Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना महामारी र नेपाली पर्यटन

कोरोना महामारी र नेपाली पर्यटन


निनाम कुलुड. ‘मंगले’
खासमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’का सुरुवातकर्ता बेलायती नागरिक थोमस कुकलाई मानिन्छ । उनले सन् १८४१ मा व्यवस्थित र संगठित रूपले भ्रमण व्यवसाय सुरु गरेका थिए । उनले निश्चित रकम लिएर आफ्नै देशका भ्रमणप्रेमी नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरूले अनेक खालका भ्रमणहरू विश्वभरिका कुना–काप्चासम्म नै गर्नेगर्थे । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू निश्चित उद्देश्यसहित फरक–फरक ढंगले हुने गर्थ्यो ।

जस्तै कोही आफ्नो देशको सीमा फैलाउने, अरु देशलाई आफ्नो उपनिवेश बनाउने, धर्मप्रचार गर्ने, व्यापार–व्यवसाय बढाउने, बहुमूल्य खानीहरू पत्ता लगाउने, अरु देशको बारेमा जासुसी गर्नेलगायत अनेक खाले खोज–अनुसन्धान गर्नका लागि पनि त्यो वेला धेरै मान्छेहरू अन्य देशको भ्रमणमा निक्लन्थे । यसरी त्यो वेला जो व्यक्तिहरू विश्व भ्रमणमा निक्लन्थे, उनीहरूको केही न केही निश्चित उदद्दश्यहरू रहने गरेका थिए ।

त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय भ्रमण टोली मान्ने गरिन्छ । बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय टोली मानियो त ? भन्नेतर्फ यो लेखमा सानो गन्थनमन्थन सुरु गरौं । किनभने, थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरूलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रूपमा भ्रमण व्यवसायको सुरुवात गरे । जसको पर्यटकीय वा भनौं घुम्ने/बिदा मनाउनेबाहेक अरु कुनै उद्देश्य थिएन ।

यसरी कुनै स्वार्थ अथवा भनौं उद्देश्य र व्यक्तिगत स्वार्थ नलिई गराइएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई नै विश्वको पहिलो ‘पर्यटकीय टोली’ मानिएको हो । यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटनको सुरुवात कर्ता मात्रै होइन, ‘पर्यटन क्षेत्रको पिता’ नै मान्ने गरिएको छ भने उनको नाममा खुलेको ‘थोमस कुक ट्राभल कम्पनी’ पनि हाल बन्द भइसकेको छ ।

यसरी हेर्दा विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको इतिहास हेर्दा लगभग एकसय ८१/८२ वर्षको भैसकेको छ । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । यसरी थोमसले आन्तरिकरूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकहरूलाई लिएर र, आफू स्वयम् पनि संलग्न भएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । यसरी लगभग एक सय ८१/८२ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौं/खरबौं मानिसहरूले विश्वका अधिकांश मुलुकका पर्यटकीय स्थलको भ्रमण गरी सकेका छन् ।

यता हाम्रो देश नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशी नागरिकहरूलाई (कूटनैतिक र शिकारको उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न नै बन्देज लगाएकोले गर्दा नेपालमा पयर्टनले छिटो र राम्रोसँग फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ । त्यसो त नेपालको पर्यटनको इतिहास हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनदेखि विसं २०१५ सालको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएको देखिँदैन ।

तर, जब तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरे, त्यसपछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गरेको देखिन्छ । जे भए तापनि विदेशमा नेपाली पर्यटनको प्रचार प्रसार र बजारको विस्तार गर्नमा विदेशीहरूबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । निश्चय नै यसको मतलब ३० वर्षे पञ्चायतकालमा नेपाली पर्यटन क्षेत्र चकाचक थियो भन्ने होइन, पञ्चायतकालमा पनि नेपाली पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन ।

वि.सं. २०४६ (सन् १९८९/९०) मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले पनि लाखको संख्या नाघ्न थाल्यो । यसरी सन् १९८९/९० मा नेपालमा आएको प्रजातान्त्रिक व्यवस्थासँगै नेपाली पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ, फैलिएको मान्न सकिन्छ ।

नयाँ र प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि गर्न सक्ने जति काम गरेन । अझ जिब्रो नचपाई भन्ने हो भने, तत्कालीन श्री ५ को सरकारले पर्यटन क्षेत्रमा गर्व गर्न लायक कामै गरेन, शिवाय नेपाल पर्यटन बोर्ड गर्नेबाहेक । तर, हिमाल आरोही, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (-याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे सलामी दस्तुर लिने, शुल्क असुल्ने त्यस्तै निषेधित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गरिन्थ्यो भने अझै पनि नेपाल सरकारले नेपालका केही निषेधित क्षेत्रबाट केही महँगो शुल्क लिने गर्छ, सो क्षेत्रमा भ्रमण गर्न जाने विदेशी पर्यटकबाट ।

यसै सेरोफेरोमा विसं २०६२/०६३ को तेस्रो जनआन्दोलन भयो । सो आन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरूको संख्या पनि लगातार बढिरहेको थियो । त्यसो भए तापनि ती पर्यटकहरूले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरूको दैनिक नेपाल बसाइ अवधिमा भने प्रगति हुन सकेको छैन ।

त्यसैले हामीले नेपाल आउने पर्यटकहरूको संख्या मात्रै होइन, उनीहरूले गर्ने दैनिक खर्च र नेपाल बसाइ अवधिलाई कसरी बढोत्तरी ल्याउने ? भन्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ । हुन त सन् २०१५ मा आएको प्राकृतिक विपत्ति भूकम्प र भारतको अघोषित नाकाबन्दीको समयमा भने, नेपाल आउने विदेशी पर्यटकहरूले अपेक्षा गरेभन्दा बढी नै दैनिक खर्च गरेका थिए ।

तथ्यांकअनुसार सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति, प्रति दिन औसतमा ७३ अमेरिकी डलर खर्च गरेका थिए । तर, त्सपछिको वर्षहरूमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति, प्रतिदिन औसतमा ४१ डलर, ४४ डलर, ४९ डलर, ५५ डलर मात्रै खर्च गरेको तथ्यांक रहेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया