Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाले अनौपचारिक अर्थतन्त्र शिथिल

कोरोनाले अनौपचारिक अर्थतन्त्र शिथिल


केशव आचार्य
देशको समग्र अर्थतन्त्र देशभित्रका औपचारिक र अनौपचारिक क्षेत्रमा निर्भर गर्दछ । नेपालमा औपचारिक आर्थिक क्रियाकलापभन्दा अनौपचारिक आर्थिक क्रियाकलापले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । अनौपचारिक अर्थतन्त्र अस्थायी पूर्णतः निजी प्रकृतिको हुन्छ । यो निजी क्षेत्रबाट नाफालाई मध्यनजर गरेर स्थापित हुने हुँदा यसले निजी क्षेत्रको उद्देश्य परिपूर्ति गरिरहँदा व्यक्तिगत स्वार्थ हाबी भएको हुन्छ । औपचारिक क्षेत्र बृहत् तथा कानुनी मूल्य र मान्यतालाई अवलम्बन गरी सञ्चालित हुने भएकोले यसमा स्थायित्व, विश्वसनीयता र भरपर्दोपन आउँछ । समग्र अर्थतन्त्रलाई सबल बनाउन यी दुवै क्षेत्रको भूमिका अहम हुन्छ ।

नेपालको कुल श्रमशक्तिलाई औपचारिक र अनौपचारिक गरी दुई भागमा विभाजन गरिएको छ । रोजगारीका हिसाबले नेपालमा अनौपचारिक क्षेत्रले दिने रोजगारीको हिस्सा अत्याधिक रहेको पाइन्छ । केन्द्रीय तथ्यांक विभागले वि.सं २०७६ मा प्रकाशित गरेको नेपालको श्रमशक्ति सर्वेक्षण २०७४/७५ (तेस्रो) अनुसार १५ वर्ष वा काम गर्ने उमेर समूहका दुई करोड सात लाख ४४ हजार जनसंख्यामध्ये श्रमशक्तिमा ७९ लाख ९४ हजार छन् ।

यसै जनशक्तिलाई आधार मान्दा नेपालमा १५ दशमलव ४ प्रतिशत औपचारिक रोजगारीको क्षेत्रमा आबद्ध छन् भने ८४ दशमलव ६ प्रतिशत अनौपचारिक रोजगारीको क्षेत्रमा आबद्ध छन् । यसैगरी अर्थतन्त्रलाई औपचारिक र अनौपचारिक गरी विभाजन गर्दा औपचारिक अर्थतन्त्रअन्तर्गत ३७ दशमलव ८ प्रतिशत क्रियाकलाप र अनौपचारिक अर्थतन्त्रअन्तर्गत ६२ दशमलव २ प्रतिशत क्रियाकलाप हुने गरेको पाइन्छ ।

यी क्रियाकलापहरूलाई विश्वमा फैलिएको महामारी कोभिड–१९ ले ठप्प बनाइदिएको छ । महामारीकै कारण गर्नुपरेको बन्दाबन्दीले नेपालमा लगभग छ लाख मानिसहरू गरीबीको रेखामुनि झर्ने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । साथै २० लाखको हाराहारीमा वेरोजगारी बन्ने आँकलन छ । यसले अनौपचारिक क्षेत्रका श्रमशक्तिलाई बढी प्रभावित बनाएको र अवका दिनमा सामान्य जीवनस्तरर धान्न पनि संकट उत्पन्न गराएको छ ।

बन्दाबन्दीले समाजका सबै तह र तप्काका मानिसहरूलाई पिरोलिरहेको छ । सबैभन्दा बढी प्रभावित आर्थिक हिसाबले न्यून आय भएकाहरूको जीवन दयनीय बन्दै गइरहेको अवस्था छ । कोभिड–१९ ले विशेषतः निम्न वर्गलाई बढी चेपेको छ भने यसको प्रभाव बढ्दै जाँदा आम्दानीको अवसर गुम्न पुगी मध्यम वर्ग पनि छटपटाइरहेको छ । निजी क्षेत्र आँतिइरहेको छ व्यवसायमा पुनः हात हाल्ने वा हात झिक्ने दोधारमा छन् । देशको कुल अर्थतन्त्रको एक चौथाइ अर्थतन्त्र ओगटिरहेको निजी क्षेत्र थप धराशायी बन्ने लगभग निश्चित छ ।

केन्द्रीय तथ्यांक विभागको जनगणना २०६८ अनुसार नेपालमा २० प्रतिशत धनी वर्ग, लगभग २५ प्रतिशत गरीबीको रेखामुनीको जनसंख्या, यसभित्र पनि ७ प्रतिशतको हाराहारीमा अति गरीबी र बाँकी मध्यम वर्गमा पर्दछन् । २० प्रतिशत धनी वर्गले देशको कुल स्रोत साधनको ५६ प्रतिशत उपयोग गरिरहेको छ भने बाँकी जनसंख्याले कुल स्रोत साधनको ४४ प्रतिशतमा चित्त बुझाउनु परेको छ ।

गरीबीको रेखामुनि रहेका जनसंख्यामध्ये सात प्रतिशत अति गरिब जसको गाँस, बास, कपासको पनि ग्यारेन्टी छैन । कोभिड–१९ बाट पहिलो चरणमा यही जनसंख्या बढी पीडित बन्यो । बाँच्नका लागि एक गाँस खान पनि पाएनन् । खानकै लागि भौतारिँदा कतिले ज्यानै गुमाए ।

बन्दाबन्दी बढेसँगै गरीबीको रेखामुनिको जनसंख्यामा समस्या बढ्यो रात दिन पैदल हिँडेर गाउँघर पसे । मध्यम वर्गका जनसंख्या आजसम्म जहाको तही बसे, आधापेट खाए, खानामा नियन्त्रण गरे, अहिले यिनैको जीवन बढी जर्जर बनिरहेको छ । यिनीहरू राहत लिन र चोकचोकमा थाल थापेर खाना खाने स्थानमा गएनन् । घरमै भएको अन्नलाई थोरै उपयोग गरि बचाएर आजसम्म बाँचे । धनीलाई खाने लाउनेको समस्या छैन सम्पति घट्यो भन्ने मात्र चिन्ता छ ।

नेपालको अर्थतन्त्रमा अनौपचारिक आर्थिक क्रियाकलापले अर्थतन्त्रको लगभग आधा हिस्सा ओगटेको छ । यसको कुनै औपचारिक लेखांकन नै भैरहेको छैन । आर्थिक क्रियाकलापमा प्रशस्त सहभागिता रहे पनि औपचारिक आर्थिक क्रियाकलापको आधारमा नीतिगत व्यवस्थापन नै फरक हुन्छ । यस अवस्थामा सबैभन्द बढी प्रभावित विप्रेषणमा आश्रित जनसंख्या छ भने पर्यटन, पार्टीप्यालेस, क्याटेरिङ, शैक्षिक संस्था थप मारमा परेका छन् ।

समाजमा गैरव्यवसाय वा राम्रो नमानिएको क्रियाकलाप शारीरिक सम्बन्ध कायम गरी जीविको पार्जन गरिआएका मानिसहरूको जनजीवन विकराल बनिरहेको छ । स–साना व्यक्तिगत व्यवसाय सञ्चालन गरी जीविका चलाइरहेका मानिसहरूको स्थिति झनै डम्माडोल भैरहेको, भैरहेको व्यवसाय बन्द भाडा र बैंकको व्याजले दिनानु दिन प्रेसर सहनु परिरहेको छ । नेपालमा अनौपचारिक क्षेत्र सबल र सक्षम बन्न नसक्दा र सरकारले यससम्बन्धी बनाउने नीतिको कमजोर कार्यान्वयन हो ।

विशेषतः आज समाजमा विविध प्रकारका आत्माहत्या तथा हत्या हिंसा अनौपचारिक आर्थिक क्षेत्रको उचित व्यवस्थापन हुन नसकेर हो । हिजो आज दिनमा औसत १६/१७ जनाले आत्माहत्या गरी ज्यान फालिरहेका छन् । यसको प्रमुख कारण जीविको पार्जनका लागि आवश्यक आर्थिक संकट नै हो ।

औपचारिक क्षेत्रको कम अवसरको कारण समाजमा अनियमितता, चोरी, डकैती, हत्या हिंसा, द्वन्द्व र बलात्कार समेत सृजना भैरहेको छ । मानवीय सुरक्षामा कमी आइरहेको छ । शिक्षाप्रतिको मोह घट्दो छ । आम मानिस विदेशिन बाध्य बन्नुपरेकोले विदेशिइरहेको देखिन्छ । यो अवस्थामा एउटा कृषक मात्र कम प्रभावमा परेको जस्तो र सबैभन्दा बढी आम्दानी गर्ने क्षेत्रहरू स्वास्थ्य र त्यससँग सम्बन्धित क्षेत्र रहेका छन् ।

विश्वको दोस्रो ठूलो आर्थिक मन्दीको रूपमा कोभिड–१९ लाई लिइएको छ । यसले विश्वव्यापीरूपमै आम मानिसको खर्च गर्ने क्षमता र प्रतिव्यक्ति आय खुम्च्याइदिएको छ । सरकारले स्वास्थ्य क्षेत्रमा मात्र खर्च बढाउनुपर्ने स्थितिले गर्दा सामाजिक कल्याण र सुरक्षाका क्षेत्रमा खर्च संकुचित हुने देखिन्छ । यसैको कारण विश्वमा असमानता बढेर जाने र आम मानिसलाई चरम गरिबीमा धकेल्ने साथै सामाजिक सक्षमता गिर्नेछ । परनिर्भरता र चरम शोषणमार्फत आफ्नो राष्ट्रिय अस्मिता कमजोर बन्न सक्छ । यसका लागि सरकारले उत्पादनमूलक रोजगारी सृजना गर्नेतर्फ छिटै सोच्नु पर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया