Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमय विधवा भई बाँचेको छ

समय विधवा भई बाँचेको छ


काठमाडौं ।
रुनलाई कसको आँसु पैँचो मागूँ अब
देश छैन मेरो यहाँ कहाँ भागूँ अब

न यताको हुन सकेँ न उतैको भएँ म
धनी बन्ने सपनाले गरिब भएँ म
माटोविहीन भैछु मत कता लागूँ अब
देश छैन मेरो यहाँ कहाँ भागूँ अब

नत उन्कै हुन सकेँ न आफ्नै भएँ म
मेरो धर्ती छोडी हजुर टाढा आएँ म
आफैँलाई बिजाउने आफैँ भैछु अब
देश छैन मेरो यहाँ कहाँ भागूँ अब

देशविहीनताको कल्पना गर्नुस् त, एकछिन् वा एउटा धनी देशमा गएर शरणार्थी बाँचेर हेर्नुस् त ! पराधिन अर्थात् पराइको अधिनमा बाँच्नुपरेको कल्पना गर्नुस् त एक छिन् कस्तो अनुभुति हुन्छ ? त्यतिबेला सारा भौतिक अस्तित्वको बोध र विधिको यो प्रपञ्चप्रति कस्तो निस्सारता आउँछ ? दासता दमनता र दरिद्रताको जन्जिर बोक्नुप-यो भने नेपाल आमाको कुनचैँ अंगको सम्झना आउला ? पूर्वको हाङपाङ कि अरुण खोला मध्यभागको मधेस, पश्चिमको कन्चनपुर वा सेताम्य चाँदीदार हिमालय अन्नपूर्ण ?

देश भनेको आमा र आमा भनेको देश हो भनेर भन्नुपर्छ र ? आमाविनाको जगत के पूर्ण रहला ? आमाविनाको सृष्टि के हराभरा रहला ? आमाविना के चेतना फुल्न सक्छ ? आमाविना के शिर उठ्न सक्छ ? यो जगतमा जननीकै आधिपत्य रहोस् हामी सन्तान उनकै रसमाधुर्यले न्यौछावर रहूँ । आमालाई रुवाउनु युगलाई अध्याँरोतिर धकेल्नु हो । आमा छौन्जेली मात्रै हो जगत रमाइलो र म हुँको अर्थ तर जब जगतबाट आमा बिदा हुन्छिन् अनि समय नै विधवा बाँच्न थाल्छ । देश आमाकै प्रतिबिम्ब हो ।

देशको मुहारमा आमाकै मुहार बिम्बित हुन्छ । जब देश रहन्न अनि सबै झगडा समाप्त हुन्छ । जस्तो आमा नभएपछिको घर एक खण्डहर बन्न पुग्छ । आमाको समाप्तिपछिको जीवन कल्पना गर त त्यहाँ कति अँध्यारो छन् तिमी हिँड्ने बाटाहरू ! सहजताको जूनकीरी त निभिजान्छ । सम्भावनाका इन्द्रेणी त विलीन हुन्छ । माधुर्यको मुहान त सुकिजान्छ । मानवको सनही त बज्न छोड्छ ।

आमा छौन्जेल मात्रै हो दाजुभाइबीच अंशको निहुँमा लुछाचुँडी । किनकि देखाउनु छ नीचता, छोरा हुनुको बहादुरी र छोरी हुनुको अबोधिता र कमजोरी । व्यर्थ झगडाको यो कोलो केका लागि ? व्यर्थ द्वन्द्वको यो आगजनी कस्तो न्यानो ताप्न ? र कस्तो प्राप्तिका लागि ? त्यही आमाभित्र ज्ञानको असीमित इन्द्रेणी अनि त्यही आमाको सिर्जना हामीभित्र स्वार्थ र अन्धताको यो ज्वालामुखी ?

आमा नभएको घर के घर ? आमाविनाको म के म ? आमाविनाको जगत के जगत ? आमाविना बगेको रगत के रगत ? लाग्छ केही महिनादेखि मेरा नसाहरूमा रगत होइन पानी बगिरहेको छ । अब म कति टुहुरो भएछु । आफैँलाई अस्तित्वहीन सोच्ने गर्छु । आमा थिइन् त म पनि थिएँ र आमाको भौतिक शरीरको अन्त्यसँगै सारा मेरा सपनाहरूको भौतिक अस्तित्व, सारा मेरा कामनाहरूको उज्यालो अन्त भए । हिजो मसँग मेरी आमा थिइन् र पो म मेरा दुःखहरूलाई सजिलोसँग झेल्न सक्थेँ । मेरो शक्तिको हरेक हत्केलामा आमा औंला भएर उभिन्थिन् र जुध्न सक्थेँ म आँधीहरूसँग, धकेल्थेँ दुःखको पहाडलाई ।

आज आमा नभएको म के म ? एउटा अधुरो एक्लो बथानबाट छुटेको हरिणको बच्चाजस्तो जो कुनै पनि बेला हिंस्रक जन्तुको आक्रमणमा पर्न सक्छ । कतै माथि आकाशबाट बाज वा गिद्दले उडाएर लान सक्छ । खोइ म किन यतिविघ्न असुरक्षित महसुस गर्छु आफूलाई ?

आमा नभएपछि यो धरातल किन मरुभूमिजस्तो बन्छ ? आमा नभएपछि यी बिरुवाहरूमा किन हरियाली हराएको महसुस हुन्छ ? आमा नभएपछि किन फूलहरूमा सुगन्ध सकिएजस्तो लाग्छ ? आमा हिँड्ने बाटो, ती भञ्ज्याङ, चौतारी, खहरे, खोला, गुर्जेभन्ज्याङ, शिवपुरी अब मेरा सबैभन्दा प्रिय साथी भएका छन् । घाम उदाएर क्षितिजसम्म नपुगुन्जेल आमासँगै बारीमा बितेका मेरा स्वर्णिमा पलहरू जो मेरो सम्झनाको ढुकुटीभित्र नम्बरी सुन बनेर बसेको छ ।

राती बिछ्यौनामा जब म एक्लै एकान्तसँग कुरा गर्छु, त्यो एकान्तमा आमाको बिम्ब जुनेली छाया बनेर आउँछ । निदाउनु गाह्रो हुन्छ । निन्द्रा त उसलाई पो आउँछ होला जोसँग आमा छिन् । मेरा कयौँ रातहरू निन्द्राविहीन बितेका छन् । अफिस सकेर जब घर फर्किँदा कोही नभएको खण्डहरजस्तो लाग्छ । घरको उज्यालो दीप निभेपछि हजार भोल्टको चिम बालेर पनि के काम ? मनको उज्यालो आमाको असीम मायाको भोल्टले बलिरहेको हुन्थ्यो ।

सूर्य, जून, तारा आकास, वनपात, नदी, हावा र अविरल बगिरहने खोलामा केही कमी देख्छु । प्रकृतिले भरिएको यो चराचर जगत अनि यो सृष्टिको मुहारको दिप्ती निभेकोजस्तो लाग्छ । हरेक रात म एउटा मृत्यु सुतिरहेको हुन्छु र जब बिहान हुन्छ अनि झल्यास्स सम्झिन्छु । यो लोकमा अब मेरी आमा हुनुहुन्न ।

कयौँ बिहानीको सूर्य किरणलाई सोधपुछ गर्छु स्वर्गमा गएकी मेरी आमाको खबर बुझेर आउनलाई तर हर बिहानीको सूर्यले मलाई ढाँटेजस्तो लाग्छ कि ऊ जहिले पनि भन्छ कि तिम्री आमा ठीक छिन् भनेर । पक्कै आमा पनि मेरो सम्झनाले रोइरहेकी होलिन् । हरिया चौरमा जब बिहानीको शीत देख्छु । आमा रातभर रोएर झरेको आँसु हो कि जस्तो लाग्छ । नदीले आँसु बोकेर बगेजस्तो लाग्छ । ताराहरूले जुनेली आँसु झारिरहेजस्तो लाग्छ । किन देख्छु म यो जगत आँसुमय ?

सृष्टिका यावत कुराहरू परिवर्तनशील छन् । अपरिवर्तित चिज अस्तित्वमा नै आउँदैनन् । मेरो गाउँमा आमाले सारेका कतिपय बिरुवाहरू मरिसकेको देखेँ । आगनमा आमाले सारेको मेवाको बोट हुरीले ढालिसकेछ । सानो हुँदा पारी फेदिगाउँमा ठूली आमाले सप्ताहा लगाएको लाकुरीको चौतारी पनि भत्किएछ । हिजोजस्तो लाग्छ आमाको फेरु समाती फेदिगाउँको त्यो उकालो उक्लिएको । ती रुखले कति स्वागत गरेका थिए ।

सप्ताहमा बालिएको चरु होमको धुवाँमा मेरा स्मृतिहरू बलिरहेछन् । मभित्र आमाले शब्दकोष भरिदिएकी छिन् । म पलपल आमा बोल्छु । म पलपल आमा लेख्छु । म पलपल आमा देख्छु र म भलभल्ती आमा सम्झेर रुन्छु । जति कोमल छु म, मेरा आँखाबाट छल्किने आँसुहरू पनि त्यतिकै कोमल छन् । शीतहरू कोमल छन् । चरीका गीतहरू पनि कोमल छन् । हिजो आमा हुँदा सबै चिज कोमल थिए र आज आमा नहुँदा पनि सबै ती चिजले आमाको चिर स्मृति बोकेर रोइरहेको हो कि जस्तो लाग्छ यसैले ती कोमल लाग्छन्

कोमलता आमाको नाम हो । यतिबेला म घामले छोडेको पहाडजस्तो भएको छु । यतिबेला म हिजोको जस्तो छैन । यतिखेर म फरक अनुभूति लिएर बाँचेको छु । यतिखेर म बाँच्नको लागि बाँचेको छु । बेलुकी म घर नआएसम्म आमा निदाउनु हुँदैनथ्यो । अब मेरो लागि कसले अनिन्द्रा भोगेर बाँच्छ ? आमा नभएको यो घरमा अरु सबै सबै निदाएजस्तो लाग्छ । एउटा रित्तो खण्डहरजस्तै लाग्छ आँगन ।

आमा हिँडेको पैँतालाको डोब अझै मेटिएको छैन तर आमाको देह मेटिइसक्यो । हरेक सूर्यास्तसँगै मेटिँदै छु म पनि । जीवन, जीवनजस्तो छैन । जतिबेला हामी गरिब थियौँ आमाले खोइ कसरी खुवाउनुभो म कहिले भोको बसिनँ तर जतिबेला हामीलाई खान पुग्नेसम्म भयो अनि आमाले आफ्नो रोगका कारण खाना खानै छोड्नुभो । जतिबेला अभावमा बाँचियो त्यो बेला आमाका इच्छाहरू पूरा गर्न सकिएन । जब आमाका इच्छाहरू पूरा गर्नसक्ने हैसियत बन्यो त्यतिबेलासम्म आमाका इच्छाहरू मरिसकेका थिए । म आफूलाई एउटा अभागी छोरा भन्छु ।

जतिबेला भोगले दुःख दिन्थ्यो खानेकुरा केही हुँदैनथ्यो । जब खानेकुरा जम्मा गर्नसक्ने भइयो अनि भोक नै लाग्न छाडे । कस्तो यो जिन्दगी बुझिनसक्नु छ । इमान्दारिता, दया, परोपकार, पाहुनालाई सदैव सत्कार र एउटा सादा जिन्दगी बाँचेर आमा आफैँ हाम्रा लागि उधाहरण हुनुभयो । आमाले सदैव रातो पहिरन रुचाउनु हुन्थ्यो । मैले जुन दिनदेखि आमालाई देखेँ केवल रातो पहिरहनमा देखेँ । सिउँदोमा सदैव रातो सिन्दुर सजिएको हुन्थ्यो । आँखामा कालो गाजल । घाँटीमा रातो पोतेमा उनिएको तिलहरी हमेसा लगाएको देख्थेँ । घरमा प्राय सधैँ पाहुना आउँदा उहाँ खुशी हुनुहुन्थ्यो ।

बिरामी हुँदा पनि बारीको काम भ्याएर खाना बनाएर खुवाइवरी हामीलाई स्कुल पठाउनुहुन्थ्यो । हिजोआज बिहे गरेका महिलाहरूका न सिउदोमा सिन्दुर हुन्छ, न आँखामा गाजल हुन्छ न घाँटीमा तिलहरी हुन्छ न रातो पहिरन हुन्छ । आजकाल कुनै महिलाले रातो लगाइन् भने गाउँघरकी अदाना पाखे सोच्ने गर्छ सहरी समाजले । एउटा विवाहित महिला र विधवा महिलामा आजकल कुनै फरक देखिन्न । रातो पहिरहनमा, रातो सिन्दुरमा सजिएको कोमल नारी हेर्नप-यो भने मैले आमाको तस्बिर हेर्नुपर्छ । जमाना बदलियो तर खोइ किन हो मलार्ई मेरै आमा र हजुरआमा बाँचेको युग मन प-यो र मन परिरहनेछ ।

समय विधवा बाँचेको छ । अब मैले रातो पहिरहनमा बिहानको घामजस्तै हासिरहने आमाको उपस्तिथि पाउन सक्तिन । आमापछि मैले बाँचिरहेको यो समय त्रासदी केवल आँधी आउनुअगाडिको शून्यता मात्रै हो । एउटा अपुग जीवन बाँचिरहेको छु म । आमा नरहेपछि कोही पनि आफ्नो नहुँदोरहेछ जस्तो लाग्न थालेको छ । आफूलाई माया गर्थे म किनभने म अगाडि आमा थिइन् । अब आमा छैनन् र म आफूले आफैँलाई माया गर्न छोडेको छु । सबैसबै चिजहरू निर्जीव ढुंगाजस्तो लाग्छ । आमा छैनन् त कोही पनि छैनन् । म पनि आफूलाई छु जस्तो सोच्दिनँ । म पनि छु भनेर अनुभूति हुन छाडेको धेरै भयो ।

कहिलेकाहीँ निद्राबाट झल्यास ब्युँझिदा म आफू हो कि होइन भनेर एकचोटी छाम्छु । आमा नभएपछि कहीँ पनि म आफूलाई सुरक्षित महसुस गर्न सकिरहेको छैन । हुनु र नहुनुको फरक जिन्दगी । बाँच्नु र नबाँच्नुको बुझाइ जिन्दगी । सबै प्रगतिको अन्त्य, सबै चिन्तन र सिर्जनाहरूप्रतिको निस्सारबोधिताले छोपिएको छ हिजोआज मेरो मनको मुहार ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया