Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक विकासमा शास्त्रीय सिद्धान्तको महत्व

आर्थिक विकासमा शास्त्रीय सिद्धान्तको महत्व


काठमाडौं ।
आर्थिक विकासको शास्त्रीय सिद्धान्तमा मूलतः डेभिड रिकार्डाेको विचारले प्रश्रय पाए पनि आडम स्मिथ, जेएस मिल, टीआर माल्थस र एसी पीगोजुजस्ता प्रसिद्ध अर्थशास्त्रीहरूको पनि प्रसस्तै देन छ । यी अर्थशास्त्रीहरूको विचारलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।

(क) सरकारी अहस्तक्षेप : यस समयका अर्थशास्त्रीहरू स्वचालित पूर्ण स्वतन्त्र र प्रतिस्पर्धात्मक अर्थतन्त्रको अस्तित्वलाई स्वीकार गर्दथे । अर्थतन्त्रमा कुनै पनि प्रकारको सरकारी नियन्त्रण हुँदैनथ्यो । अदृश्य शक्तिले नै राष्ट्रिय आयमा वृद्धि गर्दथ्यो ।

(ख) आर्थिक विकास पुँजी निर्माणमा भर पर्ने : सम्पूर्ण अर्थशास्त्रीहरू पुँजी निर्माणविना आर्थिक विकास हुन सक्दैन भन्दछन् । त्यसकारण उनीहरूले बचत गर्न जोड दिन्छन् । उनीहरूको विचारमा केवल भूमिपति र पुँजीपतिहरू मात्र बचत गर्न सक्दछन् । श्रमिकहरूले जीवन निर्वाहको निमित्त आवश्यक पर्ने मात्र ज्याला प्राप्त गर्ने हुनाले बचत गर्न सक्दैनन् ।

(ग) नाफा नै लगानीको प्रेरणा हो : शास्त्रीय अर्थशास्त्रीहरूको विचारमा फाइदा हुँदैन भने लगानी पनि हुँदैन । जति फाइदा हुन्छ, त्यति पुँजी निर्माण हुन्छ र लगानी हुन्छ ।

(घ) नाफा घट्ने प्रवृत्तिको हुन्छ : यिनीहरूको विचारमा नाफा लगातार रूपमा बढ्दैन । जब पुँजी निर्माणको लागि पुँजीपतिहरूमा प्रतिस्पर्धा हुन्छ, तब नाफा पनि घट्दछ । स्मिथको विचारमा पुँजीपतिबीच प्रतिस्पर्धा हुँदा श्रमिकको ज्याला बढ्दछ तर रिकार्डोको विचारमा ज्याला मात्र होइन, लगान पनि बढ्दछ । फलस्वरूप नाफा घट्दै जान्छ ।

(ङ) स्थिर अर्थव्यवस्था : सबै शास्त्रीय अर्थशास्त्रीहरूले जब नाफा घटेर शून्य अवस्थामा आउँछ, तब अर्थव्यवस्था स्थीर अवस्थामा रहन्छ भन्ने मान्यता राखेका छन् । आडम स्मिथ भन्दछन्– अर्थव्यवस्थामा स्थिर अवस्था आउनुको कारण प्राकृतिक स्रोतको अभाव हो ।

माल्थस र रिकार्डोको भनाइमा भूमिमा घट्दो उत्पादन प्रतिफलको नियम लागू हुने र जनसंख्या वृद्धिले गर्दा पुँजीको वृद्धि रोकिन्छ, जसले गर्दा स्थिर अर्थव्यवस्थाको अवस्था सिर्जना हुन्छ । मिलले कृषिमा वैज्ञानिक सुधार नहुने तथा पुँजी निर्माणको दरभन्दा जनसंख्याको वृद्धिदर बढी हुँदा नाफा घट्दछ र स्थिर अर्थव्यवस्थाको अवस्था आउँछ भन्दछन् ।

शास्त्रीय सिद्धान्तको आर्थिक विकासको मुख्य धारणा त्यस समयको ग्रेटब्रिटेन र यूरोपको केही भागमा प्रचलनमा रहेको सामाजिक र आर्थिक वातावरणमा आधारित छ । यस सिद्धान्तले पुँजीपति र श्रमिकको सामाजिक वर्गीकरणलाई मान्यता दिँदै मध्यमवर्गलाई आफ्नो विश्लेषणबाट हटाएको छ । तर बचतको स्रोत पुँजीपति मात्र होइन, मध्यमवर्ग पनि हुन सक्छ ।

शास्त्रीय अर्थशास्त्रीहरूले आर्थिक विकासको पूर्वाधारको रूपमा केवल पूर्ण प्रतिस्पर्धा र निजी सम्पत्तिलाई मात्र लिएका छन् । तिनीहरूले सरकारी क्षेत्र (जो विगत र वर्तमानमा पनि द्रुत गतिमा पुँजी निर्माण गर्न सफल भएको छ) को महत्वपूर्ण भूमिकालाई स्वीकार्न सकेनन् ।

शास्त्रीय अर्थशास्त्रीहरूले प्रविधिलाई स्थिर हुन्छ र यो परिवर्तन हुँदैन भनेका छन् तर आजका सबै राष्ट्रहरूले विज्ञान र प्रविधिको प्रयोगबाट छिटो देश विकास गर्न सफल भएका छन् । आर्थिक विकासको सन्दर्भमा शास्त्रीय अर्थशास्त्रीहरूले आर्थिक वृद्धिको अन्त्यमा स्थिर अर्थव्यवस्था हुन्छ भनेका छन् । त्यो निम्न कुरामा आधारित छ ।

(क) भूमिमा प्रतिफलको ह्रास नियम, (ख) माल्थसको जनसंख्या सिद्धान्त । तर आधुनिक विश्वमा उपरोक्त दुवै मान्यताहरूलाई विज्ञान र प्रविधिको विकासले झुटा साबित गरिदिएको छ । एकातिर पश्चिमी विश्वमा जनसंख्या वृद्धि अति नै कम छ भने अर्कोतिर आधुनिक कृषि प्रणालीको विकासले जनसंख्या वृद्धिलाई उछिनेको छ ।

पुरातनवादी अर्थशास्त्रीहरूले सोचेझैं ज्याला कहिल्यै पनि जीवनस्तरमा झरेको छैन । नाफाको वृद्धिजस्तो भए पनि ज्याला विस्तारै बढ्दै जान्छ । फेरि कुनै पनि विकसित देश स्थिर अवस्थामा पुगेको छैन ।

आर्थिक विकासको शास्त्रीय सिद्धान्त कुनै एक जना अर्थशास्त्रीले प्रतिपादन गरेका होइनन् । यो त त्यस समयका अर्थशास्त्रीहरूको सामूहिक विचार हो । उनीहरूका विचारहरू प्रत्यक्ष रूपमा अल्पविकसित देशमा लागू हुँदैनन् तर पनि कतिपय विश्लेषणको सन्दर्भमा लागू हुने देखिन्छ ।

आडम स्मिथ :  यिनको सिद्धान्त प्रत्यक्ष रूपमा एलडीसीएसमा लागू हुँदैन किनभने सरकारी अहस्तक्षेप तथा पूर्ण प्रतिस्पर्धाजस्ता मान्यताहरू यसमा रहेका छन् । तर उनले उल्लेख गरेका केही बुँदाहरू एलडीसीएसको आर्थिक विकासमा उपयोगी हुन सक्दछन् । स्मिथले उल्लेख गरेअनुसार किसान, व्यापारी तथा उत्पादकहरू विकासका तीनवटा प्रतिनिधि हुन् । यिनीहरूले आफ्नो–आफ्नो हिस्साअनुसार उत्पादकत्वमा वृद्धि गरेर आर्थिक विकासमा योगदान दिन सक्दछन् ।

पूर्ण प्रतिस्पर्धा नभएको मुलुकमा सरकारले यी प्रतिनिधिहरूलाई प्रोत्साहन दिएर आर्थिक विकास गर्न सक्दछ भन्ने यिनको मान्यता एलडीसीएससँग मेल खान्छ । स्मिथले पुँजी निर्माणका लागि बचत हुनुपर्छ भनेका छन् जुन कुरा एलडीसीएसको लागि सत्य ठहरिन्छ, किनभने बचतबिना पुँजी निर्माण सम्भव छैन ।

रिकार्डो : यिनको सिद्धान्त पनि एलडीसीएसमा प्रत्यक्षरूपमा लागू हुँदैन तर यिनका दुईवटा मान्यताहरू एलडीसीएसको सन्दर्भमा धेरै महत्वपूर्ण छन् ।
(१) भूमिका प्रतिफल ह्रास नियम– माल्थसको जनसंख्या सिद्धान्त एलडीसीएसमा जनसंख्या वृद्धिदरभन्दा खाद्यान्न वृद्धिदर कम हुन्छ । खेतीमा आधुनिकीकरण नभएकाले प्रतिफल ह्रास नियम लागू हुन्छ । पुरातनवादी अर्थशास्त्रीमध्ये एलडीसीएसलाई नजिकबाट हेर्ने व्यक्ति माल्थस हुन् । उनले एलडीसीएसको गरिबी र अल्पविकाससम्बन्धी धेरै लेखहरू प्रकाशित गरेका छन् ।

(१) माल्थसले अर्थव्यवस्थालाई कृषि क्षेत्र र औद्योगिक क्षेत्रगरी २ वर्गमा विभाजन गरेका छन् । एलडीसीएसमा द्वैध अर्थव्यवस्था पनि हुन्छ, जहाँ कृषि क्षेत्रभन्दा औद्योगिक क्षेत्र पछाडि हुन्छ ।

(२) माल्थसले विश्लेषण गरेको गरिबीको कारण एलडीसीएससँग मिल्दछ । यिनीले भनेजस्तै किसानहरू गरिब भएको कारण खेतीयोग्य जमीन नभएर होइन, बरु उनीहरूसँग पुँजी नभएर हो । उनीहरूसँग सीप नभएर हो ।

(३) माल्थसले जनसंख्या वृद्धिदर र आर्थिक विकासबीच स्थापित गरेको सम्बन्ध एलडीसीएससँग मेल खान्छ । एलडीसीएसमा आर्थिक वृद्धिभन्दा जनसंख्या बृद्धि बढी हुन्छ ।

(४) एलडीसीएसले आर्थिक वृद्धि गर्न सहयोग पु-याउने तत्वहरूमा उत्पादनको भूमिका, उचित वितरण प्रणाली, पुँजी निर्माण, भूमिको उर्वरता, प्राविधिक विकासलाई आर्थिक तत्वको रूपमा लिएका छन् भने गैरआर्थिक तत्वको रूपमा कुशल प्रशासन, राम्रा कानुनहरू, विश्वसनीयता, मिहिनेतलाई लिएका छन् । यी कुरा पनि एलडीसीएससँग मेल खान्छन् ।

(५) माल्थसले दिएका केही सल्लाहहरू एलडीसीएसको अवस्थासँग मेल खान्छन् । उनले जीडीपीमा कृषि क्षेत्रको हिस्सा कम गर्न संरचनात्मक परिवर्तन गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । जस्तो भूमिसुधार, कृषि र औद्योगिक क्षेत्रको सन्तुलित विकास, बजारको विस्तार, सम्पत्ति र जमीनको समानुपातिक वितरण । यी नीतिहरू प्रायः सबै एलडीसीएसका योजना तथा कार्यक्रमहरूमा उल्लेख गरिएका पाइन्छन् ।

शास्त्रीय अर्थशास्त्रीहरूमा जेएस मील पनि महत्वपूर्ण अर्थशास्त्री हुन् । उनको भनाइअनुसार पुँजी निर्माण, घट्दो प्रतिफलको नियम, जनसंख्या वृद्धि, सरकारको सीमित भूमिकासम्बन्धी उनका विचारहरू एलडीसीएसको अर्थव्यवस्थासँग लागू हुन्छन् ।

(१) उद्योगहरूको खुद उत्पादनमा वृद्धि र बचतमा वृद्धि गरी पुँजी निर्माणको दरलाई बढाउन सकिन्छ । बचत वृद्धि फाइदाको दर र बचत गर्ने चाहनामा भर पर्दछ । यो विचार एलडीसीएसमा पुँजी निर्माण गर्न धेरै व्यावहारिक देखिन्छ ।

(२) एलडीसीएसमा जमीन सीमित छ भने अर्कोतिर त्यसमा प्राविधिक सुधारको अभाव छ । जसले गर्दा उत्पादकत्व घट्दछ र घट्दो उत्पादन प्रतिफलको नियम लागू हुन्छ । यसमा सुधार गर्न मिलले कृषिमा प्राविधिक क्रान्ति हुनुपर्छ भनेका छन् । जुन एलडीसीएसमा रामवाण साबित भएको छ ।

(३) मिलले पनि माल्थसको जनसंख्या सिद्धान्तको नै वकालत गरेका छन् तर फरक के छ भने मिलले जनसंख्या नियन्त्रण गर्न जन्मदरमा नियन्त्रण गर्नुपर्दछ भनेका छन् । शास्त्रीय अर्थशास्त्रीहरूको मतअनुसार आर्थिक वृद्धिको लागि अनुकूल सामाजिक तथा संस्थागत तत्वहरू विद्यमान हुनुपर्दछ ।

यी तत्वहरू हुन्– स्वच्छ प्रशासनिक पद्धति, स्थिर सरकार, सुसंगठित वित्तीय संस्थाहरू, कानुनी व्यवस्था, उत्पादन साधनहरूको कुलश व्यवस्थापन, जमिनसम्बन्धी सरल र सुपरिभाषित व्यवस्था तथा अनुकूल सामाजिक मनोवृत्तिहरू । वृद्धिको लागि अनुकूल बानी तथा मनोवृत्ति विकास गर्न मानिसलाई पुराना रुढीवादी रीतिथिति त्याग्न, परिवारको आकार घटाउन एवं चरित्रको निर्माण गर्नमा जोड दिनुपर्दछ ।

शास्त्रीय अर्थशास्त्रीहरू प्रविधिको विकासलाई त्यतिको महत्व दिएको पाइँदैन । एडम स्मिथले प्रविधिद्वारा मात्र श्रम विभाजन तथा बजार विस्तार हुन्छ भनेका थिए । रिकार्डोले प्रविधिबाट श्रम विस्थापित भएको तथा अन्य दुष्परिणाम उत्पन्न भएको विचार व्यक्त गरेका थिए । प्रविधिको विकासले जनसंख्या सिद्धान्त तथा प्रतिफल ह्रास नियमजस्ता महत्वपूर्ण खम्बाहरू धराशायी भएका छन् ।

विकसित देशको आर्थिक विकासमा प्राविधिक प्रगतिको ठूलो प्रभाव छ । उनीहरूको मतअनुसार पूर्ण प्रतिस्पर्धा तथा निजी क्षेत्र आर्थिक विकासका अनिवार्य सर्त हुन् । उनीहरूले सार्वजनिक क्षेत्रको कुनै महत्व देखेनन् । तर कतिपय देशमा सार्वजनिक क्षेत्रको पुँजी–निर्माण तथा आर्थिक विकासमा ठूलो योगदान रहेको छ । निजी क्षेत्र मात्र देशको लागि आवश्यक कुरा गर्न असमर्थ र असक्षम भएको र वातावरण प्रदूषणजस्ता दुष्परिणाम ल्याएकोले सार्वजनिक क्षेत्र, सरकारी हस्तक्षेप कतिपय स्थितिहरूमा आवश्यक देखिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया