जडीबुटी : आर्थिक विकास र असल स्वास्थ्य
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
विषय प्रवेश : हिजोआज फुटपाथदेखि ठूला पसलसम्म गुर्जोका डाँठहरूले स्थान पाउनेगरेका छन् । कोभिड १९ सँगै एकाएक पलाएको यो परिदृश्य भने नेपालका लागि नौलो नभएर आफ्नै मौलिक विशेषता हो । त्यसो त आयुर्वेदको स्रोत भूमि नेपालमा परम्परागत वेदलाई बत्ती नै बालेर खोज्नुपर्ने भएको छ । मृगले कस्तुरी बिनाको बास्ना खोज्न परतिर भौतारिन्छ, कस्तुरीको बास्ना आफैँसँग भएको पत्तो पाउँदैन । विज्ञानकोे आविष्कारसँगै एलोपेथी औषधि प्रयोगमा आएको धेरै समय भएको छैन ।
प्राचीन इतिहास बोकेको आयुर्वेदिक उपचारलाई विश्व स्वास्थ्य संगठनले वैकल्पिक चिकित्सा पद्धतिका रूपमा हेरेको छ । हालै कोभिड अस्पतालमा स्तरोन्नति भएको नेपाल आयुर्वेदिक रिसर्च सेन्टर कीर्तिपुरले आइसोलेसनमा उपचार भइरहेका कोभिडका बिरामीहरूलाई गुर्जो, सुठो, अदुवा, मरिच, पिप्ला, तुलसी, दालचिनी मिलाएर बनाएको औषधिको गोली खुवाइरहेको बताएको छ । हामीकहाँ भएका जडीबुटीबाट आर्थिक विकासको साथै असल स्वास्थ्यको सम्भावनाबारे चर्चा गर्ने यो लेखको मनसाय रहेको छ ।
वन र जडीबुटी : जल, जमिन, जंगल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । यसक्षेत्रको अपार सम्भावनाले नै देश समृद्ध हुन सक्छ । देशको कुल भू–भागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल क्षेत्रको ४४ दशमलव ७ प्रतिशत क्षेत्र वनले ओगटेको छ । सबैभन्दा बढी वनक्षेत्र पहाडमा छ भने सबैभन्दा कम वनक्षेत्र तराईमा रहेको छ । कुल वन क्षेत्रको सबैभन्दा बढी बन कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश नं. २ मा छ । प्रदेशगत हिसाबमा भन्नुपर्दा कुल भू–भागको तुलनामा सुदूरपश्चिम क्षेत्रमा वन क्षेत्र धेरै र प्रदेश २ मा कम छ ।
जडीबुटीको धेरै सम्भवना हुँदाहुँदै पनि सरकारी कम्पनी जडीबुटी प्रशोधन तथा उत्पादन कम्पनीले आव ०७५/७६ मा जम्मा १५ टन सुगन्धित तेल र २२ लाख २४ हजार थान हर्वल केयर उत्पादन गरेको र आव ०७६/७७ मा ३० टन सुगन्धित तेल र ४८ लाख थान हर्वल केयर उत्पादन भएको आर्थिक सर्भेक्षण ०७७ ले बताएको छ । यहाँ भएका औषधीय गुणका वनस्पतिमध्ये झण्डै ९० प्रतिशत वन क्षेत्रबाटै संकलन गर्ने गरिएको छ । आफ्नो प्रयोगका साथै निकासीको प्रशस्त सम्भावना भए पनि नेपालबाट औपचारिक रूपमा निर्यात व्यापार वार्षिक एक अर्ब २० करोड रुपैयाँको मात्रै देखिन्छ भने आयात व्यापार भने एक अर्ब ४० करोड रुपैयाँको छ ।
प्रदेशगत सम्भावना : आयुर्वेदीय गुणकारी औषधिको माग विश्व बजारमा बढ्दै छ । अर्काे दुई अढाइ वर्ष अर्थात् सन् २०२३ भित्रै यसको विश्व बजार १२ लाख नौ हजार करोडले माग हुने प्रक्षेपण भइरहँदा हाम्रो विश्व बजारको उपस्थिति भने केवल शून्य दशमलव शून्य, शून्य, शून्य दुई प्रतिशत मात्र रहेको देखिँदा प्राचीन नेपालका जडीबुटीहरू थप ओझेलमा परेको देखिन्छ । हाम्रो देशका सबै क्षेत्रमा जडीबुटीका सम्भावना छन् ।
प्रदेशगत सम्भवनालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा तेजपात, कुरिलो, रिठ्ठा, डालेचक धेरै पाइन्छ । कर्णाली प्रदेशमा कुड्की, अतीस, जटामसी, काउलो, टिमुर धेरै पाइन्छ । लुम्बिनी प्रदेशमा काउलो, तेजपात, टिमुर, सुगन्धकोकिल धेरै पाइन्छ । वाग्मती प्रदेशमा चिराइतो, लोठसल्ला, सतुवा, धसिँगरे धेरै पाइन्छ । प्रदेश नं २ हर्रो, बर्रो, कुरिलो, अमला, लेमनग्रासले प्रख्यात छ भने प्रदेश १ मा लोठसल्ला, चिराइतो, तेजपात र धसिँगरेको सम्भावना धेरै छ ।
सरकारी नीति : जडीबुटीको अधिक सम्भावना भए पनि यस क्षेत्रमा राज्यको आँखा जानसकेको छैन, सरकारी नीति नै स्पष्ट छैन । एलोपेथीले एकछत्र राज गरेका बखत एलोपेथी आउनु अघिदेखि मानव स्वास्थ्यमा योगदान गरिरहेको जडीबुटी भने ओझेल परेको छ । देशमा यस सम्बन्धित सरकारी निकाय धेरै छन् । केन्द्रमा आयुर्वेद विभाग, धेरै पुरानो सिंहदरबार वैद्यखाना, प्रदेश र जिल्लाहरूमा सबैतिर आयुर्वेदिक चिकित्सालयहरू, आयुर्वेद रिसर्च सेन्टर, आयुर्वेद क्याम्पस, बेलझुण्डी अस्पताल, काठमाडौँको नरदेवी अस्पताल धेरै छन् तर सबैप्रति न सर्वसाधारणको चासो छ न राज्यको दूरदृष्टि ।
यस वर्षको बजेटमा समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरी जडीबुटीमा आधारित उद्योगको विकास गरिने उल्लेखसम्म छ । जडीबुटीको व्यावसायिक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्राण्डिङ गरी निर्यात गर्ने उल्लेख छ । कर्णालीलगायतका हिमालीक्षेत्र र सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम सञ्चालन गरिने, जडीबुटी उत्पादन तथा कम्पनीको क्षमता अभिवृद्धि गर्दै नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय उच्च मूल्यका जडीबुटीजन्य वस्तु उत्पादन गर्ने भन्ने बजेटका बुँदाहरूमा लेखिएका छन् ।
यसको क्षेत्र : जडीबुटीको क्षेत्र र दायरा ठूलो छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । आयु बढाउने हुनाले यसलाई आयुर्वेद भनिएको हो । समुद्रमथनसँगै आयुर्वेदलाई लिएर भगवान विष्णुले धन्वन्तरीको रूप लिई पृथ्वीमा प्रकट भएसँगै सृष्टिको उषाकालदेखि आरम्भ भएको आयुर्वेद र जडीबुटीप्रति आम चासो रहेन, जसले गर्दा साइड इफेक्ट नगरी शरीरमा एन्टी बोडी निर्माण गर्दै रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने बहुगुणी औषधिको यो क्षेत्रको व्यापक विस्तार हुन सकेन । हिजोआजको खानपान र जीवनशैलीका कारण मानिसको पूर्ण आयु हुन सकेन र अल्पायुमै धेरैको ज्यान जाने गरेको छ ।
विदेशी मुद्रा आर्जनको नाममा हामीले वनस्पतिजन्य जडीबुटीलाई कच्चापदार्थका रूपमा मात्र निर्यात गर्ने प्रयत्न गरेका छौँ । आफैँले प्रशोधन गरेर आफ्नै स्रोत र प्रविधिले यसको मूल्य अभिवृद्धि गर्नसके बढी राम्रो हुन्छ । देशभित्रैको प्रयोग बढाउन सके अर्बौं रकमको एलोपेथी औषधि आयातलाई हामीले सजिलै प्रतिस्थापन पनि गर्न सक्छौँ । जडीबुटी उत्पादनको क्षेत्र व्यापक छ ।
खासगरी ६ क्षेत्रमा विभाजन गर्न सकिने जडीबुटीलाई स्वाद, सुगन्ध, मसला, औषधि, पेय पदार्थ र सौन्दर्यका रूपमा लिन सकिन्छ । हामी हिमालकोे काखमा छौँ, अपार जलबाट ऊर्जाको व्यापक सम्भावना भएझैं हिमाली, उच्च पहाडी क्षेत्रबाट आफैँ उब्जनी हुने र थप व्यावसायिक खेतीको समेत वृद्धि गर्न सके हामी कसैको भिक्षार्थी हुनै पर्दैन, कसैको आर्थिक औपनिवेशिकता र दासतामा पर्नै पर्दैन ।
वनस्पति विभागका अनुसार देशमा आठ सय १९ प्रजातिका गुणयुक्त वनस्पतिहरू छन् । कुल तीन सय ११ वनस्पति नेपालमा पाइने रैथाने प्रजाति नै हुन् । झण्डै दुई सय प्रजाति सुगन्धित वनस्पति छन् । झण्डै तीन सय प्रजाति व्यापारमा छन्, अझै दुई सय ५० प्रजाति व्यापारमै थप्न सकिन्छ । देश गरिबीतिर उन्मुख छ, कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको छ, वैदेशिक रोजगारी भरपर्दो र दिगो छैन ।
देशमा भएका सम्भावित यस्ता क्षेत्रको पहिचान गर्नसके आयआर्जन, रोजगारीको सिर्जना, गरिबी निवारण, निकासी व्यापारको वृद्धि भई देशलाई उच्च व्यापार घाटाबाट जोगाउन सकिन्छ । यहाँ भएका औषधीय गुणका वनस्पतिमध्ये झण्डै ९० प्रतिशत वन क्षेत्रबाटै संकलन गरिने हुन् । हिजोदेखि नै हामीले भन्ने गरेका उखान हरियो वन नेपालको धन पनि थप चरितार्थ हुन सक्छ ।
कमजोरीको पहिचान : हिजो खाली लोटा लिएर छिर्नेहरू आज अर्बपति भए । भएका उद्योग र व्यापारमा उनीहरूको एकलौटी जगजगी छ । देशको ढुकुटीको साँचो लगभग उनीहरूसँगै रहेको छ, बहु राष्ट्रिय कम्पनीहरूको उत्पादन तयारी र फ्रिजका पानी, पाष्टफुड, जंकफुड, विषाक्त बजारका खानाले हाम्रो शरीर दिन परदिन गल्दो छ, सामान्य रुघाखोकमिा एन्टीबायटिक चाहिने भएको छ । भरमार अस्पताल र औषधि पसल खुलेका छन् र पनि महामारी भनिएका बेला घरमै बस्न, अस्पताल नआउन, सिट छैन, आईसीयू, भेन्टिलेटर छैन, डाक्टरहरू बिरामी छन् भन्दै पट्यारलाग्दोे स्वास्थ्य प्रवक्ताको भाषण सुन्न परिरहेको छ ।
मन्दिरमा नित्य पूजाबाहेक केही नगर्नू भन्ने उर्दी संस्कृति मन्त्रालयबाट आउनुपर्नेमा स्वास्थ्यतिरैबाट आउने गरेको छ । निषेधाज्ञा र लकडाउनको गृहको काम पनि उतैतिरबाट भन्ने गरिएको छ । एक किसिमको त्रास यतैबाट हुने गरेको छ । आफ्नो क्षेत्रमा निराशा र कुण्ठा आउन नदिने, रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपयोगबारे भने मन्त्रालय मौन छ ।
हामीकहाँ कोरोनाको परिभाषा नभएजस्तै जडीबुटीको पहिचानको क्षमता नै भएन, त्यस्तो ज्ञानको पनि अभाव भयो, प्रविधि पनि भएन र लगानी गर्ने वातावरण पनि बनेन । व्यक्ति वा कुनै समूह मात्र खटेर यसको विकासको सम्भावना देखिँदैन, राज्य नै उठेर लाग्नुपर्छ । यसमा सीप र धैर्यताको खाँचो पर्छ, उच्च मनोबलको साथ साहस चाहिन्छ । आजको भोलि नै नामी र दामी हुन खोज्नेलाई यो क्षेत्र निरस हुन सक्छ ।
राज्यको प्रोत्साहनको कमी हुनाले यसमा भएको तत्वको पहिचान हुन सकेन, खेतीको विस्तार हुन सकेन, वनस्पतिजन्य औषधिको गुण पहिचान हुन सकेन, प्रविधिको हस्तान्तरण हुन सकेन, उद्योगको रूपमा त आउनै सकेन र उद्योग विस्तार नहुँदा बजारीकरणको अवधारणा नै आउन सकेन । विदेशी गुरुका ब्राडिङ, गहुँत, पिठो, सातु, हर्बल, क्याप्सुल भनेपछि हुरुक्कै हुने तर यहाँको आफ्नैमा मनै नजाने कस्तो अचम्मको हाम्रो संस्कार ।
अन्यत्रका फोटो आयुर्वेदिक पसलैपिच्छे राखे सामान बिक्री हुने, यहाँको भने राजनीतिक उद्योग मात्र चल्ने कस्तो अचम्म ! नेपालीले नै जडीबुटी खेती गर्नुपर्छ । गैरकाष्ठका वन पैदावारको खेती गर्नुपर्छ । भण्डारण र प्रशोधन गर्नुपर्छ । यसका लागि पकेट, ब्लक, जोन, सुपर जोन बनाउन सकिन्छ । पकेट क्षेत्रलाई जडीबुटी खेतीमा प्रयोग गर्न सकिन्छ । ब्लक क्षेत्रलाई यसको संकलन क्षेत्रको रूपमा प्रयोग गर्न सकिन्छ । जोनलाई प्रशोधन केन्द्रको रूपमा स्थापना गर्न सकिन्छ र सुपर जोनमा उद्योगहरू राख्न सकिन्छ । प्रविधिमैत्री, बाली बीमा, सहज ऋण, प्रजातिको पहिचान र प्रवद्र्धन कार्यमा दरो रूपमा उभिन सके देशमा समृद्धि आउन धेरै बेर लाग्दैन ।
हामीकहाँ योक्षेत्रको गुणस्तरको प्रमाणीकरण गर्ने प्रयोगशाला नै भएन । प्राविधिक जनशक्ति छैन, भएका जनशक्तिको प्रयोग भएन, राजनीतिक दलका झोला झण्डा बोकेर हिँड्छन् । सबैभन्दा फुर्सदिला छन् आयुर्वेदिक जनशक्ति । राज्यको पोत्साहन नहुँदा विदेशी लगानी अकर्षित छैन, भन्सार सहजीकरणको अवस्था पनि छैन । आफैँ त सानी कसले भर्ने पँधेराको पानी भन्ने उखान चरितार्थ हुँदै छ ।
धेरै नेपालीहरू राजनीतिमा व्यस्त छन्, कहाँ कसलाई कसरी ठेक्कापट्टा दिलाउने, को–कसको ढोकामा छिरे छिटै धनी हुन सकिन्छ, ठूलो पद, पैसा, प्रतिष्ठा छिटै कहाँ कसरी पाइन्छ, त्यसतिर धेरैको चासो छ । देश, समाज आत्मनिर्भर हुने कसरी भन्नेतिर ध्यान छैन । राजनीति त चुनाव हुने दिन एकदिन गरे भइहाल्यो नि । निश्चित व्यक्तिहरूले नियमित गरे भइहाल्यो, सबैले राजनीति किन गर्ने ? हो, समाज सेवा भने सबैले सबै दिन गर्न सक्छन् ।
जबसम्म राजनीतिक पद र प्रतिष्ठा अवैतनिक हुँदैन देशको हरिकँगाल हुने अवस्था आजको भन्दा भोलि बढी नै हुन्छ । सबैलाई गाडी चढ्ने रहर अनि झण्डा हल्लाउने रहर रहिरहँदासम्म देश उँभो लाग्दैन । हिजो धान, चाल निर्यात गर्ने देश आज आलु, प्याज, चामल, तरकारी, मासु, पाउडर दूध, तरकारी, फलफूल, मर मसला, चिनी, मकै, पिठो, दाल, गेडागुडी भनौँ नाना, छाना र खाना सबै विदेशबाटै आयात गर्नुपर्ने अवस्था हुँदैनथ्यो, दूरदृष्टिको अभाव र राजनीतिक भागवण्डाकै कारण यस्तो भएको र देश आन्तरिक र बाह्य ऋणमा परेको हो ।
कोभिड १९ को सन्देश र जीवनशैली : यसपालिको कोरोनाले विश्वलाई नै ठूलो सन्देश दिएको छ । सबैले प्रकृतिमैत्री नबनी सुखै छैन, प्रकृतिलाई बिर्सेर कुनै काम नगर भनेको छ । आफू–आफूमै रमाउन सिक, अर्काको ज्यादा नक्कल नगर । ज्यादा प्रतिस्पर्धा र होडबाजी नगर, खानपान र जीवनशैलीका कारण विकसित भनिएका पश्चिमाहरू प्नि थाके, समृद्धलाई पनि कोरोनाले छोडेन ।
राजा, रंक सबै समान उसका वैषम्य गर्दैन त्यो भन्ने हाम्रा अग्रजको सन्देश कोरोनाले दोहो-याइदियो । पछिल्लो समय हुत्तिँदै आएको अश्लील सबै प्रकारको व्यापारमा प्रश्न चिह्न लागेको छ । हिंसा, क्रोध, इष्र्या र वैमनष्यताको लहरलाई शमन गर्न खोजेको छ । हात उठाउने, हात मिलाउनेभन्दा प्रणाम, नमस्तेको पूर्वीय शैलीलाई उजागर गरेको छ । असल स्वास्थ्य र रहनसहन, इमानदारिता, सत्यता, योग, ध्यान र असल आनिबानीबाट शरीर स्वस्थ हुनसक्नेमा जोड दिएको छ । आधुनिक विज्ञानलाई चुनौती दिँदै अदृश्य शक्तिबाटै नयाँ र स्वस्थ समाजको निर्माण गर्न खोजेको छ ।
गुरुदीक्षा, शिक्षा लिएर आफैँले पनि प्राकृतिक चिकित्सा, ध्यान, योग गरेर शरीरको आयु बढाउन सकिन्छ । विषयबाट मनलाई हटाएर मुलाधार चक्रबाट कुम्डलिनी शक्ति उठाएर सर्वप्रथम प्राण, अपान, उदान, समान र व्यान पाँच वायुलाई हृदयमा स्थापित गर्नेको नाम योग हो । अनाहत चक्रमा पाँच वायुलाई स्थापित गर्दा अर्थात् मनलाई प्राण र अपान वायुका साथ प्रविष्ठ गर्दा नाकको अग्रभागमा दृष्टि पर्न जाँदा त्यो भागमा स्वरूप देख्दा दुवै आँखीभौंका बीच आज्ञाचक्रमा आफूलाई स्थापित गर्दा योगको प्रक्रियागत अवस्थामा पुगिन्छ । दैनन्दिन कार्यकुशलताका लागि, शरीरको निरोगीपनको लागि, मनको स्वच्छताको लागि सामान्य योगाभ्यासबाट आफूलाई सरल र सहज बनाउन सकिन्छ ।
मनबाट फलको इच्छा त्यागको नाम मोक्ष हो । जसलाई मोहको क्षय भनिन्छ । रात बितेर, अन्धकार हटेपछि स्वतः प्रकाश प्राप्त भएझैं मनको अज्ञानता हटेपछि स्वतः खालि ठाउँ भर्ने काम दिव्य ज्योतिबाटै हुन्छ । अन्धकारको आवरण हटाएपछि ज्योतिले प्रवेश पाउँछ । ध्यानमा रहने व्यक्तिले ईश्वरको विषयमा सामान्य जानकारी राख्नुपर्ने हुन्छ । ईश्वरबाट जीव र जगतको सृष्टि भएको हो । जेनेरेटरको रूपमा जि, अपरेटरको रूपमा ओ र डिस्ट्रवायरको रूपमा डि अर्थात् जि.ओ.डि. गड् भनौं ईश्वर त्यही हो । रूप, रस, गन्ध स्पर्शभन्दा ईश्वर पृथक छ । मन वुद्धिभन्दा फरक छ ।
गोचर भएर अगोचर र अगोचर भएर गोचरको रूपमा प्रतिविम्बित हुन्छ । साकार प्रतिविम्बित उसको संसार हो भने निराकारमा ऊ सबै जीवको चित् हो । परा र अपरा अर्थात् चित् एवं जड सत्ता सञ्चालन गर्दै ऊ सबैप्रति एकाकार भइरहेको हुन्छ । अध्यात्म ज्ञानबिना परमात्माको ध्यानमा मन जाँदैन । अध्यात्मज्ञानबाट योगमा समाहित भएपछि परमात्माको दर्शन हुन्छ । परमात्मा ज्ञानको स्रोत हो, विज्ञानको स्रोत हो । मस्तिष्कको दाता ईश्वर हो, विज्ञानको स्रोत मानव हो भने ज्ञानको स्रोत भगवान हो । अन्तरमुखी बन्नलाई ध्यानले प्रशस्त मदत गर्छ । बर्हिमुखी मात्र हुँदा विज्ञानको स्रोत बुझ्न सकिन्न । बिजुली बन्न पानीको आवश्यकता छ भनौं आधुनिक विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्म ज्ञानको आवश्यकता छ ।
अध्यात्म ज्ञानको परिचय दिने धेरै मार्गहरू छन् । त्यसमध्ये एउटा मार्ग हो ध्यान मार्ग । ध्यान जहिले पनि एकान्त स्थानमा हुनु जरुरी छ । ध्यानमा रहने आसन स्थिर हुनु जरुरी छ । यसलाई देशयोग भन्ने गरिएको छ । आहार, विहार, चेष्टा, सुताई सबै नियम अनुकूल हुनु जरुरी छ । यसलाई कर्मयोग भनिन्छ । आश्यक समाग्री, खरखजाना भनौं साधनहरू जुन न्यून मात्रामा आफूलाई चाहिन्छ त्यसलाई अर्थयोग भनिएको छ । ध्यान गर्न लायक आसनमाथि रहनु उपाययोग हो । संसारप्रति आसक्ति एवं ममता हराउनुको नाम अध्यात्मयोग हो । श्रुति, स्मृति एवं गुरूप्रति विश्वास एवं श्रद्धाको नाम निश्चययोग हो । आँखा आदि इन्द्रीयलाई आफ्नो वशमा राख्नु चक्षुयोग हो । शुद्ध र सात्विक आहारको नाम आहारयोग हो ।
विषयप्रति र भविष्यप्रतिको चिन्ताबाट अलग रहनुको नाम संहारयोग हो । मनले संकल्प, विकल्प नबनाउनुको नाम मनोयोग हो । जरा–जन्म–मृत्यु–रोगबाटदुखित नहुनु दर्शनयोग हो । त्यसर्थ एक ठाँउमा बसेर केवल ध्यान केन्द्रित गर्नुको नाम मात्रै योग होइन । योग हाम्रो जीवनमा सर्वत्र र सबैबेला भैरहन सक्छ । रोगसँग ऊ सजिलै लड्न सक्छ, प्रकृति प्रदत्त जडीबुटीको सेवनमा यो क्षमता रहन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया