प्रभावकारिताको कसीमा वैकल्पिक सिकाइ निर्देशिका
बाबुकाजी कार्की
कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द रहेको अवस्थामा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । वैकल्पिक सिकाइ आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको तर्जुमा विनाको निर्देशिका कार्यान्वयन हुन कठिन छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ५० लाख विद्यार्थीलाई लक्ष्य गरी सञ्चालन गरिएको वैकल्पिक सिकाइ कार्यक्रम विवादरहित छैन । वैकल्पिक सिकाइको प्रभावकारिताको बारेमा शैक्षिक बहस र चर्चा चुल्लिएको छ ।
कोरोना संक्रमणको गति, आयम र अवस्था हेर्दा विद्यालयलगायतका शिक्षण संस्थाहरूमा तत्कालै पठनपाठन सुचारु हुने छाँट देखिँदैन । कोरोना त्रास अन्य क्षेत्रमा जस्तै शिक्षामा पनि अन्यौलता छाएको जगजाहेर नै छ । कोरोना लकडाउनले शैक्षिक पठनपाठन र परीक्षामा अनिश्चयको माहोल खडा गरिदिएको छ । शिक्षण संस्थाहरूमा पढाइ सुरु हुने दिनको टुंगो छैन । शिक्षण संस्थामा लामो बिदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र २४सैं घन्टा सीमित गर्दा छटपटि र बेचैनी बढ्नु स्वभाविकै हो । यसबाट उनीहरूमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रोसँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ ।
लकडाउनका कारण विश्वका करोडौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । अहिले झण्डै ३४ हजारभन्दा बढी विद्यालयहरूमा ७० लाखको हाराहारीमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट कसरी अध्यापन गर्न सकिएला चुनौतीको विषय छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार १३ प्रतिशत अर्थात् तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने संभावना छ । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छ भने १० हजार सामुदायिक विद्यालयमा मात्र कम्प्युटरको व्यवस्था छ । अझ इन्टरनेटलगायत सूचना प्रविधिमा राम्रो ज्ञान र सीप भएका शिक्षकको एकिन अभिलेख सरकारी निकायमा छैन ।
बरालिएका बालबालिकाको अध्ययनलाई सुचारु गर्दै शैक्षिक क्षति न्यूनीकरणका लागि वैकल्पिक अनलाइन सिकाइलाई नै उपयुक्त विधि महसुस गरिएको छ । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, विद्यार्थी र पाठ्यवस्तुको त्रिकोणात्मक सन्तुलित संयोजनमा मात्र सफल हुनसक्छ । तथापि आवश्यक स्रोत सामग्रीको यथेष्ट तर्जुमा नगरिकन सञ्चालन गरिने वैकल्पिक सिकाइ कर्मकाण्डी मात्र नबन्ला भन्न सकिन्न ।
वैकल्पिक सिकाइ सञ्चालनका लागि आधारभूत सर्तहरू कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धता र स्तर कस्तो छ ? आम विद्यार्थीमा सहज पहुँच छ कि छैन ? अनलाइन प्रविधिलाई आत्मसात गर्ने दक्ष जनशक्ति पर्याप्त छ वा छैन ? वस्तुपरक लेखाजोखा गर्न अल्छी गरिनु हुन्न । नेपाल दूरसञ्चारले भरखरै प्रकाशित गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ७१ द्यशमलव ७६ मा इन्टरनेट पहुँच छ ।
जसमध्ये तारसहितको सेवा १६ दशमलव ११ ताररहित मोबाइल आदीमा ५४ दशमलव ९० प्रतिशतको पहुँच देखिन्छ । पहुँच भएका घरमध्ये व्यक्तिगत सुविधा भएका ८ प्रतिशत मात्रै छ । त्यसमा पनि सहरमा १२ प्रतिशत र पहाडमा २ प्रतिशत मात्रै छ । युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुबिधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ । दुर्गम तथा सहरी क्षेत्रमा सूचना प्रविधिका सुविधाहरूको विविधता भएको ले अनलाइन कक्षाको योजना पनि सोही अनुसार गरिनु पर्दछ । साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन शिक्षा कागजी घोडा मात्रै नबन्ला भन्न सकिन्न ।
कोरोना लकडाउनको बहनामा भएपनि वैकल्पिक सिकाइ अन्तर्गतको अनलाइन शिक्षणलाई भविष्यमा समेत निरन्तरता दिने गरी नीति तथा रणनीति बनाउनु दूरदर्शिता ठहर्छ । सूचना तथा सञ्चार प्रविधिमा क्षणक्षणमा नयाँ नयाँ आविष्कार भै राखेका ज्ञान र सीप बाट अद्यावधिक हुन पनि अनलाइन शिक्षा अपरिहार्य भैसकेको छ । सरकारी गैरसरकारी निकायहरूले समेत भर्चुअल विधि बाट भिडियो कन्फ्रेन्समार्फत बैठक, अन्तरक्रिया तथा सभासम्मेलनको लहर नै चलेको छ ।
आजको शिक्षाले पनि अनलाइनलगायतका सूचना प्रविधिमा पोख्त जनशक्ति उत्पादन गरे मात्र विश्व श्रमबजारमा खपत हुनेतर्फ हेक्का राख्न जरुरी छ । अहिले सहरबजारमा भएका केही निजी विद्यालयहरूले भर्चुअल तथा अनलाइन कक्षाहरू सुरु गरिसकेका छन् । इन्टरनेट तथा कम्प्युटरमा सहज पहुँच भएका बालबालिका तथा अभिभावकहरू यस कार्यक्रमबाट सन्तुष्ट नै देखिन्छन् । घरमा मोबाइल र टीभीमा झुण्डिरहने छोराछोरी अनलाइनमा पढ्न थालेको देख्दा अभिभावक मक्ख परेका छन् ।
अहिले सूचना प्रविधिमा आधारित शिक्षणको विकल्प अरु देखिँदैन । देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी सञ्चालन गर्न सकिएला ? चिन्ता र चिन्तन विषय हो । अनलाइन शिक्षाको लागि आवश्यक उपकरण तथा नेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला? राज्य गम्भिर छलफलबाट निष्कर्षमा पुग्नु पर्दछ ।
त्यस्तै परम्परागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षकहरूबाट अनलाइन शिक्षण सहज होला त ? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरूलाई अनलाइन सुहाउँदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरूप सार्थक होला र ? यी र यस्तै चुनौतीहरूको रौंचिरा विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ । सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन । शिक्षामा अनलाइन कक्षा, ई–लर्निङ, भर्चुअल कक्षा आदीको उच्चतम प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रूपान्तरण गर्ने अवसरको रूपाम कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ ।
हाम्रो विद्यमान परिवेश र उपलब्ध स्रोतसधानको प्रयोग गर्दै अनलाइनलगायतका सूचना प्रविधिको उच्चतम प्रयोग गरेर विद्यार्थीलाई नविन ज्ञान र सीपबाट सुसज्जित गर्ने प्रस्थान विन्दुको रूपमा अनलाइन शिक्षाको सदुपयोग गर्न विलम्ब गर्नु हुन्न । लकडाउन अवधिभर देशभरका विद्यार्थीलाई अनलाइन शिक्षामा शरिक गराउन नसके पनि सञ्चारका अन्य उपकरण र माध्यमको योजनाबद्धरूपमा सुरुवात गर्न सकिन्छ ।
अहिले प्रायजसोका हातहातमा मोबाइल भएकोले स्थानीय एफएम रेडियो, टिभीहरूमार्फत विषयगत शिक्षण सामग्री तयार गरेर प्रचारप्रसार गर्दा धेरै बालबालिकालाई समेटन सकिन्छ । त्यस्तै शिक्षकहरूको बसोवास आसपासमा भएका विद्यार्थीहरूलाई सहजीकरण गर्न जिम्मेवारी तोक्न सकिन्छ । उत्कृष्ट काम गर्ने शिक्षकहरूलाई निष्पक्ष मूल्यांकन गरेर पुरस्कार र दण्डको व्यवस्था गर्नाले जवाफदेही बनाउन टेवा पुग्दछ । विगतमा निश्चित भौगोलिक क्षेत्रभित्रका विद्यालयहरूको पठनपाठनलाई नियमित र सहजीकरण गर्ने गरी स्थापित स्रोत केन्द्रहरूलाई सक्रिय बनाएर पनि लकडाउनमा अहिलेको शैक्षिक समस्यालाई सम्बोधन गर्न सहजता हुन्छ ।
संविधानमा संघीय संरचनाअनुसार विद्यालयतहको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएकोले अर्थपूर्ण वैकल्पिक सिकाइ व्यवस्थापनका लागि तीनै तहका सरकारबीच आपसमा सदभाव, सहयोग, सहकार्य र समन्वयको खाँचोलाई नजरअन्दाज गर्न सकिन्न । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, विद्यार्थी र पाठ्यवस्तुको त्रिकोणात्मक सन्तुलित संयोजनमा मात्र सफल हुनसक्छ । आवश्यक स्रोतसामग्रीको यथेष्ट तर्जुमा नगरिकन सञ्चालन गरिने वैकल्पिक सिकाइ कर्मकाण्डी मात्र नबन्ला भन्न सकिन्न ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया