महिला सुरक्षाको प्रश्न
काठमाडौं ।
सामान्यतया लैङ्गिक धरातलका आधारमा प्राकृतिकरूपमा अपवादबाहेक दुई भिन्न स्वरूपमा नारी र पुरुष रहेका हुन्छन् । यद्यपि राज्यको निर्देशित कानुनद्वारा सम्बद्ध पक्षलाई एकआपसमा हातेमालो गराउँदै विभेदरहित समानताको प्रत्याभूति दिलाउने प्रयास नभएको पनि होइन । कानुनी मान्यतालाई केलाएर हेर्ने हो भने लैङ्गिक पहिचानको विभेदले मात्रै कुनै एक पक्ष सकल वा दुर्बल भन्ने पक्कै पनि हुँदैन । निष्पक्षरूपमा समानता कायम रहँदारहँदै पनि महिला सुरक्षाको प्रश्नले विवादको घेरामुक्त हुन नसक्नु ठूलो चिन्ताको विषय हो । सुरक्षासम्बन्धी प्रस्तुत तथ्यका सन्दर्भमा नागरिक समुदायको भूमिका महत्वपूर्ण रहेको हुन्छ ।
किनकि समाजमा घट्ने हरेक घटनाका वास्तविक पहेदार भनेका सम्बद्ध क्षेत्रका नागरिक समुदाय नै हुन् । यस अर्थमा आधुनिक समाज परिवर्तनको चाहना सँगसँगै महिला सुरक्षाको क्षेत्रमा अझै धेरै संवेदनशील भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको पाइन्छ । हुन त चेली समुदायलाई गलत मनसायले हेर्ने प्रवृत्तिको विकास आजको सुरक्षा चुनौती मात्र नभई केही दशकअघि चर्चित घटनाका रूपमा नमिता, सुमितालगायत निर्मला र भागरथीका ब्यथाले समाजलाई थप सशंकित र मर्माहित बनाएको छ । यसप्रकारका पाशविक पीडाहरूको कारक तत्व पहिचान गरी निराकरणको लागि पहल गर्नु यौन दुर्व्यवहारलगायतका बलात्कारजन्य अपराध न्यून गर्ने अचुक उपाय बन्न सक्ने देखिन्छ ।
दुर्व्यवहारजन्य महिला सुरक्षाको विषयमा विभिन्न चरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चका सभा, सम्मेलन, गोष्ठि, सेमिनार आदिमा प्रशस्त समय खर्चिनुको साथै अनेकन प्रतिबद्धताहरू जाहेर गरौँ होला, तर व्यवहारमा कतिसम्म लागू भयो वा भएन भनेर एक पटक फर्केर हेर्ने फुर्सदचाहिँ कत्तिको भयो भन्ने प्रश्नले यस क्षेत्रमा भिन्नै अर्थ राख्नेछ । यदि प्रतिबद्धताअनुरूपको कार्यलाई व्यवहारतः लागू गर्न सकेको भए निश्चय पनि पीडित महिला दिदीबहिनीहरू मृत्युपश्चात् आवाजविहीन अवस्थामा सम्मानजनक न्याय प्राप्तिको लागि भौतारिनु पर्ने अवस्था तयार हुने थिएन भन्दा फरक नपर्ला ।
जसको दूष्परिणामस्वरूप अवोध शिशुदेखि लिएर वृद्ध अवस्थामा पुगेका नारी समेत दुव्र्यवहारको चपेटामा परेको घटना सार्वजनिक भएबाट निश्चितरूपमा यौनजन्य पीडाको कारक तत्व यही नै हो भनेर प्रस्ट भन्न नसकिए पनि सम्भावित नकारात्मक क्रियाकलापबाट उत्पन्न हुनसक्ने अवस्थाबाट पृथक रहँदै सशक्त प्रतिकारमा उत्रिन सक्ने क्षमताको विकासले यस क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिनेछ ।
पुरुष हैकमवादी चारित्रिक विशेषताको अधिकताले अहमताको अभिवृद्धि गर्दै यौनजन्य अपराध अभिवृद्धीकरण गर्न सहयोग पुग्ने गरेको तथ्यहरूले औँल्याएको छ । क्षणिकरूपमा मानव मष्तिकमा उम्रिने अमानवीय यौन उग्रताको परिणाम नै यौन दुर्व्यवहारको जटिलता समेत भएको हुँदा हरेक मानव समुदायले आफ्नो मन–मस्तिष्कलाई रचनात्मक कार्यमा लगाउन सके नागरिक समाजमा हुने र हुनसक्ने महिला सुरक्षाको अभिन्न अंग मानिएको यौनकुण्ठा र यसका दरमा निकै सुधार आउनेछ ।
तसर्थः प्रस्तुत प्रवृत्तिका घटना विकासका सन्दर्भमा धेरै हदसम्म अन्य बाहिरीया पक्षभन्दा नजिकका व्यक्ति नै समाविष्ट रहने गरेको पाइन्छ । जसले दुव्र्यबहारमा पर्ने समूहको आनिबानीलगायतका अन्य दैनिक क्रियाकलापलाई सघनरूपमा मनन गर्दै अपराध अभिवृद्धि गर्न उद्यत रहन हौसिने गरेको तथ्य प्रमाणले पुष्टि गर्दै आएको छ ।
अतः सुरक्षा संवेदनशीलताको अर्को महत्वपूर्ण पक्ष आत्मसम्मानका साथ बाँच र बाँच्न पाउने न्यूनतम मानवअधिकारका कतिपय विषयलाई समावेश गर्दै सम्बद्ध महिला समूहको नैसर्गिक अधिकारको रक्षा गर्नुपर्ने हुन्छ । जसका लागि महिला स्वयं सचेत रहँदै आत्मरक्षात्मक कार्यशैलीलाई व्यवहारमा उतार्नु जरुरी छ । विपरीत अवस्था तयार भए बलात्कारका पीडाहरू दिनहुँ बढ्न गई महिला सुरक्षाको प्रश्नमा बलात्कार अर्घेलोको रूपमा अगाडि आउने प्रबल सम्भावनालाई नकार्न मिल्दैन ।
आधुनिकताको नाममा आएको विकृतिजन्य क्रियाकलापको अत्यधिकताले यस क्षेत्रमा थप व्यवधान पैदा गर्नेछ । साथै पुस्तान्तरणको सिलसिलामा आएको यौनिक अनुशासनलाई इमान्दारीपूर्वक पालना गर्न नसक्ने संस्कृतिले निम्त्याएको भयावह दुर्घटनाको अनेकन रूपमध्येको एक रूप बलात्कारको पीडा हो ।
किनकि घटित अपराध वर्ण, लिंग, जात वा समय विषेशको आधारमा नहुने हुँदा दुर्व्यवहारजन्य सुरक्षाको सजकता नै यसबाट बच्ने अब्बल उपाय मान्न सकिन्छ । तसर्थः हरेक समुदाय विशेषले मानसम्मानको निश्चित दूरीलाई मनन गर्दै यौनजन्य नैतिक मूल्य–मान्यतालाई अक्षरंस पालना गर्ने दृढता कायम राख्ने हो भने, यौन अपराधको दरमा सुधार नआउने भन्ने प्रश्न नै उठ्दैन ।
जसका लागि सुरक्षासँग संलग्न रहने अनेकन विधिका साथै आत्मरक्षाका लागि घरमा होस् अथवा घरबाहिर निस्कँदा नै किन नहोस् सम्भव भएसम्म सुरक्षाका दृष्टिकोणले प्रयोग गर्न सहज हुने वस्तु तथा सेवा आफूसँगै राख्ने प्रबन्ध मिलाउन सकिए प्रस्तुत सन्दर्भमा थप सुरक्षित हुने विश्वास लिन सकिनेछ । तदुपरान्त सर्वपक्षीय सहयोगमा नागरिक समाजमा घट्ने यौनजन्य घटनालगायतका आपराधिक क्रियाकलापबाट मुक्त राख्न सहजीकरणको वातावरण तयार हुनेथियो भन्न सकिन्छ ।
घटना घट्ने वा घटिसकेकको अवस्थामा सरोकारवाला सुरक्षाको निकायको आवश्यक सल्लाह सुझाव आदिका बारेमा यथोचित जानकारी लिँदै सोहीअनुकूल कार्यशैलीलाई अपनाउने हो भने यस क्षेत्रमा धेरै नै सफलता प्राप्त गर्न सकिनेछ । तथापि सम्भावित दुरूपयोगको अवस्थाप्रति भने सजक रहनु एक सचेत नागरिकको कर्तव्य समेत हो । जसका लागि आपराधिक क्रियाकलापमा संलग्न रहने व्यक्ति वा समूहको हुलिया वा उसले प्रयोग गर्नेगरेको वस्तु तथा सवारीसाधनको बारेमा जानकारी दिनसक्ने क्षमता विकासले गलत योजनामुताबितको कार्यमा निश्चितरूपमा कमी आउने ठोकुवा गर्न सकिन्छ ।
यसबारेमा समयमा नै आवाज उठ्न नसक्ने वा नचाहने प्रवृत्तिको विकासले केवल अपराधीकरणलाई मात्र प्रोत्साहन पुग्न जाने देखिन्छ । परिणामतः दृश्य वा अदृश्यरूपमा थुप्रै निर्मला÷भागरथीको संख्या वृद्धि हुनजानेतर्फ सचेत रहँदै अबोध चेलीको रक्षा एवं न्यायको निम्ति सहृदयले यौन दुर्व्यवहारको दरमा कमी ल्याउन रचनात्मक सहयोगको खाँचोलाई कदापि नभुलौँ । यसप्रकारको व्यवहारको विकासले नारी सुरक्षाको प्रश्नमा सुधारको अपेक्षा गर्दै सम्भावित घटना न्यूनीकरणमा उपलब्धिमूलक नतिजा हासिल गर्न सकिनेछ ।
मानवीय भावनाको एक पक्षलाई पृथक राख्दै क्षणिकरूपमा प्राप्त हुने यौन कामवासनालाई न्यून गर्नको साटो अभिवृद्धि गराउने खालका कथा, कविता, सिनेमा, कुराकानीको गतिलाई उच्च राख्दै सोहीअनुसारको गतिविधिलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने यौन दुर्व्यवहारको गतिशीलताबाट हामी कोही पनि सकुशल रहन सक्दैनौँ । त्यसो भएको हुँदा हरेक सचेत अभिभावकले आफ्ना सन्ततिको सुखद यौन अधिकारको रक्षार्थ यौन शिक्षाको अपरिहार्य आवश्यकतालाई सकारात्मकरूपले मनन गर्दै गलत यौनजन्य व्यवहारबाट मुक्तिको लागि आजैका दिनदेखि आवाज बुलन्द गर्ने प्रण गरौँ । जसको पूर्णताले आगामी दिनमा नमिता, सुमिता, निर्मला र भागरथीजस्ता प्रतिनिधिमूलक पात्रको जस्तो हविगत अन्य कुनै पनि नेपाली चेलीको हुने छैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया