Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविकासमा उद्यमशीलताको महत्व, समस्या र सुझाव

विकासमा उद्यमशीलताको महत्व, समस्या र सुझाव


काठमाडौं ।
उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरू वितरित संशाधनहरू र मूल्यको सृजना गर्न सकिन्छ । त्यस्तो खालको मूल्यको सृजना समस्याको पहिचानमार्फत परिवर्तनको लािग गरिएको हुन्छ । जहाँ उद्यमीले समस्याहरू तथा अवसरहरू देख्ने गर्दछ र त्यसलाई पहिचान गरी उसले समस्याको प्रभावकारी समाधान खोज्ने गर्दछ । उद्यमीले बजार क्षेत्रमा देख्ने अवसरहरू र ती अवसरलाई प्राप्त गर्नसक्ने श्रेयता र त्यही श्रेयता उचित समयमा उचित ठाउँमा गर्नसक्ने कौशलताबाट उसको उद्यमशीलता झल्कन्छ । ती समस्याहरूको समाधान गर्दै मूल्य सृजना गर्ने काम नै उद्यमशीलता हो ।

अर्को शब्दमा उद्यमीले गर्ने वा व्यवसायीले गर्ने हरेक काम र उसले चाल्ने कदम नै उद्यमशीलता हो । जुन सधैँ उसको सृजनशीलता, अनुसन्धान र आर्थिक रूपान्तरणको लागि एवं वित्तीय सुधारको लागि एउटा अनुसन्धान अन्वेषण एवं आविष्कार बन्न सक्छ । उद्यमी शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्दछ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्दछन् ।

देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ । तर नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ ।

आजको युग औद्योगिक युग हो । जटिल उद्योग व्यवसायलाई एउटा सुनिश्चित मार्ग प्रदान गर्न त्यसलाई सञ्चालन निर्देशन र नियन्त्रण गर्न संगठनको ठूलो भूमिका छ । पुँजीवादी, समाजवादी र मिश्रित यी तीनै व्यवस्थाको उत्पादन कार्यको लागि संगठनको ठूलो महत्व छ । उद्योग व्यवसायमा उत्पादन कार्यको लागि योजना तयार पार्न, उत्पादनका साधनहरूको व्यवस्था गर्न संगठनको विशेष महत्व छ ।

संगठनकर्ताको कुशलतामा नै उत्पादन निर्भर रहन्छ । श्रम विभाजनको सिद्धान्तबमोजिम प्रत्येक श्रमिकलाई सुहाउँदो काम दिने, काम गर्नेलाई असल औजार र उपयुक्त स्थानको बन्दोबस्त गर्ने, कामको राम्ररी रुटिन मिलाउने, हिसाबको राम्रो व्यवस्था गर्ने इत्यादि धेरै किसिमको जिम्मेवारी पनि उद्यमीमाथि नै परेको हुन्छ । श्रम विभाजनको मुख्य कारणबाट नै उद्यमीको उदय हुनुको मुख्य कारण हो भन्न सकिन्छ । श्रम विभाजन यति जटिल हुँदै गइराखेको छ कि उत्पादनको काम धेरै व्यक्तिहरू र विभागहरूमा बाँडिएको हुन्छ । सबैको काममा सामञ्जस्य स्थापित गर्नलाई पनि उद्यमीको आवश्यकता पर्दछ ।

उद्यमी र उद्यमशीलतालाई व्यक्ति र उसको आचरणको रूपमा बुझ्नुपर्दछ । उद्यमी कर्ता हो भने उद्यमशीलता उसको कार्य हो । कतिपय अवस्थामा यी दुवै शब्दलाई समान अर्थको रूपमा प्रयोग गर्ने गरेको समेत पाइन्छ । त्यसैले यी दुवै शब्दको अर्थ र प्रयोगमा भएको भिन्नतालाई तलको तालिकाबाट प्रस्ट पारिएको छ । उद्यमी शब्दको प्रादुर्भाव फ्रेन्च भाषाबाट भएको पाइन्छ ।

सुरुमा सांगीतिक कार्यक्रमका सञ्चालकलाई उद्यमी भन्ने प्रचलन थियो । पछि गएर सैनिक क्षेत्रमा साहसपूर्ण कार्य गर्नेलाई पनि उद्यमी भनियो । अठारौं शताब्दीको सुरुतिर मात्र यो शब्दलाई आर्थिक क्रियाकलापसँग जोडियो । यस उद्यमी शब्दको प्रादुर्भाव हुन र स्थापित हुन दुई शताब्दीभन्दा बढीको समय लाग्यो । उद्यमी शब्दको अवधारणालाई तीनवटा विशेषताका साथ लिइएको छ । ती हुन् जोखिम लिने व्यक्ति, संगठक र खोजकर्ता ।

उद्यमीले अर्थात् उद्यमशीलताले जनतासँग रहेका निष्कृय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ । उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु-याएको हुन्छ । यसले पैसा भएकाहरूलाई सिर्जनात्मक कार्यमा लगानी गर्न उत्प्रेरित र आकर्षित गर्दछ । उद्यमीहरूले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरू सिर्जना गर्दछन् । उनीहरू आफैं, परिवारका सदस्य तथा समाजका अन्य व्यक्तिहरूलाई रोजगारी प्रदान गरेर राष्ट्रको बेरोजगारी समस्या हटाउन ठूलो सहयोग पु¥याउँदछन् । बेरोजगारी घटनाले मानिसको आम्दानी एवं जीवनस्तर बढ्छ । आज अल्पविकसित देशहरू बेरोजगारीको ठूलो समस्याबाट पीडित छन् ।

बेरोजगारी नै राजनीतिक अस्थिरताको जड पनि हो । फुर्सदले मानिसहरूलाई नकारात्मक काम गर्ने बनाइदिन्छ । उद्यमीले मानिसहरूलाई फुर्सद दिँदैन । उद्यमीहरूले देशमा उपलब्ध श्रम, पुँजी, भूमिलगायत प्राकृतिक साधन स्रोत छन् । जो त्यसै विना प्रयोग खेर गैरहेका हुन्छन् त्यसको अधिकतम सदुपयोग गर्नमा मदत पु-याउँछन् । यसबाट देशको उत्पादन र उत्पादकत्व बढ्दछ । विकसित देशहरूमा अत्यधिक उद्यमीहरू भएको कारण त्यहाँका साधन स्रोतको अधिकतम प्रयोग, उपयोग भएको छ । तर अविकसित देशमा उद्यमीहरूको कमीले गर्दा साधन स्रोतहरू खेर गैरहेका छन् ।

उद्यमीहरूले साधन एवं स्रोतको उपलब्धताका आधारमा देशका विभिन्न भागमा व्यवसायहरू सञ्चालन गर्दछन् । यसबाट देशको विभिन्न क्षेत्रमा समानुपातिक ढंगले औद्योगिक एवं आर्थिक विकासमा मद्दत पुग्दछ । सरकारले पनि पिछडिएका क्षेत्रहरूमा लगानी गरी उद्योगको स्थापना गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्दछ । यसरी देशका पिछडिएका क्षेत्रहरूका आर्थिक विकास गरी सन्तुलित क्षेत्रीय विकासमा उद्यमीहरूले मद्दत पु-याइरहेका हुन्छन् ।

उद्यमीहरूले देशमा धन, आम्दानी तथा राजनीतिक शक्तिको न्यायोचित वितरण गर्न सघाउ पु-याउँछ । अर्थात् एकै ठाउँमा, एउटै पुँजीपति वर्गमा केन्द्रित हुन दिँदैनन् । धेरै उद्यमी भए भने धेरै उद्यमीहरूमा धन सम्पत्तिको स्वामित्व बाँडिन्छ । त्यस्तै उनीहरूले धेरैभन्दा धेरै सर्वसाधारण, शोषित पीडित, निर्धन व्यक्तिहरूलाई रोजगारी दिन्छन् । यसबाट आय पनि बाँडिन्छ वा एउटै व्यक्तिले मात्र कमाउँने हुँदैन ।

देशको राजनीतिक शक्ति पनि ठूला–ठूला पुँजीपति उद्योगपति वा व्यापारीहरूबाट मात्र प्रभावित हुन पाउँदैन उद्यमीहरू छरिएर रहँदा देशभर यस्तो राजनीतिक शक्ति पनि बाँडिन्छ । उद्यमीहरूले नयाँ–नयाँ उद्योग तथा व्यापार सञ्चालन गरेर अत्यधिक उत्पादन गर्दछन् र निर्यात व्यापारमा पनि संलग्न हुन्छन् । विश्वव्यापीकरणले खुला गरेको विश्वव्यापी व्यापार अवसरको फाइदा उद्यमीहरू भएमा मात्र लिन सकिन्छ ।

सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, संगठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यवसाय सञ्चालन गर्दछ भने त्यस कार्यालार्य महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ । त्यसैगरी स्कारब्रो तथा जिमररले महिला उद्यमीहरूलाई दुई वर्गमा विभाजन गरी आफ्ना विचारलाई अघि सारेका छन् ।

जस्तैः पहिलो पुस्ताका महिला उद्यमीहरू, दोस्रो पुस्ताका महिला उद्यमीहरू, उनीहरूका विचारमा आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक सङ्कटका कारण बाध्य भएर उद्यमशीलतामा लागेका महिलाहरू पहिलो पुस्ताका उद्यमीहरू हुन् भने पुरुष सामान उही दक्षता, योग्यता र अपेक्षा लिएर उद्यम सञ्चालन गर्ने महिलाहरू दोस्रो पुस्ताका उद्यमीहरू हुन् । उनीहरूमा पुरुष समान नै सीप, तालिम, शिक्षा, निपुणता तथा निर्णय क्षमता हुन्छ र उनीहरू पनि पुरुषहरूले चाहेजस्तै उद्यमबाट स्वतन्त्रता, उपलब्धि आवश्यकता र परिचय चाहन्छन् । त्यसैले वर्तमान विश्वमा दोस्रो पुस्ताकै महिला उद्यमीहरूको बाहुल्यता पाइन्छ । विकासशील राष्ट्रमा भने पहिलो पुस्ताका महिला उद्यमीहरूको संख्या अधिक भेटिएको छ ।

महिला उद्यमीहरू विशेषगरी नयाँ वा सञ्चालित कुनै व्यवसायको नक्कल नगर्ने हुन्छन् । त्यसैले उक्त उद्यमबाट कति फाइदा हुन सक्छ अथवा त्यसको सम्भावना कति छ, सम्भाव्य बजार तथा भविष्यमा देखा पर्नसक्ने समस्या आदि सम्पूर्ण कुराको बारेमा जानकारी दिने कार्य गर्दछन् । भनिन्छ, जति पुरुषले व्यवसायको बारेमा सोच्छ त्यति महिलाहरू पनि सोच्छन् अझ भनौँ थप कुरा बुझ्ने चाहनाले उनीहरू चुपो लागेर बस्दैनन् ।

महिला उद्यमीहरू पनि आत्मविश्वासी तथा निपूर्ण हुने भएकाले पुरुष समान जोखिम लिन तयार हुन्छन् । भविष्यमा देखा पर्ने अनिश्चितताको आजै पूर्वानुमान गरी त्यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने गृहकार्यमा लाग्दछन् । तर पनि केही मासिहरूको भनाइ छ, पुरुष जोखिम लिन चाहन्छ जबकि महिला जोखिम पन्छाउन चाहने हुन्छन् ।

महिला उद्यमीहरू लक्ष्ययोन्मुख त हुन्छन् नै त्यसका अतिरिक्त उनीहरू परिमाणप्रति विशेष ध्यान राख्दछन् । यसका लागि विभिन्न व्यावासायिक एकाइहरूबीच कर्मचारी, कामदार आदिको सुपरीवेक्षण र उत्पाद प्रणालीको निरीक्षणमा बढी जोड दिन्छन् । अर्कोतर्फ संगठनलाई नेतृत्व दिने क्रममा सम्झने वा सम्झाउने कार्यमा पनि महिला उद्यमीहरू लागेका हुन्न् । यथपि महिला नेतृत्वलाई सहजरूपमा पुरुषप्रदान देशमा स्वीकार नगरिने अवस्थामा उचित वातावरणको सृजना गरी महिला पुरुषको विभेदीकरणलाई कम गर्ने प्रयास भने उसको व्यक्तिगत क्षमता र कुशलतामा निर्भर गर्दछ ।

महिलाहरूको श्रम उत्पादकत्व बढाउन उपयुक्त प्रविधि विकासमा जोड दिइनुका साथै विकासका विविध कार्य क्षेत्रहरूलाई लैंगिक विभेदबाट मुक्त गरिनेछ । उद्योग क्षेत्रमा महिलाहरूलाई मूल प्रवाहीकरण गर्न उद्यमी नीति, श्रम ऐनजस्ता कानुनी प्रावधानहरूलाई संशोधन गरिनेछ । नेपालमा महिलाहरू घरको दायराभित्र सीमित भएर बस्नुपर्छ भन्ने धारणा क्रमशः लोप हुँदै गइरहेको छ । हाल महिलाहरू पुरुषसरह विभिन्न क्रियाकलापहरूमा संलग्न हुन थालेका छन् ।

वर्तमान समयमा विकास प्रयत्नहरूमा महिला उद्यमीहरू एक अभिन्न अंग हुनुपर्छ भन्ने कुरामा मतएकता पाइन्छ । विगतमा महिलाहरूलाई विकासको मूल प्रवाहमा ल्याउनको लागि ‘विकासमा महिला’ प्रारूप विकसित गरिएको थियो र महिलाहरूका मानवीय पुँजी विकासमा जोड दिइएको थियो । हाल ‘लिंग र विकास’ प्रारूप विकास गरिएको छ । जसले विकासमा महिला तथा पुरुष दुवैको भूमिकालाई स्थान दिन्छ । यस पहुँचले महिला सशक्तीकरणमा जोड दिएको छ ।

घरमा आधारित हस्तकला उद्यमहरूमा महिलाहरूले व्यवस्थापक, सुपरिवेक्षक, उद्यमी र दक्ष श्रमिकका रूपमा कार्य गर्दै आएका छन् । तर आयातीत वस्तुहरूका प्रतिस्पर्धा तथा संगठित औपचारिक क्षेत्रका उद्योगहरूले गर्दा घरमा आधारित उद्योगहरू विनाश हुँदै गइरहेका छन् । महिलाहरू नयाँ संगठित उद्योगहरूमा प्रवेश गर्न पनि सकिरहेका छैनन् किनकि संगठित उद्योगमा प्रवेश गर्न पर्याप्त पुँजी र उच्चस्तरीय शिक्षा र सीपको आवश्यकता पर्दछ ।

वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा उद्यमशीलता विकास कार्यक्रम
सोच
उद्यमशील संस्कृति उद्यमशील जनता
लक्ष्य
सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने
उद्देश्य
१. उद्यमशीलता र स्वरोजगारमूलक सीपको विकास गर्नु
. नवीनतम र परम्परागत प्रविधिको उपयोग गर्नसक्ने उद्यमशील जनशक्तिको विकास गर्नु,
. उपलब्ध स्रोत, साधन, स्थानीय पुँजी र प्रविधिको परिचालन गरी स्वरोजगार र रोजगारीका अवसर वृद्धि गर्दे गरिबी निवारणमा योगदान पु-याउनु, औद्योगिक क्षेत्र आर्थिक विकासको इन्जिन हो । औद्योगिक विकासले रोजगारी सिर्जना, वस्तु र सेवाको मूल्य अभिवृद्धि, आवश्यक वस्तु तथा सेवाको उपलब्धता गर्न सहयोग पु-याउँदछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताद्वारा दिगो एवं बृहत् आधारसहितको औद्योगिक विकासमार्फत् रोजगारी श्रृजना गरी गरिबी न्यूनीकरण गर्नमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ ।

औद्योगिक लगानीले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, स्थानीय स्रोत साधन र प्रविधिको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा योगदान गर्दछ । त्यस्तै निजी क्षेत्रलाई लगानीप्रति आकर्षित तुल्याउँदै र वैदेशिक लगानीलाई नवीनतम प्रविधिका साथ भित्र्याउँदै मुलुकको उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न महत्वपूर्ण योगदान दिने गर्दछ । तर नेपालमा औद्योगिक लगानीमैत्री वातावरणमा सुधार नहुनु, विद्युत्को आपूर्तिमा सुधार नहुनु, औद्योगिक वस्तुहरूको उच्च प्रतिस्पर्धा हुनु, औद्योगिक पूर्वाधारहरूको पर्याप्त विकास नहुनु, आवश्यक जनशक्ति पलायन हुनु आदिले गर्दा औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान न्यून रही ७.० प्रतिशतको हाराहारीमा र राष्ट्रिय रोजगारीमा करिब ६ दशमलव ६ प्रतिशत मात्र योगदान रहेको छ ।

उद्योग क्षेत्रको विकासको लागि औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनहरू समसामायिक बन्ने क्रममा छन् भने विदेशी लगानी नीति, २०७१ तर्जुमा भएको छ र विभिन्न राष्ट्रसँग बिप्पा सम्झौता भएका छन् । त्यस्तै भैरहवामा विशेष आर्थिक क्षेत्रको पूर्वाधार तयार गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई ६४ जिल्लामा विस्तार गर्ने कार्य भएको छ ।

औद्योगिक उत्पादनमा गुणस्तरीयता कायम गर्नु, औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति चौबीसै घण्टा हुने अवस्था सिर्जना गर्नु, श्रम नीति उद्योगमैत्री बनाउनु, औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानु, सञ्चालित उद्योगहरूलाई उत्पादन तथा उत्पादकत्वको दृष्टिले प्रतिस्पर्धी बनाउनु, मौजुदा उद्योगलाई रूग्ण हुनबाट जोगाउनु, रूग्ण उद्योगलाई पुनस्र्थापना गर्नु, नयाँ प्रविधिको प्रयोग गर्नु, औद्योगिक नीतिका प्रावधानहरूलाई आर्थिक ऐनले सम्बोधन गर्नु र विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणले सृजना गर्दै ल्याएको प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नु यस क्षेत्रका प्रमुख चुनौतीहरू हुन् ।

अवसर स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै जानु, गैरआवासीय नेपालीहरूको औद्योगिक विकासमा परिचालन गर्ने सम्भावना बढ्नु, श्रम सम्बन्धमा सुधार हुनु, पूर्वाधार निर्माणमा सरकारको लगानी बढ्दै जानु, सूचना तथा आधुनिक सञ्चार प्रविधिको विकास र विस्तार हुनु र शिक्षित एवं सीपयुक्त जनशक्ति स्वदेशमै तयार हुँदै जानु औद्योगिक विकासका लागि अवसरहरू हुन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया