Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलोकतान्त्रिक अभ्यासको खाँचो

लोकतान्त्रिक अभ्यासको खाँचो


काठमाडौं ।
गणतान्त्रिक संविधान ०७२ लागू भइसकेको वर्तमान अवस्थामा पनि मुलुकको राष्ट्रिय राजनीतिले विभिन्न प्रकारको आरोह अवरोहको सामना गर्नु परिरहेको छ । प्रस्तुत अवस्था कायम रहेसम्म राजनीतिक अराजकताको सम्भावनालाई कुनै पक्षले चाहेर पनि पृथक राख्न सक्दैन । किनकि जबसम्म सर्वपक्षीय राजनीतिक सन्तुलन कायम रहँदैन त्यो बेलासम्म सम्बद्ध क्षेत्रमा सुधारको आशा राख्नु निरर्थक हुनेछ ।

विकसित घटनाक्रमा अराजक पृष्ठभूमिमा रमाउने समूहले प्रशस्त फाइदा उठाउँदै धमिलो पानीमा माछामार्ने प्रबल सम्भावना रहन्छ । मुलुकभित्र र बाहिरबाट समेत प्रत्यक्ष वा परोक्षरूपमा प्रस्तुत कार्यलाई सघाऊ पुग्ने विभिन्न प्रकारका क्रियाकलाप नभएको पनि होइन । तरलीकृत राजनीतिक पृष्ठभूमिमा गुज्रिरहेको नेपाल राज्यमा मुलुकको हित चिताई कार्य गर्नसक्ने शक्तिशाली राजनेताको अनिवार्य आवश्यकताका बारेमा विचारको बहस सुरु भइसकेको वर्तमान अवस्था हो । जसको अभावमा दिनहुँजसो राजनीतिक अशान्तिको अभिवृद्धि हुनगएको देखिन्छ ।

निश्चितरूपमा राजनीतिक सारथीले आन्तरिक एवं बाह्य राजनीतिलाई आवश्यक मात्रामा तालमेल मिलाउँदै कार्य गर्नसक्ने क्षमताको विकासले मात्र आजको सन्दर्भमा नेपाल सुहाउँदो राजनेताको उपमा हासिल गर्न सक्नेछ । विपरीत अवस्था कायम राख्दै द्वैध राजनीतिक चरित्रको विकासमा तानाशाह प्रवृत्तिको संस्कृतिले एकाइसौं शताब्दीको परिष्कृत राजनीतिको ज्ञानमा अब्बल दर्जा प्राप्त गरेका आम नेपाली जनमतको मर्म एवं भावनाको कदर गर्न नसक्ने तथ्यलाई दलीय राजनीतिमा अभिरुचि राख्ने जो कोहीले पनि बुझ्नु जरुरी भइसकेको छ । जसलाई लोकतान्त्रिक अभ्यासको मार्ग समेत मान्न सकिन्छ ।

राजनीतिक सारथीको परिकल्पना गर्ने क्रममा राणा प्रधानमन्त्री जंगबहादुर वा राजा महेन्द्र वा जनभावनाअनुरूपको कार्य गर्ने लोकतन्त्रका हिमायती पक्षको चयन गर्ने संवैधानिक एवं राजकीय अधिकार केवल सम्प्रभू नेपाली जनमतलाई मात्र रहेको तथ्यसँग सर्वपक्षीय सात्क्षकार रही कार्य गर्नुपर्ने हुन्छ । अन्यथा नेपाल र नेपालीले बाह्य हस्तक्षेपको प्रभावका कारण विश्व मानचित्रमा स्वतन्त्र राज्यको हैसियतबाट हालसम्म प्राप्त गरेको राष्ट्रिय अस्मिताको गरिमालाई समेत गुमाउन सक्नेहुँदा राष्ट्रहितविपरीतको कुनै पनि कार्यलाई निगरानीपूर्वक पर्ख र हेरको अवस्थामा राख्नु आजको प्रमुख आवश्यकता हो ।

हालसम्म नेपालको राजनीतिको क्षेत्रमा भएका घटना–परिघटनाका दृश्य–परिदृश्यलाई केलाएर हेर्दा दलगत राजनीतिमा रमाउन चाहने समूहमा पनि जनभावनाअनुरूपको कार्य गर्दै लोकतान्त्रिक व्यवहारको प्रदर्शन गर्ने प्रतिष्पर्धा दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइन्छ । जसले निश्चितरूपमामा गणतान्त्रिक लोकतन्त्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रस्तुत तथ्यले के प्रमाणित गर्दछ भने कुनै पनि व्यक्ति वा समुदायविशेषले लोकतन्तान्त्रिक अभ्यासको हितविपरीतको तानाशाह प्रवृत्तिको सोचको अभिवृद्धि गर्छ उक्त शक्तिले पराजयको सामाना गर्नुबाहेक अर्को कुनै विकल्प प्राप्त गर्न सक्दैन ।

भनिन्छ, मानिसमा शक्तिको उन्माद चढेपछि उसले आफैँलाई ईश्वर वा सोभन्दा पनि माथि रहेको विश्वास गर्दछ । जसका कारण आफू सर्वशक्तिमान कहलिनको साथै स्वघोषितरूपमा ईश्वरीय तत्व विद्यमान रहेको भान हुनगई ईश्वरत्व प्राप्त गरेको महसुस गर्ने प्रवृत्तिको हाबी यदाकदा मुलुकको राजनीतिको क्षेत्रमा पनि हुनेगरेको पाइन्छ । जसका कारण सम्बद्ध पक्षको राजनीति पतनउन्मुख मार्गमा लाग्ने निश्चित छ ।

वास्तवमा भन्ने हो भने आज नेपाललगायत समस्त दक्षिण एसीयाली क्षेत्रका नागरिक समाज शिक्षित भइसकेको वर्तमान परीस्थितिमा यस क्षेत्रको लडाइँ राजनीतिक तानाशाहविरुद्धको नभई मुलुकमा व्याप्त रहेको अशिक्षा, गरिबी, भोकमरी एवं बेरोजगारीको साथै आज कायम रहनआएको महामारीविरुद्धको मात्र हुनेछ । राज्यसत्ता सञ्चालनको जिम्मा अब कुनै तानाशाह वा सैन्य प्रमुखलाई दिन सम्प्रभू नेपाली नागरिक समाज कुनै पनि हालतमा तयार छैनन् ।

निश्चितरूपमा नेपालको राजनीतिको क्षेत्रमा नवयुग प्रारम्भ भएको छ । यस नवयुगलार्ई डोहो-याएर लग्नसक्ने सुरु, विरयुक्त योग्य सारथीले नै भावी पुस्ताको आवश्यकता र चाहनालाई यथार्थमा पूरा गर्न सक्नेछन् भन्ने विश्वास लिन सकिन्छ ।

आज प्रत्येक नेपाली जनताको चाहना शान्त र विकसित नेपाल नै हो । यसका लागि यदि कोही महाभारतका श्रीकृष्णजस्ता सारथी हुन् चाहन्छन् भने सम्पूर्ण नेपाली जनताले हृदयदेखि नै अवश्य पनि स्वागत गर्ने नै छन् । विपरीत अवस्था कायम राख्दै सर्वशक्तिमान् तानाशाही प्रवृत्तिको विकास गर्न चाहन्छन् भने एक्काइसौँ शताब्दीका नेपाली जनमतलाई कुनै पनि हालतमा सुपाच्य रहन सक्दैन । तसर्थ तनमनसहितको नेपाल र नेपाली जनताको हितका लागि न्यूनतम मानव अधिकार बुँदाहरू मनन गर्दै गणतान्त्रिक लोकतन्त्रको मूलभूत मान्यतालाई अंगीकार गर्नसक्ने राजनीतिक दल नै नयाँ नेपालको योग्य राजनीतिज्ञ हुन् भन्दा फरक नपर्ला ।

प्रस्तुत चारित्रिक विषेशताले भरिपूर्ण भएका राजनीतिक समूह नै यथार्थमा वर्तमान नेपालको पथप्रदर्शक समेत हुन् । जसका लागि दृढ आत्मविश्वाससहितको दीर्घकाल कालीन दूरदर्षिताले युक्त समुदाय विशेष नै उपयुक्त ठहरिन सक्छन् । शान्तिको कर्मभूमी नेपालमा शान्तिका अनुयायी गौतम बुद्ध बन्ने चेष्टा गरौँ ।

केही हदसम्म प्रस्तुत तथ्यलाई मनन गरेकै कारण गणतन्त्र भारतका राष्ट्रपिता महात्मा गान्धी समेतले भारतीय स्वतन्त्रता संग्राममार्फत भारत, भारतीय जनता एवं समग्र दक्षिण एसिया क्षेत्रमा रहेको औपनिवेशिक दासतायुक्त व्यवहारलाई सदाका लागि मुक्त गरी वास्तविक लोकतन्त्रको बीजारोपण गर्नमा निर्णायक भूमिका निर्वाह गर्नुभएको राजनीतिक तथ्य विचारणीय रहेको छ ।

उक्त राजनीतिक तथ्यबाट प्रेरित भई नेपाली धर्तिमा समेत विसं २००७ सालको जनक्रान्तिको माध्यमबाट राणातन्त्रलाई अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र बहाली गरिएको हो । यसदेखि बाहेक हाम्रा शान्तिका अनुयायी गौतम बुद्धको शान्तिको सन्देशले विश्वलाई शान्ति सन्देश प्रवाह गर्ने कार्यमा उल्लेख्य मात्रामा सकारात्मक भूमिका निभाएको छ ।

शान्तिका अनुयायी नेपाली जनमतलाई हिंसात्मक आन्दोलनमा लाग्ने दूष्प्रयास अब कहीँकतैबाट पनि गर्नु प्राप्त लोकतन्त्रको खिल्ली उडाउनुबाहेक अन्य कुनै उपलब्धिमूलक कार्य मान्न सकिँदैन । अतः हिंसालाई मूल हतियार बनाएर तानाशाह बन्ने सोचलाई दिवा स्वप्नको रूपमा लिई तत्काल बन्द गर्दै आर्थिक विकास एवं समृद्धिको ढोका खोल्ने प्रण गरौं । जसलाई निश्चितरूपमा लोकतान्त्रिक अभ्यासको मूल चुरोको रूपमा लिन सकिन्छ ।

तसर्थः दिगो शान्तिका माध्यमबाट अनुशासित भएर सहयोग गर्ने हो भने मात्र सुन्दर, शान्त एवं समुन्नत नेपालको परिकल्पनालाई लोकतन्त्रको माध्यमबाट यथार्थमा परिणत गर्न सम्भव रहन्छ । जुन निश्चितरूपमा लोकतान्त्रिक अभ्यासमा निर्भर रहनेछ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया