Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘भ्यालेन्टाइन डे’ र फूलको माग

‘भ्यालेन्टाइन डे’ र फूलको माग


काठमाडौं ।
विश्वमा अंग्रेजी क्यालेन्डरअनुसार प्रत्येक वर्षको फेब्रुअरी १४ तारिखलाई विश्वभरि भ्यालेन्टाइन डे (प्रणय दिवस)का रूपमा मनाइन्छ । यसरी प्रेम दिवस, भ्यालेन्टाइन डे, प्रणय दिवस, प्रेमोत्सव आदि नामले यस पर्वलाई मनाइन्छ । भ्यालेन्टाइन डेलाई महान उत्सव वा पर्वका रूपमा मनाइन्छ ।

यस पर्वको सुरुवात तेस्रो शताब्दीको उत्तराद्र्धबाट भएको थियो । यो दिवस सेन्ट भ्यालेन्टाइनको सम्झनामा प्रेमका अनुयायीहरू उनीप्रति प्रेम र सम्मान प्रकट गरी मनाउँछन् । त्यतिबेला राजाज्ञाको उल्लंघन गरेको कारण १४ फेब्रुअरी २६९ का दिन भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाडियसले मृत्युदण्डको सजाय सुनाएका थिए । त्यतिबेला सैनिकलाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाइएको थियो । विवाहपछि पुरुषको बल र विवेक हराएर जाने मान्यता राख्ने रोमन सम्राट क्लाडिउसले आफ्ना सैनिक र प्रहरीलाई विवाह गर्न रोक लगाएका थिए । मूलतः खासगरिकन भ्यालेन्टाइन डे पश्चिमी मुलुकबाट सुरुवात भएको हो ।

पछिल्लो केही दशकयता हाम्रो देशमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेष गरी युवा, युवतीहरूबीच भ्यालेन्टाइन डे निकै लोकप्रिय बनेको छ । यससँगै समाजमा विसंगति विकृति बढ्दै गइरहेको छ । प्रेमका बारेमा हरेक व्यक्तिविशेषमा फरक–फरक परिभाषा हुन सक्छन् । भ्यालेन्टाइन डे दिवस प्रेम, प्रणय र कामवासनाको प्रतीक मात्र होइन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । यो दिवसको जीवनसाथीको रूपमा मात्र नभएर मानव अधिकार र प्रजातन्त्रसँग पनि जोडिएको छ ।

जनताको चाहना र मानव अधिकारविरुद्ध घोषणा गर्ने शासक र जनताको अधिकार खोस्नुहुन्न भन्ने पादरीको संघर्षको ज्वलन्त उदाहरण हुन् । नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरिएका सामग्री जति पनि छन् । तर ती सबैभन्दा अलग छ । किनभने भ्यालेन्टाइन डेले शासकविरुद्ध संघर्ष गरे, देहत्याग गरे प्रेम र प्रणयका लागि । त्यसैले अरू प्रेमका कथाभन्दा फरक छ भ्यालेन्टाइन डे ।

देशमा पहिले ३६ जिल्लामा पाँच सय ६१ व्यवसायीले पुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको चार वर्षमा जम्मा दुई सय ३९ व्यवसायीहरू वृद्धि भई हाल आठ सय पुगेको फ्यानले जनाएको छ । त्यसैगरी मुलुकमा चार वर्ष पहिले एक सय ४३ हेक्टरमा खेती भएको पुष्प खेती हाल एक सय ५७ हेक्टरमा विस्तार भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसमा पहिले ३८ हजारले रोजगार पाएकोमा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् ।

यसै सिलसिलामा विगत वर्षहरूको आंकलनलाई अवलोकन गर्ने हो भने भन्सार विभागको तथ्यांकअनुसार आव २०७४र०७५ मा ११ करोडबराबरको फूल तथा पुष्पजन्य वस्तुको आयात भएकोे थियो । सोही अवधिमा निर्यात दुई करोड ३७ लाखको भएको थियो । समग्रमा फूल व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । देशमा कम्तीमा पाँच सय पचास प्रजातिका फूलको व्यावसायिक खेती हुनेगरेको छ । फूल प्रकृतिको वरदान हो । प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । फूल पवित्रताको प्रतीक पनि हो ।

भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुनथालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुनथालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ८५ प्रतिशत फूलको आयात कम भएको छ । पछिल्ला वर्षहरूमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यावसायीहरू बताउँछन् ।

गत वर्षको प्रणय दिवसमा गुलाफ फूलका लागि एक करोड ५० लाख रुपैयाँ मूल्यबराबरको एक लाख ६० हजार स्टिम गुलाफ आयात हुने अनुमान गरिएको थियो । त्यस्तै गरी त्योभन्दा अघिल्लो वर्ष प्रणय दिवसका लागि एक करोड २५ लाख रुपैयाँ मूल्यबराबरको फूल आयात भएको थियो । अघिल्लो वर्ष र गत वर्षको तुलनामा यो वर्ष झण्डै २२ प्रतिशतले आयातमा वृद्धि हुने अनुमान गरिएको छ । हरेक वर्ष १५ प्रतिशतले बजारको माग बढ्दै गएकाले आयात पनि बढ्दै आएको हो ।

मूलतः सम्बन्धित निकायको भनाइ अनुसार देशभरमा दुई लाख स्टिम गुलाफ फूलखपत हुन्छ । यसमध्येमा एक लाख ६० हजार भारतबाट आयात हुन्छ भने ४० हजार स्टिम फूल नेपालको उत्पादनले पुग्ने अनुमान गरिएको छ । त्यसरी नै देशभर दुई लाखभन्दा बढी स्टिम गुलाफ आयात भएको मध्ये ६० प्रतिशत काठमाडौंमा खपत हुने र ४० प्रतिशत पोखरामा खपत हुन्छ भन्ने आँकलन सम्बन्धित क्षेत्रको दाबी रहेको छ ।

हाम्रो देशमा लगभग प्रदेश ६ बाहेक अरु प्रदेशमा पुष्पखेती भइरहेको छ । जसमा प्रदेश १ मा झापा, मोरङ, सुनसरी, इलाम, प्रदेश २ मा धनुषा, सप्तरी, पर्सा प्रदेश ३ मा काठमाडौँ उपत्यकालगायत, धादिङ, काभ्रेमा पुष्पखेती गरिएको छ । त्यसैगरी गण्डकी प्रदेशमा तनहुँ, स्याङ्जा, गोर्खा, कास्की अनि पर्वत, प्रदेश ५ मा रुपन्देही, सुदूरपश्चिमप्रदेशको टीकापुर, धनगढीलगायतका स्थानमा व्यावसायिक पुष्पखेती गरिएको छ ।

प्रणय दिवस नजिकिँदै गर्दा फूलको माग बढ्न जान्छ । समयअनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा भर पर्ने हुन्छ । प्रणय दिवसलाई समेत लक्षित गरी फूल उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार र्सेनिथपप्रजातीकाफूलको वर्षेनी व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ । समग्रमा भन्नुपर्दा भ्यालेन्टाइन डे पनि यहाँको परिवेशमा खासगरी युवामाझ चर्चित बन्दै गएको छ । वास्तवमा भन्ने हो भने प्रेम शब्द नै यति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनि कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ ।

तसर्थ यसले मन प्रेमरसमा आल्हादित हुन पुग्छ । प्रेममा आनन्द छ । प्रेममा शीतलता र शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो मनोभाव हो । जसले मानिसलाई शान्ति, शक्ति पनि यसैबाट प्राप्त हुन्छ । जसलाई अर्को शब्दमा भन्ने हो भने जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत पनि हो । त्यसैले त यो विशेष अवसरमा युवायुवतीबीच प्रेम साटासाट गर्नु, कार्ड र फूल आदानप्रदान गर्नु, कुनै निश्चित स्थानमा घुम्न जानु सामान्यजस्तै भइसकेको छ । यसर्थ प्रेम हाँसो र आँसुसँग खेल्छ । जीवनका सबैथोक प्रेमको अँगालोभित्र आउँछन् ।

जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि यस दुनियाँमा कमी छैन । तसर्थ पश्चिमी देशहरूमा फेब्रुअरी ७ तारिखदेखि नै यो पर्व सुरु हुने भए पनि हाम्रो देशमा भने १४ फेब्रुअरीलाई विशेष लिने गरिन्छ । केही वर्षअघिसम्म मुलुकमा यो दिवसको खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो पुस्तामा भने यो झाँगिदै गएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया