के हो त भ्रष्टाचार ?
लिला बल्लभ नेपाल
भ्रष्टाचारको परिचय : सामान्य अर्थमा व्यक्तिले आफ्नो आचरणलाई भ्रष्ट बनाउनु नै भ्रष्टाचार हो । कानुनविपरीत वा आफ्नो पदीय आचरणविपरीत आफैँले आफ्नो नैतिक पतन हुने गरी गरिने क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ । अथवा त्यस्तो कार्यमा संलग्न व्यक्ति भ्रष्टाचारी कहलाउँछ । भ्रष्टाचारीको मनसाय नै भ्रष्ट हुन्छ जुन देश र जनताको लागि जघन्य अपराध हो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने तीनै तहको सरकारी संरचनामा भ्रष्टाचारको जरो व्याप्त भएको सुनिन्छ । नेपालमा भ्रष्टाचारकै कारण हुने खाने र हुँदा खानेबीचको खाडल बढ्दै गएको छ । साथै विकास निर्माणको गुणास्तर पनि दिनानुदिन खस्किँदै गइरहेको अवस्था छ । कानुन कार्यान्वयन गर्ने निकायको भ्रष्ट नीतिकै कारण विकास निर्माणमा संलग्न ठेकेदारहरु कारबाहीको प्रक्रियाबाट सहजै उम्किने अवस्था सिर्जना भएको देखिन्छ ।
भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकहरुको प्रभावकारी उपस्थिति अनिवार्यजस्तै भइसकेको छ । नेपालमा भ्रष्टाचारविरोधी धेरै कानुनहरु बने पनि त्यसको पालना गर्नु भ्रष्टाचारमा संलग्न व्यक्तिहरुले कहिल्यै आवश्यक ठानेनन् । भ्रष्टाचारमा संलग्न व्यक्तिहरु शक्तिकेन्द्रको आडमा सहजै फुत्किने गरेका छन् जसले गर्दा दण्डहीनता मौलाई भ्रष्टाचारीलाइ भ्रष्टाचार गर्न अझ मलजल प्राप्त भएको अवस्था देखिन्छ ।
भ्रष्टाचारीको समाजमा बढ्दो प्रभाव : भ्रष्टाचारीले समाजलाई दिनानुदिन रोगी बनाइरहेका छन् । भ्रष्ट व्यक्तिकै समाजमा धाक र रवाफ चल्ने भएकाले यिनीहरुकै इशारामा चल्नु सर्वसाधारण नागरिकको बाध्यता भइसकेको छ । विद्यमान नियम कानुनलाई धमिराले झैँ धूलो बनाउने र सरकारी संयन्त्रलाई कमजोर बनाई स्वास्थ्य समाज निर्माणमा बाधा गर्ने तथा यसको मर्यादालाई माटोमा मिलाउने काममा भ्रष्टाचारीहरु सधैँ उद्यत देखिन्छ ।
प्राकृतिक विपत्तिहरु जस्तै विनाशकारी भूकम्प तथा कोभिड–१९ को महामारीको विकराल अवस्थाको फाइदा उठाउँदै सार्वजनिक सेवा प्रवाहकर्ताहरुबाट आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोग गर्नेजस्तो सामाजिक विकृति बेला–बेलामा समाजमा देखिने गरेको छ । नेपालजस्तो सीमित स्रोत साधनबाट सञ्चालित राष्ट्रमा प्राकृतिक प्रकोपलाई समेत कमाउने हतियारको रुपमा प्रयोग गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा समेत लाजमर्दो विषय हो ।
सामाजिक प्रतिष्ठा देखाउन भड्किलो ढंगबाट भोजभतेरको आयोजना गर्नु, राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताविरुद्ध गई निर्वाचनलाई प्रभाव पार्ने ढंगबाट जथाभावी पैसा बाँड्ने प्रवृत्ति, समाजमा गलत सूचना प्रवाह गरी सामाजिक विचलन ल्याउने, सार्वजनिक पदधारण गर्ने व्यक्तिले कर्मचारी आचारसंहिताविरुद्ध गई विभिन्न राजनीतिक दलको झण्डा बोक्नेजस्ता क्रियाकलापहरुले समाज तथा व्यक्तिको सामाजिक प्रतिष्ठामाथि नै आँच आउने अवस्था सृजना भएको देखिन्छ ।
भ्रष्टाचारको कारण समाजमा देखिएका समस्याहरु के–के छन् ?
१. विकास निर्माणको गुणस्तर दिनानुदिन खस्किँदै गइरहेको छ ।
२. सर्वसाधारणमा प्रवाह हुने सेवाको गुणस्तमा ह्रास आएको छ ।
३. सामाजिक मर्यादामा विचलन आएको अवस्था छ ।
४. दण्डहीनता दिनप्रतिदिन मौलाउँदै गएको अवस्था छ ।
५. जवाफदेहिताको बाध्यता महशुस गर्न कम हुँदै गएको छ ।
६. सरकारप्रति जनताको विश्वासमा ह्रास हुँदै गएको छ ।
७. अन्तर्राष्ट्रिय समुदायले हेर्ने नजर बदलिएको छ ।
८. धनी र गरिबबीचको खाडल फराकिलो भएको छ ।
९. शासनको वैधतामाथि प्रश्न खडा भएको छ ।
१०. सरकारी संयन्त्रहरु कमजोर बन्दै गइरहेका छन् ।
११. समाजमा आपराधिक क्रियाकलाप बढ्दा समेत प्रशासन मौन देखिन्छ ।
भ्रष्टाचारका किसिमहरु के–के हन् ?
१. नीतिगत भ्रष्टाचार : भ्रष्टाचारजन्य क्रियाकलापलाई टेवा पुग्ने किसिमवाट भएको सरकारी संयन्त्रको कुनै पनि निर्णय नै नीतिगत भ्रष्टाचार हो ।
२. सामाजिक भ्रष्टाचार : समाजका विभिन्न मूल्य र मान्यताहरुलाई कमजोर बनाउने किसिमबाट भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै सामाजिक भ्रष्टाचार हो ।
३. आर्थिक भ्रष्टाचार : अर्थतन्त्र अथवा राज्यको सञ्चित कोषमा कुनै पनि किसिमबाट क्षति पु¥याउने तथा पदीय आचरणविपरीत गैरकानुनी रुपमा आर्थिक लेनदेन गर्ने भ्रष्टाचारजन्य क्रियाकलाप नै आर्थिक भ्रष्टाचार हो ।
४. नैतिक भ्रष्टाचार : व्यक्तिले आफ्नो नैतिक पतन हुने गरी संलग्न भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै नैतिक भ्रष्टाचार हो ।
कसरी समाधान गर्ने भ्रष्टाचारको समस्या ?
१. आम निर्वाचनमा ‘माथिको कुनै पनि उम्मेदवारलाई मत नदिने’ भन्ने ‘नन अफ दि एबोभ’ (एनओटीए) प्रणाली अथवा नो भोटिङ अथवा नेगेटिभ भोटिङको व्यवस्था गर्ने जसले गर्दा भ्रष्ट व्यक्ति निर्वाचित भएर सत्तामा जान नपाओस् ।
२. ‘आफ्नो समाज आफै जोगाऔँ’ भन्ने सिद्धान्तबमोजिम शिक्षित नगरिक एक भई भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने ।
३. सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई सार्वजनिक प्रशासनलाई जनमुखी र परिणाममुखी बनाउने ।
४. विद्यालय तहमा सदाचारिता विषयमा पठनपाठनको व्यवस्था गर्ने ।
५. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्ने गराउने ।
६. समयमै काम सम्पन्न गर्ने प्रणालीको विकास गरी असारे विकासको विकृतिलाई निरुत्साहित गर्ने ।
७. भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
८. सार्वजनिक पदधारण गरेको व्यक्तिको सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने ।
९. संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिअनुकूल हुने गरी भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन बनाउने ।
१०. राजनीतिलाई पेशा होइन सेवाको रुपमा ग्रहण गर्ने ।
११. सेवा प्रवाहका सम्भव भएसम्म सबै क्रियाकलापहरुमा प्रविधिको प्रयोग गर्ने ।
१२. राजनीति र प्रशासनको आचरण र व्यवहार स्वच्छ र मर्यादित बनाउने ।
१३. सार्वजनिक सेवाको आर्थिक कारोबारमा इ–मनिटोरिङ अनिवार्य रुपमा लागू गर्ने ।
१४. न्यायपालिकालाई जनमुखी तथा जवाफदेही बनाई न्यायिक अनुशासन कायम गर्ने ।
१५. भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको सुशासन प्रभावकारिता अवलम्बन गर्ने ।
१६. भ्रष्टाचार नियामक निकायलाई सबल, सक्षम र प्रभावकारी बनाउने ।
१७. तीनै तहको सरकारमा भ्रष्टाचार निर्मूल हुने गरी आन्तरिक अनुगमन र निगरानी प्रणालीलाई सबल तथा प्रभावकारी बनाउने ।
१८. नीति निर्माण र कार्यान्वयन प्रक्रिया तथा अनुगमन, मूल्यांकन र कार्यान्वयन तहमा सहभागितामूलक विकास प्रणाली अवलम्बन गर्ने ।
१९. विकासको गुणस्तर लेखापरीक्षणलाई प्रभावकारी र पारदर्शी बनाउने ।
२०. आन्तरिक तथा अन्तिम लेखापरीक्षण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने ।
२१. मुलुकी देवानी संहिता र फौजदारी संहिताको प्रभावकारी उपयोग गरी न्यायमा आम नागरिकको पहुँच बढाउने र फौजदारी न्याय प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाउने ।
२२. प्रशासकीय, आर्थिक तथा वित्तीय अनुशासनमा सुधार गरी दण्डहीनताको अन्त्य गर्ने ।
२३. सदाचार नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
२४. संविधानलाई सुशासनको गतिशील दस्तावेजको रुपमा ग्रहण गर्ने ।
२५. सबै दलहरुमा दलीय संस्कृतिको विकास गर्ने ।
२६. मुलुकमा सुशासन अभिवृद्धि गर्न राज्यका निकाय र संयन्त्रहरुलाई सुशासन मैत्री बनाउने ।
२७. म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने मूल नारासहित भ्रष्टाचार नियन्त्रणको पहल आफैँबाट सुरु गर्ने ।
अन्तमा, भ्रष्टाचार तथा भ्रष्टाचारजन्य क्रियाकलाप राष्ट्रघाती अपराध हो र यसको नियन्त्रण हामी आफैँले आजैबाट सुरु गर्नुपर्छ भन्ने नाराका साथ समाजलाई सुसूचित गर्न सकेको खण्डमा यस्तो आपराधिक क्रियाकलापबाट एउटा समाज मात्र होइन पूरै देशलाई बचाउन सम्भव छ र सदाचारी व्यक्ति समाजका गहना हुन् र यिनीहरुको सम्मान तथा जगेर्ना गर्नु प्रत्येक नागरिकको नैसर्गिक जिम्मेवारी तथा आवश्यकता हो भन्ने महशुस गर्न सक्नु नै आजको आवश्यकता हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया