्षेत्रको लगानी ५ अर्बमा सीमित छ । लगानीमैत्री वातावरण नहुनु तथा प्रतिफलको सुनिश्चता नहुनु नै यसको मुख्य कारण हो । योबाहेक स्वदेशी उत्पादन घट्ने, श्रमिकहरूको अभाव हुनु, बीमा सुविधा नहुनु, अनुदानको व्यवस्था नहुनु आदि समस्याहरूले नि जडीबुटी उद्योगहरूमा निजी क्षेत्रको आकर्षण घटेको छ । वास्तवमा जडीबुटीजन्य उद्योगहरूको संरक्षण तथा प्रवर्द्धनबाट यहाँको आर्थिक विकास मात्र नभई सर्वसाधारणलाई रोजगारीका अवसर पनि प्राप्त हुनेछ । यसैले हालसाल वन तथा वातावरण मन्त्रालयले जडीबुटी खेती तथा उद्योगमा निजी क्षेत्रको लगानीलाई विशेष जोड दिने भएको छ ।

नेपाल हर्ब्स एण्ड हर्वल उद्योग संघका अनुसार वर्तमान समयमा सरकारका नीति तथा कार्यक्रमहरू उपयुक्त नभएकाले जडीबुटीजन्य उद्योगहरूको लगानी विस्तारमा निजी क्षेत्रको आकर्षण घटेको छ । यसै गरी निर्यातसम्बन्धी उपयुक्त नीति तथा कार्यक्रमहरू नहुँदा जडीबुटीजन्य वस्तुहरूको निर्यात घटेको छ ।

वनस्पति विभागका अनुसार जडीबुटी विस्तारको सम्भावना ७७ वटा जिल्लामा भएकाले आगामी दिनहरूमा उपयुक्त कार्यक्रम तथा कार्ययोजना बनाएर काम सुरु गरिनेछ । उक्त विभागका अनुसार जडीबुटी उत्पादन बढाउन अघिल्लो वर्ष कर्णाली प्रदेशका १० जिल्लाहरूलाई जडीबुटी क्षेत्र घोषण गरेर बजेट छुट्याएको थियो भने बिरुवा उत्पादन गर्न र कृषक समूह तथा सहकारीहरूलाई अनुदान दिने काम पनि भएको थियो । सोही विभागका अनुसार भविष्यमा जडीबुटी खेतीको लागि व्यावसायीकरणका कार्यक्रम पनि लागु गरिनेछ । यसबाट जडीबुटीजन्य उद्योगहरूको पवर्द्धनमा टेवा पुगी यहाँको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

प्रत्येक नागरिकलाई सकारको तर्फबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने हक वर्तमान संविधानले सुनिश्चित गरेको छ । यहाँ प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक भएकाले जडीबुटीजन्य औषधिहरूको धेरै महत्व छ । तर खेदको कुरा त के छ भने जडीबुटी प्रशोधन केन्द्रहरूको अभावमा यहाँ उत्पादित जडीबुटीहरू थोरै मूल्यमा निर्यात गर्नुपरेको छ । यति मात्र होइन, नेपाली व्यपारीहरूले क्वारेन्टाइन जाँचका लागि पनि समस्या झेल्दै गोदाममा थन्काउनु परेको छ । देशको मौलिक चिकित्सा पद्धतिको रूपमा आयुर्वेदको विकासमा जोडदिने सरकारको नीति छ । योबाहेक एकतर्फ जडीबुटीको समुचित प्रयोग गर्ने भनिएको छ भने अर्कोतर्फ आन्तरिक उत्पादनलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्दै गुणस्तरीय औषधिको सहज तथा प्रभावकारी आपूर्ति गर्ने नीति छ । तर यी कुराहरू हालसम्म पनि व्यवहारमा परिणत गर्न सकिएको छैन ।

धरैजसो ग्रामबासीहरू परम्परागत घरेलु उपचारमा विश्वास गर्दछन् । यस्तो औषधि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दैन भन्ने उनीहरूको विश्वास छ । यस्तो औषधि कम खर्चिलो र प्रभावशाली हुन्छ भन्ने कुरामा पनि उनीहरू विश्वस्त छन् । ग्रामीण क्षेत्रका वनजङ्गलमा जडीबुटीहरूको प्रचूर उपलब्धता तथा तिनको औषधिजन्य उपयोगसम्बन्धी ज्ञान भएको कारण ग्रामबासीहरू विभिन्न जडीबुटीहरूलाई विभिन्न रोगहरूको उपचारका लागि प्रयोग गर्दछन् । त्यसैले उनीहरूका लागि स्थानीय जडीबुटीहरूको धेरै महल छ ।

धरैजसो ग्रामीण क्षेत्रहरूमा पशु चिकित्सालय एवं औषधि पसलहरूको सुलभ उपलब्धता नहुनाको पशुपन्छीहरूको उपचार सुलभरूपमा गर्न सकिँदैन । ग्रामीण कृषकहरूलाई स्थानीय जडीबुटीहरूको प्रयोगसम्बन्धी केही ज्ञान भए पनि उनीहरूले आफ्ना पशुपन्छीहरूको उपचारका लागि यथाचित किसिमबाट प्रयोग गर्न सकेका छैनन् । यदि उनीहरूलाई जडीबुटीहरूको प्रयोगसम्बन्धि तालिम दिन सकेमा भविष्यमा उनीहरू आफ्ना पशुपन्छीहरूको आफैँ उपचार गर्न सक्षम हुने छन् र पशुपन्छी पालनबाट बढी लाभान्वित हुनेछन् । केही वर्षयता जडीबुटीहरूको परम्परागत ज्ञान लोप हुने अवस्थामा छ । यस्तो ज्ञानलाई बचाइराख्न यस सम्वन्धमा नयाँ पुस्तालाई तालिम दिन आवश्यक छ । यीबाहेक परम्परागत तथा आधुनिक पशु चिकित्सा पद्धतिलाई व्यहारमा उतार्न पनि आवश्यक छ ।

पछिल्लो एक दशकको अवधिमा यहाँको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशतमा सीमित भए पनि वर्तमान सरकार भने दोहोरो अंकको आर्थिक वृद्धि गर्ने अभियानमा जुटेको छ जसका लागि जडीबुटी उद्योगले महत्वपूर्ण भूमिका खेल्न सम्छ । हालसालै व्यापारघाटा केही कम भए पनि विगत एक दशकको अवधिमा यहाँको व्यापारघाटा तीन सय प्रतिशतले बढेको कुरा सर्वविदितै छ । वास्तवमा निर्यातजन्य उद्योगहरू बन्द हुदै जानु र स्वदेशी उत्पादन बढाउन नसक्दा यहाँको व्यापारघाटा बढेको छ । व्यापारघाटा कम गर्न जडीबुटीजन्य औषधिहरूको उत्पादनले ठूलो योगदान पु-याउन सक्छ ।

वास्तवमा यहाँ जडीबुटीजन्य औषधिहरूको उत्पादनका लागि निजी कम्पनीहरूले निकै चासो देखाएका छन् । त्यसैले यिनीहरूलाई सरकारले सहुलियत, संरक्षण र जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्न सहज वातावरण सिर्जना गर्न जरुरी छ । योबाहेक उक्त कम्पनीहरूले गरेको लगानीलाई नियमन एवं व्यवस्थापन गरी सेवामूलक बनाउन पनि आवश्यक छ ।

आज खोप र औषधि नभएको कारण विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चिन्ताको विषय भएको छ । विश्वका चिकित्सकहरूले मानव शरीरका रोग प्रतिरोधात्मक शक्ति बढाउनु नै अहिलेको सावधानी बताएका छन् । तर आयुर्वेद चिकित्सकहरू भने स्थानीय जडीबुटीको प्रयोगले कोरोनाको साथै अन्य भाइरससँग लड्न सक्ने शक्ति बढाउने दाबी गर्दछन् ।

वस्तुतः पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीको घरमा विभिन्न किसिमका जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन । त्यसैले यहाँको गाउँघरमा पाइने जडीबुटीको प्रयोगमा चेतना जगाउन आवश्यक छ । यहाँ सहजै पाइने तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसारलगायत स्थानीयरूपमा पाइने विभिन्न जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ । यदि यी कच्चा पदार्थ सहजै उपलब्ध नभएमा यिनै जडीबुटी प्रयोग गरिएको आयुर्वेदिक औषधि चिकित्सकहरूको सल्लाहअनुसार सेवन गर्न सकिन्छ ।

आयुर्वेद चिकित्सकहरूको सल्लाहअनुसार घरआँगनमा उपलब्ध तुलसीको पातसँगै असुरोको पात र थोरै बेसारको साथमा सानो एक टुक्रा चन्दन मिसाई उमालेर बिहान–बेलुका एक–एक कचौरा पिउने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउनेछ । उनीहरूका अनुसार यदि कसैको शरीरमा कुनै किसिमको भाइरस लागिसकेको छ भने पनि त्यसले भाइरसको मात्रा घटाउन मदत गर्छ । नेपालमा विस २०८५ सालसम्म गरिबीको रेखामुनिको जनसंख्या ५ प्रतिशत र विस २१०० मा शून्यमा झार्ने लक्ष्य छ । जसको परिपूर्तिका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले ठूलो सघाउ पुग्न सक्छ ।

अर्थतन्त्रको महत्वपूर्ण परिसूचक विवरण र तथ्यांकहरू समावेश गरिएको आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आर्थिक, भौतिक तथा सामाजिक पूर्वधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएका देशमा रूपान्तर हुँदै समुन्नत तथा समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्य छ । यसका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले धेरै मदत हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x