कोरोनाले दशैँसँगै अर्थतन्त्र पनि खुम्चियो
केशव आचार्य
अर्थतन्त्र नियमितरूपमा वृद्धि हुँदा मानिसको जीवनस्तरमा परिवर्तन आउँछ । आम्दानी आर्थिक क्रियाकलापमा निर्भर हुन्छ यसैले मानिसको गुणस्तर पनि निर्धारण गर्दछ । दिगो आर्थिक वृद्धिले मानिसको जीवनशैली र सकरात्मक विचार अभिवृद्धि गर्दछ । अर्थतन्त्र सबल बन्छ, तर डर, त्रास, असुरक्षा, अविभावकत्वबाट टाढा हुँदा आर्थिक गतिविधि शिथिल बन्छ । शिथिल अर्थतन्त्रमा आम मानिसलाई हातमुख जोड्नकै समस्याले पिरोलिरहेको हुन्छ । यस स्थितिमा संस्कार संस्कृति पछि पर्छ । वर्तमान कोभिड १९ ले आम नेपालीको महान चाड दशैँलाई खुम्च्याइदिएको छ भने देशको अर्थतन्त्रको गति पनि घटाइरहेको छ ।
कोरोना कहरका कारण नेपालमा गत चैत्र ११ गतेदेखि बन्दाबन्दी सुरु भयो । आजका दिनसम्म पनि अप्रत्यक्ष रूपमा बन्दाबन्दी नै कायम रहेको छ । जसबाट वि.सं २०७७ सालको नेपालीहरूको महान चाड दशैँ खुम्चिन पुगेको विज्ञहरूले बताउँदै आएका छन् । यतिका महिना बेरोजगारी भएर बिताउनु परेको र एक पेट भर्नकै लागि जोडजम्मा गर्न कठिन भैरहेको परिस्थितिमा दशैँले आम नागरिकलाई उमङ्ग दिन सकिरहेको छैन ।
अधिकांश नागरिक भोक टार्नकै लागि खटिरहेको अवस्थाले उनीहरूमा निराशा छाएको छ । अगाडिका दशैँहरूमा बाहिरबाट आएर परिवार सबै जम्मा हुने, रमाइलो मनाउने परिवार आज खुम्चिएर सानो बनेको छ । यस चाडले परिवार आफन्तसँग भेटाइदिन्थ्यो, मिठो मसिनो बनाएर एकै ठाउँमा रमाउँदै खाने अवसर जुटाइदिन्थ्यो तर आज यो खुशी कल्पनामा परिणत भएको छ घर सुनसान छ, बजार सुनसान छ । भाँडामा एक छाक टार्ने अन्न छैन, नयाँ लुगाको त परै जाओस् । सम्बन्ध जोडेर खुशी दिने दशैँ बिरसिलो बन्दै गएको आम नागरिकले बताउँदै आएका छन् ।
वर्षदिनभरि पसिना चुहाएर दशैँलाई खर्च जुटाउने श्रमिकहरू दशैँमा भोकै हुने अवस्था छ । आज भोक टार्नकै लागि रत्नपार्कमा थाल थाप्न जानेका लागि कहिले आउला दशैँ ? बाढी पहिरो र कोरानाले शिथिल बनेका नागरिकलाई दशैँ, दशैँ होइन दशा बन्ने अवस्था सृजना हुने देखिन्छ । वर्षभरि उपभोग गर्ने खर्चको लगभग २० प्रतिशत दशैँ तिहारजस्ता चाडमा खर्च हुँदै आएको छ । चाडवाडमा अधिकतम उपभोगमा खर्चहुन्छ जसले अर्थतन्त्रलाई थप चलायमान बनाउँछ । गत वर्षको तुलनामा यस वर्ष आधा पनि खर्च नहुने देखिन्छ यसले यो वर्षको दशैँलाई खुम्च्याएको हो । दशैँतिहारमा हुने आर्थिक क्रियाकलाप साँगुरो बन्दा बजारमा पनि ठूलो प्रभाव परेको छ ।
गतवर्ष दशैँतिहारमा उपभोग पाँच खर्ब ६० अर्ब रूपैयाँ खर्च भएको थियो । आर्थिक सर्वेक्षेण २०७६/७७ अनुसार चालू आर्थिक वर्षमा नेपालको वार्षिक उपभोग ३० खर्ब ८५ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ । यस अनुमानअनुसार यस वर्ष दशैँ तिहारमा छ खर्ब १७ अर्ब रूपैयाँ खर्च हुनुपर्ने हो तर यो स्थिति देखिँदैन ।
कोभिड १९ का कारण हुन गएको बन्दाबन्दीले नागरिकको माग र आपूर्तिमा सन्तुलन खलबलिएकोेले यस वर्ष ५० प्रतिशतले उपभोग घट्नसक्ने आर्थिक जानकारहरूले बताउँदै आएका छन् । उनीहरूका अनुसार यसपल्टको दशैँ तिहारमा उपभोग खर्च तीन खर्बमा सीमित रहने अनुमान गरिएको छ । उद्योगधन्दाहरू बन्द रहेका कारण कामदारहरूले तलब पाएका छैनन् सीमितले पाए पनि पूरै महिनाको पाएका छैनन् । दशैँभत्ता समेत पाउने कामदारले तलब नै थोरै/नपाएपछि उनीहरूको उपभोग क्षमता पनि घट्न पुग्दछ । क्रयक्षमता ह्रास हुँदै गइरहेको अवस्थामा उपभोग खुम्चन पुग्दछ । यो खुम्चिएको आम्दानीले उत्पादन खुम्चन गई पुनः आम्दानी नै खुम्चन पुग्दछ ।
आज आम नेपालीको मन बिग्रिएको, दशैँ बिग्रियो, पारिवारिक खुशी बिग्रियो । डर सृजना भयो, पीर भित्रियो, एक्लोपनले जीवनै एक्लियो । निराशै निराशाले घर घे-यो, जीवनदेखि हार सिर्जना भयो जसका कारण चैत्र यता पाँच हजार सात सय ९० जनाले आत्माहत्या गरी ज्यान गुमाए । सात सय १८ जनाले बलात्कृत हुनुप-यो । बाढी पहिरोबाट सयौँले ज्यान गुमाए । दशैँ कसका लागि ? आम्दानी नहुनेका लागि दशैँ हो भने भोकले मडारिरहेको त्यो भोको पेट भरिदेऊ । सरकार र राजनीतिक दलले आफू र आफ्ना कार्यकर्तालाई प्रशस्त रकम बाँडेको सुनिन्छ ।
आम सर्वसाधारणको आयको कुनै स्रोत छैन । यसरी बाँडिएको रकमले बजारमा मुद्रास्फिति सृजना गरी सर्वसाधारणको सानो रकमको क्रय क्षमता घटाइदिन्छ । जसका कारण सर्वसाधरणले आफ्नो सानो स्केलको उपभोगमा पनि कटौती गर्नुपर्ने हुन्छ । देशमा राजनीति बलियो भए अर्थतन्त्र बलियो हुन्छ । यो कोरोना प्रभावको चक्रव्युहमा सरकार र राजनीतिक दल एक भई जनतालाई प्रोत्साहित गरी कोरोना निस्तेज बनाउन लागि पर्नुपर्ने समय सरकारभित्रकै आपसी खिचातानीले कोरोना थप फैलने अवसर पाइरहेको छ ।
देशमा महामारी फैलिएर तीव्र रूप लिइरहेको अवस्थामा सरकारले नागरिकको उपचार गर्न नसकिने जनाएको छ भने यो ३ महिनामा साधारण खर्च मात्र एक खर्ब ९१ अर्ब बाँडेको छ । साधारण खर्चको यति ठूलो अंशले अर्थतन्त्र थप संकुचित बनाउने निश्चित छ । ढुकुटीमा आवश्यक रकम भए पनि सरकारले नागरिकको स्वास्थ्य र गाँसमा खर्च गर्न चाहिरहेको छैन । आजका दिनसम्म सरकारको ढुकुटीमा दुई खर्ब ३२ अर्ब रूपैयाँभन्दा बढी रहेको देखिन्छ । सरकारले चाहेमा एकपेट खानकै लागि नागरिकले भौतारिनुपर्ने अवस्था छैन । कोरोना उपचारको आर्थिक स्रोतको अभाव छैन तर सरकारको प्राथमिकतामा भोक र उपचार नपरेकोले आम नागरिकमा डर सृजना भैरहेको छ र आर्थिक क्रियाकलाप पनि डराएरै अगाडि बढिरहेको छ ।
राज्यको प्रभावहीन उपस्थितिले अर्थतन्त्र रोगी बन्दछ । नागरिकमा वस्तु उत्पादन गर्ने उत्साह हुँदैन । उत्साह खुम्चन जान्छ खुम्चिएको उत्साहले वस्तुको माग र आपूर्तिमा विचलन ल्याउँछ । उपभोग कटौती हुन्छ, बजार साँघुरो बन्दै जान्छ अन्तत सरकारको स्रोत पनि सुक्न थाल्छ । यसबाट उन्मुक्ति पाउन सरकारले समानता र समतामुखि वितरण प्रणाली अवलम्बन गर्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया