Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्टक ब्रोकर एसोसिएसनले पुँजी सुधारको लागि दिएका सुझावहरू

स्टक ब्रोकर एसोसिएसनले पुँजी सुधारको लागि दिएका सुझावहरू


काठमाडौ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजीबजार सुधारको लागि अर्थ मन्त्रालयको राजस्व परामर्श समितिलाई सुझाव दिएको छ । बजेट निर्माणको तयारी गरिरहँदा ब्रोकर एसोसिएसन नेपालले उक्त सुझाव दिएको हो ।

सुझावहरू
१. धितोपत्रको दोस्रो बजार विस्तारका लागि धितोपत्र दलाल व्यवसायीहरूले एजेन्ट, सबब्रोकर वा आधिकारिक प्रतिनिधिमार्फत व्यवसाय विस्तार गर्न पाउने गरी कानुनी व्यवस्था मिलाउने ।

२. दुर्गम क्षेत्रमा धितोपत्र दलाल व्यवसायीको शाखा वा एजेन्सी वा सबब्रोकर वा आधिकारिक प्रतिनिधिमार्फत बजार पहुँच वृद्धि गर्न वित्तीय वा करका माध्यमबाट प्रोसाहन गर्ने नीति तर्जुमा गर्ने ।

३. लगानीकर्ताहरूलाई अल्पकालीन र दीर्घकालीन लगानीकर्तामा वर्गीकरण गरी दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न कर सहुलियत उपलब्ध गराउने ।

४. संस्थागत लगानीकर्ताको संख्यामा वृद्धि गरी बजारलाई स्थायित्व प्रदान गर्न करको माध्यमबाट संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने ।

५. पुँजीगत लाभकर तथा लाभांशमा लाग्ने कर अनिवार्यरूपमा लगानीकर्ताको प्यान नम्बरबाट जम्मा हुने व्यवस्था मिलाउने ।

६. पुँजीगत लाभकर गणनाको लागि निर्धारण गरिने भारित औसत लागतलाई स्वचालितरूपमा गणना हुने व्यवस्था मिलाउने ।

७. मर्जर तथा प्राप्तिपूर्व धारण गरिएका धितोपत्रहरूको कर छुट हुने अवधिभित्र गरिएको निसर्गबाट सिर्जित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालीमा अभिलेखन हुने व्यवस्था मिलाउने ।

८. सार्वजनिक निष्कासनमा असम्बन्धित व्याक्तिहरूको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने ।

९. बासिन्दा प्राकृतिक व्यक्तिको हकमा आयकर ऐनको दफा ९५(क) बमोजिम अग्रीम करकट्टी हुँदै आएको पुँजीगत लाभकरलाई दफा ९२ बमोजिम कट्टी गरी अन्तिम कर हुने कानुनी सुनिश्चिता प्रदान गर्ने ।

१०. धितोपत्र दलाल व्यवसायीले १५ प्रतिशत अग्रीम कर बुझाउँदै आइरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्ने ।

११. निश्चित मापदण्ड पूरा गरेका गैरवित्तीय क्षेत्रका कम्पनीहरूलाई दोस्रो बजारमा सूचीकरण गराउन प्रोसाहन तथा दण्ड जरिबानाको नीति अवलम्बन गर्ने ।

१२. पूर्वाधार तथा रियल स्टेटसँग सम्बन्धित सामूहिक लगानी कोषहरूको स्थापनाको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा यस्ता कोषहरूलाई प्रोत्साहन गर्न निश्चित अवधिका लागि कर छुटलागायतका प्रोत्साहन उपलब्ध गराउने । यसबाट पूर्वाधारसम्बन्धी परियोजना निर्माणको लागि पुँजीको उपलब्धता बढ्ने साथै सानासाना बचतकर्ताले पनि रेइटको माध्यमबाट रियल स्टेट क्षेत्रको लाभ प्रत्यक्ष रियल स्टेटमा लगानी नगरिकनै प्राप्त गर्नसक्ने । यसले अनावश्यक जग्गाको खण्डीकारण रोक्ने, घरजग्गा कारोबार अझ व्यावसायिक र व्यवस्थित हुने, पुँजीबजारमार्फत घरजग्गाको कारोबार हुनेहुँदा करको दायरा बढ्नेजस्ता लाभ प्राप्त हुने ।

१३. ठूलो मात्रामा नयाँ कम्पनीहरू दोस्रो बजारमा सूचीकृत हुने अवस्था आएमा खरिदकर्ताको अभाव हुनगई पुँजी परिचालनमा बाधा उत्पन्न हुनसक्ने हुँदा एनआरएनहरूको दोस्रो बजार प्रवेशलाई कानुनी तथा प्राविधिकरूपमा सहज बनाउने । साथै ठूलो मात्रामा लगानी भित्र्याउन विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गराउने ।

१४. विदेशमा रहेका नेपाली नागरिकहरूले भौतिक उपस्थितिविना नै प्रविधिको प्रयोगमार्फत बैंक खाता खोल्न तथा पुँजी बजार प्रवेश गर्नसक्ने नीतिगत तथा कानुनी व्यवस्था गर्ने । यसबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्सको प्रवाह बढ्ने । साथै रेमिट्यान्स पुँजीबजारमा भित्रिने हुँदा अनावश्यक खर्च घट्नगई भुक्तानी तथा व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने ।

१५. नेपाल स्टक एक्सचेञ्जमा विदेशी रणनीतिक साझेदार भित्र्याई उच्च प्रविधि, मानव संसाधन तथा लगानी औजारहरूको हस्तान्त्रण/विकास गरी दोस्रो बजारको विकास तथा विविधीकरणलाई गति प्रदान गर्ने ।

१६. सरकारी ऋणपत्रलाई अभौतिकीकरण गरी यसको दोस्रो बजार कारोबारलाई चलायमान बनाउने । ऋणपत्र बजारको विकासका लागि अति नै आवश्यक इन्ट्रेस्ट रेट वाइल्ड कर्भ निर्धारण गर्न सरकारी ऋणपत्रको भुक्तानी अवधि तथा निष्कासनलाई व्यवस्थित गरी इन्ट्रेस्ट रेट वाइल्ड कर्भ प्रत्यक्ष सम्प्रेषण गर्ने व्यवस्था मिलाउने ।

१७. ऋणपत्र बजारको विकासको लागि ऋणपत्रबाट प्राप्त हुने ब्याज आम्दानीमा लाग्ने कर व्याक्तिगत तथा संस्थागत लगानीकर्ताहरूमा फरक रहेको कारण दोस्रो बजार कारोबार तथा राफसाफमा कठिनाइ उत्पन्न भएकोले सोमा एकरूपता कायम गर्ने । ऋणपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने करमा एक निश्चित अवधिको लागि प्रोत्साहन उपलब्ध गराउने ।

१८. राफसाफमा निहित जोखिम व्यवस्थापन गर्न आवश्यक ठूलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापनाको व्यवस्था तथा सञ्चालन गर्न सरकारको तर्फबाट पनि वित्तीय सहायता उपलब्ध गराउने ।

१९. धितोपत्र हस्तान्तरण गर्न नसक्दा त्यस्तो कारोबारलाई सिधै क्लोज आउटमार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको सञ्चालन गरी खरिदकर्ताले खरिद गरेको धितोपत्र पाउने सुनिश्चिता गर्ने ।

२०. कुनै कारोबार क्लोज आउटमार्फत राफसाफ गर्दा खरिदकर्ताले प्राप्त गर्ने २० प्रतिशत अतिरिक्त रकमलाई आकस्मीक लाभ मानी २५ प्रतिशत कर कट्टी गर्ने व्यवस्था हाल प्रचलनमा रहेको छ । त्यसरी प्राप्त हुने २० प्रतिशत रकम आकस्मिक लाभ नभई खरिद गरेको धितोपत्र प्राप्त नहुने हुँदा उपलब्ध गराइएको क्षतिपूर्ति रकम हो । तसर्थ त्यसमा कर लगाउन जरुरी नरहेको अथवा त्यस्तो करको दर पुँजीगत लाभकरको बराबर कायम गर्दा न्यायोचित हुने देखिएको ।

२१. पुँजीबजारसँग सम्बन्धित अध्यान, अनुसन्धान, तालिम, प्रशिक्षण, लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन तथा प्रमाणीकरण गर्न एक आधिकारिक संस्थाको स्थापना गर्ने ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया