Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंस्मरणमा चिया साहित्य

संस्मरणमा चिया साहित्य


काठमाडौं ।
हरेक वर्ष वैशाख १५ गतेलाई चिया दिवसको रूपमा हेर्ने गरिन्छ । देशले प्रजातन्त्र प्राप्तिपूर्व नै देशमा चियाखेतीको अवधारणा आए पनि एकतन्त्रीय जहानीयाँ शासनमा यसले गति लिन सकेन र पनि श्री ३ जंगबहादुरलाई नेपालमा चियाखेतीको अवधारणामा उनको नाम नलिइरहन सकिन्न ।

विसं १९२० ताका नै जब चिनियाँ सम्राटले जंगबहादुरलाई चियाको बीउ उपहार दिए, उनको जंगे आदेशले बीउ रोपेर चियाखेती पनि सुरु भइ हाल्यो । पूर्वी इलाममा उनकै जेठा ज्वाइँ गजराज सिंहले चियाखेती सुरु गरेको कथन पाइन्छ ।

विगतलाई केलाउँदै जाँदा विसं २०१६ सालमा झापाको रंगिया डाँडामा निजीस्तरबाट पहिलो चिया बगानको थालनी भएको पाइन्छ । सुरुमा साना किसानको खेतीको रूपमा देखापरेको चिया पछि नाफामूलक उद्योगको रूपमा देखिन्छ । संस्थागतरूपमा यसको नियमन गर्न विसं २०२३ मा चिया विकास निगमको स्थापना भई २०३५ देखि २०४५ सम्मको एक दशकमा निगमले आफ्नो सक्रियता देखाएको र २० जेठ २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत बोर्डको गठन भएको पाइन्छ ।

हिजोआज चियालाई बढी उपभोगको पेय पदार्थको रूपमा लिने गरिन्छ । सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय पदार्थ होला यो । चियाका पारखीहरूले भन्ने गरेका छन्, यसको उदय चीनबाट भएको हो, इसापूर्व दशौं शताब्दीतिर ।

चीनमा इपू दशौं शताब्दीमा सम्राट सुन नुङ भन्ने एक जना शासक थिए । देवताको अंश मान्ने उनले दैवी शक्तिका रूपमा आफ्ना नागरिकहरूलाई उपचार पनि गर्थे रे । स्वास्थ्यको फाइदाका लागि सधैँ उनी तातोपानी पिउँथे । एकदिन तातोपानी राखिएको भाँडामा एउटा सानो रुखबाट हरियो पात खसेछ । केहीबेरमै पानी रंगिएछ, बास्ना पनि मीठो आउन थालेछ, त्यो तातोपानी पिउँदा थप आनन्द भएछ सम्राटलाई । त्यसै दिनदेखि सम्राटले दैवी चमत्कार, स्वर्गबाट पठाइएको पदार्थ चिया भनी भन्न थालेछन् यसपछि चियाको उपभोग बढ्दै गएको भन्ने भनाइ छ ।

चियालाई एसियाकै आफ्नो उत्पादन भनिन्छ । चीनबाट घरेलु उत्पादनको रूपमा सुरु भएको चिया १६औं शताब्दीमा चीनमै, कोरियालगायत जापानमा व्यापारिक खेतीको काम आरम्भ भएछ । पछि पोर्चुगलका व्यापारीहरूले पश्चिमी मुलुकतिर पनि यसको प्रचारप्रसार, खेती व्यवसाय सुरु गर्न प्रेरित गरेछन् । सुरु सुरुमा घरेलु महिलाहरूले चीनमा चियामा चिनी वा अन्य गुलियो पदार्थ मिाएर खान थालेछन् । महिलाकै स्वादका लागि प्रसिद्धि पाएको चियाले खासगरी स्त्रीहरूकै आहारको रूपमा लिने गरियो ।

प्रायः अहिले पनि फिक्का चिया बिहानै ‘बेड टी’का रूपमा लिने गरिन्छ । कसैले फिक्का, कसैले दुध हालेर, कसैले हरियो चिया, कसैले हर्बल चिया चिनी हालेर वा नहालेर पिउने गर्छन् । जति सानो पातबाट चिया बनाइन्छ त्यति यसको मूल्य बढी पर्छ ! हरियो र फिक्का चिया स्वस्थकर भनिन्छ, सबैभन्दा बढी चिया पिउने त आयरलैण्डका मानिसहरू नै हुन् ।

चिया उपभोग गर्ने विश्वकै राष्ट्रहरूमध्ये भारत अग्रस्थानमा छ । अमेरिका र क्यानडामा भने हामीले पिएझैं तातो चिया पिउने गरिन्न । यहाँ ८० प्रतिशत आइस् टी अर्थात् वरफजस्तै चिसो चिया पिउने गरिन्छ । उत्पादनको दृष्टिले हेर्दा सबैभन्दा बढी चियाको उत्पादन एसिया एवं अफ्रिकी मुलुकहरूमा हुनेगरेको छ । भारत र चीन त अग्रणी स्थानमा छँदै छन् । वर्मामा त चियाको अचार खाने चलन छ ।

सन् १९०३ मा अमेरिकी व्यापारीहरूले निचियाँ सिल्क भागमा चिया राखी बिक्री गर्न सुरु गरे तर व्यावसायिकरूपमा यसले सफलता हासिल गर्न सकेन । पछि अमेरिकी नागरिक विलियम हर्मान्सले आधुनिक चिया ब्यागकै सुरुवात गरे र सन् १९३० मा एउटा चिया कम्पनीलाई आफ्नो पेटेन्ट राइटको सम्पत्ति संरक्षण अधिकार बिक्री पनि गरे ।

इलाम अनि पूर्वी पहाड कन्याम, सोक्तिम, चिलिमकोट, जसवीरे, पानीटार, पाँचथरको कन्चनजंघा, पाथीभरा र नर्भ नेपाल अनि झापाको बुधबारे, बर्ने, टोकलालगायत धेरै ठाउँमा पुग्दा जो–कोहीलाई पनि चियाले नै मन लोभ्याउने गर्छ । यहाँका चिया बगानका फाँट हेर्दा देख्दा जो–कोहीको मन कल्पिन पुग्छ ।

सामान्यतया मीठो चिया उत्पादनका लागि उचित भू–बनोट, पहाडी क्षेत्र ७२ सय फिटसम्मको उचाइ राम्रो मानिन्छ । उच्च र गुणस्तरीय चियाका लागि यतिसम्मको उचाइलाई राम्रो मानिन्छ । चिनियाँ र आसाम गरी चियाका दुई प्रकार छन् ।

स्वाद फरक–फरक हुने यस्तो चिया चिसो पहाडी क्षेत्रमा रोपिन्छ । पातलाई नरम बनाई रोलिङ गरी ड्राइङ पछि ग्रेडिङ गरिन्छ । यसपछि सीटीसी चिया तयार हुन्छ । कट टियर कर्ल पद्धतिद्वारा उत्पादिन चिया सीटीसी चिया हो । अर्थाेडक्सबाट बचेको डाँठलाई समेत प्रयोग गरी सीटीसी चिया बनाइन्छ । चियाको दुई पत्ता सुइरोबाट पहिले ड्राइ वा स्टीम गरिन्छ । यसरी तयारी भएको चियालाई ग्रीन टी भनिन्छ । अरु टीभन्दा ग्रीनटी महँगो हुन्छ ।

ग्रीन टीले मोटोपना रोक्ने, बुढेसकालका फुर्ति दिने भनी अमेरिकन जर्नल अफ क्लिनिकल जर्नल अफ न्यूटिसनमा प्रकाशित भएको थियो । अनुसन्धानले बताएको छ ग्रीन टी उपभोग गर्ने व्यक्ति शारीरिक तन्दुरुस्त रहेको सक्रिय र स्वस्थ रहेको पाइएको कुरा सो अमेरिकी जर्नलले पुष्टि गरेको थियो । विश्वमा अचेल दैनिक तीन अर्ब कपभन्दा बढी चियाको खपत हुनेगरेको छ । हाल त ब्ल्याक टी, ग्रीन टी खानेको संख्या बढेको छ सबैतिर ।

नेपालमा चियाको व्यावसायिक खेती गरिनुअघि भारतको दार्जेलिङमा चियाको व्यावसायिक खेती गरिएको थियो । चियाको सरदर आयु एक सय वर्षको भए पनि नौदेखि ४० वर्षको उमेरको चिया बढी गुणस्तरीय हुन्छ । पङ्क्तिकार चियाको पारखी होइन तथापि चिया बगान हेर्नैका लागि झापा, इलामदेखि दार्जेलिङ पटक÷पटक घुमेको छ । दार्जेलिङको चिया बगानबाट हर्षविभोर हुँदै पशुपतिनगर फर्केको, फिक्कल हुँदै हर्कटे पुगेको थियो ।

मेची राजमार्गको किनारामै पर्ने मनोरम हाँसपोखरी हाल सुन्दर पार्कको रूपमा चिनिएको छ । कंचनजंघा र कुम्भकर्ण हिमालको रमणीय दृश्यावलोकन यहाँको थप विशेषता हो । उता सन्दकपुरको नजिकै पश्चिमतर्फ तीन हजार तीन सय ५३ मिटरको उचाइ बोकेको छिन्टापु गुराँसका जंगलले सजिएको देखिन्छ जहाँबाट अधिकांश हिमालको दृश्यवालोकन गर्न सकिन्छ ।

फिक्कलको सुन्दरतामा त्यहाँका नवयुवती, श्रीअन्तुको डाँडोलाई बारुले कम्मरको रूपमा ढल्काएकी हरिया चिया बोटहरूलाई चुल्ठोमा सजाएकी, लाली गुराँसका राता थुङ्गाहरूलाई कपालमा सिउरेकी, अदुवा ओलन, आलु, अकबरेजस्ता जडीबुटीहरूले राम्रो स्वास्थ्य उपचार पाएकी, अमृसोले मनका विकारलाई बढार्दै सुनाखरी र ऐँसेलुका गालाका कोठीहरूलाई मुसार्दै कञ्चनजंगाका किरणरूपी आँखाहरू टल्पलाउँदै आफ्ना वक्षस्थलहरूले आकाश चुम्मन गर्न खोज्दा सेता बादलहरूको ठक्कर र चुम्मा खुवाउँदै लचकलचक लच्किएकी, नवयुवतीझैं बैँसले मात्तिएकी र नेपाली उर्लँदो बैंसका तन्नेरीहरू रोजगारीका लागि खाडीतिर भनौँ विदेशतिर भासिएको दृश्यले आत्तिएकी त्यस युवतीले काममोहित भई फिक्कलकै डाँडोमा काठमाडौँबाट जानेहरूलाई हतास अंगालो हाल्न खोजेजस्तो अत्तालिन्छन् यात्रुहरू एकछिन् त विचरा, स्रोह श्रीङ्गारले भरिपूर्ण २०–२१ वर्षकीझैँ लाग्ने त्यस युवतीलाई के थाहा यहाँबाट जानेहरू साँढे छ दशक पार गरिसकेका पनि हुन्छन् भनेर ! कन्याम र फिक्कलको ताजा र चिसो हावाले उसको शरीर सुकोमल, सुडोल र कस्सिएको देखिन्छ ।

काठमाडौँको प्रदूषणले गलेका ओठहरूलाई कन्यामको कुमारी नै हुँ भनी उसले यस्तै गरी धेरै पटक धेरैलाई झुक्याइसकेकी रहिछ मजस्तो बुढो पनि झुक्किएँ । उसका राता–राता बैँसालु गालाहरूले आफूतिर इलम खोज्न र परदेशतिर नभौतारिन धेरै युवाहरूलाई भन्ने गरेकी पनि रहिछ । स्वर्र्गकी सुन्दरी इलाझैं देखिने त्यही किशोरी इलाम रहिछ । हो, मैले झापाको विर्तामोडदेखि चारआलीको बाटो हुँदै उकाली चढेकोे इलाम त्यही रहेछ ।

इलाम पुग्दा कामबासनाको याद नआउनेहरू बहुतै कम होलान् । कारण भागवत कथाअनुसार उहिले कामबासनामा परी पार्वतीलाई काखमा राख्दा पुरुष राजकुमार सुधुम्नलाई पार्वतीले देखेकी र पुरुष देख्दा लाजले भुतुक्कै भएकी पार्वतीको आग्रह र अनुरोधमा शिवले अबदेखि यसक्षेत्रमा जो कोही आए पनि स्त्री रूप हुने वरदान समेत दिएका थिए सबैलाई र त सुधुम्न राजकुमार एक्कासि राजकुमारी स्त्री इलाको रूपमा परिणत भएका र साह्रै अप्ठ्यारो पर्नजाँदा शिवकै इच्छाले उनी एक महिना पुरुष हुँदा सुधुम्न हुन्थे राजपाठ गर्थे अर्काे महिना स्त्री इला हुँदा वनविहार गर्थे उही क्षेत्र त्यही इलाम हो, आजको ।

बाक्लो प्राकृतिक छटाको आनन्द लिँदै निकै बाक्ला रुखहरू उकुसमुकुस हुनेगरी निस्सासिएका देखिँदै देब्रेतिर नेपाली सिमाना, दाहिनेतिर भारतीय सिमाना हुँदै जोरपोखरी पुग्ने र जोरपोखरीको साइड सिन हेर्दै घमाइलो र रमाइलो दृश्यबीच दार्जेलिङ पुगिन्छ । दार्जेलिङ पहाडी क्षेत्र हो । बाटो साँघुरो छ, भिरालै भिरालो वस्तीबीच दार्जेलिङले आफ्नो नाम कमाएको छ । तीन टी– ‘टी’ अर्थात् चिया, ‘टी’ अर्थात् टुरिजम र ‘टी’ अर्थात् ट्रान्सपोर्टेसन । गुम्बाहरू थुप्रै देखिन्छन् र विद्युतीय बसहरू पनि । सानै आकारको भए पनि रेल चलेको छ त्यहाँ ।

बृटिश इण्डियाकै पालामा वातानुकूलित सहरको रूपमा चिनिएको दार्जेलिङको महत्व अहिले पनि घटेको छैन । मिलेका चिया बगान, अंग्रेज शासनकालका दरबारहरू, नर्थ प्वाइन्ट स्कुल, कलेज, संग्रहालय आदिका कारण दार्जेलिङ सबैका लागि मनोहर बनेको छ । मौसम अनुकूल रहन्छ, चिया बगानकै शिरमा पुगेर फर्कन सकिन्छ अर्गानिक चिया पिउँदै, युवतीको कपालको चुल्ठो मिलेझैं देखिने चिया बगानको भिरालो दृश्य हेर्दै ! झापा ओर्लिएपछि त प्रशोधित चिया कारखाना कति हो कति ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया