Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौद्ध धर्मका प्रतिपादक सिद्धार्थ गौतम जन्मले हिन्दू थिए

बौद्ध धर्मका प्रतिपादक सिद्धार्थ गौतम जन्मले हिन्दू थिए


काठमाडौं ।
सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ मा कपिलवस्तुमा भएको थियो । उनी जन्मनुअघि शुद्धोदनकी महारानी महामायालाई सपनामा बोधिसत्वले दर्शन दिई तिम्रो कोखबाट मेरो जन्म हुँदै छ भनी सूचित गरेका थिए । त्यसपछि राजा शुद्धोदनले राम, लखनलगायत आठ जना ब्राह्मणहरू दरबारमा बोलाई तिनीहरूलाई भोजन गराई सो सपनाको अर्थबारे छलफल गराएका थिए । ती ब्राह्मणहरूले राजालाई चिन्ता नलेऊ तिमीलाई पुत्र हुनेछ, जो गृहस्थमा लागे चक्रवर्ती सम्राट भई संसारमा शासन गर्नेछ र सन्यासी भए बुद्ध भई संसारमा शान्तिको सन्देश फैलाउनेछ भनी सम्झाएका थिए । सो कुरा भारतका प्रसिद्ध विद्वान् डा. बीआर अम्बेडकरले बुद्ध र उनको धर्म नामक पुस्तकमा उल्लेख गरेका छन् । यसबाट गौतम बुद्धको समयमा कपिलवस्तुमा हिन्दु धर्मको प्रभाव रहेको कुरा बुझिन्छ ।

फेरि शुद्धोदनको राज्यको नाउँ कपिलवस्तु रहनुबाट पनि सो क्षेत्र त्यसबखत वैदिक धर्मकै प्रभावअन्तर्गत रहेको भन्ने स्पष्ट हुन्छ । सांख्य दर्शनका प्रणेता कपिल मुनिका शिष्यहरूले कपिलवस्तु नामक नगरको निर्माण गराएका हुन् । सांख्य दर्शन हिन्दू धर्मसँग नजिकको सम्बन्ध रहेका षड्दर्शनहरूमध्ये एक हो ।

पूर्वीय दर्शनमा छवटा आस्तिक दर्शन र छवटा नास्तिक दर्शन रहेको कुरा प्रसिद्धै छ । पूर्वीय दर्शनमा सांख्य, वैशेषिक, न्याय, योग, पूर्वी मिमांशा र उत्तर मिमांशा अर्थात् वेदान्त गरी छवटा आस्तिक दर्शन छन् भने बौद्धमार्गका चार दर्शनहरू, जैन र चार्वाक गरी छवटा नास्तिक दर्शन छन् । बौद्धमार्गअन्तर्गतका चार दर्शनहरू हुन्ः वैभाषिक, सौत्रान्तिक, माध्यामक र योगाचार । बौद्ध धर्मले वेदको प्रमाणलाई नमान्ने हुनाले नास्तिक दर्शन भनिएको हो । चार्वाक दर्शनचाहिँ पूरै भौतिकवादी दर्शन हो, जसले ईश्वरको अस्तित्वलाई मात्र अस्वीकार नगरी मानिसको भौतिक वा शारीरिक आवश्यकता पूर्तिलाई नै एक मात्र लक्ष्य मान्दछ ।

बुद्धले परिब्राजक भई विभिन्न साधना र अध्ययन गर्ने क्रममा वेद, वेदांग, उपनिषद् तथा सांख्य दर्शनको अध्ययन गरेको कुरा पनि अम्बेडकरले सो पुस्तकमा लेखेका छन् । तसर्थ बुद्धको समयमा कपिलवस्तुमा हिन्दू प्रभाव रहेको र बुद्धले पनि हिन्दूधर्मका ग्रन्थहरूको अध्ययनबाट नै आफ्नो आध्यात्मिक ज्ञानको सुरुवात गरेको कुरामा शंका छैन । सनातन धर्म जसलाई आजभोलि हिन्दू भनिन्छ, कमसेकम पाँच हजार वर्ष अघिदेखि क्रमैसँग विकसित हुँदै आएको हो । हाल पाकिस्तानमा रहेको सिन्ध उपत्यका नै सिन्धुघाटीको सभ्यताको उद्गमस्थल मानिन्छ ।

सनातन धर्मको सबैभन्दा पुरानो ग्रन्थ मानिने ऋग्वेदको रचनाकाल पश्चिमी विद्वानहरू इसापूर्व १५०० देखि १८०० तिर भएको अनुमान गर्छन् । तर पूर्वीय विद्वानहरू वेदलाई कमसे कम पाँच हजार वर्ष पुरानो मान्दछन् । वैदिक आर्यहरूको कर्मथलो केवल सिन्धघाटी वरिपरिमात्र सीमित नभई पाकिस्तानको सिन्ध प्रान्तदेखि उत्तर भारत, हिन्दमहासागर, नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवरसम्म फैलिएको मानिन्छ । वेद, उपनिषद्का कपितपय महत्वपूर्ण ग्रन्थहरूको रचना नेपालमै भएको विद्वानहरू बताउँछन् । वैदिक कालमा ज्ञानको चरम विकास भए पनि पछि पौराणिक कालताका मानिसले धर्मलाई कर्मकाण्ड, पूजाआजा र औपचारिकतामा नै सीमित राख्न थाले ।

मानिसहरूले वेदमा उल्लिखित विशिष्ट ज्ञानको गलत अर्थ लगाई आफ्नो स्वार्थअनुकूल तोडमोड गर्नाले जातीय भेदभाव, उँचनीच र छुवाछुत प्रथाजस्ता गलत प्रवृत्ति हावी हुनगयो र देवतालाई खुसी तुल्याउने नाउँमा बलिप्रथा प्रचलनमा चलाइयो । त्यस्तै केही पाखण्डीहरूले धर्मलाई मागी खाने भाँडो बनाए, सिधासाधा मानिसलाई धर्मको नाउँमा शोषण गर्न थाले । त्यसै समय लुम्बिनीमा भगवान् बुद्धको उदय भयो ।

बुद्धले हिन्दूधर्मका नाममा भएका विकृति र विसंगति, कुरीति आदिमा सुधार ल्याएर सत्य, अहिंसा, प्रेम, करुणा र सेवालाई नै धर्मको आधारको रूपमा स्थापित गरिदिए । वास्तवमा सिद्धार्थ पनि हिन्दू धर्म, संस्कृति र परम्परामै जन्मेका र हुर्केका थिए र उनले समाजमा प्रचलित कुरीति, गलत प्रवृत्ति र धार्मिक शोषण तथा भेदभावको अन्त्य गर्नमा महत्वपूर्ण योगदान दिए र आफ्नो नयाँ दर्शनको प्रतिपादन गरे । त्यसो हुनाले पनि बुद्धलाई हिन्दूहरूले आफ्नै विशिष्ट देवताको अवतार मानेर पूजा गर्न थालेका हुन् । वास्तवमा यो धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो । यसरी एउटा धर्म मान्ने समुदायले आफूभन्दा फरक मत मान्ने धर्म वा सम्प्रदायका प्रमुख व्यक्तित्वलाई यसरी आफ्नै धर्मको एक अभिन्न अंगकोरूपमा स्वीकारेको उदाहरण विश्वमा अन्यत्र विरलै देख्न पाइएला ।

बुद्धलाई किन हिन्दूहरू आफ्नो देवताको अवतार मान्छन् ? बुद्धका बारेमा स्वामी विवेकानन्दले शिकागोको धार्मिक सभालाई सम्बोधन गर्ने क्रममा बडो चाखलाग्दो प्रसङ्ग उल्लेख गरेका छन् । त्यसबखत विवेकानन्दले बुद्धका बारेमा बोल्न लाग्दा कतिपयले उनले बुद्धधर्मको आलोचना गर्नलागेको भनी ठानेका थिए ।

त्यसको खण्डन गर्दै विवेकानन्दले भनेका थिए, मैले बुद्धका बारेमा आलोचनात्मक टिप्पणी गर्नलागेको भन्ने तपाईंहरूको मनमा लागेको होला तर म बुद्धको कसरी आलोचना गर्न सक्दछु, जसलाई हामी हिन्दूहरू आफ्नै ईश्वरको अवतार मान्ने गर्छौँ । उनले हिन्दू धर्म र बौद्ध धर्मबीचको सम्बन्धलाई क्रिश्चियन धर्म र जुदाइज्मबीचको सम्बन्धसँग तुलना गर्दै भनेका थिए, जिसस क्राइष्ट एकजना ज्यू थिए, जसरी शाक्यमुनि पनि जन्मले एक हिन्दू थिए । ज्यूहरूले जिससलाई अस्वीकार मात्र गरेनन्, उनलाई क्रसमा टाँगेर मारे । तर हिन्दूहरूले बुद्धलाई स्वीकार मात्र गरेनन्, उनलाई आफ्नै भगवान् मानेर पूजा गरे । जिससले जुदाइ धर्ममा विद्रोह गरेका हुनाले उनलाई मृत्युदण्ड दिइयो ।

तर बुद्धलाई उनकै अनुयायीहरूले भने बुझ्न सकेनन्, विवेकानन्द भन्छन् । बुद्ध कुनै नयाँ कुरा सिकाउन आएका हैनन् । उनी पनि हिन्दू धर्मलाई परिपूर्ति गर्न आएका थिए, नष्ट गर्न हैनन्, जसरी जिससले जुदाइ धर्मकै परिपूर्तिको निम्ति अवतरण गरेका थिए । तर जिससको त्यो सन्देशलाई, त्यहाँका पुराना बासिन्दा मानिने ज्यूहरूले बुझ्न सकेनन् । त्यस्तै बुद्धका सम्बन्धमा उनका नयाँ अनुयायीहरूले उनको शिक्षालाई बुझ्ने कोसिस गरेनन् ।

जसरी बुद्धका अनुयायीहरूले बुद्धले हिन्दूधर्मकै सत्य कुरालाई परिपूर्ति गर्न आएका थिए भन्ने बुझेनन् त्यसैगरी ओल्ड टेस्टामेन्टलाई परिपूर्ति गर्न आएका जिससको प्रयासलाई ज्यूहरूले बुझ्ने प्रयास गरेनन् । म पुनः दोहो-याएर भन्छु कि बुद्ध हिन्दू धर्मलाई तार्किक निष्कर्षमा पु-याउन आएका थिए, त्यसलाई नष्ट गर्न हैन । (सेलेक्सन्स फ्रम दि कम्प्लिट वर्कस आफ स्वामी विवेकानन्द, पृष्ठ १५, १६)

बसुधैव कुटुम्वकम् र अहिंसा परमोधर्म भन्ने आदर्श बोकेको हिन्दू धर्ममा वास्तवमा जातीय भेदभाव र उचनिचको कुनै व्यवस्था छैन । सत्य, अहिंसा, प्रेम, भ्रातृत्व, विश्वबन्धुत्व, मानव सेवा नै वास्तवमा सनातनदेखि चलिआएको हिन्दू धर्मको पनि आधारस्तम्भ रहिआएको छ । पछि कालान्तरमा गएर बौद्ध र हिन्दू धर्म दुवैका अनुयायीहरूले धर्मलाई क्षणिक स्वार्थपूर्तिको साधन बनाउन थाले ।

यसरी धर्मलाई पेशा जस्तो बनाई एउटा सीमित समुदाय वा जाति विशेषको स्वार्थपूर्तिको साधन बनाउने र धर्मलाई केवल औपचारिकतामा सीमित गर्ने र वेद, उपनिषद्का ज्ञानको महत्व नै नबुझी केवल कर्मकाण्डलाई नै अध्यात्मिक साधना मान्ने प्रवृत्ति हावी भएपछि आठौँ शताब्दीमा जन्मेका आदी शंकराचार्यले त्यसैगरी धर्मको बास्तविक मर्मलाई उजागर पार्दै हिन्दूधर्मलाई बाह्य आक्रमण र आन्तरिक विचलन दुवैबाट रक्षा गरे जसरी बुद्धले इसापूर्व पाचौं शताब्दीमा शान्ति, सत्य र प्रेमको सन्देश फैलाई धर्मको नाउँमा पाखण्डी, स्वार्थी तथा गलतप्रवृत्ति हावी हुनबाट बचाए ।

कसैकसैले नेपालमा हिन्दू धर्मको प्रभाव पहिले थिएन, धेरै पछि १०औं वा १२औं शताब्दीतिर भारतबाट आएका केही पण्डितहरूले त्यसको प्रचारप्रसार गरे भन्ने भ्रम पनि छर्ने गरेको पाइएको छ । वास्तवमा त्यसप्रकारको भ्रममा कुनै सत्यता छैन । नेपालमा इसापूर्व १००० ताका नै शैवधर्म लोकप्रिय रहेको र यहाँका प्राचीन बासिन्दा किरातहरूको कुलदेवता शिव भएको कुरा नेपालको धार्मिक इतिहास नामक पुस्तकमा डा. जगदीशचन्द्र रेग्मीले उल्लेख गरेका छन् । हिमालयलाई शिवको वासस्थान भनिन्छ र पार्वतीलाई हिमालय पर्वतकी पुत्री भन्ने संज्ञा पनि दिइएको छ ।

त्यस्तै वैष्णवीहरूको प्रभाव नेपालमा लिच्छवी शासनकालको सुरुतिर नै भएको कुरा लिच्छवी राजा मानदेवभन्दा अघि नै चांगुनारायणको मन्दिर बनेको तथ्यबाट स्पष्ट हुन्छ । त्यसैगरी करिब पाँचौँ शताब्दीमा निर्मित पशुपतिनाथको मन्दिर र करिब–करिब सोही समयमा राजा हदित्तको शासनकालमा निर्मित इचंगुको मन्दिरले पनि नेपालमा प्राचीन कालदेखि नै शैव र वैष्णवी मत मान्नेहरूको बाहुल्य भएको तथ्यलाई प्रस्ट पार्दछ ।

वेद, उपनिषद्का कतिपय महत्वपूर्ण अंशहरू नेपालमै रचिएका छन् । राजा जनक, जो नेपालको जनकपुरमा जन्मेका थिए, वेदका ज्ञाता हुनाले उनलाई राजर्षि कहलाइन्छ । उनको दरबारमा बेलाबखत शास्त्रार्थ हुनेगरेको र त्यसमा देश, विदेशका ब्रह्मज्ञानीहरू सहभागी भई विभिन्न पुरस्कारहरू जित्ने इतिहास छ । याज्ञवल्क्य, अष्टावक्रजस्ता विद्वान तथा गार्गी र मैत्रेयीजस्ता विदूषीहरू जनकको दरवारमा शास्त्रार्थ गर्थे । वेदलाई चार भागमा विभाजित गर्ने वेदव्यासका पुत्र सुकदेवले राजा जनकबाट वेदको ज्ञान हासिल गरेको कुरा महोपनिषद्मा उल्लिखित छ । त्यसैगरी विदेह वा मिथिलाका विद्वान याज्ञवल्क्यले यजुर्वेदका मन्त्रहरू, वृहदारण्यकोपनिषद्, सतपथ ब्राह्मण, याज्ञवल्क्य स्मृति आदि ग्रन्थहरूको रचना गरी वैदिक साहित्यमा अतुलनीय योगदान गरेको कुरा पनि यहां उल्लेख गरिनु वान्छनीय हुनआउँछ ।

वाल्मिकीको नाउंमा वाल्मिकी आश्रम, वेदव्यासको नाउँमा व्यास गुफा र सांख्य दर्शनका प्रणेता कपिलमुनिका नाउँमा कपिलवस्तु नेपालमै रहेको तथ्यले पनि नेपाल ऋषि, मुनिहरूको कर्मथलो र तपोभूमिको रूपमा वैदिक कालदेखि नै प्रसिद्ध रहेको तथ्य उदाङ्ग पार्दछ । प्राचीन कालमा नेपालमा भारतबाट कतिपय ऋषि, मुनि आएर हिमालयमा तपस्या गरेका घटनाहरूबाट पनि नेपाल प्राचीन कालदेखि नै तपोभूमि रहिआएको कुरा प्रस्ट हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया