Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाविरुद्धको उपचारमा खोप

कोरोनाविरुद्धको उपचारमा खोप


काठमाडौं ।
विश्वमा करिब १२ करोड व्यक्तिहरू कोरोना भाइरसले संक्रमित भइसकेका छन् । यसमध्ये झण्डै सात करोड निको भएर घर फर्किसकेका छन् भने यसमध्ये लगभग साढे २६ लाखले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि दुई लाख ७५ हजारभन्दा बढी संक्रमित भइसकेको र तीमध्ये दुई लाख ७१ हजार दुई सय ४९ निको भएर घर फर्किसकेका छन् भने तीमध्ये तीन हजार १४ जनाले ज्यान गुमाएको गत फागुन २९ गतेसम्मको सरकारी तथ्यांक रहेको छ ।

पृथ्वीको जनसंख्याको हालसम्म झण्डै ३ प्रतिशत मानिसहरूलाई मात्र खोप लगाइएको भन्ने कुरा सञ्चार माध्यमहरूले जनाएको छ । यसमा चीन र रुसबाहेकका विश्वका एक सय सात मुलुकमा २१ करोडभन्दा बढीले खोप लगाइसकेका छन् । यसमा पनि विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको बताइएको छ ।

यी देशहरूमा विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या रहेको अनुमान गरिएको छ । त्यसरी नै खोप बढी लगाउने देशहरूमा अमेरिका, रुस, चीन, भारत, बंगलादेश आदि रहेका छन् । त्यसैगरी, विश्वव्यापी जनसंख्याको आधाभाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्चआम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ । जसमा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ । तथा विश्वका निम्न आम्दानी भएका २९ मुलुकहरूमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ ।

देशको कुल जनसंख्याको झण्डै आधा जनसंख्यालाई कोभिड–१९ विरुद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हाम्रो देशमाभने १५ लाख मानिसहरूले पहिलो डोज कोरोनाको खोप लगाएको अर्थात् कुल जनसंख्याको ५ प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ । पहिलो चरणमा गत माघ १४ गतेदेखि फन्ट लाइन रहेका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरूलगायत गरी नौ लाखभन्दा बढीलाई कोरोनाको पहिलो डोजको खोप लगाइएको थियो भने गत फागुन २३ गतेदेखि दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकमा रहेका १७ लाखलाई पहिलो डोज खोप लगाउने कार्यक्रम रहेको छ ।

यसरी कारोना कहरबाट पीडित मानिसहरूलाई सताइरहेको एकातिर छ भने अर्कोतिर विश्वव्यापीरूपमा खोपको बढ्दो मागका कारण कम आपूर्ति भएको छ । जसले गर्दा मागभन्दा आपूर्ति निकै कम रहेको छ । मूलतः यसको परिपूर्तिको लागि खोप उत्पादन गर्ने संस्थाहरूलाई भ्याइनभ्याई भएको अवस्था रहेको छ । त्यही कारणले गर्दा हाम्रो देशमा पनि खोप कम आउने भएपछि सरकारले दोस्रो चरणमा दिने भनिएको ५५ वर्षमाथिको उमेर समूहलाई ६५ वर्षमाथिको बनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ६५ वर्षमाथिका १७ लाख नागरिक रहेका छन् । तर, सरकारसँग अहिले १५ लाख डोज मात्रै खोप छ । पहिलो पटक गत ८ माघमा भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो, जुन १४ माघबाट नेपालमा लगाउन सुरु गरिएको थियो । त्यसै गरी मुलुकले २० लाख डोजका लागि करिब ९३ करोड रुपैयाँ नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटलाई भुक्तानी गरिसकेको छ । यसरी सिरमले विश्वका ९३ वटा देशमा खोप पु¥याइसकेको जनाइएको छ । तर, हाम्रो देशलाई भने १० लाख डोज अझै उपलब्ध गराएको छैन ।

उक्त खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले सेरमसँग गत ५ फागुनमा सम्झौता गरेको थियो । त्यही दिन प्रतिडोज चार डलरका दरले सबै रकम अग्रिम भुक्तानी गरिएको थियो । सम्झौता भएको चार दिनपछि गत ९ फागुनमा सेरमले पहिलो चरणमा १० लाख डोज खोप पठाएको थियो । त्यसको एक हप्ता अर्थात् १६ फागुनमा बाँँकी १० लाख डोज पठाउने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म पठाएको छैन । त्यसैगरी अर्का छिमेकी देश चीनले पनि आठ लाख कोरोना खोप अनुदानमा दिने भन्ने सम्झौता भएको छ । तर, त्यो कहिले आउने हो निश्चय हुन सकेको छैन ।

मुलुकमा कोभिडको संक्रमण देखिएको वर्ष दिनभन्दा बढी भइसकेको छ । मुलुकमा सर्वप्रथम कोरोना चीनबाट स्वदेश फर्किएका विद्यार्थीलाई नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हाम्रो देशले भने हङकङको ल्याबमा लगेर उनको स्वाब परीक्षण गरिएको थियो । उनमा संक्रमण पुष्टि भएपछि नेपालमा महामारीको भय बढ्यो । यसरी विसं २०७६ सालको चैत ११ गतेदेखि त एक सय २० दिन लामो लकडाउन र त्यसपछि पनि लामै समय निषेधाज्ञा भयो । यसले मुलुकमा मानवीय, आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्र अस्तव्यस्त बन्यो । गत साउनसम्म आइपुग्दा संक्रमणको दर उच्च देखियो । अहिले संक्रमण कम देखिए पनि संक्रमित संख्या बढिरहेकै छ । यो वर्षदिन पुग्दा भारतले अनुदानमा दिएको १० लाख खोप बल्ल वितरण सुरु भएको छ ।

संसारका विकसित देशलाई हेर्ने हो भने सम्पन्न भनिएका देशको तुलनामा सङ्क्रमणबाट नेपालमा न्यून क्षति हुनुमा देशभरका ६२ अस्पताल र एक सय २० वटा खोप केन्द्रबाट एकसाथ सुरु गरिने अभियानले खोप आकाङ्क्षी नेपालीको तीव्र प्रतीक्षा पूरा गरेको छ । यस्तै, विश्व स्वास्थ्य संगठनअन्तर्गतको (कोभ्याक्स) मार्फत प्राप्त हुने खोपका लागि सरकारले पहल गरिरहेको छ । तर, हिँडडुल गर्दा पनि सुरक्षा कवचहरू प्रयोग गर्नु त्यत्तिकै आवश्यक छ । यदि कुनै पनि सभा, सम्मेलन, हुल आदि स्थानहरूमा ढुक्क भएर बस्ने अवस्था भने अहिले रहेको छैन । यसको लागि मास्क लगाउने, सेनिट्राइजर र साबुन पानीले हात धुनलाई निरन्तरता कायम गर्नुपर्ने नै हुन्छ ।

समग्रमा भन्नुपर्दा सन् २०२० को अन्तिम दिन चीनको वुहानमा देखिएको कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी हुँदै गर्दा विश्व समाजले अनिश्चयको सुस्केरा हाल्दै थियो । अपितु यो महामारीबाट कसरी छुट्कारा पाइनेछ ? समस्या अघिअघि समाधान पछिपछि भनेझैँ महामारीविरुद्ध तत्कालीन र दीर्घकालीन उपायको खोजीमा विश्वका विज्ञ समूह लाग्यो, लागिरहेको छ ।

यसर्थ कोरोना भाइरसविरुद्धको खोप नआई कोरोना नियन्त्रण सम्भव छैन भन्ने विश्वको वैज्ञानिकहरूका ठम्याइसँगै विश्वका वैज्ञानिकहरूले खोप पहिचान गरी विश्वव्यापीरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनयोग्य बनाएर विश्वसामु वितरण गर्ने क्रम बढेको छ । यस्ता किसिमका खोपको उत्पादन गर्नको लागि ४/५ वर्षको समय लाग्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । त्यसमा पनि विश्वलाई आपत परेको देखेर नै वैज्ञानिकहरूले एकजुट भई छोटो समयमा खोप उत्पादन भएकाले यसको असर, प्रभावका बारेमा थप अध्ययन गर्ने समय कम भएकाले मानिसमा देखिने असर कस्तो हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

पहिलो चरणमा परेका स्वास्थ्यकर्मी र शिक्षित भनिने वर्ग नै खोप लगाउन हिचकिचाउनु ठूलो चिन्ता र चासोको विषय पनि हो । अतः परीक्षणकै रूपमा भए पनि खोप प्रयोग गर्नुपर्ने बाध्यताकै कारण वैज्ञानिकहरूले पनि खोपको प्रभाव, असर र समस्या भए के गर्ने भन्ने ठोस उपाय निकालिसकेका छैनन् । यसमा खोप लगाउने व्यक्ति आफू स्वयं जवाफदेही हुनेछु भन्ने आत्मबल बोकेर खोप लगाउनुपर्ने अवस्था छ ।

यस अवस्थामा पनि खोप प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुपर्छ । यसै क्रममा कोरोना भाइरसविरुद्धको पहिलो खोप र दोस्रो खोप लगाउने समय सिमामा पनि बढेको छ । पहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पहिलो डोज लगाएको आठदेखि १२ हप्तापछि दोस्रो डोज लगाउन सकिने बताएपछि समितिले सोहीअनुसार सरकारसमक्ष प्रस्ताव गरेको हो । पछि गएर कोभिड—१९ खोप प्राविधिक सल्लाहकार समितिको निर्णयअनुसार दोस्रो डोज जति ढिला लगायो उक्ति नै शरीरमा एन्टिबडी त्यति नै प्रभावकारी हुने बताइएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया