Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धिका संवाहक स्वदेशी उद्योग

समृद्धिका संवाहक स्वदेशी उद्योग


काठमाडौं ।
बढ्दो जनसंख्याको अनुपातमा मुलुकको आर्थिक सम्मुन्नतिको प्रतिफल केवल कृषि क्षेत्रमा मात्र आधारित रहने परम्परागत संस्कृतिलाई समयानुकूल परिष्कृत, परिमार्जित एवं व्यवस्थित गर्न जरुरी भइसकेको छ । जसको उपयुक्त विकल्पका रूपमा समुच्च औद्योगिक क्षेत्रको विकासलाई लिन सकिन्छ । किनभने पुँजीगत वस्तु तथा सेवाको निर्माण, बिक्रीवितरणसहितको यातायात क्षेत्रको व्यवस्थितीकरणको सुनिश्चितताबाट प्राप्त हुने सुखमय व्यावसायिक यात्रा नै स्वदेशी उद्योगको सम्बर्द्धन, प्रवर्द्धन तथा विकासको सही ऊर्जा मान्न सकिन्छ । प्रस्तुत तथ्यगत विशेषतालाई पूर्णरूपले पालना गर्ने प्रतिबद्धता जनाउने हो भने पक्कै पनि मुलुकमा अवस्थित स्वदेशी उद्योगहरू आर्थिक समृद्धिका संवाहक तत्वका रूपमा कार्य गर्न सक्षम रहनेछन् भन्ने विश्वास लिन सकिन्छ ।

औद्योगिक विकासको सम्भावनाको प्रमुख हिस्सेदारको रूपमा रहने पुँजीको अभावमा औद्योगिकीकरणको परिकल्पना समेत गर्न सकिँदैन । तसर्थः पँुजी निमार्णको आधारभूत स्रोत लगानी प्रवर्द्धनलगायतका वित्तीय क्षेत्रद्वारा प्रदान गरिने कर्जाको दरमा सरलीकृत व्यवहारको साथै न्यून ब्याजदरमा आधारित सहुलियपूर्ण कर्जा विकासले लगानीयोग्य वातावरण तयार गर्नुको साथै औद्योगिक विकासको सम्भावनालाई प्रखररूपमा अगाडि बढाउने अवस्था प्रारम्भ गर्नेछ, भन्दा फरक नपर्ला ।

जसको सफल प्रयोगबाट न्यून लागत खर्चमा अत्यधिक उत्पादन अभिवृद्धि गर्न सकिने अवस्था तयार हुनेछ । त्यसपरान्त न्यूनतम ज्यालाको उचित सदुपयोग गर्दै अत्यधिक मुनाफा आर्जन गर्न सहयोग पुग्ने देखिन्छ । जसको सुखद पक्ष भन्नु नै उच्चगतिमा स्वदेश एवं वैदेशिक निर्यातको क्षेत्रमा उत्साहजनक प्रगति हासिल गर्दै लगानीमैत्री वातावरणको क्षेत्रमा आशातित सफलता प्राप्त हुनेछ । प्रस्तुत व्यवहारको अत्यधिकताबाट प्रविधीमैत्री अब्बल दक्षजनशक्ति विकास तथा उत्पादनको क्षेत्रमा ठूलो फड्को मार्न सम्भव रहनेछ ।

जसलाई आर्थिक समृद्धिको लागि नभई नहुने तत्व विशेषको रूपमा लिन सकिन्छ । त्यसपछि बाह्य विश्वमा हालसम्म नेपालले न्यून ज्यालामा आधारित श्रम बेच्ने परिस्थितिको अन्त्य भई स्वदेशी श्रम स्वदेशमा नै खर्च गर्ने वातावरण तयार हुने देखिन्छ । जसलाई श्रम आत्मनिर्भरताको क्षेत्रमा सकारात्मक परिणाम मान्दा फरक नपर्ला । प्रस्तुत अवस्थाको विकासले गुणस्तरीय वस्तु तथा सेवाको सम्भावनाको साथै वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा स्वदेशी उद्योगले आफ्नो शसक्त भूमिका निभाउन सक्षम रहने अवस्था प्रारम्भ हुनेछ । जसले हाल कायम रहन आएको विप्रेषणको दरको तुलनामा अत्यधिक वैदेशिक मुद्रा सहजै मुलुक भित्र्याउने एवं सञ्चिती गर्ने कार्यमा गहन भूमिका निर्वाह गर्न मुलुकका स्वदेशी उद्योगहरू खरोरूपमा सबल एवं सक्षम रहेका छन् भन्ने तथ्यलाई प्रमाणित गर्नेछ ।

औद्योगिक समूह आएको परिवर्तनको परिणामस्वरूप रोजगारीविनाको आर्थिक विकास र समृद्धिको गन्तव्यलाई सफतापूर्वक चिर्दै आत्मसम्मानसहितको रोजगारी र श्रम सम्भावनालाई निश्चितरूपमा जीवन्त तुल्याउने कार्यमा स्वदेशी उद्योगले अग्रणी भूमिका निर्वाह गर्ने देखिन्छ । यस क्षेत्रमा अब्बल नतिजा प्राप्त गर्न उद्योगमैत्री लैंगिक समानताको मर्मलाई कुनै पनि हालतमा भुल्न मिल्दैन । जसले दक्षता र सीप अभिवृद्धि गर्न निश्चितरूपमा सहयोग पु-याउनेछ ।

आयातीत वस्तु तथा सेवाको उपभोग गर्ने नेपाली संस्कृतिलाई क्रमशः रूपान्तरण गर्दै विकास र समृद्धिको प्रतिफलले निम्ताएको स्वदेशी उद्योगबाट निर्मित वस्तु तथा सेवाको अत्यधिक उपभोगमा जोडदिने परम्परालाई विकास गर्ने हो भने स्वदेशी उद्योगको भविष्य सुन्दर रहने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन । यसप्रकारका व्यवहारको विकासले निश्चितरूपमा सम्बद्ध उद्योगले सम्मानित एवं आत्मगौरब भएको महसुस गर्नेछन् । जसबाट मुलुकको छवि उच्च रहनुको साथै आर्थिक विकास र समृद्धिका लागि नयाँ, नौलो र आवश्यकताको सिद्धान्तमा आधारित गुणस्तरीय वस्तुहरू नेपाली समाजमा पस्कन स्वदेशी उद्योग हरहमेसा तम्पर रहँदै आएको वर्तमान अवस्था हो ।

जुन गतिमा उत्पादन वृद्धि तथा आर्थिक प्रगतिको लक्ष्यअनुसारको गुरुयोजना छनौट गर्ने रणनीतिक योजनालाई शिरोधार्य गर्दै संघीय राज्यको संरचनाअनुसार नेपाल राज्यको सातै प्रदेशमा औद्योगिक क्षेत्र निमार्ण कार्यले प्राथमिकता हासिल गरेको पाइन्छ । जसको सफल कार्यान्वयनपछि निश्चितरूपमा स्वदेशी उद्योगले समृद्धिको गतिलाई गतिशीलता प्रदान गर्नेछन् । तर यसका लागि विकास निमार्णका हिसाबमा पछाडि परेको क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक कार्यतालिका निमार्ण गरेरै भए पनि औद्योगिक हवको रूपमा विकास गर्ने रणनीतिलाई अगाडि बढाउनु औद्योगीकरणलाई टेवा दिनुसरहको अवस्था हो । जसले कोभिड–१९ को कारण ऋणात्मकतातर्फ उन्मुख रहँदै आएको मुलुकको अर्थतन्त्रलाई प्राण भर्दै घनात्मक परिणाम हासिल गर्ने कार्ययोजनामा राज्यलाई सहयात्रीको रूपमा निरन्तता प्रदान गर्दै सहयोगीको भूमिका निभाउन कोसे ढुंगा साबित हुने देखिन्छ ।

वर्तमान एक्काइसौँ शताब्दीको प्रविधि उन्मुख युगलाई स्वदेशी उद्योगले व्यवहारतः स्वीकार गर्दै प्रविधि र उपलब्धताको उचित मूल्यांकनको आधारमा आफ्नो कार्ययोजनाभित्र समाहित गर्नुपर्ने हुन्छ । जसले समृद्धि एवं विकासको लागि औद्योगीकरणको मूल मन्त्रलाई यथार्थमा परिणत गर्दै क्रमशः अगाडि बढाउन मदत गर्नेछ ।

विशेष गरी नयाँ अन्वेषण र सम्भावनाको ढोका खोल्ने पथमा अगाडि बढ्ने चाहना राख्ने हो भने पक्कै पनि हाम्रा स्वदेशी उद्योगबाट अल्पकालीन अवस्थामा नै मुलुकको समृद्धिले उन्नतिको शिखरलाई चुम्न कुनै प्रकारको कठिनाई भोग्नुपर्ने छैन । जसका लागि केवल मेहनत र दृढ आत्मशक्तिलाई क्रमभंग नगरिकन निरन्तरताको सदैव खाँचो रहन्छ । जुन मुलुकको शान्तिपूर्ण राजनीतिक स्थायित्वमा पूर्णरूपले निर्भर रहने तत्व हो ।

शान्तिपूर्ण स्थायित्वले समृद्धिको परिकल्पनालाई यथार्थमा जीवन्त तुल्याउनेछ । जसबाट निर्वाधरूपमा स्वदेशी उद्योगले उत्पादनमा अभिवृद्धि गर्दै समृद्धिको संवाहक तत्वको रूपमा आफ्नो कार्ययोजनालाई विनारोकतोक अगाडि बढाउने वातावरण तयार गर्नुपर्ने हुन्छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको स्वदेशी उद्योगबाट निर्मित वस्तु तथा सेवालाई जागरुक भएर सही मूल्याकंनको आधारमा उपभोगमा ल्याउने योजनालाई सार्थक बनाउने संकल्प गर्नुपर्ने हुन्छ ।

परिणामतः कुनै एक दिन यस्तो सकारात्मक नतिजा देख्न पाइने छ कि, वित्तिय सहयोगको परिकल्पना विनानै उत्पादन क्षमताको विश्वसनीयताको आधारमा स्वदेशी उद्योगले आफ्नो उत्पादकत्वमा उल्लेख्य मात्रामा अभिवृद्धि गर्दै औद्योगिक मुलुकहरूको समकोटीमा विश्व समुदायमा नेपालको चिनारी गराउन सक्षम रहनेछन् भन्ने विश्वास लिन सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया