Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलोकतन्त्र र गणतन्त्रको पीडादायी अभ्यास

लोकतन्त्र र गणतन्त्रको पीडादायी अभ्यास


काठमाडौं ।
प्रीय सांसदज्यूहरू !
तपाईंहरू साम्प्रदायिक हो कि सांसद हो ?
सांसद हो भनौँ भने अहोरात्र झै–झगडामा व्यस्त हुनुहुन्छ
साम्प्रदायिक भनौँ भने
लोकतन्त्र र गणतन्त्र स्वेच्छिक स्वीकार गरिसक्नुभयो
लोकतन्त्रको परिभाषा नै बदल्नुभयो तपाईंहरूले

तपाईंको लोकतन्त्रमा
वीर सहिदहरूको अपमान
तपाईंकोे लोकतन्त्रमा संविधानको अपव्याख्या
तपाईंकोे लोकतन्त्रमा देशलाई होइन पदलार्ई प्रमुख मानिदोरहेछ !
लोकतन्त्रले अराजकताको धुन्धुली घन्काउँदोरहेछ
लोकतन्त्रमा पत्रकारले जे लेखे पनि हुँदोरहेछ
लोकतन्त्रमा व्यापारीले जति ठगे पनि हुँदोरहेछ
लोकतन्त्रमा कर्मचारीले जति घुस मागे पनि हुँदोरहेछ
लोकतन्त्रमा विद्यार्थीले स्कुल कलेज नगएनि हुँदोरहेछ
लोकतन्त्रमा बिजुलीको मिटर उल्टो घुमाइदिएर
उपभोक्तासँग घुस लिन
र देशको राजस्व मार्न पनि पाइँदोरहेछ
लोकतन्त्रमा फोहोर सडकमा फ्याँक्न पाइँदोरहेछ

लोकतन्त्रमा सांसदहरूले
सदनमा निदाएर दुई लाख तलबभत्ता पचाउन पाउँदारहेछन्
लोकतन्त्रमा निर्धक्क निदाई निदाई घुस खान पाइँदोरहेछ
लोकतन्त्रमा सडकदेखि सदनसम्म जाम गर्न पाइँदोरहेछ
लोकतन्त्रमा तरकारीमा विषादी राखेर बेच्न पाइँदोरहेछ
लोकतन्त्रमा उपभोक्तालाई पशु र बिचौलीयालाई पशुपति भनेर पुजिँदोरहेछ ।
लोकतन्त्रमा कुकुरको मासुलाई खसीको भनी बेच्न पाइँदोरहेछ नि कमरेड !
लोकतन्त्रमा दुधमा पानी होइन पानीमा दुध मिसाएर बेच्न पाइँदोरहेछ
लोकतन्त्र भनेको बलिया साँडेहरूको लागि
लोकतन्त्र भनेको पुँजीपति र गुन्डा गुन्द्रुकहरूको
हनिमुन पिरेड रहेछ !

लोकतन्त्रमा दिनदाहाडै चन्दा असुल्न पाइँदोरहेछ
लोकतन्त्रमा झुठो र जुठो कसम खाइँदोरहेछ
लोकतन्त्रमा जे पनि गर्न पाइँदोरहेछ
लोकतन्त्र रक्षा गर्नुपर्छ भन्ने नेताका घरमा
नाबालक नानीलाई जुठोभाँडा माझ्न र जुत्ता पालिस गर्न
धम्क्याई धम्क्याई यौन शोषण गर्न पनि पाइँदोरहेछ

लोकतन्त्रका नाउँमा फेरि तिनै नारीहरू
धन कमाउन विदेशीएको श्रीमान्को आँखा छल्दै
दुई/चार परपुरुषलाई अँगाल्दै
प्रेमरसमा डुब्दै आफ्नो अहम् अस्मिता
देखाउँदै नांगिदा पनि रहेछन् !
लोकतन्त्रका नाउँमा यहाँ कसले के गर्न बाँकी राखे र ?
लोकतन्त्र, बोकाको मुखमा कुभिन्डो र
बाख्रीको नाउँमा भेन्टा भयो
यौवनका नाउँमा छाडातन्त्र
प्रेमको नाउँमा धोकातन्त्र
श्रद्धाका नाउँमा घोचतन्त्र भयो लोकतन्त्र !
मानिसहरू अब यसमै रमाउन थालिसके

लोकतन्त्रका नाउँमा जातपातको नाममा
इनारमा पानी छुन र मन्दिर प्रवेश रोक्न पनि पाइँदोरहेछ
लोकतन्त्रमा बेमानी चोर बलात्कारीलाई र कर छल्नेलाई
सामान्य जरिवानामा सजायमुक्त गरिँदोरहेछ
वाक स्वातत्रताका नाउँमा फोहोर पनि बोल्न पाइँदोरहेछ !
लोकतन्त्रमा देशको झन्डा च्यात्न पनि पाइँदोरहेछ
संस्कृतिलाई पुरातन भन्दै थुक्न पनि छुट हुँदोरहेछ
लोकतन्त्रमा गुणस्तरहीन सामानलाई
गुणस्तरचिह्न मिल्दोरहेछ

लोकतन्त्रमा मित्रहरू !
लाज र घिन भन्ने कुरो नै हराउँदोरहेछ !
लोकतन्त्रमा माइक्रो बसको खलाँसी भाइले
असी वर्षका बुढाबालाई दादागिरी देखाउन पाउँदोरहेछ
लोकतन्त्रले मानिसलाई सभ्य होइन
अराजक, उदन्ड अल्छी, फटाहा र ठग बनाउँदोरहेछ
म भ्याकुर माइलोले लोकतन्त्र भनेको
सबै नेपालीले सुखको समानताको समृद्धिको सुशासनको सुस्वास्थ्यको अनुभूति गर्ने व्यवस्था पो भन्थे
शासन चैँ सुशासन शासक चैँ दुशासन भएपछि
लोकतन्त्रत शोकतन्त्र पो हुँदोरहेछ !

च्यातिएको एक झरो लुगा फेर्न
पेटभरि एक बटुको भात खान
ओखलमा कुटेको बाक्लो चिउरा खान
सधैँ दशैं नै आउनुपर्ने हो भने
तिम्लाई दुई घन्टा हिँडेर भोट हाली जिताको के काम ?
समानुपातिकका नाउँमा गाउकी सुन्तलीलाई जिताको
सहरमा गएर मोजमा र भोजमा पो भेटिन्छेरे सुइरी स्वाँठ !
हन त्यल्लाई फिर्ता बोलाउनु मिल्दैन लोकतन्त्रमा ?

असल भनेर जिताको कमसल प-यो भने
ठोकरेसँग भाडा साटेजस्तै गरेर साट्न मिल्दैन लोकतन्त्रमा ?
अँध्यारोमा खसी भनेर किनेको
उज्यालोमा हेर्दा कुकुर प-यो भने
साट्न पाउने नियम पनि हुनु नि लोकतन्त्रमा
चार वर्ष छुनै नपाइने हो र ?
फेरि चुनाव पो आयो भन्छन्
संसद् विघटन भोरेन्त सहराँ !
फेरि चुनाव ? कति भोट हाल्नु
हामी गरिबीको आँसु लागेको हो
यस्लाई भन्छन् रे लोकतान्त्रिक अभ्यास !

हामी प्रगतिनगर नगरपालिकामा बस्छौँ । हामी नेताका पछिपछि लागेर हिँड्ने झोले कार्यकर्ता हौँ । नामै त प्रगतिनगर भनेपछि अब विचार गरु प्रगति चैँ के होला । यसको सदरमुकामको अलिकति झिलिमिली झ्याइँलाई हेरेर दूर गाउँलाई पनि नगरपालिकाभित्र गाभिदिएका रहेछन् पहिलेका मेयरसाबले । जनतालाई सुविधा केही दिनुनपर्ने । धारो, अस्पताल, स्कुल बिजुली, बाटो केही छैन । दिउँसो गाउँले एक्लै हिँड्ने हो भने जंगली जनावरले आक्रमण गर्छ ।

अहिलेको माथिल्लो सरकारलाई सम्म परेको जग्गा देख्नै नहुने । सम्म जग्गा देख्यो कि नगरपालिका घोषणा गरिहाल्ने र चर्को कर लगाइहाल्ने परम्परा बसेको रैछ । जग्गामा बाली समेत राम्रो हुँदैन तर सरकारी मूल्यांकनचैँ चर्को किनभने जग्गा किनबेच भयो भने कर दरो लगाउन पाइँदोरछ । त्यही जनतालाई लगाएको चर्को करबाट स्थानीय प्रतिनिधिले मोज र भोज गर्दा रैछन् । यहाँका मेयर बलात्कारको केसमा जेल गए । उपमेयरलाई सम्पूर्ण कार्यभार दिइएको थियो । मैले त्यस्को विरोध गरेँ । आखिर उपचुनाव भई छाड्यो । मलाई पनि मेयरसाब हुने रहर थियो । पार्टीले पत्यायो । टिकट पाएँ । जसोतसो जाल्झेल गरेर भए पनि चुनाव जितेँ ।

‘हुन्छराम मायालु’ हो मेरो नाम । म क्याम्पसको राजनीतिमा ढुंगा हान्ने, बार भत्काउने, टाएर बाल्ने कलेज स्कुल बन्द गर्ने, यसो रत्नपार्कको भित्तातिर फर्केर पिसाब फेर्ने, अनि त्यही भित्तोमाथि ‘यहाँ पिसाब फेर्न मनाही छ’ भन्ने पम्पलेट टाँस्दै हिँड्ने, हुलदङ्गाको लागि यसो अलिअलि चिया खर्च दिएर मान्छे जम्मा गर्ने कामको ठेक्का हान्थेँ । मैले राजनीति रत्नपार्कको बार भाँच्न र कुनै काम नभएपछि मेरो ग्याङको अगाडि ङिच्च हाँस्नबाट सिकेको । मैले धेरै पढेलेखेको छैन । आईएको जमाना थियो त्यतिबेला त । कलेजको प्रोग्राममा धाराप्रवाह भाषण गर्थेँ । सुरुसुरुमा अलि लाज लाग्यो तर रत्नपार्कको बार भाँचेर वीर हस्पिटलतिर हुँइक्याएपछि म रातारात भाइरल बनेँ । कलेजका केटाहरूले ‘हुन्छ राम’ भन्थे तर केटीहरूले चाहिँ मायालु भन्थे ।

यो पाली मलाई कागताली प-यो । यसो ट्राइ गरेको टिकट पनि पत्यायो पार्टीले । मेरो चुनाव क्षेत्रमा सबै गरिब । चुनाव हुने दिन बुथैपिछे एउटा–एउटा राँगो ढालेर भोज गरिदिएँ अनि भात खाँदै भोट हाल्दै । पहिलाको पाँचवटा गाबीस मिलाएर प्रगतिनगर नगरपालिका नामकरण गरियो । यो नाम पनि अचम्मले जुरेको । नगरपालिका हुनको लागि आधारभूत आवश्यकता के–के हुन मलार्ई थाहा छैन । खानिपानी ढल निकास बिजुली बाटोघाटो, स्कुल, हस्पिटलको अभावमा पनि यसलाई जबर्जस्त नगरपालिका घोषणा गरियो । मैले चुनाव जितेँ ।

जितेको दिनदेखि हरेक वडामा सम्मान थाप्न जादाजादा वाक्क आइसक्यो । सगुन खाँदा पूरै जड्याँ भइसकियो । चुनाव जितेको वर्ष दिनसम्म सम्मानमै बित्ने भो । अहिलेको जनतालाई विकासभन्दा पनि नेतासँग व्यक्तिगत सम्बन्ध राम्रो राख्ने सपना हुँदोरहेछ ।

कसैले बिहेमा बोलाउँछन् गैदिनै प¥यो । कसैले भात खुवाइमा बोलाउँछन् जानै प¥यो । कसैले बर्थडेमा बोलाउँछन्, नाइँ आउँदिन भन्नू भएन । फेरि आजकालको बर्थडे हे हजूर कुरा नगरम । बिहे बरु भागेर गर्छन् बर्थडे त केक काटेर मोन्छे बोलाएर रक्सी पिलाएर सुँगुर साँदेर गर्छन् । बर्थडेको पार्टी हो कि बिहेको हो थाहा नहुने भइसकेको अवस्था ।

बिहे, ब्रतबन्ध, न्वारान, भात खुवाइ, बर्थडे, साउने, माघे संक्रान्ति दशैँ, तिहार, नुहागी, फागुपुर्ने, इद, क्रिसमस, न्यू इयर हुँदाहुँदा महिला तरुनी भोटरहरूले त तीजको व्रत बसेको चौबीस घन्टा भो अब हजूरको आज्ञा भए जल पिएर फलाहार खाऊँ कि भनेर अनुमति माग्छन् । अनि आदेश दिनै प¥यो । यसरी एउटा नेतालाई वा मेयरलाई न्वारनदेखि तीजको ब्रतमा पानी पिउने आदेशसम्म माग्ने कुरामा अल्मलाउनु के तिनै जनताको कमजोरी होइन त ? चुनाव जितेर के गर्नु व्यक्तिका निजी काममा बोलाको बोलाइ । भन्दा पनि लाज हुन्छ कस्ता नामर्द हुन्छन् कोही–कोही पतिहरू त । श्रीमान्हरूको प्रमोसन हुन पनि पत्नीको प्रयोग हाम्रै नेपालमा ।

सधैँ नेतालाई मात्रै गाली गर्ने जनताले एक पटक गम्भीर भएर सोच्ने कि विकास र समृद्धिका लागि भनेर चुनेर पठाएको नेतालाई निजी काममा प्रयोग गर्न लगाउनु कति उचित हो । जनताले भनेका कुरा हार्न नसक्नु नेताको पनि कमजोरी हो । नमान्दा पनि फेरि आर्को चुनावमा भोट नपाइएला भन्ने डर हुन्छ ।जनता भेडा हुन् भनेर उपनाम पाएका छन् । सायद अबुझ भएरै पो हो कि ?

निजी काम गर्दागर्दै आफ्नो कार्यकाल बित्छ । अनि विकासे काम कसरी गर्नु । विकासको काम गर्न तिनै जनताले फुर्सद पनि दिन प-यो नि । फलानो मेयर त खत्तम भन्ने अनि त्यही मेयरलाई काग तिहारदेखि कुकुर तिहार अनि बच्चाको नाम राख्न समेत प्रयोग गर्ने दोष कसको ? रक्सी नपिउनेलाई रक्सी पिउन सिकाउँछन् ।

घुसको स्वाद थाहै नभएकालाई घुस लिन सिकाउँछन् । जुवा खेल्न नजान्नेलाई तिहारमा बोलाई बोलाई पैसो आफैँ हाल्दिएर जुवा खेल्न सिकाउँछन् । राजनीति नजान्नेलाई राजनीति सिकाउँछन् । मोज गर्न र भोजमा जान मन नपराउनेलाई हात समाती–समाती बानी पारिदिन्छन् हाम्रो नेपालमा । खराब मान्छेलाई नेता चुन्छौँ हामी अनि खराब नेताबाट असल कर्मको अपेक्षा गर्छौँ । भोट दिएर विकासको काम गर्न अभिप्रेरित गर्नुको सट्टा छोरीको बर्थडेमा केक काट्न बोलाउन थालेपछि अनि मेयरले के गरून् ? उपमेयरहरूले के गरून् हाम्रा नेपालमा । दोष नेता र मेयरको मात्रै होइन आधा दोषको जिम्मेवारी जनताले लिनुपर्छ ।

घरमा सुतेको ओछ्यान पल्टाउन पनि अब नेतालाई सोध्ने बानी भइसकेको छ । त्यही भएर कर्मचारीहरू एक दिन सेवानिवृत्त हुन्छन् तर नेता सधैँ प्रवृत्त । सधैँ सत्तरी नाघेका बुढा गुन्डाहरूले चलाएको यो देश कहिले जवान भएन । नेतासँग बसेर सेल्फी हान्नेको लाइन हाम्रो नेपालमा । कुनै नेता कार्यक्रममा गयो भने पहिला पहिला त विकाससम्बन्धी कामकुरो हुन्थ्यो भने अहिले सेल्फी । नेता कुनै ठाउँमा पुग्न पाएका हुन्न सलहको लाइनजस्तो सेल्फीको लाइन ।

सेल्फी खिच्ने र फेसबुकमा अप्लोड गर्ने जनताको बानी देखेर होला मेयरको भोट माग्ने बेलामा वाइफाइ फ्री सिटी बनाइदिन्छु भनेका रेछन् त मेरा सहकर्मीहरूले । आफू त हनुमानदास नगरी नहुने पालिकाको मेयर परियो जे भए पनि नानीहरूको उद्धार गर्दिएकै छु, जे त होला । जनता आफैँ केही गर्न सक्तैन । सधैँ नेतालाई गाली गर्छन् जनता यस्तो लाग्छ कि, आँगनअगाडिको फोहोर पनि आफू सफा नगर्ने अनि नगरपालिकालाई सत्तोसराप गर्ने । जनताको घरको नाली नेताले आएर सफा गरिदिनुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ ।

घरअगाडिको सडकको खाल्डाखुल्डीमा आफैँ परेर दुर्घटना निम्त्याउनुको अलवा कुनै नेताकार्यकर्ताको मुख नताकी आधा ट्याक्टर माटो त जनता स्वयंले पनि गर्न सकिन्छ नि । तर यहाँ जनता सिन्को भाँच्दैन । ऊ केवल नेताकै मुख ताकेर बस्छ । आफैँले चाहिँ केही नगर्ने अनि आफैँले चुनेर पठाएको नेतालाई दास बनाउन खोज्नु कत्तिको जायज हो ? यो कुरा जनताले बुझ्नु जरुरी भइसकेको छ । खोलाको मुहान नजिक छ, गाग्रीमा बोकेर पनि जीवन निर्वाह गर्न सकिन्छ तर जनता चाहन्छ खोलाको पानी भान्सामै पुगोस् ।

जनता यति सोखिन भइसकेको छ कि आफू केही नगर्ने अनि यहाँ केही भएन भन्ने । नेताले केही पनि गरेनन् । अर्को चुनावमा देखाजायगा भन्ने । यो प्रवृत्ति नयाँ होइन पुरानै हो । सजिलो छ, एकले अर्कालाई दोष दिन र यहाँ केही भएन भन्न । केही भएन भन्नेले आफूले चाहिँ कति गरे यो देशको समृद्धिका खातिर ? यो कुराको पनि मनन गर्ने हो कि ? जनता आफँै जागृत नभएसम्म यो देशमा केही हुनेवाला छैन ।

चुनावहरू आइरहन्छ । भ्रष्टाचार भइरहन्छ । चुनाव आउनु मात्रै लोकतन्त्र होइन । चुनाव जित्नु मात्रै सफलता होइन । चुनाव हार्नु अलोकतान्त्रिक होइन । हरेक चुनावको खर्चमा देशको आधा भागमा बिजुलीबत्ती र बाटो पुग्ने खर्च हुन्छ । लोकतान्त्रिक अभ्यास भनेर अरु देशले कति–कति वर्षमा सांसद विघटन गरे । राष्ट्रको ढुकुटी कति रित्याए । देशलाई अन्योलमा धकेले ।

देशमा कति भ्रष्टाचार बढाए त्यो पनि हेर्नु र त्यसबाट शिक्षा लिनु जरुरी थियो कि ? नेता र मन्त्रीका झोले कार्यकर्ता भएर हिँड्ने देशका करिब पन्ध्र प्रतिशत युवाले समग्रमा देशको मुहार धमिल्याइरहेका छन् । सरकारले सबै युवाहरूलाई रोजगार दियो भने तिनका झोला बोक्ने कार्यकर्ता हुँदैनन् । त्यसकारण पनि नेपालमा युवा बेरोजगारी बढिरहेको छ ।

अस्तिको प्रचण्ड–माधव नेपालको प्रदर्शनीमा गोर्खा सदरमुकामबाट मात्रै ६९ वटा बसमा दश हजार मानिस बोलाइएको थियो, दैनिक मासुभात र काठमाडौँ घुम्न जाने भन्दै । त्यस्तै अन्य जिल्लाबाट कति लाख बेरोजगारी युवा आए होलान् ? अनुमान लगाउन सकिन्छ । ती सबै गरिब र बेरोजगारी थिए ।

नेपालको चुनाव मासुभात र रक्सीको भरमा अडेको छ । जसले नेपाली गरिब जनतालाई एक÷दुई छाक मरेको बोइलरको मासु र भात खुवायो उसले चुनाव जित्यो । मन्त्री त्यो नेता हुन्छ । मरेको बोइलर र भातका भरमा भोट हाल्ने अन्धा झोले कार्यकर्ता सधैँ गरिब भएर जिन्दगीको क्षितिजबाट अस्ताउँछ । यही हो नेपालको गणतन्त्र र लोकतान्त्रको दुःखदायी अभ्यास ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया