Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबालमैत्री शिक्षा : आजको आवश्कता

बालमैत्री शिक्षा : आजको आवश्कता


डा. माधव अधिकारी
नेपालको विद्यालय शिक्षाका नीति तथा कार्यक्रमसम्बन्धी विभिन्न दस्तावेजहरूले गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि सिकारूको व्यक्तिगत आवश्यकतालाई सम्बोधन गर्दै बालमैत्री सिकाइ वातावरणमा शैक्षिक प्रक्रियाहरूको बढोत्तरी गर्नुपर्ने कुरा औंल्याएका पाइन्छ । तापनि बालमैत्री विद्यालयसम्बन्धी अवधारणालाई मुख्य प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा लागू गरेको देखिँदैन । अझै पनि सरकारको प्राथमिकता, शैक्षिक प्रक्रिया र नतिजामा भन्दा लगानीमा नै रहेको देखिन्छ ।

नेपालको शिक्षा क्षेत्रमा विभिन्न गैरसरकारी, अन्तर्राष्ट्रिय संघसंस्थाले बालमैत्री विद्यालयका प्रवर्द्धन गर्ने कार्यमा केही वर्षयता केही कार्यहरू गर्दै आएको देखिन्छ । बालमैत्री विद्यालयको प्रवर्द्धन र विकासका लागि लगानी गर्दै आएको पाइन्छ । वर्तमान अवस्थामा बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रमहरूमा केन्द्रित हुँदा बालमैत्री विद्यालयहरूलाई आर्थिक सहायता, बालमैत्री सिकाइलाई सहयोग पुग्ने सामाग्रीहरू तथा शिक्षक तालिम आदि अझै पूर्णरूपमा उपलब्ध हुन सकेको छैन । स्थानीय सरकारको कार्यालयहरूमा बालमैत्री विद्यालयसम्बन्धी छुट्टै कार्यक्रम भने भएको पाइँदैन ।

बालमैत्री अध्ययनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको सहकार्यमा भने स्थानीय सरकारको कार्यालयहरूले आफ्नो संयन्त्रमार्फत नगन्यरूपमा बालमैत्री विद्यालयसम्बन्धी कार्यहरू सञ्चालन गर्दै आएको देखिन्छ । विद्यार्थीहरू, अभिभावकहरूदेखि स्थानीयस्तरका सरोकार पदाधिकारीहरू बालमैत्री विद्यालयको सैद्धान्तिक अवधारणा र आधारभूत मूल्य तथा मान्यताका सम्बन्धमा पूर्णरूपमा स्पष्ट रहेको पाइँदैन । सम्बन्धित व्यक्ति तथा पदाधिकारीहरू आ–आफ्नो तर्फबाट बालमैत्री शैक्षिक वातावरण प्रवद्धर्नका लागि अझ सचेत हुन आवश्यक छ । विद्यालयमा बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रम लागू भएपछि शिक्षण सिकाइ वातावरणमा सुधार भएको पाइन्छ ।

विशेषतः कक्षा कोठाको वातावरणमा परिवर्तन आएको हुने छ । हुन तः बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रमको केन्द्रबिन्दु पनि कक्षाकोठालाई नै बनाएकोले पनि मुख्य परिवर्तन कक्षाकोठामा नै देखिन्छ । विद्यालयहरूको बालमैत्री सिकाइको वातावरण भने फरक–फरक रहेको पाइएको छ । तैपनि शिक्षणमा प्रशस्त मात्रामा शैक्षिक सामाग्रीको प्रयोग नहुनु, आवश्यकताअनुसार बहुविधिको प्रयोग नगरिनु र बालबालिकाको सहभागितामा मनोरञ्जनपूर्ण पठनपाठन नहुनु बालमैत्री विद्यालयमा देखिएका समस्या हो ।

बालमैत्री विद्यालयमा अध्यापनरत शिक्षकहरू बालमैत्री शिक्षणका बारेमा केही मात्रामा तालिम प्राप्त भए पनि अझ थप तालिमको आवश्यकता छ । विद्यालयका शिक्षकहरू पूर्ण बालमैत्री शिक्षणसम्बन्धी तालिमबाट अझै वञ्चित छन् । शिक्षक केन्द्रितताबाट विद्यार्थी केन्द्रितता, व्याख्यान विधिबाट क्रियाकलापमा आधारित विधिहरूको प्रयोग, नांगो कक्षा कोठाबाट आधा सजिएका कक्षाकोठा, शैक्षिक सत्रको अन्त्यमा मात्र गरिने परीक्षा तथा विद्यार्थी मूल्यांकन पद्धतिबाट निरन्तर तथा निर्माणात्मक विद्यार्थी मूल्यांकन प्रणाली, आदि पक्षहरू शिक्षकहरूको परिवर्तित व्यवहारका परिणतिहरू हुन् ।

केही विद्यालयबाहेक वित्तीय व्यवस्थापनको अवस्था कमजोर देखिन्छ । विद्यालयहरूमा वित्तीय योजना भए पनि सहभागितात्मक प्रक्रियाबाट निर्णय गरी खर्चको व्यवस्थापन गर्ने गरेको देखिन्छ । खासगरी विद्यालयहरूको वित्तीय अवस्थामा देखिएको समस्या भनेको स्रोत साधनको असमान वितरण नै हो । किनभने गैरसरकारी क्षेत्रबाट वितरित स्रोत साधन केही विद्यालयमा मात्र सीमित भएको पाइन्छ ।

बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रमहरूको सुरूवातपश्चात् सम्बन्धित विद्यालयहरूमा सामुदायिक सहभागितामा वृद्धि भएको पाइन्छ । विद्यालयको भौतिक विकासमा मात्र सीमित भएको समुदायको भूमिका हाल बालबालिकाकोे सिकाइतर्फ उन्मुख भएको छ । विद्यालयहरूका भौतिक अवस्थामा विविधता छ । विशेषतः अपांगतामैत्री भौतिक वातावरणको कमी हुन र विद्यालयको बाह्य वातावरण बालमैत्रीपूर्ण नहुनु सबै विद्यालयहरूका साझा समस्या हुन् ।

बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याएपश्चात् विद्यालयको समग्र कार्यक्षमतामा केही सुधार भएको पाइन्छ । सबै विद्यालयमा विद्यार्थी भर्ना संख्या भने केही वृद्धि भएको देखिन्छ । खासगरी दलित तथा जनजाति, बालबालिकाको भर्ना संख्या वृद्धि भएको देखिन्छ । त्यसैगरी विद्यार्थी उत्तीर्णदरमा वृद्धि हुँदै जानु बालमैत्री विद्यालयसम्बन्धी कार्यक्रमको सकारात्मक प्रभाव हुन ।

विशेषतः विद्यार्थीको नियमित हाजिरीदरमा वृद्धि हुँदै जानु अर्को सकारात्मक नतिजा हो । तर विद्यार्थीको कक्षा छाड्ने दर भने राष्ट्रिय आँकडाको अनुपातमा अझै उच्च हुनु मुख्य चुनौतीको रूपमा देखिन्छ । बालमैत्री विद्यालयहरूमा मुख्यतया शिक्षक तथा विद्यार्थीहरूबीच स्थापना भएको सुमधुर सम्बन्ध, बालमैत्री सिद्धान्तअनुसार शिक्षकहरूको व्यवहारमा आएको परिवर्तन, मनोरञ्जनपूर्ण सिकाई प्रक्रिया, विद्यार्थीहरूमाथि हुने गरेको शारीरिक दण्ड सजायको अन्त्य हुनु शिक्षण सिकाइमा प्रर्याप्त शैक्षिक सामाग्रीको प्रयोग हुनु, शिक्षणमा बहु–विधिको अवलम्बन गरिनु, विद्यालयको भौतिक वातावरण बालमैत्री हुनेगरी सुधार गरिनु र विद्यालय व्यवस्थापनमा समुदायको सहभागिता वृद्धि हुनु बालमैत्री विद्यालयका उदाहरणीय पक्षहरू हुन् ।

बालमैत्री विद्यालय गुणस्तरीय शिक्षाको लागि अपरिहार्य भएको स्वीकार गरिए पनि अझै यो कार्यक्रम सबै विद्यालयहरूमा गति लिन सकेको छैन । ठूलो संख्याका बालबालिकाहरू बालमैत्री सिकाइ प्रक्रियाजस्तो महत्वपूर्ण विषयबाट वञ्चित छन् । विद्यालयहरूलाई उपलब्ध गराइएको प्राविधिक सहयोग अझै अपर्याप्त छन् । बालमैत्री विद्यालयहरूमा अझै पनि भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र सिकाइका लागि आवश्यक पर्ने सामग्रीहरूको आपूर्ति हुन सकेको छैन ।

उचित शिक्षक तालिम पनि प्रर्याप्त रूपमा दिइएको छैन । बालमैत्री अवधारणा सम्बन्धमा सचेतीकरणको आवश्यकता देखिएको छ । हालको नयाँ संरचनाअनुसार खासगरी विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायस्तरका सरोकारवालाहरूमा बालमैत्री अवधारणा व्यापकरूपले प्रबोधीकरण गर्न जरूरी देखिन्छ । यसै सन्दर्भमा हालको स्थितिमा २०७६ चैत्रदेखि हालसम्म कोभिड–१९ माहामारीको कारणले विद्यालयहरू बन्द रहेका छन् । जसका कारण भविष्यका कर्णधार बालबालिकामा ठूलो नकरात्मक प्रभाव परेको छ । जसको फलस्वरूप बालबालिकामा मानसिक तनाव तथा पढ्ने बानीमा अवरोध भएको छ ।

सामान्य स्थिति भएपछि पनि पहिलेकै स्थितिमा बालबालिकालाई पु-याउन निकै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा सरोकारवालाले बालबालिकालाई बालमैत्री तरिबाबाट सिकाइ तथा पठनपाठन गर्नुपर्ने ठूलो चुनौती खडा भएको छ । यसलाई मध्यनजर राखी सरोकारवालाले उत्पन्न चुनौतीको सामना गरी बालमैत्री तरिकाबाट विद्यालयमा बालबालिकालाई सिकाइ गर्न सक्नुपर्दछ । अनि मात्र सेप्टेम्बर ८ मा मनाउने शिक्षा दिवस तथा भाद्र २९ गने मनाउने बाल दिवसले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया