जलवायु परिवर्तन र जीविकोपार्जनमा प्रभाव
काठमाडौं ।
नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक सिन्त–ज्योर्गीले भनेका थिए, ‘पानी जीवनको अभिन्न वस्तु हो ।’ पिउनदेखि सिँचाइ, विद्युत्का लागि पानीको अनिवार्यतालाई कसैले विकल्प दिन सक्दैन । जलवायु परिवर्तनको प्रत्यक्ष असर पानीका स्रोतमै पर्नगएको छ । यसले गर्दा विश्वमा अर्को युद्ध पानीका लागि हुने बताइएको छ । नेपाल विश्वमै जलस्रोतको धनी भनिए पनि केही वर्षयता जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू विस्तारै सुक्दै जान थालेका छन् । वर्षाको क्रममा आएको फेरबदलले अतिवृष्टि, अनावृष्टिदेखि खडेरीका समय बढ्न थालेको छ । यसले गर्दा पानीकै लागि मानिसहरूको बसाइसराइदेखि द्वन्द्वको अवस्था सिर्जना हुने देखिन्छ ।
नेपाल विश्वमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक हो । जलवायु परिवर्तनका कारण वातावरणमा प्रतिकूल प्रभाव पार्नुको साथै मानिसको जीवन र जीविकोपार्जनमा देखिने गरी नकारात्मक असर पर्न थालेको छ । बाढी, पहिरोजस्ता विभिन्न जलवायुजन्य समस्याहरूका कारण जोखिमपूर्ण अवस्थामा रहेका समुदायको अवस्था झन्झन् खराब बन्दै गएको छ । विश्वव्यापीरूपमा जलवायु परिवर्तनले गरिबी र पिछडिएका समुदायको जीविकोपार्जनलाई असुरक्षित बनाएको छ ।
वास्तवमा सडक र अन्य पूर्वाधारहरूको निर्माणको कारण पानीको प्राकृतिक निकास प्रणाली पूर्णरूपमा खल्बलिएको छ । वर्षौंदेखिको वन विनास, नदीजन्य वस्तुको उत्खनन्, निकासीले गर्दा नदीको प्राकृतिक बहाब खल्बलिएको छ । हचुवाको भरमा गरिने भूमि योजना, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनजस्त कारणहरूले गर्दा ग्रामीण भेगका जनता बाढीले ल्याउने क्षति सहन बाधय छन् । बाढीको समयमा मानिसहरू आफ्नो घर छोड्न बाध्य हुने गर्दछन् र क्षतिको आधारमा शरणार्थी भएर बस्नुपर्ने हुन्छ ।
जलवायु परिवर्तनद्वारा सिर्जित कमजोर भौगर्भिक विशेषता र भीषण वर्षाले गर्दा नेपालको मध्यपहाडी भेगमा पहिरो एउटा जलवायुजन्य जोखिम रहेको छ । मुसलधारे पानी (प्रतिदिन २००—१००० मिमि) पर्नु, ठाडो नालीहरूमा अनियन्त्रित ढङ्गबाट पानीको भेल बग्नु, रुखबिरुवा काट्नु, भूकम्प जानु र बाढी आउनुजस्ता कारणले पहिरोले जोखिमलाई बढाउने गरेको छ ।
वन विनाश, सडक किनारका ढिस्काहरू कटान गर्नु, माथिल्लो भेगमा पानीका पोखरीहरू र अन्य कारणहरूले गर्दा पहिरो जाने क्रमलाई बढाएको छ । भिरालो नाली, रुख बिरुवाको कटान र माटोको सतहको उत्खनन्जस्ता कारणले पहिरो जाँदा जीवन र सम्पत्तिको नोक्सानी हुने गर्दछ । नेपालको पहाडी क्षेत्र तुलनात्मकरूपमा अस्थिर खालको छ, वर्षायाममा पहिरो सामान्यजस्तै हुने गर्दछ । यस्तो ठाउँमा निर्माण र डिजाइन गर्दा बढो होशियारी अपनाउनुपर्ने हुन्छ ।
जलवायु परिवर्तनको प्रभाव न्यून गर्न अन्तर्राष्ट्रिय तहमा भएका प्रयासहरूमा नेपालले गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न तथा जलवायु परिवर्तनको प्रतिकूलताबाट प्रभावित जनतालाई सहयोग पु-याउन नेपाल सरकारले राष्ट्रियताअनुकूलन कार्ययोजना (नापा) तर्जुमा गरेको छ । त्यसलगत्तै समुदायकेन्द्रित अवधारणाअनुसार स्थानीय अनुकूलन कार्ययोजना (लापा)को तर्जुमा गरी नापामा निर्धारण गरिएको प्राथमिकताहरूको कार्यान्वयनको प्रतिबद्धता जनाइएको छ । यी लापाहरूले क्षेत्रगत विशिष्ट अनुकूलनका आवश्यकताको पहिचान गर्नुका साथै जलवायु जोखिम समुदायहरूमा जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने उपायहरूको खोजी गरेको छ ।
नेपालका अधिकांश स्थानहरूमा मानिसहरूले नहरलाई सिँचाइको रूपमा मात्र प्रयोग गर्नेगरेका छन् । साना नदी, खोला र खोल्साबाट बगेर आएको पानीलाई कृषियोग्य भूमिमा सिञ्चित गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भए पनि सिँचाइको ठूलो चुनौती रहेको छ । अझै पनि धेरै भू–भागमा सिँचाइको सुविधा पुग्न नसक्दा खेतीयोग्य जमिन पनि खेर गइरहेको छ । पानीको अभावका कारण किसानहरूले थोरै जमिनमा मात्रै खेती गर्ने र वर्षमा एक बाली मात्रै लगाउने गर्न थालेका छन् । जसले गर्दा कृषि उत्पादकत्व निकै कम हुने गरेको छ ।
सिँचाइको अपर्याप्तताका कारण जलवायु परिवर्तनबाट सिर्जित सुख्खाको अवस्था, अस्वभाविक ढङ्गबाट पानी पर्ने समस्याले गर्दा वर्षभरि गरेको खेतीले यहाँका किसानहरूलाई चार महिना पनि पु-याउन मुस्किल हुने गर्दथ्यो । यसरी कृषिमा आधारित रहेर पनि बाँच्न मुस्किल हुने भएपछि गाउँका युवाहरू कामको खोजीमा अन्यत्र जान विवश हुनेगरेका छन् । सिँचाइ सुविधाको पहुँचमा सुधार ल्याउन सकिएमा कृषि उत्पादकत्वमा वृद्धि, जीविकोपार्जनमा सुधार तथा बाह्य सहयोगमा निर्भरता र बसाइँसराइमा कमी ल्याउन सकिन्छ । सिँचाइ सुविधाले किसानहरूलाई निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषितर्फ लाग्न उत्साहित गर्दछ ।
नेपालको मध्यपहाडी क्षेत्रमा सुरक्षित खानेपानीको अभाव निकै नै रहेको छ । ग्रामीण जनताले खानेपानीका लागि निकै कठिनाइ झेल्नुपरेको छ । पानीको अभावले गर्दा खाना पकाउने र सरसफाइका काम गर्न समस्या बढ्दै गएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, पानीको मुहान, सिमसार र अन्य पानीका स्रोतहरू सुक्नेजस्ता जलवायु परिवर्तनका प्रभावले पानीको अभावलाई बढाएको छ । पानीजन्य रोगको व्यापक सङ्क्रमण हुने गर्दथ्यो । स्वास्थ्य र सरसफाइको जोखिम रहेको थियो । हरेक परिवारले दैनिक छ घण्टा लगाएर गाउँबाट नजिक पर्ने झारे खर्कमा रहेको मुहानसम्म पर्याप्त खानेपानी र अन्य घरायसी प्रयोजनका लागि बिताउनु पर्दथ्यो ।
पानीको मुहानसम्मको दूरी वर्षायाममा केही नजिक भए पनि हिउँदमा भने टाढा पर्दछ । वर्षायामको वर्षाको घनत्व बढे पनि हिउँदमा हुने वर्षामा कमी आएको छ । जलवायु परिवर्तनले पानीको स्रोत घट्दै गएकाले सुख्खा समयको अवधि लम्बिएको छ र तापक्रममा वृद्धि भएको छ । पछिल्ला वर्षहरूमा जलवायुका कारण उच्च हिमाली भेगमा उल्लेखनीय रूपमा पानीका उपलब्धतामा अवरोध हुनुको साथै पानीको उपलब्ध सुविधाको सञ्चालन र मर्मतको लागत बढेको थियो । पानीको स्रोत रित्तिनुको साथै पानीको उपलब्धता खतरामा हुँदा सरसफाइ कायम राख्ने क्षमतामा समस्या आएको थियो ।
पानीको स्रोतलाई सुरक्षित राख्न मुहानवरपर राम्रोसँग तारबार र वृक्षरोपण गर्नु पर्दछ । यसबाहेक, मुहानको जलाधार क्षेत्र क्षेत्रको उपयुक्त स्थानमा पानीको खाल्डो खन्ने र वर्षाको समयमा बग्ने पानीलाई एकीकृत गरी पानीलाई सञ्चय गर्न सकिन्छ । यस्ता पोखरीहरूले पानीको पुनःभरणमा योगदान दिने मात्रै नभई तल्लो तटीय क्षेत्रमा ओसिलो राख्न पनि मदत गर्दछ । मौसम वा पानीको स्रोत रित्तिनुमा माटोको किसिम, जमिनको ढाल र यसको उत्तर वा दक्षिण फर्केको मोहडाको आधारमा पनि फरक पर्ने हुन्छ । जब बगेको मुहानको व्यवस्थापन गरिन्छ यी अवधारणाहरूलाई ध्यानमा राख्नु आवश्यक पर्दछ । पानीको दिगो सञ्चयका लागि वृक्षरोपण मात्रै पर्याप्त हुँदैन ।
भरपर्दो सिँचाइ सुविधा भएमा मानिसहरूले कृषि प्रणालीमा विविधीकरण गर्न थाल्नेका छन् । यसले खेतीयोग्य जमिनको विस्तार हुने छ । वन जङ्गल र भुइँघाँसजस्ता सम्पदाहरूको विस्तारले पशुपालन व्यवस्थापनमा सुधार आउन सक्दछ । आगलागी व्यवस्थापन, वृक्षरोपण र कृषि वन पहलले गर्दा वनजङ्गलको सुरक्षा र सिमसारको संरक्षण हुन सक्दछ । पहिरो रोकथामले कृषियोग्य जमिन र मानव बस्तीको संरक्षण हुनगई वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्दछ । खानेपानी आपूर्ति प्रणालीमार्फत मानिसको सामाजिक सुविधामा प्रगति भएको छ । साथै जलवायु उत्थानशील विकास योजना र कार्यान्वयन प्रक्रिया र बाढी उत्थानशील आश्रयस्थलहरूको निर्माणले विभिन्न विपत् जोखिमलाई कम गर्न सकिन्छ ।
जलवायु परिवर्तनको विकासका गतिविधि गर्दा आउने विपत्का जोखिम न्यूनीकरण गर्न तथा खासगरी महिला र उपेक्षित समुदायलाई जलवायु परिवर्तन र विपत्सँग सम्बन्धित जोखिम न्यून गर्न विकासका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । खानेपानी आपूर्ति, सिँचाइ र जीविकोपार्जनको विकासजस्ता सेवाको दीर्घकालीन सञ्चालन तथा मर्मत, गुणस्तरीय ढाँचा र कार्यान्वयनको सुनिश्चित गर्नु र सङ्घीय संरचनासँगै जलवायु उत्थान विकास योजना, नियम रणनीतिहरूको तर्जुमा गर्नु आवश्यक छ ।
कृषि, जल, जङ्गल र जैविक विविधताका क्षेत्रहरूको एकीकृत व्यवस्थापनमार्फत समुदायमा आधारित अनुकूलनको प्रवर्द्धन गर्न सकिएमा दिगो विकास लक्ष्य (एसडिजी)को लक्ष्य नं १३ (जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल गर्ने), लक्ष्य नं ९ (उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगिकीकरणको प्रवर्द्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने), लक्ष्य नं ५ (लैंगिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने) र लक्ष्य नं १ (जलवायु उत्थानशील कृषि र आयआर्जनका क्रियाकलापहरूको सहयोगद्वारा सबै ठाउँबाट सबै किसिमका गरिबीको अन्त्य गर्ने) हासिल गर्न योगदान पु-याउन सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया