समृद्धिका लागि हस्तकला उद्योग प्रवर्द्धनको आवश्यकता
काठमाडौं ।
हस्तकला नेपालको सबै जिल्लामा विद्यमान छ । प्रत्येक जिल्लामा विभिन्न जातजातिका व्यक्तिहरू बसोबास गर्ने हुनाले उनीहरूका आ–आफ्ना संस्कृतिअनुसार विभिन्न किसिमका हस्तकलाका सामानहरू पाइन्छन् । हाल नेपालबाट ४२ प्रकारका हस्तकलाका सामग्रीहरू विश्वका ६० भन्दा बढी देशमा निर्यात गरिन्छ, जसमध्ये पश्मीना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ उल्लेखनीय छन् ।
संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत, फ्रान्स, डेनमार्क र क्यानडा नेपाली हस्तकलाका निर्यात हुने प्रमुख देशहरू हुन् । वर्तमान समयमा छिमेकी देश भारत र चीनमा यहाँका हस्तकलाका सामानहरूको माग बढेको छ । आजकाल देशभित्र पनि सजावटका लागि हस्तकलाका सामानहरू प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यति मात्र होइन, प्रत्येक वर्ष नेपाल आउने पर्यटकहरूमध्ये धेरैले यहाँको चिनोको रूपमा वस्तुकलाका सामानहरू खरिद गर्छन् ।
नेपाल आउने कतिपय विदेशी राष्ट्रप्रमुख तथा प्रसिद्ध व्यक्तिहरूलाई हस्तकलाका सामानहरू उपहारस्वरूप प्रदान गर्ने चलन छ । यहाँको हस्तकलालाई प्रश्रय दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्न जोड दिएको छ । तर यो व्यवहारमा भने लागू हुन सकेको छैन ।
यहाँ प्रत्येक धातु तथा कपडाबाट उत्पादित हस्तकलाका सामानहरूको माग झण्डै उस्तै नै छ । कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मीना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरूको बढी माग छ । ऊनबाट बनेका सामग्रीहरूको पनि निकै माग छ । यसै गरी सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत सरदर १६ प्रकारका हस्तकलाका सामानहरू विदेश निर्यात हुँदै आएको छ ।
एक आधिकारिक तथ्यांकअनुसार हस्तकला उद्योगमा संलग्न प्रत्यक्ष र अप्रत्यक्ष गरी २१ लाखजति व्यक्तिहरूले रोजगारी पाएका छन् । परन्तु यहाँ कामको सम्मान गर्ने प्रवृत्तिन भएकोले उक्त उद्योगमा हिनताबोध हुनथालेको छ । त्यसैले परम्परागतरूपमा काम गर्ने मजदुरहरूको संख्या कम हुँदै गएको छ । यस व्यवसायमा युवाहरूको आकर्षण बढ्न नसकेकोले श्रमको अभाव छ ।
पछिल्लो समय हस्तकलाका सामानहरू छिमेकी राष्ट्रहरू, युरोप र अमेरिकामा बढे पनि कामदारहरूको कमीले गर्दा मागपूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समययता भारत र बंगलादेशका कालिगडहरूले पनि सुनचाँदीको गहना एवं विभिन्न हस्तकलाका सामानहरू बनाउँदै आएका छन् ।
नेपालमा उत्पादित हस्तकलाका सामानहरूमध्ये माटाका भाडाहरूको पनि कम महत्व छैन । यहाँ उत्पादित माटाका भाँडाहरूमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि छन्, जसमध्ये खुत्रुकेको विदेशमा निकै माग छ । विदेशबाट यहाँ केही माटाका भाँडाहरू आयात गरिए तापनि यहाँबाट प्रत्येक वर्ष झण्डै ३ करोड मूल्यबराबरको माटाका भाँडाहरू निर्यात गरिन्छन् ।
वस्तुतः यहाँ माटाका सामानहरू प्राचीनकालदेखि नै बनाउन थालिए पनि हाल माटो र विभिन्न किसिमका रङहरूको बढ्दो मूल्यको कारण उक्त सामानहरू बनाउने काममा बाधा पुगेको छ । वर्तमान समयमा यहाँ धातु तथा प्लास्टिकका सामानहरूको बढ्दो प्रयोगले गर्दा नयाँ पुस्ताका व्यक्तिहरू यस व्यवसायमा आकृष्ट भएका छैनन् ।
यति मात्र होइन कालिगडहरूलाई तालिम दिने संस्थाहरूको अभावमा, यहाँबाट उत्पादित माटाका भाँडाहरूको गुणस्तर अभिवृद्धि गर्न सकिएको छैन । हस्तकलाको प्रवर्द्धनका लागि समसामयिक तालिमको आवश्यकता छ । तर यहाँ उक्त कलासम्बन्धी तालिम दिने संस्थाहरू छैनन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।
भारत र बंगलादेशमा हस्तकलाका सामानहरू बनाई निर्यात गर्ने संघसंस्थाहरूलाई प्रोत्साहन दिने विशेष व्यवस्था भएकोले ती देशहरूमा उक्त व्यवसायमा संलग्न व्यक्तिहरू उत्साहित छन् । किन्तु यहाँ हालसम्म पनि उक्त व्यवस्था गर्न नसकिएकोले सम्बन्धित व्यक्तितथा संस्थाहरूको ध्यानाकृष्ट हुन जरुरी छ । हस्तकलामा युवाहरूको खासै चासो देखिँदैन । त्यसैले विद्यालयहरूको पाठ्यक्रममा हस्तकलासम्बन्धी कुराहरू समावेश गर्नसके भविष्यमा यहाँका युवाहरू उक्त कलामा संलग्न हुन आकर्षित हुनेछन् ।
आगामी दिनहरूमा हस्तकलाका सामानहरूको माग अभिवृद्धि गर्न यिनीहरूको डिजाइनमा पनि केही परिवर्तन गर्न जरुरी छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरका डिजाइनरहरू झिकाई यहाँका कालिगडहरूलाई समसामयिक तालिम दिन आवश्यक छ ।
यहाँको हस्तकलाको विकासको लागि मजदुरहरूको संख्या बढाउन नितान्त आवश्यक छ । यसको लागि इच्छुक व्यक्तिहरूलाई तालिमदिने व्यवस्था हुनुपर्छ । यसका साथै सम्बन्धित व्यक्तितथा संस्थाहरूबाट बेलाबेलामा हस्तकलासम्बन्धी प्रदर्शनीहरू आयोजना गर्ने, हस्तकलासम्बन्धी प्रतियोगिताहरू आयोजना गर्ने र ऋण सहजतथा सुलभ तरिकाले उपलब्ध गराउन जरुरी छ ।
एक आधिकारिक तथ्यांकअनुसार नेपालमा वार्षिक तीन सय ५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अल्लोजन्य हस्तकलाका सामानहरू उत्पादन गरिन्छ । यी सामानहरूमध्ये ८० प्रतिशतभन्दा बढी निर्यात गरिन्छ । यसरी निर्यात गरिने देशहरूमा खास गरेर संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, डेनमार्क, फिनल्याण्ड र दक्षिण कोरिया प्रमुख छन् ।
नेपाल हस्तकला महासंघको हस्तकला निर्यात तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा ४८ लाखा ४१ हजार एक सय ५३ मूल्यबराबरको अल्लोजन्य हस्तकलाका सामानहरू निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०६५/६६ मा ४७ लाख ३९ हजार छ सय ६८ मूल्यबराबरको अल्लोजन्य हस्तकलाका सामानहरू निर्यात गरिएको थियो । हालका वर्षहरूमा उक्त रकमभन्दा केही बढी मूल्यका हस्तकलाका सामानहरू निर्यात गरिन्छ ।
नेपालमा १२ सयदेखि तीन सहजार मिटरसम्मको उचाइमा अल्लो पाइन्छ । यो यहाँको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ३५ हिमाली तथा पहाडी जिल्लाहरूमा पाइन्छ । वास्तवमा अल्लोका रेशा तथा रेशाजन्य वस्तुलाई प्रशोधन गरेर अल्लोसम्बन्धी हस्तकलाका सामानहरू बनाइन्छ । हाल नेपालमा अल्लोजन्य हस्तकलाका सामानहरूको उत्पादनमा विभिन्न संघसंस्थाहरू आबद्ध छन् जसमध्ये हिमालयन नेचुरल फाइबर फाउन्डेसन, निनामरिदम ह्यान्डीफ्राफर र नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ अग्रपङ्क्तिमा छन् ।
नेचुरल फाइबर फाउन्डेसनले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको सिलिचोङ, गाउँपालिकालाई आधार क्षेत्र मानेर ती क्षेत्रका गरिब किसानहरूलाई अल्लोको बेर्ना उतपादन, खेती गर्ने तरिका, प्रशोधन गर्ने तरिकालगायत विभिन्न तालिमहरू प्रदान गरी अल्लो तथा यसबाट बनाउने हस्तकलाका सामानहरूको उत्पादनमा सक्रिय सहयोग गरेको छ । उक्त फाउन्डेसनले रुकुम र रोल्पामा पनि सानातथा घरेलु उद्योग विभाग जर्मनको जीटीजेड संस्थाको सहकार्यमा अल्लो उद्योग प्रवर्द्धनका लागि तालिम सञ्चालन गरेको थियो ।
नेडेप नेपालले पर्वत, बाग्लुङ र म्याग्दी जिल्लामा इच्छुक व्यक्तिहरूका लागि अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण र उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरी अल्लोसम्बन्धी हस्तकलाको प्रवर्द्धनमा मदत गर्दै आएको छ । केहीवर्षयता होमनेट नेपालले अल्लोका हस्तकलाका सामान बनाउने र बेच्ने काम गर्दै आएको छ ।
अल्लोका हस्तकलाका सामानहरू बनाई बिक्री गर्ने अन्य संस्थाहरूमा महागुठी, साना हस्तकला संघ र हस्तकला उत्पादक संघको नाम उल्लेखनीय छन् । त्यी संस्थाहरूले अल्लोसम्बन्धी हस्तकला उद्योगहरूको संवर्द्धन तथा प्रवद्धर्नमा टेवा पु-याएका छन् । नेपाल एक कृषिप्रधान देश भए पनि बढ्दो भूमि खण्डीकरण सिँचाइको अपर्याप्तता, खेतीको समयमा बीजबिजन तथा मलको अपर्याप्तता, पुरानो खेतीपाती गर्ने तरिका आदि कारणहरूले गर्दा कृषिक्षेत्रबाट प्राप्त हुने प्रतिफलबाट मात्र यहाँको आर्थिक समृद्धिको लक्ष्यमा पुग्ने सम्भावना देखिँदैन । त्यसैले वैकल्पिक व्यवस्थापनको लागि औद्योगिक विकास गर्न आवश्यक छ, जसको लागि हस्तकला उद्योगले महत्वपूर्ण योगदान पु-याउन सक्छ ।
हस्तकला उद्योगको प्रवर्द्धनका लागि अल्लोबाट तयार गरिने कपडा, झोला, जुत्ता आदि सामानहरूको उत्पादन वृद्धि गर्न आवश्यक छ । आजकल यस्ता सामानहरूको माग दिनप्रति दिन बढे पनि अझसम्म पनि धेरैलाई यससम्बन्धी ज्ञान छैन । त्यसैले बेलाबेलामा देशका विभिन्न स्थानहरूमा हस्तकलासम्बन्धी भेलाहरूआयोजना गरी अल्लोका सामानहरू प्रदर्शन गरेमा भविष्यमा यसको व्यापार बढ्नेछ र हस्तकला उद्योगको विकासमा केही टेवा पुग्नेछ । फलतः यहाँको अर्थतन्त्रमा समेत सकारात्मक असर पर्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया