भिरालो जग्गाबाट फाइदा लिने उपाय
के.बी. बस्नेत
नेपालका पहाडी जिल्लाका अधिकांश कृषियोग्य जमिनहरु भिराला छन् । यस्ता जग्गामा हालसम्म पनि उपयुक्त किसिमले गह्रा सुधार नगरी खेती गरिन्छ । फलतः प्रत्येक वर्ष यहाँको लाखौँ टन माटो बगेर अन्य देशहरुमा पुग्छ । यसरी वर्षेनी भिरालो जमिनको माटो बगेपछि यहाँको माटो उर्वरा हुन सक्दैन किनभने पानी बग्दा मिसिएर बग्ने धमिलोपनमा हुने माटोको कण सबैभन्दा मलिलो हुन्छ जसमा बोटबिरुवाहरुलाई आवश्यक पर्ने खाद्यतत्वहरु प्राप्त हुन्छन् ।
वस्तुतः एक मिटर क्षेत्रफल जमिनबाट माटो बग्दा १० के.जी. नाइट्रोजन, ६ के.जी. फोस्फोरस र १५ के.जी. पोटास नाश हुने हुनाले कृषि उत्पादनमा ह्रास आउने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । त्यसैले भिरालो जमिनमा खेती गर्दा आशा गरेअनुरुप प्रशस्त उत्पादन गर्न सकिँदैन । तर पनि भिरालो जमिन अधिक मात्रामा हुने ठाउँमा यस्ता जमिनमा पनि जीवनयापनको लागि खेती गर्न बाध्य हुनुपरेको छ । यदि कुनै पनि जमिन ३० डिग्रीभन्दा बढी भिरालो छ भने धेरै गह्रा सुधार गर्नुपर्छ । यस्ता जमिनका छेउछाउमा केही अग्लो आली बनाई सधै बाँस वा अन्य बोटबिरुवाले छोपेमा यसले माटो बाँध्ने काम गर्छ र पानीसँगै माटो बग्न पाउँदैन । फलतः कुनै पनि कृषि उत्पादनको धेरै नोक्सान हुन पाउँदैन ।
भिरालो जमिनमा खेती गर्नुपरेमा थोरै मात्र खनजोत गर्ने र बीउबीजन उमार्नका लागि माटो खोस्रिनुपर्छ । यस्तो जमिनमा खासगरी रहर, मास, मुसुरो वा अन्यबालीको खेती गर्न सकिन्छ । यदि जग्गा धरै भिरालो भए फलफूल खेती वा कृषि वन बनाउन सकिन्छ । जसबाट प्रत्येक वर्ष मनग्य आम्दानी गर्न सकिन्छ । परन्तु यस सम्बन्धमा धेरैलाई थाहा नभएको हुनाले फाइदा लिन सकेका छैनन् ।
हाम्रो देशमा छापो पनि धेरै वर्ष अघिदेखि चलनमा आएको खेती गर्ने तरिका हो । यसमा विशेषतः सुकेको झारपात र पातपतिङ्गरलाई माटोको सतहमा राखिन्छ । यो तरिका अदुवा, पिँडालु आदिमा अपनाइने भए पनि अन्य बालीका लागि पनि अपनाउन सकिन्छ । जसबाट कृषि उत्पादन अभिवृद्धि गर्न सकिन्छ ।
यथार्थतः गाईवस्तुले नखाने सुकेका झारपात माटोका सतहमा राख्नाले माटो बग्नबाट रोकिनुका साथै चिस्यान पनि कायम हुन्छ । यो झारपात माटोमा कुहिने हुनाले प्राङ्गारिक मलसहितको माटो संरक्षण गर्न सकिन्छ । जसबाट कृषिउत्पादन वृद्धि गर्न ठूलो सघाउ प्राप्त हुनेछ । भिरालो जग्गामा खेतीपाती गर्दा प्राङ्गारिक मलवा नसडेको पातपतिङ्गर वा स्याउलालाई माटोमा मिसाएर खेती गर्दा तत्काल माटो बग्न वा उड्न कम हुन्छ भने माटोको मलिलोपना सञ्चित भई उर्वराशक्ति पनि बढ्छ । यसबाट कुनै पनि कृषिउपज बढ्ने धेरै सम्भावना हुन्छ ।
हाम्रो धेरैजसो गाउँघरमा वनजंगलमा सुकेका पातपतिङ्गरलाई माटोमा मिलाउनसके धेरै फाइदा हुन्छ । योबाहेक केही बाली काट्दा तिनका डाँठ र पराल माटोमा मिलाएमा लाभप्रद हुन्छ । यसो गर्दा भिरालो जमिनमा पानी बग्ने ठाउँको तह पानीमा जम्ने खाडलभन्दा माथिबाट बगेको पानी त्यस खाडलमा जम्मा हुन्छ । उक्त खाडल भरिएपछि मात्र पानी बाहिर बग्ने हुँदा माथिबाट पानीसँगै आएका माटो थिग्रिएर मलिलो माटो खेर जाँदैन । वर्षाको समयपछि सो माटो बारीमा राख्न सकिने हुँदा जमिनमा पानी रिचार्ज भई तल्लो भागमा चिस्यान बढ्ने र घटेका पानीका स्रोतहरुसमेत बढ्न सक्छन् । यसबाट पानी उपलब्ध भई कृषि उत्पादनमा समेत सकारात्मक असर पर्छ ।
भिरालो जमिनमा यी बालीमात्र खेती गर्नुभन्दा मिश्रित वा अन्तर्बाली लगाउन उपयुक्त हुन्छ । यसो गर्नाले बाली–बालीबीच अन्तर्सम्बन्ध स्थापना हुनुका साथै जरा र बिरुवाको माथिल्लो भागले माटो बग्नबाट बचाउँछ । कुन–कुन बालीहरुबीच बढी सम्बन्ध हुन्छ भन्ने कुरा प्रत्येक वर्षको अनुभवबाट थाहा हुन्छ । यही अनुभवको आधारमा किसानहरुले मिश्रित खेतीलाई विशेष जोड दिन सके कृषि उत्पादनमा निकै वृद्धि गर्न सकिने कुरा विकसित देशहरुको अनुभवहरुबाट बोध भएको छ ।
साधारणतया माटोमुनि र माटोमाथिको सतहको राम्रो विचार गरी मिश्रित बाली लगाएमा प्रायः माटोले सधैँ नै बोटबिरुवा ढाकेको हुन्छ । फलतः माटो बग्न वा उड्न पाउँदैन र कम जमिनबाट बढी उत्पादन, एक बालीले लिनसकेको मलजल अर्को बालीले प्राप्त गर्ने, जराले माटो बाँधिराख्ने र कुनै कारणवश एक बालीबाट फाइदा भएन भने अर्को बालीबाट फाइदा लिन सकिन्छ ।
यत्रतत्र पाइने झारपात र वनमा पाइने जैविक चीजहरुलाई बालेर बनाइने अर्गानिक कार्बनयुक्त पदार्थ माटोमा लामो समयसम्म रहन्छ । यसले माटोमा मलिलोपना बढाउनुुको साथै पानी सोस्ने क्षमता पनि बढाउँछ । यसैले यस्तो पदार्थ बनाई आ–आफ्ना जमिनमा प्रयोग गर्न सकेमा कृषिबाट सोचेअनुरुप फाइदा लिन सकिन्छ ।
यथार्थतः राम्रोसँग कुहिएको कम्पोस्ट मल प्रयोग गर्दा माटोमा प्राङ्गारिक पदार्थ वृद्धि भई मलिलोपना बढ्छ । यतिमात्र होइन, सूक्ष्म जीवाणुको गतिविधि बढ्ने, माटो बग्न कम हुने, माटोको संरचना खुकुलो हुने र कृषिउत्पादन बढी हुन्छ । मललाई एकदेखि डेढ महिनामा पल्टाउने र बेलाबेलामा माटो मिसाउने गर्नुपर्छ । यसो गर्दा मल छिटो र राम्रोसँग कुहिन्छ र जमिनबाट बढी उत्पादन लिन सकिन्छ ।
भिरालो जग्गामा ढैंचा, तिल, दाल आदि हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । तर हरियो मल बनाउने, बाली रोप्ने, जोत्ने र पल्टाउने समयमा यथोचित ध्यान पु-याउनुपर्छ । यसो गर्न सकेमा मात्रै कृषि उत्पादन बढाउन सकिन्छ । विशेषतः यस्ता बालीहरु फल फुल्ने समयमा माटोमा मिलाउँदा बढी मलिलोपन प्राप्त हुन्छ र फइदा हुन्छ ।
धेरैजसो भिरालो जमिनमा खेतीपातीको लागि पानीको अभाव हुन्छ । त्यसैले यस्तो जग्गामा सुख्खा मौसममा कम पानीबाट धेरै लाभ दिने थोपा सिँचाइको प्रयोग गर्ने चलन दिन प्रतिदिन बढिरहेको छ । वास्तवमा सादापानीमा सातदेखि दशभागमा एक भाग पिसाब प्रयोग गर्दा बोटबिरुवामा नाइट्रोजन मलको मात्रा वृद्धि भई बाली राम्ररी सप्रन्छ । यो विधि अपनाउँदा धेरै पानी बोटबिरुवामा सिँचाइ गर्न सकिने र पिसाबको प्रयोग गर्दा माटोको मलिलोपना वृद्धि भई कृषिउपज बढाउन सकिन्छ ।
फलफूलका बिरुवा रोप्ने भिरालो जग्गामा निश्चित दूरीमा दुई/तीन फिट खाडल खनी त्यसलाई अस्थायी रुपमा चर्पी बनाई प्रयोग गर्ने सकिन्छ । उक्त खाडल मलमूत्रले भरिएपछि माटोमा खरानी मिसाई पुर्दा बोटबिरुवालाई आवश्यक पर्ने पोटासको मात्रा थपिन्छ । यसैगरी अर्को ठाउँमा पनि खाडल खनी उपयुक्त तरिकाले खाडलमा फलफूलका बोटबिरुवा रोप्न सकिन्छ । तर खाडल मलमूत्रले भरिएको कम्तीमा पनि चार महिनापछि मात्र फलफूलका बोटबिरुवा रोप्न उचित मानिन्छ ।
नेपालका धेरै किसानहरु भिरालो जमिनमा खेती गरी विभिन्न किसिमका कृषिउत्पादन गर्छन् । तर यस्ता जमिनमा एकतिर सिँचाइको अभाव छ भने अर्कोतिर भूक्षयको ठूलो समस्या छ । यी समस्याहरुलाई न्यून गर्न माथि वर्णन गरिएका कुराहरुलाई राम्ररी मनन गरी उपयुक्त किसिमबाट खेती गर्नसके भविष्यमा उक्त जमिनबाट पनि हालको भन्दा धेरै फाइदा लिन सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया