सीप हातमा रोजगारी साथमा
काठमाडौं ।
आजको खाँचो सीप हातमा रोजगारी साथमा हो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने समग्र शिक्षा नीतिले मात्रै बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सक्ने वास्तविकता हो । हाम्रो शिक्षा गरीखानेभन्दा पनि ठगी र मागीखाने जनशक्ति उत्पादन तिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ ।
समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो। रोजगारका लागि भौतारिनेभन्दा पनि रोजगार सिर्जना गर्नसक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले स्वरोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्दछ । तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ ।
विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिको कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ ।
वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउनसके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताको लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्यजनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारको लागि भौतारिनेभन्दा पनि रोजगार दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्दछ ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको समग्र विकास र विस्तार एवं विभिन्न सरोकार निकायसँग सहकार्य, सहजीकरण र समन्वय गर्ने उद्देश्यका साथ विसं २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना भएको थियो । प्राविधिक तालिमसम्बन्धी नीति, नियम, पाठ्यक्रम निर्माण, व्यवस्थापन र नियमनको प्रमुख जिम्मेवारी पाएको आधिकारिक निकायको रूपमा परिषद्ले भूमिका निर्वाह गर्दै आएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालनका लागि यस परिषद्अन्तर्गत आंगिक ६१, साझेदारी ३८ सामुदायिक पाँच सय ७२ र विद्यालयमा प्राविधिक शिक्षा गरी जम्मा ११ सय ४० शिक्षालयहरू सञ्चालनमा छन् ।
सीटीईभीटीअन्तर्गतका तीन सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्ष अध्ययन गर्न पाउने सुत्रिधा प्रदान गरेको छ । त्यस्तै दुई सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्षहरू सञ्चालन गरिए पनि पर्याप्त देखिएको छैन ।
हाम्रोजस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विविधता एवं विषमता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताको लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा चित्रित भएका थिए । तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकरात्मक नीति राज्यले लिएको पाइन्छ ।
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) बाट करिब पाँच लाख परीक्षार्थी उत्तीर्ण भएका हुन्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राको लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये छनौट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन अनुसन्धान तहसम्मको लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्दछ ।
एसईई पार गरेका परीक्षार्थीको लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसइई परीक्षा उतीर्ण टिएसई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सीटीईभीटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । हालसम्म परिषद्बाट डिप्लोमा तथा प्रमाणपत्र तहमा ८४ हजार नौ सय ६३ र प्रि डिप्लोमा तहमा दुई लाख ३० हजार ५६ जनशक्ति उत्पादन भएको देखिन्छ । यीमध्ये ७५ प्रतिशतले स्वदेश तथा विदेशमा रोजगारी प्राप्त गरेको परिषद्को दाबी छ।
परिषद्को कार्यलाई अझ व्यापक र नतिजामूलक बनाउन समयानुकुल ऐननियममा परिमार्जन, सरोकार मन्त्रालयबीच समन्वय, दक्षजनशक्तिको नियुक्ति, चुस्त व्यवस्यापन र भविष्यदर्शी नेतृत्वको चयन, नवीनतम् अभ्यासका लागि तालिम अध्ययन भ्रमणमा निरन्तरता, प्रोत्साहन, पुरस्कार र दण्डको पारदर्शी व्यवस्था अपरिहार्य देखिन्छ। प्रिषद्को नीति र विषयवस्तु विश्व श्रमबजार सहजै खपत हुने जनशक्ति उत्पादन प्रति लक्षित हुनुपर्दछ।
दिनप्रति दिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशको लागि कदापि शुभ संकेत होइन । रोजगारीको लागि नेपाली युवाहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलव्ध पेसा अँगाल्न हिच्किचाउँदै लाखौँ रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् ।
अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्याप छ्याप्ति पुगेको पाइन्छ। तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुङ्गलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटिई निराश भई बिरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ ।
यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर डयाड ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्दछ ।
शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकी एकसय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।
कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साहित, उर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरिख शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ ।
पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया