बाबाले सोध्लान् नि खै छोरा भन्लान, रण जित्दै छ भन्दिए
काठमाडौं ।
झलकमानले त्यतिबेला गाएको यो गीत अहिलेसम्म पनि सार्थक भइरहेको छ । त्यतिबेला सायद छोराहरू रणमा होमिन जान्थे । मलाया लाहुरे, भारतीय सेना र बृटिश सेनामा । रणमा जानलागेको आफ्नो छोरालाई दहीअक्षता लगाइदिएर आमाले बिदाइ गर्थिन् छोराको दीर्घायुको लागि । जो युद्धमा जान्थ्यो ऊ फर्की आउँथ्यो वा आउँदैनथ्यो केही भर हुँदैनथ्यो । नेपाली संस्कृतिमा यो एउटा रोचक तर हृदयविदारक प्रचलन थियो । झलकमानले त्यही दृश्यलाई गीतको मालामा उनेका हुन् ।
आज युद्धमा नभएर भोक र गरिबीबाट पार पाउन नेपालीका छोराछोरी काम गर्न विदेश जान्छन् । युद्धमा जाने छोराहरूका लागि दहीअक्षता मुछेर रुने आमाहरू आज छोरा काम गरेको कर्मथलोको लाइभ प्रसारण हेर्छिन् र दंग पर्छिन् । समय बदलिएको छ । समयसँग हामी बदलियौँ । आज म को हुँ भन्ने कुरा सबैलाई ज्ञान छ । तर पनि यो म को हुँ भन्ने प्रश्न भने सदियौँदेखि नेपालीको भाग्यमा प्रश्न बनेर अगाडि तेर्सिरहेको छ ।
म को हुँ ? मनको भित्तामा लेखिएको एउटा प्रश्न हुँ म स्वयम् । मुटुको कित्तामा ठोकिएको एउटा डोब हुँ । साँच्चै म को हुँ त ? के म झलकमान गन्धर्व हुँ ? कि म कविताको भोकले कलिलै उमेरमा मरेको धरानको विमल गुरुङ पो हुँ कि ? सधैँ मैले आफैलाई सोध्दै आएको एउटा उत्तरहीन प्रश्न । म को हुँ ?
नाममा केही छैन । म जोसुकै हुँ । मतलब छैन । नाममा झलनाथ ठूलो कि झलकमान ? झलनाथ भूपू प्रधानमन्त्री । झलकमान एउटा जाबो गाइने । पोखराको गाइने । बैदामचोकतिर सारङ्गी रेटेर हिँड्थे रे ! झलकमान छैनन् । उनी देवताको प्यारा भएकोमा लाखौंलाई खिन्नता छ । झलकमान झलनाथ होइनन् यति कुरोचैँ म ठोकुवा गरेर भन्न सक्छु । झलनाथ झलकमान पनि होइनन् । मचैँ के हुँ त ? कि म देवकोटाको मुनामदनको मदन हुँ ? पसिनाले सपना किन्न भोट जाने एउटा असफल लाहुरे । मदन मरे । मुना पनि मदनकै सम्झनामा मरिन । इतिहासदेखि वर्तमानसम्म यहाँ मुना र मदनबीचको बिछोडको कथा सारङ्गीले गाइरहेकै छ तर कसले सुनिदिने । भोट जानेहरूको सपना कहिले पनि नतुइयोस् भन्छु म तर विधिको विधान विचित्रको छ ।
लाहुरेकै नियति भोगिरहेछ आज मेरो देशले । म देख्छु लर्को एयर्पोटबाट जहाजको प्रत्येक खुड्किला ढोग्दै आमाको यादमा मुड्कीले छातीमा हान्दै जाहाजभित्र छिर्दै गरेका हुलका हुल युवाहरूलाई । कि सहिद हुनुप-यो कि लाहुर जान प-यो अनि मात्रै परिवारको पेटपूजा हुनसक्छ यहाँ । आजकल झुण्डका झुण्ड सहिद हुन्छन् । सहिद बन्नुमा कुनै तुक र अर्थ देख्दिनँ म । एबर्सनमा फ्याँकिने लाखौँ भ्रुण पनि सहिद घोषणा हुनसक्छन् कुनै दिन यदि यस्तै ताल हुने हो भने । नवरात्रिमा काटिने रागा र सहिद उस्तैउस्तै महत्वहीन बनाउन लागिसके राजनीतिक नेताहरूले । तीन करोड नेपालीलाई सहिद घोषणा गरिदिए हुन्छ बरु । सहिदको लिस्टमा मेरो नाम प¥यो कि परेन भनेर झगडा गर्नुपर्ने दिन नआओस् ।
सहिद यहाँ जो पनि हुन्छ । कसैले नामै नसुनिएको सहिद हुनु छैन । आफ्नो टोलछिमेकीले पनि नाम नचिन्ने सहिद के काम ? मुर्दामाथि झण्डा ओढाउनु झण्डाकै अपमान । खै झलकमानले कहिले झण्डा ओढ्नु परेन । झण्डा बोकेर सडकजाम गर्नेहरूका लागि झलकमान झलमल गर्ने दूरआकाशमा चम्किने एउटा सितारा । झलमल गरी झलमलाउने नील आकाशका आवाज झककमान । अझैसम्म पाएका छैनन् होला रेडियो नेपालबाट आफ्नो अमर आवाजको रोयल्टी । ‘बाबाले सोध्लान नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए’
खै कस्ले जित्यो रण ? गल्फ मुलुकको तातो बालुवामा आफैँ देखी युद्ध गर्दै छन् युवाहरू । कतिखेर को बाकसमा थुनिएर आउने हो । विदेशी आवाजका ब्लुज र -यापझ्याप गाउनेहरू सरकारको हण्डी खाएर बाँचिरहेका होलान् । के थाहा झलकमानको किड्नी पनि फेल भाको पो थियोे कि ? तर कहिले पनि बाटुले चौरमा बटुको थापेको थाहा भएन उनले । जंगलको बाघले उपचारको भीख माग्दैन । सापटी मागेका भए उनी पनि बाँचिरहेका हुन्थे होलान् । आवाजका प्रथम उद्घोषक पश्चिमका लाली !
ज्युँदा झलकमान कहिले बेचिएनन् सापटीमा । झलनाथभन्दा झलकमान प्यारो मलाई । झलनाथहरू पातलो दिसा आयो भने जहाज बुकिङ गरेर विदेश जान्छन् । झलकमानहरू उपचार नपाई मर्छन् । यहाँ राजनीतिक पर्खालमा अडेस लागेर रोगी बाँच्नेहरूलाई सूर्य जता पनि अस्ताउन सक्छ बाल छैन । मुटु फेरेर पनि बाँच्न सकिने युगमा युवाका झरिला शरीर जब बाकसभित्र कोचिएर आउँछ अनि म सम्झिन्छु तिम्रै गीत झलकमान ! ‘आमैले सोध्लिन नि खै छोरा भन्लिन्’ ।
पुरस्कारको पसल थापेर लगानीको ब्याज माग्ने बौद्धिक भिखारीहरूको भिडमा झलकमान एक्ला एकलव्य थिए वा प्रगीतका हरिभक्त कटुवाल थिए वा नूतनताका भीम विराग थिए । थाहा छैन झलकमान के थिए तर झलकमान सहस्र नेपालीका छातीमा बाँचिरहने नेपाल रत्न थिए । गाइने किरा भने कतिले उनलाई । सारङ्गी खोसिए हातबाट । लखेटेर पारी पु¥याउन पनि खोजियो तर झलकमान नेपाली गन्धर्वका नूतन धुन थिए ।
भोलि नाङ्गै नाच्ने ज्योति मगर सांस्कृतिक मन्त्री भइन् भने ज्युँदा भजन शिरोमणि भक्तराजलाई उनैले दोसल्ला ओढाउलिन् र त्यो बेला भक्तराजका आँखाबाट इतिहासको अश्रुधारा बहला र यही हेर्न बाँकी त छ अब । यो भिल्लको देश हो यहाँ मणि मिल्किन्छन् ।
तिमी बाँचेको भए तिम्रा आँसुले सिरानी धुन सेतीको पानी चाहिन्नथ्यो ओ मेरा प्रिय गायक झलकमान ! तिम्रा सारङ्गी पेट भोकको -याइँ-याइँ गाउथ्यो । ठीकै भो बाँचेर बौलाहा बन्नुभन्दा मरेर सबको छातीमा बाँच्नु नै उत्तम हो कि ? यहाँ देशभक्ति गीत होइन पार्टीस्तुतिको भाका हाल्न जान्नुपर्छ । यहाँ सांस्कृतिक गीत होइन बैंसकी नारीलाई पोइल जान प्रेरित गर्ने गीत गाउनुपर्छ अनि मात्रै बिकिन्छ ।
ओ स्वर्गवासी झलकमान ! खै तिम्रो गीत ? सेती दोभानको बालुवा तिम्रा आँसुले भिजे होलान्, दरौदीको किनारमा तिम्रा गीत रुँदै होलान् । ओइ स्वभिमानी सितारा ! तिम्रा प्रसुन गीतहरू गङ्गामा बगिरहेको छ यतिबेला म कान थापेर सुन्दै छु । जीवन शर्मा ! तिमीले गाएको नेपाली स्वाभिमानको गीत ! ओ पाख्रीन दाइ तिमी गाउँदागाउँदै रगत छादेर मञ्चमा ढल्यौ खोइ के पायौ र ? तिमीहरूले यौनका गीत गाएनौ र पछि प-यौ । स्वाभिमान नबेच्नेहरूको हालत यस्तै हुन्छ । जब बैंसका यौवनका यौनका उत्ताउला गीत गाउँछौँ अनि मात्रै पो सम्मानित होइन्छ यहाँ । स्वाभिमान झुक्छ यहाँ बेमान उठ्छ ।
झलकमान ! तिम्रो मुर्छनाको लयमा म आफ्नो बिम्ब खोजिरहेछु । भक्तराज थलापरेको बीसौँ वर्ष भो । यतिबेला राम पनि वनबासबाट अयोध्या फर्किसकेका थिए तर भक्तराजको घरमा कोही फर्केका छैनन् होला । गीतका गालिवहरूको चिहानमा मृत माला चढाउनु मात्रै आउँछन् नेताहरू । त्यो पनि एक दिनको पुण्य तिथिमा ।
दिनदिनै अफिस जाँदा नारायणगोपाल चोकमा उभिएको शालिक देख्छु । मलाई त्यो शालिकले नेपालका शालिकरामहरूलाई गिज्यााएजस्तो लाग्छ । तिनै गायक हुन् जो किड्नी फेल भएर मरे । झलकमान ! तिम्रो आवाजको पुस्तौनी ध्वनि अन्नपूर्णको शुभ्र, शान्त आकाशमुनि चुपचापले बसेको छ । धेरै भो त्यसको लयमा म मुर्छित नभएको । मिल्छ भने अन्नपूर्णलाई एकचोटी भनिदेऊ न बिन्ती त्यो सश्य श्यामल ओतमा गुन्जिऊन् तिम्रा माधुर्य मुर्छनाहरू । मलाई देऊ न छुन तिम्रो प्यारो सारङ्गी खै कहाँ राखेका छौ झलकमान ?
मलाई स्वप्न स्वतन्त्रताको नेपाली राष्ट्रगीत गाउन मन लागेको छ । मलाई मर्स्याङ्दीपुत्र माधव घिमिरेको ‘ज्योतिको पङ्ख उचाली’ धुन गाउन मन लागेको छ । खै कहाँ छोडेर गयौ तिम्ले तिम्रो जीवन गीत बोलेको नेपाली सारङ्गी भनिदेऊ न झलकमान !
मलाई रिमालको ‘जंगी निशान हाम्रो’ गाउन मन लागेको छ तिम्रै सारङ्गी रेटेर । मलाई तारादेवीको ‘कालीपारि दाइ कति राम्रो’ गुनगुनाउन मन लागेको छ । भनन बिन्ती खै तिम्रो सारङ्गी ? इतिहासले बिर्सिँदै गएको नातीकाजीको स्वर सङ्गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ असाध्य गाउन मन लागेको छ । खै कहाँ छ तिम्रो सारङ्गी ?
तिमी सुतेको, तिमी हिँड्ने सबै बाटोतिर हेरिसकेँ तर देखिनँ तिम्रो सारङ्गी । कि तार छिन् र असरल्ल भुइँमा कतै रोएर पो बसेको छ कि । मैले देखिनँ । एकफेर देखेँ भने तिम्ले रेटेको त्यो सारङ्गीलाई पेटभरि माया गर्ने धोको छ ।
तिमी नभए पनि तिमी त्यही सारङ्गीमा बाँचिरहेको प्रतीत हुन्छ मलाई । मरिजाऊँ मलाई खै के भाको पो हो तिम्रो हातले छोएको त्यो सारङ्गीमा तिम्ले पिएको मीठो जाँडको बास्ना आको होला नि ! केही वर्षअगाडि मैले नारायणगोपालले बजाएको हारमोनियमको पर्दालाई छोएको थिएँ । अलिकति गुनगुनाएँ ‘म जीवनदेखि धेरै–धेरै नै थाकेर, म मुर्दा भएको तिमी आज हेर ।’
तिम्रो सिरानीमा तार छिनेको अवस्थामा नदेखूँ मैले त्यो सारङ्गी अब । किनकि मलाई गाउनु छ ‘हजार सपनाहरूको माया लागेर आउँछ’ । भक्तराजको गोधुली आँखामा अझैसम्म बाँचिरहेको छ धेरै–धेरै सपना । हामी सबै नेपालीहरूको हजार सपना ओ मेरा प्रिय ! मोजार्ट सम्भावनाको सारङ्गी भिरेर सयौं युवाले विदेशमै आफ्ना सपनाहरू खोजिरहेको यो परिवेशमा दिनदिनै तिनैको लासको बाकस एयरपोर्टबाट सिलबन्दी भएर आउँदा इतिहासमा हराएका थुप्रै अरनिकोलाई सम्झन्छु म ।
सारङ्गीले झुटो कहिले बोल्दैन । रेटियो भने बोल्छ नरेटेमा बोल्दैन । असाध्य सोझो छ यो सारङ्गी । सयौँका सपनाका गीतहरू गायो यसले । सयौँका बिछोडको गीत गायो । कुनै बेला दरबार पस्न पनि अनुमति थियो यसलाई । कुनै बेला बाटुले चौरमा पनि गुन्जियो यो झलकमानको आवाजबाट । अहिले झलकमान छैनन् ।
यतिबेला झलकमानको सारङ्गीमा धुलो जमेको होला । तारहरू असरल्ल छिनेको अवस्थामा होलान् । कसले स्याहारसम्भार गर्ने यसको ? आजकल कला सुन्दैनन् मान्छे । कला बुझ्दैनन् मान्छे । आजकल मान्छेको भिडले तरुनीको तिघ्रा हेर्छ । देखाउनेको पनि कमी छैन हेर्नेको पनि कमी छैन । दुवै दोषी छन् । न स्त्री मात्रै दोषी न पुरुष मात्रै दोषी । अहिलेका बाबाहरूलाई छोरी जोगाउनु गाह्रो छ । आमाहरूले खोइ छोरा होइन खोइ छोरी भनेर पुकारिरहेका छन् । समयले यसरी झुक्याएर हामीलाई यति पर ल्याइसकेको छ कि हामी पूरै डिजिटल भयौँ । जे भयौं र जे भए पनि आखिर धुन निकाल्न त सारङ्गी नरेटी सुखै रहेनछ । रेटौँ कर्मरूपी सारङ्गी र समयको प्रवाहमा बगौँ गतिशील त हुनु नै छ नत्र लेउ लाग्छ जिन्दगीको डुंगामा ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया